९ असार २०८१ आइतबार
image/svg+xml
अन्य

नेपाली सडकमा जापानी 'ट्राफिक'

वीर अस्पताल अगाडिको सडकमा अकासे पुल र जेब्राक्रसिङ हुँदा हुँदै गत बिहीबार यात्रीहरू जथाभावी बाटो काट्दै थिए। जापानी नागरिक शिरोसावा गुची भने जेब्राक्रसिङनेर उभिएर यो दृश्य  नियाल्दै थिए। उनको शिरमाथि नीलो टोपी, आँखामा फ्रेमवाला चस्मा, मुखमा सेतो मास्क थियो।  झट्ट हेर्दा ट्राफिक प्रहरी जस्ता देखिने उनका दुवै हातमा एक–एकवटा  सूचनामूलक पोस्टर  थिए। एउटा पोस्टरमा लेखिएको थियो, ‘अकासे पुलबाट मात्र बाटो काट्नुस्। तपाईंको सुरक्षित यात्रा हाम्रो चाहना।’

स्वयंसेवक ट्राफिक
गुचीले नेपाली ट्राफिकसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापनमा खटिने योजना बनाएका थिए। ट्राफिक प्रहरीबाट उनको अनुरोध सुनियो र आवश्यक वातावरणसमेत मिलाइयो। यसपछि उनी दैनिक रूपमा बिहान १० बजेदेखि दिनभर रत्नपार्क आसपासका सडकमा देखिन थाले।

पैदलयात्री उनलाई हेरेर दंग पर्थे, उनीबारे अनेक प्रश्न सोध्थे। उनी भन्थे, ‘म नेपाली होइन, जापानी नागरिक हुँ। यहाँ स्वयंसेवी ट्राफिक प्रहरी बनेको छु, म जिम्मेवार नागरिक  हुँ।’

उनको मुख्य उद्देश्य जथाभावी सडक पार गर्ने यात्रीलाई सचेत गराउनु रहेको छ। उनी जथाभावी बाटो काट्न खोज्ने यात्रीलाई  छेक्दै पोस्टर देखाएर  अकासे पुलबाट सडक पार गर्न आग्रह गर्छन्। यात्रु लाजले रातो न पिरो हुँदै कि जेब्राक्रसिङ कि अकासे पुलबाट सडक पार गर्छन्।

स्वयंसेवक ट्राफिक भएर नेपालीलाई सहयोग गर्न पाएकामा गुची निकै खुसी छन्, यस प्रकारको समाजसेवामा समर्पित हुने अवसर पाएकामा आफूलाई भाग्यमानी पनि ठान्छन्। उनमा नेपाल र नेपालीप्रति निःस्वार्थी माया छ।

गुचीले नेपालमा स्वयंसेवक ट्राफिक बनेर सडक व्यवस्थापना सहयोग पु-याएको करिब दुई वर्ष भयो। उनले अशक्त तथा वृद्धवृृद्धालाई जेब्राक्रसिङबाट सडक पार गराइदिँदै आएका छन्।

उनी जापानको तुलनामा नेपालमा सडक सुरक्षामा कम चासो दिइएकामा दुःख मान्छन्।  हतारमा जथाभावी बाटो काट्दा ज्यान जोखिममा हुने उनको बुझाइ छ। उनी भन्छन्, ‘म केवल यातायात नियमसँग मात्र चिन्तत छैन। मेरो हृदय नेपालीको मनमस्तिष्कमा जोडिएको छ। यात्रु र चालक सजग रहे दुर्घटना कम हुन्छ।’

गुचीले नेपालमा स्वयंसेवक ट्राफिक बनेर सडक व्यवस्थापना सहयोग पु-याएको करिब दुई वर्ष भयो। उनले अशक्त तथा वृद्धवृृद्धालाई जेब्राक्रसिङबाट सडक पार गराइदिने गरेका छन्।

गुची महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सञ्चालित कार्यक्रम सहभागी हुन्छन्। यसै क्रममा उनी सारंगी टोलीसँग ‘सडक सडकमा मान्नेैपर्ने ट्राफिकको नियम नमानेमा जान्छ है जीवन’ गीत गाउँदै हिँडेका थिए।

उनी चालकलाई सल्लाह दिँदै भन्छन्, ‘अँध्यारो हुनेबित्तिकै  बत्ती बाल्नुहोस्, मादक पदार्थ सेवन  गरेर सवारी नहाँक्नुहोस्।’ त्यस्तै, गुची चालकसमेत सचेत हुनुपर्ने बताउँछन्। उनको बुझाइमा सवारी चालकले पैदल यात्रीले जेब्राक्रसिङबाट बाटो काट्दै गर्दा सवारीको गति नियन्त्रण गर्नुपर्छ।

