७ वैशाख २०८१ शुक्रबार
अन्य

डेन्टिस्ट मोडल

पाँच वर्ष दन्त चिकित्सा पढेर पनि आफ्नो शोख पूरा गर्न मोडलिङमा अघि बढ्दै ‘शुभलभ’ र ‘चिनी कम, रङ कडा’जस्ता फिल्म खेल्न भ्याइसकेकी डा. सूर्या थापालाई हेर्दा दुई डुङ्गामा गोडा राख्ने व्यक्ति देखिएला तर उनको आत्मविश्वास भने हेर्न लायक छ ।

बुटवल उप–महानगरपालिका सुख्खा नगरमा जन्मिएकी सूर्या थापा काठमाडौं छिरेको धेरै भइसक्यो । बाबु सरकारी जागिरे भएका कारण उनको जता सरुवा, पढाइ पनि त्यतै सार्नुपरेको बाध्यता हाँसीहाँसी सुनाउने सूर्या आफूलाई फुलटाइम डेन्टिस्ट र पार्ट टाइम मोडल भएको बताउँछिन् । जावलाखेलमा मानिसहरुको स्माइल मेकओभर गर्न आफैँले अल राइट डेन्टल केयर सेन्टर सञ्चालन गरिरहेकी गरिरहेकी उनीसँग नागरिक परिवारले दन्तक्षेत्र र मोडलिङका बारेमा पुष्पा थपलियाले गरेको कुराकानीको सम्पादित अंशः

तपाईं त डेन्टिस्ट मान्छे, मोडलिङमा कसरी आकर्षित हुनुभयो त ?
त्यही त है ! तर के गर्नु ? यता पनि बिस्तारै रस बस्दैछ भन्या ! खासमा मेरो मोडलिङ बन्ने भन्ने कुरा एकदमै अनप्लान थियो । स्कुल, कलेज पढ्दाताका साथीहरुले, तिमी एकदमै राम्री छ्यौ, मोडलिङतिर ट्राई गर्दा भविष्य राम्रो हुन्छ भन्थे तर मैले ती कुरामा ध्यान दिएकी थिइनँ । बेलाबेलामा पार्टीतिर जाँदा लगाउने डिजाइनर कपडामा आफैँलाई हेर्दा कतै म पनि मोडलिङ गर्न सक्छु क्यारे भन्ने लाग्थ्यो । अनि सपिङ गर्न जाँदा पनि राखिएका ड्रेस लगाएर ऐनामा हेर्दा आफू राम्री नै लाग्थ्यो (हाँस्दै) ।

मेरो परीक्षा सकिएपछिको खाली समयमा हाउस अफ फेसन भन्नेले फ्रेस अनुहार खोजेको थाहा पाएँ । फर्म भर्न साथीहरुले उक्साएपछि भरेँ र सेलेक्ट पनि भएँ । पछि त मोडलिङका आधारभूत कुरा सुन्ने र सिक्ने मौका पाएँ । अहिले त यता पनि निकै रमाइलो लागिरहेको छ ।

रमाइलो भन्नाले ?
रमाइलो भन्नाले, पहिले सपिङ मल र बुटिकमा राखिएका ड्रेसहरु देख्दा वास्ता लाग्थेन । अहिले हेर्नेबित्तिकै दायाँबायाँ नहेरी नजर त्यतै पुग्छ । हुन त बच्चा बेलामा ड्याडीको आँखा छलेर फेसन टिभी पनि हेर्थें । किनभने पढाइ बिग्रन्छ भनेर टिभी हेर्न दिनुहुन्थेन, दिए पनि कार्टुनमै प्याक गरिदिनुहुन्थ्यो (हाँस्दै) । जतिखेर पनि कोठामा थुनिदिने अनि किताब–कापी मात्रै थमाइदिने गर्नुहुन्थ्यो । हुर्काइ नै क्लास टप र कुन विषयमा धेरै नम्बर आउँछ भन्नेमा सीमित भयो ।

थोरै नम्बर घट्दा पनि ड्याडको आँखामा हेर्न सकिन्थेन । अरु कसैको ममड्याड पहिलो दोस्रो परीक्षाको रिजल्टमा जान्थेनन्, हाम्रो ड्याडी भने हजार काम छाडेर पनि पुग्नुहुन्थ्यो । पढाइकै मात्र कुरा हुने भएकाले यसबारे सोचेकी पनि थिइनँ । डान्स क्लास जान्छु भन्दा पनि ड्याडले मान्नुभएको थिएन । अरु केही एक्स्ट्रा एक्टिभिटी ग¥यो भने पनि पढाइ बिग्रन्छ भन्नुहुन्थ्यो ।

