१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

विद्यावत सहर र ‘स्मार्ट सिटी’

डा. प्रमोद ढकाल

गण्डकी प्रदेशले ल्याएकोे पञ्चवर्षीय योजनामा ‘विद्यावत सहर’ स्थापना गर्ने विषय समेटिएको छ। विद्वत् र राजनीतिक वृत्तमा यसलाई ‘स्मार्ट सिटी’ का रूपमा बुझिन्छ। तर, ‘स्मार्ट सिटी’ र ‘विद्यावत सहर’  पृथक् पृथक् परिकल्पना  हुन्। यस लेखमा ‘बादशाहका नयाँ लुगा’ कथाबाट स्मार्ट सिटी र विद्यावत् सहरबीचको फरक प्रस्ट्याउन खोजिएको छ।

बादशाहका नयाँ लुगा
एकादेशका बादशाह राम्रा–राम्रा कपडा लगाउन र प्रदर्शन गर्न औधी रुचाउँथे।  दुई ठगले राजाको रुचि चाल पाए। यसपछि उनीहरू  दरबारमा आएर  राजालाई भने, ‘हामी राम्रा र अकल्पनीय लुगा बुन्न सक्छौँ, जुन सक्षम र इमानदार मानिसले मात्र देख्छ।’

बादशाहको मनमा लाग्यो,   राज्यका  राम्रा–नराम्रा मानिस पहिचान गर्न यो  लुगा उपयोगी हुने रहेछ। बादशाहले उनीहरूलाई धेरै इनाम दिएर लुगा बुन्न लगाए। ठगहरू तनमनका साथ लुगा बुनेझैँ गर्न थाले। यता बादशाहको मनमा खुलदुली थियो, लुगा कस्तो हुने होला, जुलाहाहरु के गर्दै होलान् इत्यादि। उनले  एक सक्षम र इमानदार मन्त्रीलाई लुगा बुनाइको प्रगति हेर्न पठाए। मन्त्री जुलाहाहरूले लुगा बुनिरहेको ठाउँमा पुगे। उनले जुलाहाहरुले लुगा बुनेझैँ गरेको देखे, तर लुगा देखेनन्। उनलाई डर लाग्यो, लाज लाग्यो। आफू बच्न उनले बादशाहलाई लुगा राम्रा छन् भनेर सुनाए।

बादशाहले  अरू  भारदारलाई पनि लुगा हेर्न पठाए। उनीहरूले पनि लुगा देखेनन्, तर डरका कारण लुगा राम्रो भएको खबर बादशाहलाई सुनाए। लुगा बुनेर सकिएको खबर पाएपछि बादशाह आफैँ लुगा हेर्न गए। उनले पनि लुगा देखेनन्। सिपाहीले उनकै सामु लुगाको तारिफ गरे। बादशाहलाई लाग्यो, म त  अक्षम रहेछु, अरूले थाहा पाउने हुन् कि ! उनी केही बोलेनन्।

विद्यावत सहरमा  मानव सभ्यतालाई युगयुगसम्म टिकाउन र दिगो रूपमा चम्काउन आवश्यक सम्पूर्ण तत्वको सघन पर्यावरण निर्माण गरिएको हुन्छ, आसे बनेको विकासे सोच र प्रणालीलाई पौरखी पर्यावरणले विस्थापित गरिन्छ।

जुलाहाहरूले बादशाहलाई नयाँ लुगा लगाइदिए। बादशाह नयाँ लुगामा ठाँटिएर सहर परिक्रमामा निस्के। जनताले लुगाको गुणगान गाए, तर भीडबाट एउटा सानो बच्चाले भन्यो, ‘राजा त नांगै छन्।’ यसपछि सबैले साहस गरेर भने, ‘राजा नांगै छन्।’ राजालाई आफू ठगिएको थाहा भयो, तर ठगहरू भागिसकेका थिए।

डेनमार्कका कथाकार हान्स क्रिस्चियन एन्डर्सनले सन् १८३७ मा यो कथा प्रकाशन गरेपछि यसलाई सय बढी भाषामा अनुवाद गरियो। यहाँ कथाको सारांश मात्रै राखिएको छ। नेपाली  नेतृत्व पनि आफ्नै गलत(आशक्ति, राष्ट्र(परराष्ट्रका त्यस्तै धूर्त जुलाहाको जाल र स्वार्थी भारदारकै फन्दामा परेझैँ लाग्छ।

