९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

काम उस्तै, ज्याला फरक

राजधानीमा अन्तर्राष्ट्रिय नारी दिवससम्बन्धी कार्यक्रमको चहलपहल बढ्दो छ। तर, ललितपुरको पाटन क्षेत्रमा इँटाको भारी बोक्दै गरेकी सिन्धुपाल्चोककी मुना तामाङलाई यसको कुनै अत्तोपत्तो छैन। उनले दैनिक ज्यालाका रूपमा आठ सय  पाउँछिन् भने उनलाई भारी हालिदिने रामबहादुर तामाङले एक हजार  बढी पाउँछन्। ‘काम उस्तै हो। हेर्नुस् न,  ज्याला फरक छ,’ उनले भनिन्, ‘पुरुषले नै बढी  पारिश्रमिक पाउँछन्।’   मुनासँगै काम गर्ने दिलमाया श्रेष्ठको पनि गुनासो उस्तै छ। उनी महिला र पुरुषले एउटा काम गर्दा पनि ज्यालामा विभेद गरिएको सुनाउँछिन्। ‘नारी दिवस कुन चराको नाम हो, हामीलाई थाहा छैन,’  दिवसबारे  प्रश्न गर्न नपाउँदै उनले भनिन्, ‘हामीलाई त भारी मात्रै थाहा छ।’

त्यस्तै, मंगलबजार क्षेत्रमा ठेलामा तरकारी बेच्ने  ४९ वर्षीया लक्ष्मी आचार्यको पनि यस्तै बुझाइ छ। विगत ११ वर्षदेखि उनले यसरी नै तरकारी बेच्दै आएकी छन्। यसअघि उनले थरीथरीका काम गरिन्। ‘आधा जीवन अरूको काम गरेरै बित्यो,’ उनले भनिन्, ‘त्यसरी प्रगति नभएकाले  ठेलामा तरकारी व्यापार गर्दै आएकी छु ।’ अरूको काम गर्दा श्रमको उचित मूल्य नपाएको उनी गुनासो गर्छिन्। ‘एक छिन ठेलामा तरकारी राखेर बस्दा पनि डरैडरमा बस्नुपरेको छ,’ उनले भनिन्, ‘गरिखाने ठाउँको व्यवस्था नहुँदा सडकपेटीमा लुकेर पसल राख्नुपरेको छ ।’ अन्तर्राष्ट्रिय नारी दिवसबारे सामान्य जानकारी भए पनि काम छाडेर त्यता जान नसकिने उनले बताइन्। ‘काम नगरी पेट भरिन्न,’ उनले भनिन्, ‘त्यसैले हाम्रो काम नै नारी दिवस हो ।’

रोल्पाकी  सुन्तली पुन भक्तपुरस्थित इँटाभट्टामा दैनिक १४  घन्टा बढी काम गर्छिन्, तर उनले आफ्ना दुई सन्तानलाई राम्रोसँग खुवाउन र शिक्षादीक्षा दिन सकेकी छैनन्।  ‘ठेक्कामा भने पनि काम गरेको आम्दानीले बिहान–बेलुकाको छाक  टार्न  धौधौ हुन्छ,’ उनले भनिन्, ‘दिनभर पसिना बगाएर पनि यसको उचित मूल्य पाउन सकेका छैनौं।’ त्यस्तै, विगत दुई वर्षदेखि मकै पोलेर बेच्दै आएकी सिन्धुलीकी सरिता पौडेलको भोगाइ पनि उस्तै छ। अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा हुने सभा, सम्मेलनमा जाने गरेको उनले सुनाइन्। उनले भनिन्, ‘जहाँ  गए पनि हाम्रो जीवनमा केही परिवर्तन आएको छैन,’ उनले भनिन्, ‘पसिना बगाएर खाने वातावरण नबनेसम्म सम्मेलनको अर्थ रहँदैन।’ त्यस्तै, महिलाहरूले फेसन देखाउने र आफ्ना पक्षका महिलाको संख्या देखाउने अवसरका रूपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने चलन बढेकामा सरिता दुःखी छिन् ।

मुलुकभित्रै रोजगारी पाउने श्रमशक्तिमध्ये चार  प्रतिशत औपचारिक र  ९६ प्रतिशत औपचारिक क्षेत्रमा काम गर्छन्              

