८ वैशाख २०८१ शनिबार
अन्य

वैवाहिक जीवन समझदारीको यात्रा

गोपाल ढकाल
मनोविद्
विवाह निक्कै रोचक र सुन्दर पक्ष हो । वैवाहिक जीवनमा गाँसिने यौन जोडीका लागि त झन्, वैवाहिक यात्रा रोचक नहुने कुरै भएन । वैवाहिक जीवनमा बाँधिनुअघि व्यक्तिको फरक–फरक सोचाइ, विचार, इच्छा, आकांक्षा हुन्छन् । फरक संस्कारमा हुर्केका हुन्छन् । फरक–फरक परिवेशमा जीवन भोगाइको यात्रा चलाइरहेका यौनजोडीको वैवाहिक यात्रासँगै एकै किसिमको परिवेशको यात्रा तय हुन्छ ।

व्यक्ति जब वैवाहिक जीवनमा बाँधिन्छ, त्यसपछि दुवै यौन जोडीको जीवनमा सानातिना जटिलता, अप्ठ्यारा पक्कै आउँछन् । जुन स्वाभाविक पनि हो । कतिपय व्यक्तिलाई त वैवाहिक जीवनमा समाहित हुन निक्कै मुस्किल पर्न सक्छ । कयौं कुरामा सम्झौता गनुपर्ने हुन्छ । विवाहित यौन जोडीबीचको सम्झौता र समझदारीले वैवाहिक जीवनको लामो यात्रामा आत्मियता बढाउँछ ।

नेपालमा दुलहाकै घरमा दुलही भित्रिने परम्परा भएकाले दुलहीका लागि दुलहाको घर परिवार, समाज तथा वातावरणमा घुलमिल हुन केही  समय लाग्छ । सहज घुलमिलका लागि पुरुष यौन जोडीले भूमिका निभाउन आवश्यक हुन्छ ।

नयाँ जीवनको सुरुवात
विवाहपछिको जीवनलाई नयाँ जीवनको सुरुवातका रुपमा लिनुपर्छ । कयौं पुराना कुरालाई भुल्नुपर्ने हुन्छ । अझ यौनको मामलामा त संयमित हुनै पर्छ । नव जोडीले भविष्यका नयाँ–नयाँ विषयको योजना बनाएर अघि बढ्नुपर्छ । सृजनात्मक कामका लागि कुराकानी गर्नुपर्छ । यौन जोडीले एक–आपसमा सानातिना कुरा पनि लुकाउनु हुन्न । दुवैमा भएको मनोभावना एक–आपसमा साटासाट गर्नुपर्छ । मैले भनेकै कुरा हुनुपर्छ भन्ने अहमता पाल्नु हुन्न ।

नगरौं अरुको बखान
सामान्यतः महिला यौन जोडीले आफ्नो पुरुष यौन जोडीले अन्य महिलाको बखान गरेको मन पराउँदैनन् । त्यसैले महिला यौन जोडीसँग बसेको समयमा अन्य महिलाको पशंसा तथा रुपको बयान भुलेर पनि गर्नु हुन्न । पुरुषको हकमा पनि यो लागू हुन्छ । त्यसैले दुवै यौन जोडीले अरुको बखान गर्नुभन्दा आफ्नै व्यावहारिक कुरा गर्नमा जोड दिनुपर्छ । जसले दुवै यौन जोडीको सम्बन्ध प्रगाढ हुन्छ ।

यौन जोडी यौनको मामलामा अनुशासित त हुनै प¥यो । कुनै पनि यौन जोडीले परस्त्री वा परपुरुषसँग आफ्नो यौन जोडी लसपस गरेको रुचाउँदैन । आफ्नो यौन जोडी हुँदाहुँदै परस्त्री वा परपुरुषसँग यौन सम्पर्क गर्नु शारीरिक तथा मानसिकरुपमा पनि ठिक हैन ।

दाम्पत्य जीवनमा यौन सम्बन्धले महत्वपूर्ण भूमिका खेल्छ । दुवै यौन जोडीले एक अर्काको भावना बुझेर यौन सम्पर्कमा सरिक हुन आवश्यक हुन्छ । सन्तुलित तथा सुखद् यौन सम्पर्कले सेरोटोनिन तथा डोपामिनजस्ता खुसी दिने हार्मोन निष्कासन हुने भएकाले व्यक्ति आनन्दित हुन्छ । यौन सम्पर्कका क्रममा व्यक्तिमा उन्माद उत्पन्न हुन्छ । उन्मादका कारण व्यक्ति शारीरिक तथा मानसिक रूपमा आनन्दित हुन्छ । जसले व्यक्ति शारीरिक तथा मानसिकरुपमा स्वस्थ रहन सहयोग पुग्छ ।

