३१ श्रावण २०७७ शनिबार
अन्य

मनमा मौसमको प्रभाव

मौसमले मनलाई प्रभावित पारेको हुन्छ । यी दुवै अन्तर सम्बन्धित हुन्छन् । मौसमी परिवर्तनले व्यक्तिको शारीरिक तथा मानसिक परिवर्तनमा प्रभाव पार्ने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार मौसम परिवर्तन हुँदा बिरुवाले पालुवा फेरेझैं मन परिवर्तित हुन्छ ।

त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख तथा मनोचिकित्सक डा. सरोजप्रसाद वझाले व्यक्तिको मनमा मौसमले प्रभाव पार्ने बताए । उनका अनुसार चिसो मौसममा मन दुःखी हुने जोखिम हुन्छ । ‘चिसो मौसममा निद्रामा गडबढी हुने, झर्को लाग्ने, कुनै पनि कुरामा ध्यान केन्द्रित कम हुने, सामाजिक क्रियाकलापमा सक्रियता घट्नेजस्ता समस्या उत्पन्न हुन सक्छन्’, डा. वझाले भने, ‘चिसोका कारण व्यक्तिमा निरासा उत्पन्न भई तनावको स्थिति सृजना हुन सक्छ ।’

त्यसो त मनोचिकित्सक डा. कपिलदेव उपाध्याय पनि मौसमको परिवर्तनसँगै समुद्रमा ज्वारभाटा आएसरी मन उथलपुथल हुने बताउँछन् । शरीर पञ्चभौतिक तत्वले बनेको हुनाले प्रकृतिले व्यक्तिको मनमा प्रभाव पर्ने उनले बताए । ‘शरीरमा ७० प्रतिशत पानीको मात्रा हुन्छ,’ डा. उपाध्याय भन्छन्, ‘शरीरमा पानीको मात्रा धेरै हुने भएकाले मौसमी परिवर्तनले शरीर र मनलाई प्रभाव पार्ने नै भयो ।’

बायोलोजिकल क्लकमा प्रभाव
मनोचिकित्सकका अनुसार मनलाई मौसम, हावापानी, सूर्य र चन्द्रमाको अवस्थाले प्रभाव पर्छ । जाडो मौसममा बसोबास गर्ने व्यक्तिमा गर्मी ठाउँमा बसोबास गर्ने व्यक्तिको तुलनामा ढिलो उत्तेजित हुने स्वभाव हुने सम्भावना हुन्छ । जाडोमा सेरोटोनिनजस्तो मस्तिष्क रसायनको उत्पादनमा कमी हुँदा व्यक्तिमा निरासा उत्पन्न हुन्छ । जसले व्यक्ति एक्लो भएको महसुस गर्छ । यो मस्तिष्क रसायन बढ्दा व्यक्ति खुसी र आनन्दित हुने डा. वझा बताउँछन् । ‘चिसोका कारण शरीरभित्रको रासायनिक परिवर्तन हुँदा शरीरको बायोलोजिकल क्लकमै असर परी डिप्रेसनको जोखिम हुन्छ,’ डा. वझाले भने, ‘बायोलोजिक क्लक मौसम परिवर्तनसँगै प्रभावित हुन्छ ।’

सूर्यको कमीका कारण मस्तिष्कले उत्पादन गर्ने सेरोटोनिन मस्तिष्क रसायनको कमी हुँदा व्यक्तिमा तनाव हुन्छ । घामको प्रकाशको कमीले मेलाटोनिन हार्मोनको कमी हुँदा निद्रामा समेत असर पर्छ ।

