६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

उदयपुरमा ‘तेस्रो खाना महोत्सव’ हुने

पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी गराउँदै आयोजक। तस्बिर: महेश्वर

उदयपुरमा खाना महोत्सव तथा लाखे नाच प्रतियोगिता (मेला) को तेस्रो संस्करण आयोजना गरिने भएको छ।

आयोजक झिगु नेवाः पुःच उदयपुरले बिहीबार पत्रकार सम्मेलन गरी ‘तेस्रो खाना परिकार मेला तथा प्रदेशस्तरीय प्रतियोगितात्मक लाखे नाच महोत्सव-०८१’ को विषयमा जानकारी गराएको हो। 

पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार आउँदो पुस १ देखि ८ गतेसम्म साताव्यापी महोत्सव तथा लाखे नाच प्रतियोगिता सदरमुकाम गाईघाटमा आयोजना गरिनेछ।

मेलामा जिल्लाका विभिन्न जातजातिका मौलिक स्थानीय खानाका परिकार प्रदर्शन गर्नुका साथै विक्री वितरण गरिने जनाइएको छ।

त्यसैगरी, मेलाकै अवसरमा विगतमा झैँ नेवार समुदायको प्रदेशस्तरीय लाखे नाच प्रतियोगिता पनि आयोजना गरिने पुचः उदयपुरका अध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

अध्यक्ष श्रेष्ठले खाना महोत्सव मेलाले निम्न आय स्तर भएकाहरूलाई आत्मनिर्भर बनाउनुका साथै होमस्टे सञ्चालन गर्न पनि मद्दत पुग्ने बताए।

मेलामा मौलिक र अर्ग्यानिक खानाका परिकारहरू मकैको च्याँख्ला, कोदाको ढिँडो, सिस्नो, गुन्द्रुक, भुटेको मकै, खिर, सेल रोटी, फापरको रोटीजस्ता स्थानीय परिकारको स्टल राखिनेछ।

त्यसैगरी किराती समुदायको भालेको भुत्ला र भित्र्याँसबाट बनाइने परिकार वाचिप्पा (तिते), वाडिमा (अण्डा), नेवार समुदायको योमरी, दनुवार समुदायको अण्डी, थारुको घुँगीजस्ता परिकारहरू मेलाका प्रमुख आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ।

मेलाले बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न तथा लोप हुँदै गएका संस्कार, संस्कृति र स्थानीय खानाका परिकारहरूको संरक्षणमा मद्दत पुर्‍याउने आयोजकले विश्वास लिएको छ।

विगत तीन वर्षयता गाईघाटमा खाना महोत्सव आयोजना गरिँदै आएको बताउँदै अध्यक्ष श्रेष्ठले कार्यक्रमको आकर्षण बढ्दै गएको अनुभव सुनाए।

‘हामीले विगत तीन वर्षयता खाना महोत्सव तथा लाने नाच प्रतियोगिता गर्दै आएका छौं’ उनी भन्छन् ‘सुरुवातदेखि नै मेला सफल हुँदै आएको छ। सँगसँगै यसले लोपोन्मुख खानाका परिकार तथा मौलिक संस्कार संस्कृतिको संरक्षण गर्ने काममा योगदान पुर्‍याएको अनुभव गरेका छौं।’

पुचःका सचिव गोपाल श्रेष्ठले खानाका परिकारसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि यसले थप टेवा दिने र स्थानीय बजारको अर्थतन्त्र चलायमान बनाउने निष्कर्ष निस्केको सुनाए।

सानो पुँजी तथा आर्थिक स्थिति कमजोर भएका व्यापार-व्यवसायीलाई पनि यसले प्रोत्साहन गर्ने सचिव श्रेष्ठको भनाइ छ।  

मेलामा करिब ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको उनी बताउँछन्। विगतका मेलामा पनि ५० हजार हाराहारीको सहभागिता रहेको जानकारी गराउँदै सचिव श्रेष्ठले यस वर्ष त्यो भन्दा बढी नै सहभागी गराउने प्रयास आफूहरुको रहेको सुनाए।

खानाका परिकारसँगै मेलामा विभिन्न जातजाति र समुदायको भेसभुसा, नृत्य तथा झाँकीहरू प्रस्तुत गरिनेछ।

त्यसैगरी वडा स्तरीय भजन कीर्तन प्रतियोगिता, शङ्ख फुक्ने, थारुको पारस्परिक नृत्य, राई समुदायको साकेला सिली, प्रदेशभरिका नेवार समुदायको लाखेनाँचमा प्रतिस्पर्धा गराउने कार्यक्रम रहेको श्रेष्ठले बताए। महोत्सवकै अवसरमा ‘छमछमी सिजन–४’ प्रतियोगिता पनि आयोजना गरिने छ।

मेलालाई सामूहिक प्रतिबद्धता र सहकार्यको थालनी गर्ने, लोक संस्कृतिको जगेर्ना गर्दै होमस्टेको अवधारणा अनुसार अघि बढ्न सहयोग गर्ने आयोजकको दाबी छ।

जिल्लाभरि छरिएर रहेका जातजाति र समुदायको पहिचान, कला, भेसभुसा, रहनसहन, धार्मिक तथा सांस्कृतिक परम्पराको जगेर्ना, विकास र प्रवर्द्धन गर्न मेलाले योगदान दिने आङ्कलन आयोजकले गरेको छ।

महोत्सवको आमदानी खर्च गरेर बचेको रकमले सांस्कृतिक सङ्ग्रहालय र स्वास्थ्य शिविर सञ्चालनमा खर्च गरिने पनि सचिव श्रेष्ठले जनाए।

लाखे नाच विजेतालाई नगद एक लाख पुरस्कार

पुचःले लाखे नाच प्रतियोगितामा विजयी हुने क्रमशः प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई नगद १ लाख, ७५ हजार र ५१ हजार पुरस्कार दिने भएको छ।

पुचःका उपाध्यक्ष विजय तुलाधरले प्रदेशभरको सबैभन्दा ठूलो र भव्य लाखे नाच विजेताहरूलाई व्यक्तिगत प्रायोजनमा नगद पुरस्कार प्रदान गरिने बताए।

उनका अनुसार प्रदेशका १४ वटा जिल्लामध्ये उदयपुरमा सबैभन्दा ठूलो धनराशि लगानीमा आयोजना हुने खाना महोत्सवसँगै प्रदेशस्तरीय लाखे नाच प्रतियोगितालाई आकर्षक बनाउन धनराशिसहितको पुरस्कार व्यवस्था गरिएको हो।

प्रकाशित: ६ मंसिर २०८१ १८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App