१८ असार २०७७ बिहीबार
अन्य

‘झलनाथ खनालले मसँग पुस्तक किन्नुभयो’

न्युरोड गेटबाट पश्चिमतिर जाँदा वसन्तपुर क्षेत्र नछिरी बायाँतिर नजिकै फुटपाथमा पुस्तक फिँजाएर बेच्न राखिएको देख्न सकिन्छ। यहाँ दुई जनाले पुस्तक बिक्री गर्छन्। तीमध्ये एक हुन्, राजेश गजुरेल। राजेशको यो पेसा लगभग पुख्र्यौली नै भन्न मिल्छ। यही ठाउँमा उनका बुवा शम्भुप्रसादले ०४६ सालदेखि पुस्तक बेच्न थालेका हुन्।  

नुवाकोटका शम्भुप्रसाद गजुरेल ०४६ सालको जनआन्दोलन ताका काठमाडौं आएका थिए। केही समयपछि उनले सानोतिनो व्यवसाय गरे। उनी बिहानै काममा जाँदा भूगोलपार्कमा सधैँजसो एक व्यक्तिलाई देख्थे, जो गोरखा पत्रिका बेचिरहेका हुन्थे, उनी थिए– सान्दाइ। शम्भुप्रसादले सान्दाइसँग चिनजान गरे,  उनीहरूबीच आत्मीयता बढ्दै गयो। शम्भु सान्दाइलाई पत्रिका बेच्न सहयोग गर्ने विचार गर्दै थिए। सान्दाइले उनलाई पत्रिका बेच्न अनुरोध गरे। यसपछि दुवै जना मिलेर पत्रिका बेच्न थाले। त्यतिबेला गोरखापत्र, नारी, मधुपर्क, युवामञ्च लगायत पत्रिका खुबै बिक्री हुन्थे।

त्यस्तै, शम्भुप्रसादले १५–२० जना कर्मचारी राखेर ‘अपराध कथा’ प्रकाशन गर्न थाले, जुन खुबै बिक्री हुन्थ्यो। उनले २०४६ देखि २०५२ सालसम्म भूगोलपार्कमै पत्रपत्रिका बेचे। यसपछि व्यवसाय मीना (श्रीमती)लाई सुम्पिएर उनी अन्य व्यवसायमा संलग्न भए। मीनाको काँधमा व्यवसायलाई निरन्तरता दिने जिम्मेवारी आयो,  यो अवसर ०५२ तिरको हो। उनले  ०६२ सम्म भूगोलपार्कमै पत्रपत्रिका र पुस्तक बेचिन्, जसबाट घरखर्च मज्जाले चलेको थियो।  यतिबेला  राजेश गजुरेल (शम्भुप्रसादका छोरा) ठूला भइसकेका थिए। उनी आमालाई व्यवसायमा सहयोग गर्न चाहन्थे। छोराको रहर बुझेर  आमाले उनलाई  व्यवसाय सुम्पिन्।

नयाँ पुस्ता
‘२०६३ सालदेखि व्यवसाय मेरो काँधमा आयो,’ राजेश भन्छन्। उनले व्यवसाय समाल्दा देशमा जनआन्दोलन (२०६२÷०६३) को लहर चलेको थियो। यसकारण केही समय उनको व्यवसाय बन्द  भयो। उनी पनि  जनआन्दोलनमा सहभागी भए। अनुकूल वातावरण सिर्जना हुँदै गएपछि उनले व्यवसायलाई  फरक ढंगले सञ्चालन गर्ने सोच बनाए। उनी भन्छन्, ‘भुवन दाइले डेढ लाख सहयोग गर्नुभयो, यसैबाट मेरो पहिलो व्यापार सुरु भयो।’ उनलाई धेरै प्रकाशन गृहले पुस्तक उपलब्ध गराएर सहयोग गरे, जुन सहयोग उनी बारम्बार सम्झिरहन्छन्।
व्यवसायले फड्को मार्दै गर्दा उनको भाग्य चम्किन थाल्यो। यतिबेलै बजारमा नयाँ नयाँ प्रकाशन गृह स्थापना भए। विभिन्न विधाका पुस्तकहरू छापिन थाले। उनी भन्छन्, ‘यसबाट व्यवसायमा प्रत्यक्ष फाइदा पुग्यो। मैले एक–दुई वर्षमा राम्रै बजार बनाएँ।’