स्मार्ट सिटी
स्मार्ट सिटीमा सूचना र सञ्चार प्रविधिको उच्चत्तम प्रयोग गरेर कार्यक्षमता बढाइन्छ, सार्वजनिक सेवाको गुणस्तर वृद्धि गरिन्छ। यो इन्टरनेटको सहर हो। यसले धेरै सूचना संयोजित वस्तुहरू  आइओटी, आइपिभी सिक्स, फाइभजीबाट धेरै डाटा जम्मा गर्छ। यसबाट नगरमा  कहाँ के भइरहेको छ, सो सजिलै थाहा पाउन सकिन्छ। त्यस्तै, स्मार्ट सिटीले भौतिक स्रोत, सम्पत्ति, संस्था र सेवाको व्यवस्थापनलाई छिटो, छरितो र राम्रो पार्ने लक्ष्य लिएको हुन्छ।

नगर अधिकारीले नगरवासी, भौतिक संरचना, संस्थाहरू  तथा विनिमयकर्तासँग सिधा सम्पर्क र लेनदेन गर्न र नगरका समस्यासँग जुध्न सहज पार्छ।  सम्झौं, स्मार्ट फोन, स्मार्ट लुगा धुने मेसिन, स्मार्ट हात सुकाउने मेसिन  आदि भनेझैं स्मार्ट सिटीको  अवधारणा जसरी आएको छ, त्यसमा ठूलो व्यापारिक र व्यावहारिक महत्व छ।

सन् २०१३ मा बेलायत सरकारले प्रकाशन गरेको ‘स्मार्ट सिटी ब्याक ग्राउन्ड पेपर’ मा सन् २०२० को वर्ष स्मार्ट सिटीसम्बन्धी वस्तु र सेवाको व्यापार ४ खर्ब डलरको हुने लेखिएको थियो। हालै मोरडोर इन्टिलिजेन्स डट कमद्वारा प्रकाशित एक प्रतिवेदनमा सन् २०१९ मै स्मार्ट सिटी बजार ६ खर्बभन्दा ठूलो थियो र सन् २०२५ सम्ममा १७ खर्बभन्दा ठूलो हुने उल्लेख  छ। विकसित राष्ट्रहरू यससम्बन्धी प्रविधि विकासको होडमा दिनरात लागेका छन्।

तर, हामी इन्टरनेट र विदेशी  रिपोर्टबाट स्मार्ट सिटीको अवधारणा बुझ्दै छौँ। साधारण जनताले  यस्तो प्रविधि नेपाली भिœयाउन सकिए  नेपालको कायपलट हुने ठानेका छन्। त्यस्तै, उच्च तहका नेतृत्व  विदेशी प्रविधिबाटै  नेपालमा समृद्धि ठान्छन् र यसैको  पछि दौडिरहेका छन्।

यति बेला नेपालमा स्मार्ट सिटीभन्दा ‘एमसिसी’ र ‘सेक्युरिटी प्रेस’ नामक लुगाको चर्चा नै बढी हुने गरेको  छ।  केही समयअघि ‘बिआरआई’, ‘आइपिएस’ र ‘लिपु’ को खुबै चर्चा थियो। यी लुगा हुन्, जसलाई हामीले त देखेका  छैनौं। त्यस्तै, जुलाहा र नयाँ–पुराना नेतृत्व र सहयोगीले पनि देखेका छैनन्। तैपनि, उनीहरू यसलाई ‘राम्रो’ भन्दै खुबै तारिफ गर्छन्।

कुनै समय गण्डकी, कोसी र महाकाली सम्झौताका लुगा पनि आर्थिक छलाङ मार्न निकै  राम्रा भनिएको थियो। विदेशी जुलाहाले बुनेका शिक्षानीति, अर्थनीति, सयौं थरीका  विदेशी सहायता, मिसन स्कुल र अस्पताल, युनाइटेड मिसन लगायत मिसनले पनि नेपाललाई स्वर्गमा उतार्छन् भनिएकै हो।  स्वर्गका आकांक्षी नेतृत्व, स्वदेशी विदेशी जुलाहा र तिनको स्वर्गीय परिणामबाट मुग्ध ‘पाका मानिस’  ती लुगाको सुन्दरताबाट सर्वथा खुसी नै देखिन्छन्। ससाना अन्जानमा के बोल्छन्, त्यो अलग्गै कुरा हो।

नेतृत्वले जुनसुकै सम्झौतामा सही गर्दा राम्रो विषयमा सही ग¥यौं भनेर सुनाउँदै आएका छन्। तर, देशी–विदेशी जुलाहाबाट किनिएका तमाम विकासे लुगा पहिरिन थालेको नेपालले प्रजातान्त्रिक क्रान्तिको प्ल्याटिनम जुबिली मनाउनुपर्ने बेला आइसक्दा पनि  हाम्रा आङ अझै राम्ररी ढाकिएका छैनन्।