श्रमशक्तिको अवस्था
महिला श्रमशक्ति सहभागिता दर दक्षिण एसियाका राष्ट्रमध्ये नेपालमा उच्च (८० प्रतिशत) छ।  महिलाहरू असमान ज्यालाको सिकारसमेत भइरहेका छन्। उनीहरू लामो समयसम्म काम गर्न बाध्य  छन्, कार्यस्थलमा हुने विभेद र दुव्र्यवहार भोग्न समेत विवश छन्। होम नेट साउथ एसिया नामक संस्थाद्वारा प्रकाशित ‘गृह श्रमिक र राज्यको दायित्व, संवाद पुस्तिका’ का अनुसार नेपालमा २२ लाख घरेलु श्रमिक छन्, जुन  अनुमान मात्र हो। त्यस्तै, पुस्तिकामा ७८ प्रतिशत महिला भएको दाबी गरिएको छ। यसैगरी, नेपाल लेबर एकेडेमीको सन् २००८ को प्रतिवेदनअनुसार काठमाडौं उपत्यकामा ३ लाख २० हजार घरेलु श्रमिक छन्। यीमध्ये पनि ३ चौथाइ महिला भएको प्रतिवेदनमा उल्लेख छ।

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका अनुसार हाल नेपालमा २० लाख श्रमिक नियमित तथा मौसमी रूपमा कार्यरत छन्। त्यस्तै, अर्को तथ्यांकअनुसार मुलुकभित्रै रोजगारीको अवसर पाएका श्रमशक्तिमध्ये ४  प्रतिशत मात्रै औपचारिक क्षेत्रमा कार्यरत छ भने ९६ प्रतिशत औपचारिक क्षेत्रमा छन्। अनौपचारिक क्षेत्रमा कार्यरत  श्रमिकको हक, अधिकार कुण्ठित भएको छ। पेसागत तथा सामाजिक सुरक्षा पनि संकटमुक्त छैन। यसका लागि केही कानुनी व्यवस्था त छन्, तर तिनको कार्यान्वयन पक्ष अत्यन्तै फितलो छ ।

ऐनमा सीमित अधिकार
श्रम ऐन २०७४ मा रोजगारदाताले श्रमिकलाई प्रतिदिन ८ घन्टा र १ हप्तामा ४८ घन्टा बढी समय काममा लगाउन नपाइने व्यवस्था गरेको छ, तर अनौपचारिक क्षेत्रमा काम गर्ने महिला बिहान–साँझसम्म  काम गर्न बाध्य छन्। पुन भन्छिन्, ‘घरमा अप्ठ्यारो पर्दा त बिदा पाउन गाह्रो छ। यस्ता दिवसमा आयोजित हुने कार्यक्रममा सहभागी हुने अवसर पाइँदैन।’ महिला श्रमिकका लागि नारी दिवस  ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ बन्दै आएको पुनको भनाइ छ।

श्रम खर्च
श्रम तथा रोजगार मन्त्रालयले निकालेको नेपालको सामाजिक सुरक्षा क्षेत्रबारे विश्लेषणात्मक जानकारी पत्रअनुसार हाल सामाजिक सुरक्षा लागत चालू खर्चको १५ प्रतिशत र कुल बजेट खर्चको १० प्रतिशत छ। कुल गार्हस्थ्य उत्पादन अनुपात २.४ प्रतिशत छ। तर, नेपालको कुल श्रमशक्तिमा ९० प्रतिशत बढी स्थान ओगट्ने असंगठित तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक तथा कर्मचारीका लागि भने कुनै पनि किसिमको सामाजिक सुरक्षा योजना ल्याइएको छैन। महिला श्रमिकको क्षेत्रमा काम गर्दे आएका होम नेट नेपालका कार्यकारी निर्देशक ओम थपलिया अनौपचारिक क्षेत्रका श्रमिक महिलामध्ये  धेरैले अन्तर्राष्ट्रिय नारी दिवसबारे  जानकारी नभएको सुनाउँछन्। ‘कार्यक्रम गर्नेले अनौपचारिक क्षेत्रका श्रमिक महिलालाई समेटेको छैन। त्यस्तै, सरकारले पनि उनीहरूको समस्यालाई सम्बोधन गर्न सकेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा  उनीहरूले अन्तर्राष्ट्रिय नारी दिवसलाई कुन चराको नाम हो भनेर सोध्नु कुनै अनौठो विषय  भएन।’

प्रकाशित: २४ फाल्गुन २०७६ ०६:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App