त्यतिबेला उपन्यास खुबै बिक्री हुन्थ्यो। उनले उपन्यास बिक्रीबाटै मनग्य आम्दानी गरे। उनी सञ्चारमाध्यमका लागि पत्रपत्रिका उपलब्ध गराइदिने काममा समेत संलग्न भए। उनी भन्छन्, ‘एभिन्युज टेलिभिजन, एफएम र रेडियोका लागि बिहान–बिहानै पत्रिका उपलब्ध गराइदिन्थेँ।’ उनको व्यवसाय राम्रोसँग चल्दै गयो। उनलाई पत्रिका र पुस्तक बेच्न भ्याइनभ्याइ हुन थाल्यो। यसपछि उनले केही सहयोगी राखे। उनी भन्छन्, ‘मैले तीन जना भाइहरु राखेको थिएँ। ती भाइहरुले बिहान बिहान समाचार वाचनका लागि विभिन्न मिडियामा पत्रपत्रिका  पुर्‍याइदिन्थे।’

पुस्तक संकलन
राजेशसँग हजारौँ पुस्तक छन्। उनी बजारको माग र ग्राहकको रूचि अध्ययन गर्छन्। यसपछि पुस्तक छनोट गर्छन्, जुन तुरुन्तै बिक्री होस्। उनी भन्छन्, ‘डिकुरा, फाइनप्रिन्ट, नेपालय, प्यासिफिक, प्रज्ञा प्रतिष्ठानलगायत पब्लिकेसनबाट पुस्तक खरिद गर्दै आएको छु।’ उनले डिलर र प्रकाशन गृहको मन जितेका छन्। उनी भन्छन्, ‘धेरै पुस्तक त उधारोमै ल्याउने गरेको छ, उहाँहरू (प्रकाशन गृह)ले ममाथि विश्वास गर्नुभएको छ।’ उनी केही पुस्तक हाताहातीमा पनि किन्छन्। पछिल्लो समय उनले बालकृष्ण पोखरेलसँग पुस्तक खरिद गर्दै आएका छन्। पुस्तक उपलब्ध गराएर सहयोग गर्ने भिजन र बद्रर्स ग्रुपलाई बिर्सन नसक्ने सुनाउँछन्।

विद्यार्थीदेखि नेतासम्म
राजेशका नियमित ग्राहक नै करिब चार–पाँच सय जना छन्। उनले विद्यार्थीदेखि पूर्वप्रधानमन्त्रीलाई पुस्तक बचेका छन्। उनी भन्छन्,  ‘पूर्वप्रधानमन्त्री झलनाथ खनालले गोरखापत्र संस्थान आउँदा ‘जातिहरूको उत्पत्ति’ पुस्तक किन्नुभयो।’ पूर्वप्रधानमन्त्रलाई पुस्तक बेच्न पाएकामा उनी गर्व गर्छन्। त्यस्तै, उनले राप्रपा अध्यक्ष कमल थापालाई पुस्तक बिक्री गरेका थिए। उनी भन्छन्, ‘उहाँले मबाट धेरै पुस्तक किन्नुभएको छ। उहाँ राजनीति र इतिहासका किताब किन्नुहुन्छ।’ राजेश निकै अध्ययनशील छन्। उनी पुस्तक बिक्री मात्र होइन, अध्ययन पनि गर्छन्। उनले नयाँ पुस्तकको ‘रिभ्यु’ सुनाएर पाठकलाई पुस्तक किन्न सिफारिस गर्दै आएका छन्।

उनले ऊर्जा सचिव हरेराम कोइरालाले आफूबाट पुस्तक खरिद गरेर सेन्टर जेलका कैदीलाई उपहार दिएको सुनाए। उनी कोइरालालाई आध्यात्मिक र सकारात्मक सोच भएको व्यक्तिका रूपमा चिन्छन्। उनी मदन कृष्ण श्रेष्ठ र हरिवंश, जितु नेपाल लगायत सेलिब्रेटीलाई पुस्तक बिक्री गरेको सम्झन्छन्। उनी भन्छन्, ‘जितु नेपाल जीवनी र मोटिभेसनल किताब पढ्नुहुन्छ।’ त्यस्तै, सांसद् रामकुमारी झाँक्रीले उनीसँग पुस्तक खरिद गरेकी थिइन्। उनका धेरै ग्राहक समाजसेवी महिलाहरू छन्, जसले उनीसँग पुस्तक खरिद गरेर पुस्तकालय निर्माण गर्छन्, बालबालिकालाई सहयोग गर्छन्।