विदेशी जुलाहाका दुई–चार हजार डलरका  ‘प्रोजेक्ट लुगा’मा हात पसार्न भीड लाग्ने यो देशमा ५० करोड डलरको ‘एमसिसी’ लुगा वा अन्य यस्तै लुगा लगाउन किन तँछाडमछाड नहोस्। हिउँदे  घाम तापेर बस्ने हामी एक करोड नेपालीले बुद्धिमा बिर्कोे लगाएर मुढे बलमा दिनभरिमा १० डलरको काम त गरौँला। सबै मिलेर पाँच दिनमा ५० करोड डलरको काम त अवश्य गरौंला। तर, तर नेतृत्वले जनतालाई ‘तिमीहरू पाहार ताप्दै गर,  हामी अन्तैका जुलाहाले बुनेका विकासका लुगा पहि¥याउनेछौँ’ भन्ने सन्देश दिइरहे।

उता, ५० करोड डलर ठेकेदारलाई बुझाएर विकास खरिद गर्दा त्यसको आधा वा चौथाइ बराबरको विकास पाउँदा पनि हर्ष बढाइँ गर्नुपर्ने अवस्था छ। नेपाल र नेपालीलाई मगन्ते बनाउँदा पाइने ऋणात्मक प्रतिफल वा मनोवैज्ञानिक ऋण त्यो ५० करोडभन्दा कम त हुँदैन होला। तर, हामी सबै मिलेर पाँच दिन काम गर्दा  ५० करोडको भौतिक काम र  ‘हामी गर्न सक्छौं’ भन्ने सकारात्मक मनोवैज्ञानिक प्रतिफल प्राप्त हुन्छ। तर, पचास करोड डलर अमृत हो कि विष हो भनेर छुट्याउने विवादमै कैयौँ दिन खेर जाँदै छन्। मानाको आसमा शक्ति खर्चिंदा मुरी नाश भएको छ। जंगबहादुरले बेलायती दरबार र बेलायती पहिरनमा ठाँटिन सिकेदेखि आजसम्मै विदेशी जुलाहालाई लुगा बुनाउनु नै नेतृत्वको पुरुषार्थ बनेको छ। तर, नेतृत्वले ‘बोल्ने बाटो नपारे’ कस्तो हुँदो हो ?  उनीहरूमा लोकमा शक्ति देख्ने मति फिरे कस्तो हुँदो हो ?
नेपालले बनाउन खोजेको स्मार्ट सिटी विदेशी जुलाहाकै आविष्कार र उत्पादनमा निर्भर हुने देखिएको छ। उनीहरूले नै  बुनिदिने ‘स्मार्ट सिस्टम’, ‘समार्टनेस’, ‘हाई टेक्नोलजी’, ‘ग्रिन टेक्नोलजी’, ‘५जी’लगायत लुगा पहिरिएर  स्मार्ट सिटी बनाइँदै छ। केही नगर्ने भन्दा केही न केही काम गर्ने नेपाली नगर  धन्यवादको पात्र बनेको छ।

  तर, यस्ता लुगामध्ये कतिले हामीलाई मुक्त गर्छन्, कतिले बन्धनमा पार्छन् भन्ने सवाल छिट्टै अहं बनेर निस्कनेछ। हामी भविष्यमा उठ्ने सवालप्रति अनभिज्ञ छौं किनकि हामी मागिखान अभ्यस्त भएका छौँ। त्यस्तै, शक्ति राष्ट्र आ–आफ्ना ‘औषधी’ हामीलाई पिलाउन बानी परेका छन् । नेपालका सबै विद्यालयमा कम्प्युटर बाँडेर स्मार्ट विद्यालय र स्मार्ट क्लास रुम बनाउँदै  शिक्षामा क्रान्ति ल्याउने परीक्षण त्यस्तै अभियानको एक पाटो थियो।  स्मार्ट सिटी बन्ने–बनाउने क्रियाकलापका केही उज्याला पक्ष छन्। यिनले प्रविधिको घनत्व बढाउँछन्। पैसा प्रवाह गराउँछन्, कारोबारको घनत्व बढाउँछन्। सबै कारोबारबारे छिटो जानकारी पाइन्छ।  नागरिकका सम्पूर्ण गतिविधि र क्षमता थाहा पाइन्छ। जिडिपी बढ्छ।