अँध्यारोको असर
चिकित्सकका अनुसार जाडो र गर्मी मौसममा मात्रै नभएर अँध्यारो र उज्यालोका कारण व्यक्तिको शरीर र मनमा प्रभाव पार्छ । वीर अस्पतालका डा. सुशील मोहन भट्टराईका अनुसार व्यक्तिको पिट्युटरि ग्रन्थीले उज्यालो, अँध्यारो ग्रहण गर्छ । जुन प्रभावले शारीरिक परिवर्तन हुन्छ । अँध्यारो र उज्यालोले प्रभाव पार्ने भएकैले व्यक्ति सुत्नका लागि अँध्यारो कोठा उपयुक्त हुने उनी बताउँछन् ।
उज्यालोमा व्यक्तिको मस्तिष्क बढी सक्रिय हुने भएकाले निद्रा लाग्दैन । चिसो मौसममा बसेका व्यक्ति अचानक गर्मी मौसम भएको ठाउँमा जाँदा र गर्मी मौसम भएको ठाउँमा बसेका व्यक्ति अचानक चिसो मौसम भएको ठाउँमा जाँदा शारीरिक तथा मानसिक सन्तुलनमा असर पर्न सक्नेतर्फ चिकित्सक सजग गराउँछन् ।

डा. भट्टराईका अनुसार  चिसो र धुम्म मौसममा व्यक्तिको शरीरै शिथिल हुन्छ । जाडोको तुलनामा न्यानो मौसममा व्यक्ति शारीरिक तथा मानसिकरुपमै सक्रिय हुने उनी बताउँछन् । ‘दिन तात्दै जाँदा सुसुप्त अवस्थामा रहेको शरीरको ऊर्जा उत्पादन गर्ने प्रक्रिया बढ्दै जाने भएकाले शरीर सक्रिय हुन थाल्छ,’ भट्टराईले भने, ‘दिन तात्दै जाँदा शरीरमा भिटामिन–डी को मात्रा बढ्दा व्यक्ति सक्रिय हुन्छ ।’

वातावरणको प्रभाव
चिकित्सकका अनुसार नेपालको हावापानीअनुसार पुस–माघको समयमा वातावरण पनि उजाड हुने र मौसम पनि चिसो हुने भएकाले व्यक्तिको मन खिन्न हुने जोखिम हुन्छ । यस्तो अवस्थामा सेरोटोनिनजस्ता खुसी दिने हार्मोनको उत्पादनमा कमी हुने भएकाले व्यक्ति निरास हुन सक्नेतर्फ मनोविद् गोपाल ढकाल सचेत गराउँछन् । दिन तात्दै जाँदा व्यक्तिमा इन्डोरफिन जस्तो खुसी दिने मस्तिष्क रसायनको मात्रा बढ्दा व्यक्ति खुसी हुन्छ । अक्सिटोसिन, डोपामिन, सेरोटोनिनजस्ता मस्तिष्क रसायनले मन परिवर्तनमा भूमिका खेल्छ । जाडो मौसममा यस्ता रासायनिक तत्वको कमीले व्यक्तिमा निरासा ल्याउन सक्ने मनोचिकित्सक बताउँछन् ।

व्यक्तिले जाडो मौसममा यस्ता हार्मोनको उत्पादनमा वृद्धि गर्ने क्रियाकलाप गर्नाले व्यक्ति खुसी हुनसक्छ ।  तनावमा कर्टिशोलजस्तो मस्तिष्क रसायनको उत्पादन बढ्ने भएकाले खुसी हुने किसिमको काम गर्न चिकित्सकको सुझाव छ । खुसियालीको बाटो अपनाएर जाडो मौसममा वसन्त ऋतुको जस्तै उमंग ल्याउन आवश्यक हुन्छ । यस मौसममा घुमघाम तथा मनोरञ्जन गर्नाले तनावबाट मुक्त हुन सकिन्छ ।

मनोविद् ढकालका अनुसार दिन तात्दै जाँदा सेरोटोनिन बढ्दै जाने भएकाले यो रसायनले व्यक्तिमा खुसी ल्याउँछ । शारीरिक सक्रियताका कारण इन्डोफिन बढ्छ भने उमंग तथा रंगीचंगी वातातरणले प्रेमको हार्मोन मानिने अक्सिटोसिनको मात्रा बढ्छ । जसले व्यक्तिमा उमंग प्रदान गर्छ । प्रेममय वातावरणमा डोपामिन रसायनमा वृद्धि हुन्छ । ‘जस्तो मस्तिष्क रसायन छ, त्यहीअनुसारको स्वभाव हुन्छ’, ढकालले भने, ‘व्यक्तिले नकारात्मक सोच बनाउँदा सेरोटोनिनको उत्पादनमा कमी हुँदा व्यक्ति  निरास हुन्छ । सकारात्मक सोच्दा सेरोटोनिन, अक्सिटोसिनजस्ता रासायनिक तत्वको उत्पादन बढ्दा व्यक्तिको मन खुसी हुन्छ ।’