अनि अहिले मोडलिङ गरेको देख्दा के भन्नुहुन्छ त ?    
सुरुमा त उहाँ यसको विरोधमै हुनुहुन्थ्यो तर म अटेरी भएँ । अहिले त सपोर्ट पनि छैन, अगेन्स्टमा पनि हुनुहुन्न । पत्रपत्रिकामा मेरोबारे छापियो भने चाहिँ किनेर घर लैजानुहुन्छ (हाँस्दै) ।

अनि यो डेन्टिस्ट बन्नु तपार्इंको रहर कि ड्याडीको ?
खासमा मलाई सानैदेखि मेडिकल लाइन मनपथ्र्यो । त्यसमा पनि मुटुको डाक्टर बन्ने रहर थियो । पढाइ पनि कार्डियोसर्जन बन्ने उद्देश्यले नै गरिरहेकी थिएँ । तर एक जना दाइले डेन्टल पढ्दा फाइदा हुन्छ भनेर घरमा माइन्डवास गरिदिनुभएछ । अन्य विषयमा पढे राति पनि काम गर्नुपर्छ, डेन्टल पढे त दिउँसो मात्रै काम गर्दा हुन्छ, इमरजेन्सीका बिरामी पनि कम हुन्छन्, आफ्नै क्लिनक खोल्न पनि सजिलो हुन्छ, पैसा पनि भक्कु कमाइन्छ भनिदिनुभएछ । त्यै भएर घरमा मलाई कार्डियो पढ्न दिन्छन् त ? डेन्टल क्लिनिक चलाउन थालेपछि भने यतिबेला मलाई माइजलर फेसियल सर्जन बन्न मन छ । यो चाहिँ न्युरो सर्जरी पछिको सबैभन्दा कडा सर्जरी हो । यसका लागि डेन्टल पढेकै हुनुपर्छ । त्यही भएर अझै पाँच वर्षजति पढेर माइजलर फेसियल सर्जन बनेँ भने अलिक स्याटिस्फाइड हुन्छु जस्तो लागेको छ ।

एउटा जिज्ञासा क्या, यो गाइनोका चिकित्सकलाई गाइनोलोजिस्ट नभनेर चिकित्सकै भन्छन्, कार्डियोकोलाई कार्डियोलोजिस्ट नभनेर चिकित्सक नै भन्छन् तर डेन्टलकालाई चिकित्सक नभनेर डेन्टिस्ट भनेरै बोलाइन्छ । किन होला है ?
हामीजस्ता पाँच वर्षसम्म डेन्टल पढेर नेपाल मेडिकल कलेजले सर्टिफाई गरेकालाई त मान्छेहरु डाक्टर मान्दैनन् ! तपाईँ बोलाउने कुरा गर्नुहुन्छ ! यसको कारण के होला भने हामीकहाँ तीन वर्षसम्म डेन्टल पढेर पनि क्लिनिक खोलेर बस्न पाइन्छ, उनीहरुलाई हाइजेनिस्ट भनिन्छ । उनीहरुले हामीले जस्तो पूरै सर्जरी नै त गर्न सक्दैनन् तर पनि दाँत फुकाल्ने, राख्ने, सफा गर्नेजस्ता काम मज्जासँग गर्न सक्छन् ।

सायद यही कारणले हामीलाई डाक्टर नभनेका होलान् । म धुलिखेल अस्पतालमा काम गर्दा त केटी भएर होला डाक्टर नै नभनिदिने भन्या ! हामीलाई त सिस्टर अरे ! कतिपय साथीहरु त रिसाउनुहुन्थ्यो, हामी डाक्टरलाई पनि सिस्टर, नर्स भनेर बोलाउने ? भन्थे तर मलाई भने यसमा कहिल्यै रिस उठेन । मनमा लाग्ने क्या, बिचरा खुट्टामा राम्रो चप्पल समेत लगाउन सक्ने आर्थिक हैसियत नभएका बिरामीहरुलाई डाक्टर र नर्स कसरी थाहा हुन्छ र ? तर अहिले बिस्तारै यस्तो सोचाईमा परिवर्तन हुँदैछ ।