आफैँ जुलाहा
संवत् २०२२ साउन २५ मा सिंगापुर स्वतन्त्र भयो। त्यसबेला सिंगापुर  नेपालभन्दा धनी थिएन,  विदेशी सहायतामै निर्भर थियो,  प्राकृतिक स्रोतसाधनमा  गरिब थियो र छँदै छ। तर,  सिंगापुरका प्रथम प्रधानमन्त्री ली कुवान युले विदेशी सहायता नलिने अर्थात् ‘नो फरेन एड’ नीति अवलम्बन गरे। उनले जनताको सिर्जनात्मक क्षमतामा विश्वास गरे। बरु उनीबाट विश्वले धेरै कुरा सिके। तर, नेपालमा त्यसको ठीक उल्टो भएको छ।  यहाँ मौलिकता बिर्सिएर देशीविदेशी जुलाहाले बुनिदिएका नयाँ नयाँ लुगामा सजिन सिकियो, गरिब बनेर हात थाप्नमा गौरव मानियो।

कुन ‘फार्मेसी’ ले बाँडेको दबाइ खाएर निको पार्ने ?
सिंगापुरले बुझ्यो,  विदेशी जुलाहाले बुनिदिने नयाँ लुगा आफूलाई कतिको सुहाउँछ। उसले  त्यस्ता लुगा अमृत कि विष भनेर छुट्यायो। त्यसैले युले ऋणात्मक प्रतिफल हात लाग्ने बुझे।   उनले सच्चा र झुटा जुलाहा चिन्ने कठिनाइ हुँदा  माग्ने बाटो किन समात्नुहुँदैन भन्ने बुझे। यसकारण अरूले बुनिदिएका लुगा लगाउन सिंगापुरले इन्कार ग¥यो।  आफैंमाथि विश्वास गर्नाले सिंगापुर विश्वको उत्तम र विश्वसनीय जुलाहामा परिणत भएको, आफ्ना लुगा आफंै सिलाउन सक्षम छ।

विद्यावत सहर
स्मार्ट सिटीको स्मार्टनेसको मन्त्रमा प्रविधिका देवताले नरकबाट तारेर स्वर्ग पु¥याउँछन  भन्ने हो। तर, विद्यावत सहरको मर्म यसभन्दा निकै भिन्न छ। विद्यावत सहरमा विज्ञान, प्रविधि, कला, नवप्रवर्तन र सिर्जनामा समर्पित उच्च प्रतिभावान् मानिसको घनत्व बढाउने योजना बनाइन्छ।  यसको मर्म बौद्धिक, सिर्जनात्मक र अनुसन्धानमूलक शिक्षण संस्थाहरूको घनत्व बढाउनु हो। त्यस्तै,  नवप्रवर्तनकारी संस्था,  बौद्धिक उद्योग र व्यवसायको घनत्व बढाउने योजना कार्यान्वयन गरिन्छ। बौद्धिक, वैज्ञानिक र आध्यात्मिक पर्यटकको घनत्व बढाउनु पनि यसको मर्मअन्तर्गत पर्छ।

स्मार्ट सिटीमा स्मार्ट मेसिनको खोजीमा विश्व चहार्न समय खर्च गरिन्छ भने  विद्यावत सहरमा स्मार्ट मानिसको खोजीमा समय र शक्ति खर्च भएको हुन्छ। यसले प्रविधिलाई नभएर मानवमुक्ति तथा मानवको भौतिक, आध्यात्मिक, सिर्जनात्मक र प्रवीणात्मक उन्नतिलाई उठाउने लक्ष्य लिएको हुन्छ।

सम्झौं, ठमेलमा पुस्तक पसल,  व्यापार, पर्यटक र पर्यटकीय गतिविधिको घनत्व छ। त्यस्तै, स्मार्ट ट्वाइलेट र  मानिसको घनत्व त झनै राम्रो छ।  हामीले प्रविधिको सहयोगमा ती सबै गतिविधिलाई ‘स्मार्ट व्यवस्थापन’ ग¥यौं भने त्यो एक स्मार्ट सिटी भएको मानिनेछ। तर, त्यहाँ कलाकार र सर्जकको घनत्व नहुन सक्छ, पुस्तकको व्यापार हुने त्यहाँ लेखकको घनत्व नहुन सक्छ, वैज्ञानिकको घनत्व नहुन सक्छ, प्राध्यापकको घनत्व नहुन सक्छ, विद्वान्को घनत्व नहुन सक्छ। प्रविधिको व्यापार हुने त्यहाँ प्राविधिक आविष्कारको घनत्व नहुन सक्छ। स्मार्ट ट्वाइलेट जडित ठाउँमा स्मार्ट ट्वाइलेट बनाउने विधिको ज्ञान नहुन सक्छ।