खुसी, दुःख, ईष्र्या मनका अनुभूति हुन् । यस्ता अनुभूतिलाई भौतिक सम्पत्तिले मापन गर्न सकिँदैन । व्यक्तिमा भौतिक सम्पति हुँदैमा मन खुसी हुन्छ नै भन्ने छैन । त्यसैले व्यक्ति स्वस्थ भएर बाँच्नका लागि मौसमलाई पनि ख्याल गर्नुपर्ने मनोचिकित्सकको तर्क छ ।

मौसमी तनाव
मनोचिकित्सकका अनुसार मौसमको परिवर्तनले व्यक्तिको मन पनि परिवर्तन हुन्छ । मौसमअनुसार मन परिवर्तन हुँदा डिप्रेसनको जोखिम हुन्छ । मौसमको परिवर्तनसँगै हुने डिप्रेसनलाई चिकित्सकीय भाषामा ‘सिजनल एफेक्टिभ डिसअर्डर’ भनिन्छ । यही समस्यालाई ‘विन्टर डिप्रेसन’ समेत भनिन्छ । मनोचिकित्सकका अनुसार जाडो मौसममा डिप्रेसनको जोखिम बढी हुन्छ । तर दिन तात्दै गएपछि भने यस्तो समस्या कम हुन सक्छ । जाडो मौसममा वातावरणसमेत उजाड हुने भएकाले यो मौसममा व्यक्ति दुःखी भई निरास हुन सक्ने मनोविद् ढकाल बताउँछन् । ढकालले भने, ‘मन नपरेको वस्तु हेर्नुपर्दा मन दुःखी हुन्छ, जसले निरासा बढाउँछ ।’

विभिन्न किसिमका डिप्रेसनमध्ये जाडो मौसममा हुने डिप्रेसन एक हो । मौसम परिवर्तनसँगै देखिने यो डिप्रेसनलाई मौसमी डिप्रेसनका नामले समेत चिनिन्छ ।  अन्य मौसममा नदेखिए पनि जाडोमा यस किसिमको डिप्रेसन देखिन सक्ने चिकित्सक बताउँछन् । ढकालले भने, ‘सूर्यको किरणको अभावमा सेरोटोनिनको उत्पादनमा कमी हुँदा डिप्रेसनको जोखिम हुन्छ ।’

मनोचिकित्सकका अनुसार जाडो मौसममा शरीरमा मेलाटोनिन नामक मस्तिष्क रसायनको उत्पादन बढ्छ । यो बढी मात्रामा अँध्यारोमा उत्पादन हुने रसायन हो । यसको उत्पादन बढ्दा निद्रा लाग्ने, शरीर शिथिल हुने, खाना रुच्नेजस्ता अवस्था सृजना हुने ढकालले बताए । डिप्रेसनको समस्या भएका व्यक्तिमा मेलाटोनिन मस्तिष्क रसायन बढ्ने जोखिम हुने चिकित्सक बताउँछन् ।

चिसो मौसम तथा बादल लागेको अवस्थामा सूर्यको प्रकाशको कमीले सेरोटोनिन रासायनिक तत्वमा कमी हुँदा व्यक्तिमा डिप्रेसनको जोखिम हुने डा. उपाध्याय बताउँछन् । मौसमी डिप्रेसनको समस्या बालबालिका तथा वृद्धमा बढी हुने ढकाल बताउँछन् । डा. उपाध्यायका अनुसार युरोपियन देशमा मौसमी डिप्रेसनको समस्या बढी देखिन्छ । नेपालको इलाम क्षेत्रमा पनि यस्तो समस्या बढी सुनिएको उनी सुनाउँछन् । मौसमजस्तै मन पनि परिवर्तन भइरहने भएकाले हावापानी तथा भूगोलले मनलाई प्रभाव पार्ने ढकाल बताउँछन् ।

