सुर्खेतको पुरानो बजार हो, गणेशचोक। तर, अहिले वीरेन्द्रचोक, बुद्धपथ, जुम्ला रोडतिर बजार बढेपछि गणेशचोक सुनसानजस्तै छ। गणेशचोक नजिकै छ, गणेश मन्दिर। बिहीबार गणेश मन्दिर उत्तरछेउ रहेको सन्तोषीमाता मन्दिरमा एक नाबालकको चिना कुण्डली हेर्दै थिए,३५ वर्षीय पुजारी मधुसुदन उपाध्याय। वीरेन्द्रनगर–८ की ज्ञानु विक आफ्नो नातिको नाम जुराउन आएकी रहिछन्। पुजारीले पात्रो पल्टाएर, कागजमा लेखेर एकैछिनमा नाबालकको चिना तयार पार्छन्– नाम : देवराज, राशिः मीन।
ज्ञानु खुसी मुद्रामा सोध्छिन्, ‘अरु दशाग्रह कस्ता छन् ?’पुजारी पात्रोका पाना पल्टाउँदै घोरिन्छन् र भन्छन्, ‘यो बालकले विद्या र धन कमाउने योग छ।’ यसोभन्दा ज्ञानुको मुहार उज्यालियो। उनी खुसी हुँदै फेरि सोध्छिन्, ‘कुनै ग्रहशान्ति गर्नुपर्छ कि ?’ पुजारीले बालक जन्मेको १२ दिनदेखि २८ दिनभित्रग्रहशान्ति गर्दा राम्रो हुने बताउँछन्। योबीचमा दिन जुराउननपर्ने र पछि कुनै बेला पनि दिन जुराएर ग्रहशान्ति गर्न सकिने पुजारीको भनाइ हुन्छ। प्युठानको स्वर्गद्वारी आश्रममा २०६० देखि २०६३ सम्म बिना श्रेणीको गुरुकुल शिक्षा लिएका मधुसुदन यस मन्दिरका पाँचौँ पुजारी हुन्।
उनीअघि यहाँ चारजनाले पुजारी कर्म गरे। यस मन्दिरमा २०२८ सालतिर अनौपचारिकरूपमा पूजापाठ हुने स्थानीय बताउँछन्। औपचारिकरूपमा भने यहाँ २०३२ सालदेखि पूजाआजा गर्न थालिएको हो। बजारमा भीडभाड हुने र नजिकै पानीको मुहान भएकाले यहाँका सर्वसाधारणले यस मन्दिर स्थापना गरेका थिए। ‘यो प्राकृतिकरूपमा उत्पत्ति भएको धार्मिकस्थल होइन,’ मधुसुदन भन्छन्, ‘यसलाई आध्यात्मिकरूपमा विकास गरिएको हो।’ अहिले यो धार्मिक तीर्थस्थलका रूपमा विकास हुँदै गएको छ।
दैलेख चामुण्डा विन्द्रासैनी–४,तिलुखानाका मधुसुधनका बाबु नन्दराम पनि कर्मकाण्ड गर्थे। मधुसुदनले कर्मकाण्ड विधि बाबुबाटै सिकेका हुन्। २०५८ मा एसएलसी उत्तीर्ण गरेका उनी २०५८ देखि २०६० सम्म बाबुसँगै धार्मिक कार्यमा सहभागी भए। त्यसपछि उनलाई यससम्बन्धी अध्ययन गर्न मन लाग्यो र गुरुकुल पुगे। गुरुकुलबाट फर्केलगत्तै (०६४ मा) उनी गाउँकै उपेन्द्र रावत र सीता शाहीको विवाहमा बाहुन भए, यो नै उनको पहिलो कर्मकाण्ड अनुभव हो। मधुसुधनका दाइ कृष्णप्रसाद राष्ट्रिय वाणिज्य बैंक दैलेखका म्यानेजर छन् भने कान्छा भाइ हरि स्थानीय गैरसरकारी संस्थामा काम गर्छन्। उनी भने पूजापाठ गर्न आइपुगे।
यहाँ गणेश भगवान्को पाञ्चायण मूल मन्दिर छ। सँगै सन्तोषीमाता, नागेश्वरको शिव लिंग पनि छ। यसलाई सनातन धर्म सेवा समितिले रेखदेख गर्दै आएको छ। यस मन्दिरमा रक्षाबन्धन र मंगल चौथीका दिन धेरै भक्तजन आउँछन्। यतिबेला भक्तजनले भेटी चढाउँछन्।त्यसैले यहाँ कति आम्दानी हुन्छ भन्ने यकिनका साथ भन्न सकिँदैन। मधुसुदन भन्छन्, ‘यहाँ आम्दानी कम हुने हुँदा छिटो–छिटो पुजारी परिवर्तन भएका हुन्।’ पूजापाठकै आम्दानीबाट घरखर्च चलाउँदै आएकाउनकादुई सन्तान छन्। छोरी टीका ५ कक्षामा पढ्छिन् भने छोरा विवेक २ कक्षामा।
मधुसुधन यो पेसाबाट खुसी छन्। भन्छन्, ‘मान्छे जन्मेपछि खुसी र दुःखी अवश्य हुन्छ। धन–दौलत वा सुखसुविधाका लागि मान्छे देवीदेवता पुकार्छ। भक्ति आराधना गर्छ र पूजापाठ पनि देवीदेवताकै गर्छ। मैले पनि भगवान्को पूजापाठ गर्न पाएको छु। भक्तजनले मलाई पुजारीका रूपमा सम्मान गर्छन्, यसमै खुसी छ।’
प्रकाशित: २५ माघ २०७६ ०२:५७ शनिबार