११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

सैलुङका थुम्कामा कंक्रिट संरचना

दोलखाको पर्यटकीय क्षेत्र सैलुङको डाँडैमा निर्मित संरचना । तस्बिर : रमेश/नागरिक

सैलुङ (दोलखा) – सैलुङका थुम्काथुम्कामा उभिएर वरिपरि नियाल्दा सगरमाथासहित देशका दर्जनभन्दा बढी हिमशृंखला देख्न सकिन्छ। काठमाडौं उपत्यकावरपरका डाँडाकाँडा, महाभारत शृंखलाका पर्वतहरू मात्र होइन, चुरे उपत्यकाका विभिन्न स्थानसमेत अवलोकन गर्न सकिने ती सुन्दर ती थुम्काहरू वास्तवमै प्राकृतिक ‘भ्युटावर’ हुन्।

३४ सय मिटर उचाइमा अवस्थित सैलुङ वास्तवमा प्राकृतिक भूस्वर्ग नै हो। तर पछिल्लो समय त्यहाँको सौन्दर्यलाई क्षति पुग्नेगरी कंक्रिटको भ्युटावरलगायत संरचना निर्माण भइरहेका छन्। व्यक्तिगत प्रयासमा मात्र नभएर पर्यटन मन्त्रालयसहित अन्य सरकारी निकायको पनि त्यस्ता संरचना निर्माणमा संलग्नता रहेको पाइन्छ। सौन्दर्यको नमुना स्थानलाई कुरूप पार्नेगरी सैलुङको डाँडामा भ्युटावरसहित अन्य संरचना ठड्याउन थालिएपछि सरोकारवालाहरू चिन्तित बनेका छन्।

२०७३ सालमा दोलखा–२ का सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले एक करोड ७५ लाख रुपैयाँ रकम मन्त्रालयबाट विनियोजन गराएपछि पर्यटन विभागमार्फत टेन्डर गरेर उक्त भ्युटावर ठड्याइएको थियो। सैलुङका विभिन्न थुम्कामध्ये सबैभन्दा अग्लोमा ठड्याइएको भ्युटावर चारतले छ। अत्यधिक हावा चल्ने भएकाले कोठाहरू बारेर तीन तलासम्म झ्याल हालिएका छन् भने वरिपरि गारो लगाइएको छ। भ्युटावर चढेर र थुम्कामा उभिएर हेर्दा देखिने दृश्यमा खासै भिन्नता पाइँदैन। उक्त भ्युटावर बनाउने तयारीबारे थाहा पाएका स्थानीयले २०७० सालदेखि नै विरोध गर्दै आएका थिए। सैलुंगेश्वरको झोर मनगाउँलगायत बस्तीका स्थानीय पटकपटक सदरमुकाम चरिकोट आएर जिल्ला प्रशासनमा विरोधपत्र बुझाएका थिए। ‘यति सुन्दर ठाउँमा भ्युटावर बनाउन नदिऔं भनेर सिडिओ कार्यालयमा पटकपटक डेलिगेसन गयौं,’ झोर मनगाउँका लालबहादुर श्रेष्ठले भने, ‘तत्कालीन सिडिओले त्यसप्रति चासो नै दिएनन्, बरु विकासमा अवरोध नगर्नुस् भनेर हप्काए।’ भ्युटावरको सट्टा पर्यटकलाई थुम्कामा बस्न मेच, कुर्सीलगायत बनाइदिन आफूहरूले गरेको आग्रहको कुनै सुनुवाइ नभएको श्रेष्ठले बताए।

२०७३ सालमा दोलखा–२ का सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले एक करोड ७५ लाख रुपैयाँ रकम मन्त्रालयबाट विनियोजन गराएपछि पर्यटन विभागमार्फत टेन्डर गरेर भ्युटावर ठड्याइएको थियो।

भ्युटावरसँगै स्थानीय तामाङ समुदायले छ्योर्तेन पनि निर्माण गरिरहेका छन्। सैलुङ गाउँपालिका–७ का वडाध्यक्ष धावा वाङ्गेल लामाको अध्यक्षतामा स्थानीयले समिति नै गठन गरेर छ्योर्तेन बनाउन थालेका हुन्। स्थानीय तामाङ समुदायको धार्मिक आस्थासँग जोडिएको यो छ्योर्तेन भ्युटावरकै छेउमा बनिरहेको छ।

‘नापीको बिन्दु नै छेकिदियो’
सैलुङ डाँडामा बनाइएको टावर र छ्योर्तेनले सँगै रहेको मुलुकको नापीनक्साको पहिलो बिन्दु छेकिदिएको छ। नापी विभागका अनुसार देशभरिको नापनक्सा हेर्न मुलुकभर ६८ वटा बिन्दु छन्। त्यसलाई नापीको भाषामा प्रथम दर्जाको बिन्दु भनिन्छ। विभागका अधिकारीहरूका अनुसार सैलुङ रहेको बिन्दू प्रथम दर्जाको हो। यो बिन्दुबाट प्रथम दर्जाकै अर्को बिन्दु वा गाउँ र विभिन्न डाँडाकाँडामा राखिएको दोस्रो, तेस्रोदेखि पाँचौंसम्मको बिन्दु देखिनुपर्ने नापी विभागको खगोल तथा भूमापन महाशाखाका प्रमुख कृष्ण सापकोटाले बताए। ‘प्रथम दर्जाको यस्ता बिन्दुबाट कम्तीमा त्रिकोणात्मक रूपले अर्को पहिलो दर्जाको बिन्दु तथा दोस्रो र तेस्रो दर्जाको बिन्दु देखिनुपर्छ,’ उनले भने, ‘नदेखिँदा नापनक्साको समग्र काममा अवरोध आइपर्ने हुन्छ।’ सापकोटाले देशका विभिन्न स्थानमा रहेका पहिलो दर्जाका बिन्दुवरपर संरचना बनाउने काम भएका कारण सिर्जना हुन थालेको सुनाए।

‘पहिल्यै बनेकाले केही गर्न सकेनौं’
स्थानीय तह गठन भइसक्नुअगाडि नै संरचना निर्माण सुरु भइसकेकाले सैलुङमा रहेका हालका संरचना हटाउन नसकेको गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए। ‘हामी आउनुअगाडि नै भ्युटावर बन्न सुरु भइसकेको थियो,’ उनले भने, ‘नराम्रो देखिए पनि अब भत्काउनेभन्दा पनि त्यसैलाई व्यवस्थित बनाएर आकर्षक तुल्याउनुको विकल्प छैन’। छ्योर्तेन भने धार्मिक आस्थासँग जोडिएको विषय भएकाले व्यवस्थित र आकर्षक डिजाइनसहित बनाउन आफूले समितिसमक्ष समन्वय गरिरहेको उनले सुनाए।

प्रकाशित: २९ माघ २०७६ ०१:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App