२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

खोकनाको खुसी

कोही हुक्का तान्दै थिए। कोही चिउरा कुट्दै थिए। कोही ‘अइला’ पिउँदै त कोही बाँसुरी बजाउँदै  थिए। त्यस्तै, कतै लाखेनाच प्रदर्शन गरिँदै थियो, कतै धिमे गुन्जिँदै  थियो।

यस्ता दृश्य खोकना महोत्सवमा देखिएको थियो, जुन निकै मनमोहक थिए। खोकनाले आफ्नो परम्परागत चिनारी र पहिचान बचाइराख्न गत ९ फागुनदेखि ११ फागुनसम्म तीन दिने महोत्सव आयोजना गरेको हो।
टोलटोलमा देखाइएको  जात्रा तथा नृत्यले प्राचीन नगरी खोकनाको रूपरङ नै बदलिएको थियो, यसले  नयाँ जीवन नै पाएको महसुस हुन्थ्यो। परम्परागत पोसाकमा सजिएका वृद्धवृद्धा र केटाकेटी महोत्सवको रङमा रंगिए। बढ्दो आधुनिकीकरणका बाबजुद खोकनाले आफ्नो पौराणिक गाथा जतन गरेको देखिन्थ्यो।

महोत्वसका अवसरमा बुइँगलमा थन्काइएका  सामान पनि आँगनमा प्रदर्शन गरिएको थियो, जुन सामान नियाल्दा  प्राचीनताले आधुनिकताको घुम्टो उघारेको भान हुन्थ्यो।

‘खोकनाले फेरि जीवन पाएको महसुस भएको छ,’ रुद्रायणी माविकी शिक्षिका नलिना डंगोलले भनिन्, ‘हामीलाई  यसले थप खुसी बनाएको छ।’

महोत्सवको रौनकमा सिंगो गाउँ रमाएको थियो।  महोत्सव अवलोकन गर्न आएका विदेशी पनि उत्तिकै खुसी देखिन्थे। पोखराको लेकसाइडबाट महोत्सव अवलोकनकै लागि आएकी अमेरिकी नागरिक ताराले निकै रमाइलो महसुस भएको सुनाइन्। उनी हाकुपटासी लगाएर समयबजी खाँदै थिइन्। यस्तो जात्रा यसअघि नदेखेकी ताराले भनिन्, ‘नेवार साथीको निम्तामा आएको हुँ। निकै रमाइलो लागेको छ।’

तारा मार्था चौधरीको साथमा खोकना आइपुगेकी थिइन्। उनको वास्तविक नामा केरा  क्लिन्सवर्ग  हो। ‘छिमेकीले केराभन्दा  तारा राम्रो भनेर  राखिदिएको हो,’ ताराको अर्थ ‘स्टार’ भन्ने बुझेकी उनले भनिन्, ‘मलाई पनि राम्रो लागेको छ।’ 

महोत्सवमा बूढापाका पनि उत्तिकै रमाएका थिए। उनीहरु घरको पिँढीमा बसेर आगन्तुकलाई नियाल्दै थिए। यसअघि यति धेरै मानिस एकैपटक खोकनामा नआएको पनि उनीहरूले सुनाए। ‘मान्छेको भीडले पुरानो जीवनशैली मन पराएको देखियो,’ ७५ वर्षीय कृष्ण महर्जनले  भने,  ‘विगतको याद आयो।’ 

७० वर्षीय हीरालाल महर्जनल बाँसबाट निर्मित साधनबाट तम्बाकु खाँदै थिए। उनले खेतबारीमा काम गर्दा यसैगरी तम्बाकु खाने गरेको सुनाए। ‘तम्बाकु खाने भाँडाहरू परिवर्तन भए,’ उनले भने, ‘जात्राका लागि भनेर फेरि पुरानै पाराले बनाएँ।’

त्यस्तै, ७० वर्षीया केशरी महर्जन सुकुलमा बसेर जात्रालुले तेल किन्दै गरेको हेर्दै थिइन्। उनले  उति बेला पनि खोकनामा प्रशस्तै तोरी  पाइने गरेको जानकारी दिइन्। ‘घरहरू बन्न थालेपछि तोरी खेती कम हुन थल्यो,’ उनले भनिन्, ‘तोरी किन्न आउनेको भीड हेर्दा फेरि पुरानो खोकनाको याद आयो।’  केशरीले तोरी खेती गर्न सके अझै पनि तेल बिक्री हुने विश्वास गरिन्।

आगन्तुकको  खाजाका लागि चिउरा कुट्दै गरेकी  ६१ वर्षीया चमेली महर्जनले सानैदेखि चिउरा कुट्दै आएको सुनाइन्। ‘पहिला पहिला चिउरा कुट्ने चलन  थियो,’ उनले भनिन्, ‘अहिले जात्रा र महोत्सवमा सीमित भएको छ।’ लुसीले कुटेको चिउरा निकै स्वादिलो हुने गरेको उनले जानकारी दिइन्। 

त्यस्तै, बुद्धिमाया महर्जन पठुवाको चामल बेच्दै थिइन्। उनले बाँसको मानाबाट पठुवाको चामल भरेर दिँदा किन्नेहरू निकै अचम्मित भएका थिए। ‘पहिला पहिलाको मानापाथी यस्तै हो,’ उनले हाँस्दै भनिन्, ‘नयाँ भाडा घरमा आए पनि पुरानालाई जोगाएर राखेका छौं।’

जात्राका संयोजक एवं ललितपुर महानगरपालिका–२१ वडाध्यक्ष रवीन्द्र डंगोलले   आधुनिकीकरणको चपेटामा परेको  खोकनाको  कला, संस्कृति र रीतिरिवाज संरक्षण गर्दै यहाँको मौलिक परम्परालाई आगन्तुकसामु परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए।

उनका अनुसार ४० हजार  बढीबाट महोत्सव अवलोकन गरिएको थियो। यस्तो महोत्सव पर्यटन प्रवर्धनका लागि कोेसेढुंगा साबित हुने उनको तर्क थियो। ‘महोत्सव सोचेभन्दा निकै राम्रोसँग सफल भएको छ,’ उनले भने, ‘महोत्सवले सिंगो खोकना रमाएको छ।’

प्रकाशित: १७ फाल्गुन २०७६ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App