कहिल्यै पनि यौन जोडीको भावनाविपरीत यौन सम्पर्क गर्ने दुष्प्रयास गर्नु हुन्न । यौन सम्पर्कका लागि यौन जोडी शारीरिक तथा मानसिकरुपमा तयार भएको अवस्थामा मात्रै यौन सम्पर्क गर्नुपर्छ । सहमतिविना यौन सम्पर्क गर्नाले दुवै यौन जोडीमा तनावको स्थिति सृजना हुन पुग्छ । यौन सम्पर्क गर्ने क्रममा धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ । विवाहपूर्व अन्य यौन जोडीसँग पनि यौन सम्पर्क गरेको थियो कि भन्ने मनस्थिति पाल्नुहुन्न । विवाहअघि यौन सम्पर्क गरेकै रहेछ भने पनि त्यसलाई वास्ता गर्नु हुन्न । बिर्सनुपर्छ ।

जोडीमा समझदारी
उखानै छ ‘श्रीमान्–श्रीमती एक रथका दुई पांग्रा हुन् ।’ रथ तान्न विवाहित यौनजोडीबीचको समझदारी आवश्यक हुन्छ । जसले दुवै यौन जोडीको सफल जीवनयात्रामा महत्वपूर्ण भूमिका खेल्छ । नेपाली समाजमा श्रीमान्–श्रीमतीबीचको झगडालाई परालको आगो भन्दै हल्का रुपमासमेत लिइन्छ । तर विवाहित यौन जोडीबीचको असमझदारी बढ्दै गए दुवैको मन र मस्तिष्कमा एक–अर्काप्रतिको शंका तथा वितृष्णता बढ्दै जान्छ ।

यसरी विवाहित यौन जोडीबीच वितृष्णा बढ्दै जाँदा सम्बन्ध विच्छेदको अवस्था निम्तिन सक्छ । यसमा यौन जोडी सचेत हुन आवश्यक छ । यौन जोडीबीच अनावश्यक रुपमा अधिकारको भावना जागृत हुँदा दुवैको दूरी टाढिने जोखिम हुन्छ । त्यसैले यस्तो विषयमा दुवै यौन जोडी संयम र समझदार हुन आवश्यक छ ।

यौन जोडीबीच एकअर्कामा विश्वासको कमी, एक–अर्कालाई आरोप–प्रत्यारोप लगाउनु, एक–अर्काप्रति वफादार नहुनु, प्रेम तथा आत्मियता साटासाट गर्न नसक्नुजस्ता कारणले यौन जोडीबीचमा फाटो ल्याउन सक्छ । त्यसैले दुवै यौन जोडीले खुलस्तरुपमा यौन जोडीबीच भावना साटासाट हुन आवश्यक छ ।

प्रायः महिलामा आफूलाई श्रीमान्ले माया नगरेको, घरपरिवारलाई समय नदिएको, आफ्ना आवश्यकताहरू पूरा गर्न नसकेको गुनासो पाइन्छ । यसले उनीहरुबीचमा तनाव पैदा गर्ने जोखिम हुन्छ । एकातर्फ श्रीमतीले आफ्नो श्रीमान् परस्त्रीसँग लसपस गरेको शंका गर्ने अनि श्रीमान्ले आफ्नी श्रीमती परपुरुषसँग लसपस गरेको शंका गर्दा यौन जोडीबीच कलह सुरु हुन्छ । त्यसैले यौन जोडीबीच अनावश्यकरुपमा शंका गर्नु हुन्न ।

जोडीसँग नटाढिएकै राम्रो
पछिल्लो समयमा यौन जोडीबीचको सम्बन्धमा दरार आएका समस्या लिएर मनोचिकित्सक कहाँ पुग्नेको संख्या पनि कम छैन । सम्बन्ध विच्छेदका घटना बढ्दै गएको देखिन्छ । यस्तो समस्या हुनुका कारण यौन जोडीबीचको भावना राम्रोसँग बुझ्न नसक्नु देखिन्छ । एक अर्काबीचको सामीप्य तथा सञ्चार कम हुँदै जानु पनि सम्बन्ध विच्छेदको कारण हुन् । समयको अभाव, वैदेशिक यात्रा, कामको सिलसिलाजस्ता कारणले विवाहित यौन जोडी टाढिएर बस्नुपर्दा सम्बन्धमा दरार उत्पन्न हुन सक्छ ।