जाडो मौसम सुरु भएसँगै लगातार दुई हप्ताभन्दा बढी झर्को लाग्ने, दुःखी हुने, मन उदास हुने, कुनै जोस–जाँगर नलाग्नेजस्ता लक्षण देखिए मौसमी डिप्रेसनको शंका गर्न सकिने ढकाल बताउँछन् । तर सामान्य व्यक्तिमा जाडो सकिएसँगै कम भएर जान्छ । कतिपय व्यक्तिमा यसले बढी च्याप्न सक्छ ।

घामको काम
सूर्यको प्रकाशको अभावमा सेरोटोनिन मस्तिष्क रसायनको मात्रा शरीरमा कमी हुँदा व्यक्तिमा मानसिक तनाव बढ्ने जोखिम हुने भएकाले दैनिक सूर्यको प्रकाशमा बस्न मनोविद् ढकालको सुझाव छ ।  चिकित्सकका अनुसार ‘भिटामिन–डी’ को कमीको कारण व्यक्तिमा मानसिक समस्या उत्पन्न हुन सक्छ । ‘भिटामिन–डी’ घाममा बस्दा छालाको माध्यमबाट शरीरभित्र प्रवेश गर्ने भएकाले डिप्रेसनको समस्याबाट बच्न दैनिक करिब आधा घण्टाभन्दा बढी घाममा बस्न डा. कपिलदेवको सुझाव छ । ‘भिटामिन–डी’का लागि प्रत्यक्ष घाममै बस्नुपर्ने हुन्छ । घर वा कुनै ठाउँमा सीसाभित्र घाम छिर्ने ठाउँमा बस्दैमा शरीरमा ‘भिटामिन–डी’ प्राप्त हुन नसक्नेतर्फ चिकित्सक सचेत गराउँछन् । ‘सीसाभित्र घाम तापेर भिटामिन–डी प्राप्त गर्न सकिँदैन । घाममै बस्नुपर्छ,’ डा. उपाध्यायले भने, ‘सप्लिमेन्ट खाएर मात्रै पनि भिटामिन–डी प्राप्त गर्न सकिँदैन ।’

‘भिटामिन–डी’ को अभावमा विभिन्न किसिमका शारीरिक तथा मानसिक रोगको जोखिम हुन्छ ।
बालबालिकामा ‘भिटामिन–डी’ को कमीले हात–खुट्टा बांगिने, लुला हुने, हड्डी कमजोर हुनेजस्ता समस्या उत्पन्न हुन सक्छन् । भिटामिन डीले क्याल्सियमको मात्रालाई सन्तुलित गर्ने भएकाले घाममा बस्न चिकित्सकको सल्लाह छ । ‘भिटामिन–डी’ को कमीले शरीरको मांशपेशी कमजोर हुन्छ । यसको कमीले क्यान्सरको समेत जोखिम हुने भएकाले यसमा सचेत हुन चिकित्सकको सुझाव छ ।

शास्त्रमा मौसम
वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक डा. वासुदेव खनाल पनि मौसमको आधारमा ऋतुको व्याख्या गरिएकाले मौसमले व्यक्तिको दैनिकीमा प्रभाव पार्ने बताउँछन् ।  खनालका अनुसार मंसिर महिनादेखि फागुन महिनासम्मलाई जाडो मौसम मानिन्छ । धर्मशास्त्रीय निबन्ध ग्रन्थ, वेदजस्ता ग्रन्थमा ऋतु, वर्षा, महिना, दिनको उल्लेख भएको उनी बताउँछन् । ‘धर्मशास्त्रमा शरीरलाई न्यानो बनाउने किसिमका खाद्यपदार्थ खाने परम्पराको उल्लेख छ,’ डा. खनालले भने, ‘विष्णु धर्मोत्तरी पुराणमा गर्मी महिनामा पानी, चन्दन, अत्तर दान गर्ने उल्लेख छ ।’

असोज–कात्तिकमा अन्न, मंसिरदेखि माघसम्म बस्त्र दान गर्ने कुरा विष्णु धर्मोत्तरी पुराण र अन्य स्मृतिग्रन्थ, निबन्ध ग्रन्थमा उल्लेख भएको खनालले बताए । डा. खनालका अनुसार दण्ड विधानमा समेत कुन मौसममा कस्तो किसिमको दण्ड दिने भन्ने शास्त्रीय ग्रन्थमा उल्लेख छ ।
धर्म शास्त्रीय दृष्टिकोणअनुसार  कात्तिकदेखि माघमहिनासम्म हेमन्त ऋतुको मौसममा शारीरिक सक्रियता कम हुन्छ ।