नेपाल यात्रा
सानैदेखि नेपालको नक्सा हेर्ने र सामाजिक सञ्जालमार्फत नेपालको पर्यावरणबारे जानकारी लिने गरेको गुचीले सुनाए। यसै क्रममा उनले नेपालको संस्कृति,  समाज र  भाषाशैलीबारे जानकारी हासिल गरेका थिए। उनी भन्छन्, ‘नेपाल आउनु सपनाको कुरा थियो। रहर पूरा भएको छ।’  गुची पहिलोपटक  २०१९ अप्रिल ११ मा नेपाल आएका थिए।

गुची  जापानमा रहँदा ट्राफिक प्रहरी नै थिए। उनले त्यहाँ ३६ वर्ष ट्राफिक प्रहरी भएर देशको सेवा गरे। जागिरबाट अवकाश पाएपछि उनी नेपाल आएका हुन्। उनी भन्छन्,  ‘यो  मेरो कर्म हो। नेपाल आउँदा पनि कर्म  बिर्सन मन लागेन।  नेपालका सडकको दुरवस्था देखेर सेवा गर्ने रहर पलायो।’

सडक समस्या
सडक पार गर्दा स्मार्टफोन चलाउने बानीका कारण दुर्घटना हुने गरेको उनले सुनाए। उनी सवारी चलाउँदा वा बाटो काट्दा स्मार्टफोन प्रयोन नगर्न आग्रह गर्छन्। उनले नेपाली निकै दयालु भएको सुनाए। उनी ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ गीत गुनगुनाउँछन् र भन्छन्, ‘सबै नेपाली एकजुट हुनुपर्छ। सुरुमा आफैँबाट काम सुरु गरियो भने अरूले सिक्छन्। मिलेर सडक सुरक्षाका विधि अपनाऔँ।’

उनी काठमाडाैंमा सडकको क्षमताभन्दा धेरै मोटरसाइकल भएको सुनाउँछन्। उनी भन्छन ‘उपत्यकामा धेरै पुराना बसहरू छन्। अनावश्यक हर्न बजाइँदो रहेछ, यो राम्रो होइन।’ सूर्यास्त हुने बेलादेखि नै  मोटरसाइकलको  बत्ती बालिनुपर्ने उनको सुझाव छ।

गुची भन्छन्, ‘सडक दुर्घटना न्यूनीकरण गर्न  पदयात्री र चालकले आ–आफ्ना नियम पालना गर्नुपर्छ। यात्रुले आफ्नो नियममा हिँड्नुप-यो, चालकले नियममा सवारी चलाउनुपर्छ।’

त्यस्तै, विद्यार्थीमार्फत जनचेतनामूलक सामग्री सम्प्रेषण गर्नु निकै प्रभावकारी हुने उनको भनाइ छ। उनी सडक सुरक्षासम्बन्धी जानकारी विद्यार्थीलाई सिकाउनुपर्ने बताउँछन्।

नेपालप्रेम
गुची नेपाली भाषा बोल्न जान्दैनथे।  नेपालीसँगको घुलमिल र अध्ययनबाट नेपाली भाषा बोल्न जानेको उनले सुनाए। उनी भन्छन्, ‘नेपाली किताबबाट बाह्रखरी घोकेँ,  लेख्न सिकेँ। र, नेपाली भाषा बोल्न जानें।’ उनी नेपाली भाषा राम्रैसँग बोल्न सक्छन्। भाषाका कारण काममा सहयोग पुगेको बताउने गुची नेपाली संस्कृति र आतिथ्यबाट झनै प्रभावित भएका छन्।

सामाजिक सञ्जाल र सूचना
गुची सामाजिक सञ्जालमा जोडिएका छन्। दिनभरका गतिविधि समेटिएका तस्बिर बेलुका फेसबुकमा पोस्ट गर्छन्। उनी जिम्मेवार नागरिक बन्न सबैलाई उत्प्रेरित गर्छन्। उनका पोस्टमा लेखिएका हुन्छन्, ‘बच्चाहरूको सुरक्षा सुनिश्चित गरौं, बालबालिका भविष्यका कर्णधार हुन्।’ उनी ट्राफिक नियम पालनाबाटै दुर्घटना न्यूनीकरण हुनेमा जोड दिन्छन्। उनी यात्रु र चालकलाई नियमपूर्वक हिँड्न र सवारी चलाउन बारम्बार अनुरोध गर्छन्। उनले यसरी अनुरोध गरिरहँदा ट्राफिक नियम बेवास्ता गर्नेहरू लाजले भुतुक्क हुन्छन्।

उनी नेपाली ट्राफिक प्रहरीका गतिविधिबाट निकै प्रभावित भएका छन्। ट्राफिक सचेतना कक्षा, नेपाली लोक बाजा सारंगीद्वारा गरिने सचेतना कार्यक्रम निकै उदाहरणीय कार्य भएको उनको बुझाइ छ। नेपालमा बसुन्जेल स्वयंसेवा गर्ने प्रण गरेका गुची भन्छन्, ‘ट्राफिक महाशाखाका ट्राफिक प्रहरीसँगको सहकार्यमा विभिन्न चोकचोकमा खटिरहनेछु।’

प्रकाशित: १७ फाल्गुन २०७६ ०३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App