त्यसै कारण लामो समय यौन जोडी टाढा हुनु हुन्न । विवाहको उद्देश्य नै शारीरिक तथा मानसिक रुपमा समाहित हुनु हो । विवाहपछि यौन जोडी टाढा हुँदा उनीहरुको शारीरिक तथा मानसिक आवश्यकता पूरा हुन्न । जसले तनाव पैदा हुन्छ । लामो समयसम्म यौन जोडी टाढा हुँदा मानसिक रुपमा मायाको आवश्यक पर्छ भने शारीरिक रुपमै यौन तृप्ति मेट्ने चाहना हुनु स्वाभाविकै हो ।

एक आपसमा शंका गर्नु, झगडा गर्नु पनि मानसिक समस्याका कारण हुन सक्छ । यस्तो अवस्थामा उपचार गर्नुपर्छ । सम्बन्ध विच्छेद गर्ने मनस्थितिमा पुगेका यौनजोडीले समेत सम्बन्ध विच्छेद गर्नुपूर्व मनोपरामर्शदाता कहाँ परामर्श लिँदा सम्बन्ध विच्छेद गर्नुपर्ने अवस्थाबाट बच्न सकिन्छ ।

भावनाको कदर
कतिपय अवस्थामा महिलाप्रति हेर्ने दृष्टिकोणको समस्याका कारणसमेत महिलाको भावनामा चोट पुग्न सक्छ । महिलालाई तह लगाउनुपर्छ, घरका सबै सल्लाह महिलासँग गर्न हुन्न भन्ने मानसिकता बोक्दा महिलामा खिन्नता बढ्दै जान्छ । महिलाको भावनाको कदर नगर्ने, निच दृष्टिले हेर्नेजस्ता व्यवहारका कारण महिलाको आत्मबल कमजोर हुँदै जान्छ । आत्मबल कमजोर हुँदै जाँदा महिलामा सकारात्मक सोच्ने क्षमताको विकासमा असर पुग्न सक्छ । यस्तो अवस्थामा तनाव सृजना हुँदा मानसिक विचलनको समस्या उत्पन्न हुन सक्छ । जसले पारिवारिक कलह निम्तने जोखिम हुन्छ ।

त्यसो त महिलाले पनि आफ्नो श्रीमान्लाई आफ्नो हैकममा राख्नुपर्छ भन्ने मानसिकता राख्नु हुन्न । रोएर, कराएर, घुक्र्याएर, रिसाएर जसरी भए पनि श्रीमान्ले आफूले भनेको मान्नैपर्छ भन्ने धारणा महिलाले पाल्नु हुन्न ।

सामान्यतः महिला स्वभावले कोमल हृदयका हुन्छन् । सानोभन्दा सानो कुराले समेत उनीहरूको मनमा चोट पर्न सक्छ । विवाहपछि महिलाले श्रीमान्को घरमा समायोजित भएर बस्नुपर्ने भएकाले विवाहपछि सुरुका दिनमा आउन सक्ने समस्याको निराकरणका लागि श्रीमान्ले नै विशेष ध्यान पुर्‍याउनुपर्छ । पुरुषहरू घरायसी काम गर्न त्यति रुचाउँदैनन्, घरायसी काम गर्न नरुचाएकै कारण पनि कतिपय अवस्थामा श्रीमान्–श्रीमतीबीच मनमुटाव भएको पाइन्छ ।

पुरुषहरू साना–तिना कामभन्दा कठिन र बहादुरीका काम गर्न रुचाउँछन् । आफ्नो बहादुरीको प्रशंसा गरेको सुन्न मन पराउँछन् । आफ्नी श्रीमती सुशील, नम्र होस्, आफूले भनेको कुरा स्वीकार गरोस् भन्ने पुरुषको चाहना हुन्छ । यसको विपरीत श्रीमती रिसाहा, झगडा गर्ने, मुखाले, भइदिँदा पुरुषले आफ्नो आत्मसम्मानमा चोट पुगेको महसुस गर्न सक्छ ।

जीवनका अनेकौँ मोडहरूमा दुवैलाई एक अर्काको साथ चाहिन्छ । एउटा मान्छे आफैँमा कहिले पनि पूर्ण हुँदैन । उसलाई पूर्ण बनाउने काम उसको श्रीमान् वा श्रीमतीले गर्नुपर्छ । चाहे युवा अवस्थामा होस् वा वृद्ध अवस्थामा नै किन नहोस् । दाम्पत्य जीवनको सुखद् अनुभूतिका निम्ति एक अर्कामा समर्पण र समझदारी आवश्यक छ । पुरुष र महिलाको स्वभाव र भावना फरक हुन्छ । त्यसैले दुवैले यस्तो भावना स्वीकार गर्नुपर्ने हुन्छ । त्यसैले त वैवाकिह जीवनलाई सुनौलो जीवनका रुपमा लिइन्छ ।

                                                                                                      प्रस्तुति: उपेन्द्र खड्का

 

प्रकाशित: १९ माघ २०७६ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App