पर्यटकको भीड भएको त्यो ठाउँमा नांगा युवायुवतीको रूप, सौन्दर्य र शरीरको व्यापारिक महत्व हुन सक्छ, तर आध्यात्मिक, बौद्धिक र चैतन्य विचित्रताको महत्व नहुन सक्छ। नेपालकै पर्यटनको केन्द्र मानिने त्यस ठाउँमा आध्यात्मिक, वैज्ञानिक, बौद्धिक वा शैक्षिक पर्यटन नभएको हुन सक्छ। त्यहाँको जिडिपी स्मार्ट प्रविधिका कारणले बढिरहे पनि त्यो ‘स्मार्ट’लाई जान्ने र नयाँ नयाँ स्मार्टनेसको उदय गराउने तत्व नहुन सक्छ। त्यहाँ राम्रा लुगा लगाउने र कस्मेटिक पोत्ने मानिसको भीड हुन सक्छ, तर ती कसरी बने भनेर जान्ने र तिनलाई बनाउने क्षमताको भीड नहुन सक्छ। आवरणमा सुखी र शौभाग्यशाली देखिने ती मानिसले भित्र आत्मिक पीडा र असन्तुष्टि बोकेर हिँडेका हुन सक्छन्। अहंकार वा हीनताले पोलिएर  हिँडेका हुन सक्छन्।

विद्यावत सहरमा  मानव सभ्यतालाई युगयुगसम्म टिकाउन र दिगो रूपमा चम्काउन आवश्यक सम्पूर्ण तत्वको सघन पर्यावरण निर्माण गरिएको हुन्छ, आसे बनेको विकासे सोच र प्रणालीलाई पौरखी पर्यावरणले विस्थापित गरिन्छ।
नेतृत्वले क्षणिक जिडिपी र अर्कोे चुनावभन्दा धेरै परको भविष्य हेरेर शासन गर्छन्, जहाँका जुलाहाले अशुभ कपटको व्यापार छोडेर  उत्तम र सुन्दर लुगा बुन्छन्।  नागरिकले राजा नांगै भएको यथार्थ स्वतन्त्रपूर्वक व्यक्त गर्न पाउँछन् । जनताको बौद्धिक र सिर्जनात्मक भविष्यमा विश्वास गरिन्छ। अरूले लगाइदिएका वैशाखीमा नहिँडेर आफैंले बनाएका मौलिक मूल्य र अवसरलाई विश्वसामु पस्केर ती मूल्य र अवसरलाई छोप्न अरू तँछाडमछाड गर्ने अवस्था सिर्जना गरिन्छ। जसको मुटु बौद्धिक, वैज्ञानिक, प्राविधिक, कलात्मक र सिर्जनात्मक प्रतिभाका घनत्वले निर्मित हुन्छ। जहाँ बौद्धिक र सिर्जनात्मक प्रवासी नेपाली प्रतिभालाई घर फर्काउने पर्यावरण बनाइन्छ। बुद्धिजन्य व्यवसायमा लगानीकर्तालाई आकर्षित गर्ने पर्यावरण तयार गरिन्छ। न्याय, सुशासन, समता, करुणा, प्रेम र शान्तिको पर्यावरण निर्माण गरिएको हुन्छ।

  आत्मविश्वास, रचना, सिर्जना, समृद्धि र आत्मिक उन्नयनमा निरन्तर अगाडि बढ्ने पर्यावरण निर्मित हुन्छ। यो कुनै डिजिटल सहर वा इन्टरनेट सहर होइन, ज्ञान र विद्याको उद्यम गरेर खाने विद्यावत सहर हो। यसले भन्छ,  हामी आफैं मिलेर त्यस्तो एउटा सहर  बनाऔं, जसको पथलाई अनुकरण गर्न नेपाल र विश्वका अनेकौं ठाउँ लालायित होऊन्। हामी सबै मिलेर विदेशी जुलाहामा निर्भर हुनुपर्ने निरीहता तोडौं। स्मार्ट फोनभन्दा स्मार्ट मानिसको महता धेरै छ भन्ने जानेर काम गरौं। आफ्ना लागि नयाँ लुगा आफैं बुन्न सक्षम विद्यावत राजा, विद्यावत जुलाहा र विद्यावत नागरिक बनौं।
(लेखक विद्यावत सहरका परिकल्पनाकार हुन्।)

प्रकाशित: १ चैत्र २०७६ ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App