बच्ने उपाय
जाडो मौसममा चिसोबाट बच्न घाम ताप्नु त छँदैछ लाइट थेरापीसमेत गर्न सकिन्छ । प्रकाशको कृत्रिम किरणले लाइट थेरापी गरिन्छ । सनस्क्रिन क्रिम लगाउँदा पनि सूर्यको प्रकाशबाट पाइने ‘भिटामिन–डी’ नपाउने भएकाले जाडोमा सनस्क्रिन क्रिम नलगाउन डा. उपाध्यायको सुझाव छ । जाडो मौसम यौनका लागि उपयुक्त मौसम भएकाले जाडो मौसममा मन खुसी बनाएर मानसिक तनावबाट बच्नका लागि सन्तुलित रुपमा यौन क्रियाकलाप तथा यौन सम्पर्क गर्न सकिने डा. दिनेश बाँस्तोला बताउँछन् । ‘सन्तुलित र सुखद् यौनले खुसीका हार्मोन निष्कासन हुन्छन्,’ डा. बाँस्तोलाले भने, ‘यौन जोडीमा उन्माद छाउँदा व्यक्तिको मन खुसी हुन्छ र तनाव हट्छ ।’

डा. बाँस्तोलाका अनुसार मौसम परिवर्तनसँगै व्यक्तिको व्यवहार र हार्मोनमा पनि परिवर्तन आउँछ । मौसम परिवर्तनसँगै टेस्टेस्टेरोन, फोलिकल, स्टिमुलेटिङ, ल्युटेनाईजिङ र प्रोल्याक्टिनजस्ता हार्मोनको परिवर्तन हुन्छ । जसले यौन जीवनमा पनि प्रभाव पार्छ । यस्ता हार्मोनको उतारचढावले व्यक्तिको शरीरमा उतारचढाव ल्याउँछ । जसले व्यक्तिको शारीरिक तथा मानसिक अवस्थामा प्रभाव पर्छ । जीवनशैलीमा परिवर्तन गरे मौसमी डिप्रेसनबाट बच्न सकिने चिकित्सक बताउँछन् । यस्तो समस्याबाट बच्न बिहान धेरै समय नसुत्न मनोचिकित्सकको सुझाव छ । ‘भिटामिन–डी’ पाइने खाद्यपदार्थ खानुपर्छ । हरियो तथा पहेँला साथसब्जी प्रशस्त मात्रामा खानुपर्छ । ओमेगा–थ्री पाइने माछा तथा आलसजस्ता खानपान गरे जाडोमा हुने मौसमी डिप्रेसनबाट बच्न सकिने ढकाल बताउँछन् । जाडो मौसममा न्यानोमा बस्नु त छँदैछ ।

बाल–वृद्धलाई बढी तनाव
डा. दिनेश बाँस्तोला

गर्मीको तुलनामा व्यक्तिलाई जाडो सहन मुस्किल पर्छ । चार डिग्री सेन्टिग्रेड तापक्रम बढ्दा भन्दा चार डिग्री सेन्टिग्रेड तापक्रम घट्दा व्यक्तिलाई असहजता हुन्छ । मस्तिष्कको हाईपोथालामसले तापक्रमको समायोजन गर्छ । पाका उमेरका व्यक्तिको हाइपोथालामसको तापक्रम समायोजन गर्ने केन्द्र बोदो हुन्छ । यस्तो अवस्थामा पाको उमेरका व्यक्तिमा सहजरुपमा तापक्रमको समायोजन हुन कठिन पर्छ । त्यसैगरी साना बालबालिकाको हाइपोथालामसको केन्द्र पूर्णरुपमा विकसित भएकै हुँदैन । जसका कारण वयस्क व्यक्तिको तुलनामा पाको उमेरका व्यक्ति र साना बालबालिका जाडोबाट बढी प्रभावित हुन्छन् ।