राजेश भन्छन्, ‘अनुराधा कोइरालाले थोमस बेलको ‘द काठमाडौँ’ खरिद गर्नुभयो।’ राजेशकै पसलमा ग्राहकको भीड हुनुको रहस्य के हो ? उनी जवाफ दिन्छन्, ‘सटरमा खोलिएका प्रायः पसलमा थोरै छुट नपाइने र छानीछानी हेर्न नपाइने जस्ता समस्या छन्, तर म धेरै सहुलियत दिन्छु। मकहाँ पुस्तक ओल्टाई पल्टाई हेर्ने, केही अंश पढ्ने सुविधा छ, जुन उहाँहरुलाई मन पर्दो रहेछ। यसकारण ग्राहकको मन जिते जस्तो लाग्छ।’

व्यापारको उन्मादी
अरू समयभन्दा चाडपर्वमा धेरै पुस्तक बिक्री हुन्छ। उनी अनुभव सुनाउँछन्, ‘पाठकसँग पढ्ने समय धेरै हुने भएकाले होला, चाडपर्वमै पुस्तक बढी बिक्री हुन्छ, अझ दसैँमै धेरै बिक्री हुन्छ। बर्खामा सडकपेटीमा सञ्चालित व्यवसाय प्रभावित हुन्छन्, जसको असर राजेशको व्यवसायमा पनि पर्छ।  तैपनि उनले पसल खोलेकै हुन्छन्। उनी भन्छन्, ‘बर्खामा अलि कमै बिक्री हुन्छ। तैपनि, छाता राखेर पुस्तक बिक्री गर्छु।’

चुलोमा आगो
‘विदेश गएर दुःख नगरौँ भनेर सुरु पुस्तक व्यापार सुरु गरेको हुँ,’ राजेश भन्छन्। पत्रपत्रिका र पुस्तकको व्यवसायबाट चुलोमा आगो बाल्न खासै गाह्रो नहुने उनी सुनाउँछन्। उनी भन्छन्, ‘बिहानदेखि बेलुकासम्म पुस्तक बिक्री गर्छु। सात जनाको परिवार पालेकै छु। छोराछोरी पढाएकै छु।’ उनी यही शैलीमा व्यवसाय धेरै समय टिकाउन गाह्रो हुने सुनाउँछन्। उनी व्यापारमा प्रविधिलाई जोड्ने योजनामा छन्। उनी अनलाइनमार्फत पुस्तक व्यवसाय गर्दा दीर्घकालीन लाभ उठाउन सकिने बताउँछन्। उनी अन्य व्यवसायभन्दा पुस्तक व्यापर फरक रहेको सुनाउँदै भन्छन्, ‘यो त एक किसिमको समाजसेवा नै हो। म ग्राहकलाई भगवान् ठान्छु।’ पत्रपत्रिका र पुस्तक व्यवसायबाट थरीथरीका मान्छे चिन्ने अवसर पाइने उनको भनाइ छ।

खोजिने पुस्तकहरू
१४–१५ वर्षको अन्तरालमा राजेशले लाखौं पुस्तक बिक्री गरे। उनी लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, पारिजातको ‘शिरीषको पूmल’ र नारायण वाग्लेको ‘पल्पसा क्याफे’को हजारौँ प्रति बिक्री गरेको सुनाउँछन्। उनी भन्छन्, ‘पुस्तक व्यवसायको करिब १५ वर्षको दौरानमा शंकर लामिछानेको ‘एब्स्ट्र्याक चिन्तन प्याज’, ध.च. गोतामेको ‘घामका पाइलाहरू’, गुरुप्रसाद मैनालीको ‘नासो’ खुबै खोजियो।’ अन्य पुस्तकको तुलनामा साहित्यिक कृति नै धेरै बिक्री हुने गर्छ। उनका अनुसार सेती धर्तीले मदन पुरस्कार पाएपछि बजारमा साहित्यिक कृति बिक्रीको माहोल चम्किएको हो। उनले बुद्धिसागरको ‘कर्णाली ब्लुज’, विजय कुमारको ‘खुसी’, सुधीर शर्माको ‘प्रयोगशाला’, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’, मदनकृष्ण श्रेष्ठको ‘चिना हराएको मान्छे’, मदनकृष्ण श्रेष्ठको ‘महको मह’ , लीलाबहादुर क्षेत्रीको ‘बसाइँ’, सुबिन भट्टराईका ‘समर लभ’, ‘मनसुन’ लगायत साहित्यिक कृति धेरै बेचे। ‘मैले एकै दिनमा एउटै किताबका सय प्रतिभन्दा बढी बेचें। सुबिन भट्टराईका पुस्तक धेरै नै बेचियो,’ उनी भन्छन्।