तपाईँकोमा गाउँका बिरामी धेरै आउने भन्नुभयो, दाँतको समस्या शहरका मानिसमा कम हो र ?
अहिले जंक फुडका कारण सहरमा धेरै दाँतका समस्या देखिने भैसक्यो ।  तपाईँ आफैँ विचार गर्नुस् न, अहिले यताका सबै बच्चाहरु दाँतमा तार बाँधेर हिँड्छन् । सानै उमेरमा दाँत बिग्रिएको छ । मिल्नुपर्ने दाँतहरु छरपष्ट हुन्छन्, झगडा गरेजस्तो कुनै पूर्व फर्केका, कुनै पश्चिम ! बिरामी त शहरका पनि धेरै छन् तर यहाँ गाउँको तुलनामा जनचेतना बढी छ । गाउँघरमा अझै पनि दाँतका उपचार गर्ने गतिलो ठाउँ छैन । यसका लागि त एड्भान्स टेक्नोलोजी चाहिन्छ भन्ने थाहै छैन । त्यति मात्रै होइन, गाउँतिर अझै पनि दाँत दुख्यो भने धामी–झाँक्री लगाउने चलन छ । अब दाँतमा आँखाले देख्नै नसक्ने किरा हुन्छन् तर धामीले सर्लक्क परेका किरा निकालेर मानिसमा भ्रम छरिरहेका छन् । कतिपयले दुखाइ सहन नसकेर दाँतमा तेजाव हाल्ने, लागुऔषधको प्रयोग गर्ने गरेको पनि पाइन्छ ।

चिकित्सकहरु काम नपाएर विदेश जान्छन्, यहाँ काम गर्ने वातावरण नपाएर हो ?
जनशक्ति बढी भयो, वातावरण नभएर चिकित्सकहरु विदेश गइहाल्छन् नि ! फेरि अन्य विषयको पढाइलाई मान्न छाडे । बाउआमा बच्चा जन्मनेबित्तिकै डाक्टर, नर्स बनाउने सपना देख्छन् । छोराछोरी पनि ठूलो भएपछि के गर्ने भन्दा यही बन्ने भन्छन् । अहिले त नेपालकैै काठमाडौं बाहिरका शहरमा पनि मेडिकल कलेज खुल्न थाले । त्यसमाथि चीन, भारत, फिलिपिन्स, बाङ्लादेश लगायतबाट समेत यही पढेर आउन थालिसके । अब त माथिबाट ढुङ्गाले हिर्काउँदा पनि डाक्टर र नर्सकै टाउकोमा लाग्छ जस्तो भइसक्यो । यस्तो अवस्थामा जनशक्ति त उत्पादन भए तर सरकारले उनीहरुको व्यवस्थापन गतिलोसँग गर्न सकेन । न त उनीहरुलाई काम गर्न आवश्यक प्रविधि नै पर्याप्त मात्रामा पु¥याउन सकेको छ, न त तलब नै । अनि डाक्टर अमेरिकातिर र नर्स अस्ट्रेलियातिर नगएर के गर्नु !

अब केही मोडलिङको कुरा पनि गरौं है ! तपाईंले बाहिरबाट हेर्दाको मोडलिङ क्षेत्र र यहाँ आइसकेपछिको मोडलिङ क्षेत्रमा भिन्नता के पाउनुभयो त ?
बाहिरबाट हेर्दा आहा भन्ने  खालको, लोभ लाग्ने खालको जस्तो देखिए पनि भित्र आएपछि त्यस्तो नहुने रहेछ । यसभित्र त कति धेरै पीडा लुकेको हुने रहेछ । म त डेन्टल पढेको मान्छे, मेरो प्रोफेसन अर्को छ र मसँग कसैले नराम्रो कुरा गरे वा काम गर्न मन नलागे अप्सन छ । तर गाउँदेखि मोडल बन्छु, कलाकार बन्छु भनेर आएकाहरुका लागि त कस्तो अप्ठ्यारो ! नयाँ भन्ने थाहा पाउनेबित्तिकै हेप्न थालिहाल्ने, मिसयुज गर्ने, यस्तो गर्दिन्छु, उस्तो गर्दिन्छु भनेर आश देखाउने र लुट्ने, शारीरिक तथा मानसिक शोषण गर्ने खालका हुने रहेछन् । सोझासिधालाई यो ठाउँ ठीक छैन । हुन त केही राम्रा मोडलिङ एजेन्सीहरु पनि छन् तर सबै राम्रा छैनन् । अनि अर्को कुरा छ, पेमेन्टको । मोडललाई एग्रिमेन्ट गरेजति पैसा नदिने, पैसा दिनेबेला किचकिच गर्ने, काम पनि पैसा पनि दुवै त दिन सक्दिनँ भन्ने प्रवृत्ति एकदमै धेरै छ ।