सामान्यतः जाडो मौसममा पिसाब धेरै लाग्छ । पिसाब धेरै लाग्दा राति निद्रामा समेत असर पर्ने भएकाले जाडो मौसममा राति सुत्ने समयमा तरल पदार्थ धेरै नपिएकै राम्रो । गर्मीमा पसिनाको माध्यमबाट पानी शरीर बाहिर जान्छ । तर जाडोमा पसिना कम आउने भएकाले पिसाबको माध्यमबाट जान्छ ।

जाडो मौसममा रोगप्रतिरोधात्मक क्षमतासमेत कमजोर हुने भएकाले विशेषगरी दम, मुटु, श्वासप्रश्वासजस्ता समस्या भएका व्यक्ति यो मौसममा बढी प्रभावित हुन्छन् । जाडो मौसममा हावा सुख्खा हुन्छ । तर गर्मीमा भने वास्पिकरण हावा हुने भएकाले जाडो मौसममा विभिन्न रोगको जोखिम हुन्छ । नेपालको तराई क्षेत्रका व्यक्ति जाडोबाट बढी प्रभावित भएको पाइन्छ । कारण तराईमा जाडोका लागि पूर्व तयारीमा ध्यान नदिनु नै हो । तराई क्षेत्रमा बढीजसो गर्मी मौसम हुने भएकाले २/३ महिना हुने जाडो मौसमका लागि लुगा–कपडाको जोहोमा ध्यान नजानु स्वाभाविकै हो । तराई क्षेत्रमा जाडोभन्दा गर्मी अनुकूलका घर बनाइन्छ । जसले जाडो नछेल्दा व्यक्ति जाडोको प्रभावमा बढी पर्ने जोखिम हुन्छ ।

पहाडी तथा हिमाली भू–भागमा भने जाडो मौसम अनुकूलका घर बनाइएको हुन्छ । जसले यस क्षेत्रमा बसोबास गर्ने व्यक्ति जाडोबाट बच्न सक्छन् । पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने व्यक्ति जाडो मौसममा शरीरलाई न्यानो बनाउने किसिमका खानपान मन पराएको देखिन्छ । तर तराईमा बस्नेले चिसो खानपान मन पराएको देखिन्छ । यसले पनि प्रभाव पर्छ ।

मन र विचारको सन्तुलन
डा.सरोजप्रसाद वझा

प्रमुखः मानसिक स्वास्थ्य विभाग
त्रि.वि शिक्षण अस्पताल
मनोवैज्ञानिकको दृष्टिकोणमा मस्तिष्कको सबैभन्दा ठूलो काम मन र विचारलाई सन्तुलित राख्नु हो । सामान्यतः एकैरुपमा बुझिए पनि मन र विचार भिन्न हुन् । मनअनुसारको विचार पैदा हुन्छ । खुसी मन भएको व्यक्तिको विचार सकारात्मक उत्पन्न हुन्छ भने नकारात्मक विचार आउँदा मन बेखुसी हुन्छ । मन र विचारलाई मौसम तथा वातावरणले प्रभाव पारेको हुन्छ । मन कमजोर भएको तथा डराएको अवस्थामा व्यक्ति अस्वस्थ हुन पुग्छ । मन र विचार सन्तुलित हुन आवश्यक छ ।
मनभित्र उत्पन्न हुने माया र भावनाले मनमा प्रमुख भूमिका खेल्छ । व्यक्तिको मनलाई सधैँ खुसी हुन मन लाग्छ ।

मस्तिष्कमा सेरोटोनिन, डोपामिन, नरइपिनेफ्रिनजस्ता मस्तिष्क रसायन उत्पादन हुन्छन् । व्यक्तिको खुसीका लागि यस्ता तत्व सक्रिय हुन आवश्यक हुन्छ । उत्सवमय वातावरणमा व्यक्तिमा यस्ता खुसीका रसायन स्वचालितरुपम वृद्धि हुन्छन् । तर चिसो मौसममा भने शरीर कक्रक्क परेर बस्दा खुसीका हार्मोनको सक्रियतामा कमी हुँदा मन दुःखी हुन सक्छ ।

 

 

प्रकाशित: ४ फाल्गुन २०७६ १३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App