पछिल्लो समय पाठक खोजमूलक पुस्तकतर्फ आकृष्ट भएका छन्। नेपाल–भारतबीच सीमा विवाद भएरसँगै रतन भण्डारीको ‘अतिक्रमणको चपेटामा लिम्पियाधुरा–लिपुलेक’ खुबै बिक्री भयो। त्यस्तै, सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’ धेरै खोजिएको उनी सुनाउँछन्। पछिल्लो समय आध्यात्मिक पुस्तकका पाठकको संख्या पनि बढ्दै गएको छ। तुलसी भट्टराई र उद्धवदेव उपाध्यायको ‘चारवेद’ (अनुवाद) खुबै खोजिन्छ। सन्दुक रुइतको जीवनी (अस्ट्रेलियन प्रकाशन गृह एलेन एन्ड अनविनले प्रकाशन गरेको) र दामोदर न्यौपानेको ‘सम्पदाको लडाइँ’ धेरै रुचाइएका पुस्तक हुन्। सुशीला कार्कीको ‘कारा’, नीलम कार्की ‘निहारिका’को ‘योगमाया’, सरु भक्तको ‘प्रतिगन्ध’, सुन्दरप्रताप रानाको ‘दरबारको दुःखान्त’ खुबै बिक्री भए। त्यस्तै, अंग्रेजी साहित्यका पुस्तक पनि खोजिन थालिएको उनी सुनाउँछन्। उनका अनुसार ‘सोच्नुहोस् र धनी बन्नुहोस्’ ‘वारेन्टको जीवनी’, स्यारोन एल. लेक्टरको ‘धनी बुबा गरिब बुबा’ पनि धेरै खोजियो।

पठन संस्कृति
कुनै बेला भूगोलपार्कमा पत्रपत्रिका पढ्ने र पुस्तक किन्नेको घुइँचो हुन्थ्यो। पुस्तक बजारमा आउनुअघि पत्रिकामा विज्ञापन गरिन्थ्यो। विज्ञापन हेरेरै पुस्तक किन्न आउनेहरू धेरै हुन्थे। उनी भन्छन्, ‘अहिलो त्यस्तो अवस्था छैन। पत्रपत्रिकामा पुस्तकको विज्ञापन हुन्छ, तर पुस्तक खोज्न पहिला जसरी पाठक आउँदैनन्।’ उनी इन्टरनेटका कारण पुस्तक बिक्रीमा केही कमी आएको सुनाउँछन्। अमर न्यौपानेको पानीमुनिको घाम र सेतो धर्ती धेरै बिक्री भए, तर करोडौँ कस्तूरी र गुलावी उमेर त्यसरी बिक्री भएन। नयाँ पुस्तकमा पनि नयाँ स्वाद नआएकाले पुराना किताब खोजिएको हो। किशोरकिशोरी धेरै किताब पढ्छन्। उनीहरू विदेशी भाषामा लेखिएका किताब रुचाउँछन्। ‘केही समय इन्टरनेटका कारण पत्रपत्रिका  र पुस्तक व्यवसायमा असर परे पनि पछिल्लो समय अनलाइनबाट विमुख भएर फेरि पुस्तक नै खोज्ने पाठक बढ्दै गएका छन्,’ उनी भन्छन्। समालोचना र संस्कृतिका पुस्तक खासै बिक्री हुँदैन। अश्लील साहित्यका पुस्तकचाहिँ  खोज्नै छाडियो।

प्रकाशित: १ चैत्र २०७६ ०८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App