तपाईं पनि नराम्रा प्रवृत्तिको फन्दामा त पर्नुभएको छैन नि ?
अँ, यो मानेमा भने मलाई मेरो एजुकेसनले धेरै सहयोग ग¥यो किनभने यो केटीले यति पढेकी छ भन्नेबित्तिकै मान्छेको नजर फरक भइहाल्छ । अनि सबै मानिस राम्रै प्रवृत्तिका हुन्छन् या सबै नराम्रा हुन्छन् भन्ने कुरा पनि आउँदैन । मान्छेको प्रकृति नै मौका पाए, चौका हानिहालौं भन्नेखालको हुन्छ । मलाई पनि केही मानिसले घुमाउरो पारामा एप्रोच त गरेका थिए तर मैले सिधै नो भनिदिएँ । मेरो भने अलिक सही समय पनि भयो, टिनएजमै यो क्षेत्रमा आइएन । त्यसैले के सही,  के गलत छुट्याउन सक्ने भएँ र अहिलेसम्म ठीकठाक चलिरहेको छ ।

अनि मोडलिङमा हात हालिसकेपछि सम्झन लायक कामहरु के–के गर्नुभयो त ?
मेरो भने मोडलिङमा छिर्नेबित्तिकै अरुले जसरी जिरोबाट स्ट्रगल गर्नु परेन । केही ¥याम्प र फोटोसुट गर्नेबित्तिकै सोसल मिडियामा मानिसहरुले फलो गर्न थालिहाले । पेपर एड नै रियल ब्रान्डको एप्पल जुसको थियो । बिस्तारै टिभी एडमा अनि म्युजिक भिडियो हुँदै फिल्ममा समेत काम गरिसकेँ । दुईओटा फिल्ममा काम गरेकोमा ‘शुभलभ’ भन्ने फिल्म त रिलिज पनि भैसक्यो । ‘चिनी कम रङ कडा’ भन्ने अर्को फिल्म भने सुटिङ सकियो । हलमा लाग्न बाँकी छ।

पहिलोपल्ट क्यामरा फेस गर्दा कस्तो लाग्यो नि ?
खै, मलाई त खासै अप्ठ्यारो लागेन । अलि स्वतन्त्र भएर काम गर्न पाए सबै काम सजिलो लाग्छ । यसका लागि टिम भने गतिलो चाहिन्छ । यस्तो गर् उस्तो नगर् भन्ने टिम भए भने अलि अप्ट्यारो हुन्छ । सुरुसुरुको फोटो सुटका बेलामा भने लाइट आँखामा परेर तनाव हुन्थ्यो । एउटा ‘ज्याकपट’ भन्ने फिल्मको पोस्टरको फोटोसुट थियो, अनि त्यहाँ सिकाइएको पोज मलाई मनपरेन । क्यामरामेन दाइलाई यो पोजमा फोटोसुट गर्दिनँ भनेको त मलाई नयाँ भनेर तिम्ले कतिओटा फिल्म ग¥यौ ? मजस्तो मान्छेलाई सिकाउने ? भनेर थर्काइदि’रा ! अनि मैले पनि यस्तो फोटोसुट त गर्दिनँ भनेर चर्को स्वरमा कराएपछि अलि शान्त हुनुभयो र कुरा मिल्यो।

मोडलिङ र डेन्टल निकै फरक पाटा भए । दुइटा डुङ्गामा एकैपटक खुट्टा राख्दा त डुबिएला नि ?
त्यही त । दुवै निकै फरक पाटा हुन् तर मैले म्यानेज गरिरहेकी छु । डेन्टलले मलाई पाल्छ, मोडलिङले शोख पूरा हुन्छ । अहिले आफ्नै क्लिनिक भएकाले यसलाई व्यवस्थापन गर्न अलि सजिलो छ । एउटा मात्रै रोज भन्यो भने पनि मसँग उत्तर छैन । जबसम्म सक्छु, दुवैलाई सँगै लैजान्छु ।

तपाईं त डेन्टिस्ट । दाँतका बिरामीलाई केही टिप्स दिन चाहनुहुन्छ कि ?
अँ, त्यो त दिइहाल्छु नि ! अहिले नक्कली डाक्टरको बिगबिगी छ । एकताका सरकारले नक्कली डाक्टरलाई कार्बाही गरेको थियो अहिले फेरि सुनसान भैसक्यो र ती नक्कलीहरु फेरि काममा फर्किसके । त्यसैले उपचार गराउनुअघि त्यो मेडिकल काउन्सिलमा दर्ता छ कि छैन, कहाँबाट पढेर आएको हो भन्ने कुरा अनिवार्य रुपमा सोध्नुहोला, सेतो एप्रोन लगाउनेबित्तिकै ती डाक्टर हुँदैनन् । अनि मोडल भएको नाताले, यस क्षेत्रमा जो नयाँ हुनुहुन्छ, मोडलिङसँगै पढाइलाई निरन्तरता दिनुस्, सक्नुहुन्छ भने साइडमा अर्को प्रोफेसन पनि जोडिराख्नुस् भन्छु ।

प्रकाशित: २७ फाल्गुन २०७६ ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App