नेपालगन्ज चिरपरिचित सहर हो। प्राचीन सहर, गर्मीको सहर तथा विभिन्न सम्प्रदाय बसोबासको सहर जस्ता उपनामले धेरैको मन–मस्तिष्कमा नेपालगन्ज कतै नै कतै आइहाल्छ। तर, यति मात्रैले सिंगो नेपालगन्जको इतिहास प्रस्ट हुन सक्दैन।
इतिहासदेखि नै देशको पश्चिम क्षेत्र (प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम) को महत्वपूर्ण सहरको रूपमा रहँदै आएको नेपालगन्जको नाम देशको नामसँग मिल्दोजुल्दो छ, तर यसको इतिहास भने सिंगो देशको भन्दा फरक छ । पछिल्लो इतिहास खोतल्दा राणा प्रधानमन्त्री जंगबहादुरले तत्कालीन ‘इस्ट इन्डिया कम्पनी’का शासकलाई रिझाएबापत पाएको भूमि हो, नेपालगन्ज। तत्कालीन भारतमा भएका विद्रोह दमन गर्न सहयोग गरेबापत जंगबहादुरले अंग्रेज शासकबाट सन् १८६१ मा चार जिल्ला ‘बक्सिस’ पाएका थिए– बाँके, बर्दिया, कैलाली र कञ्चनपुर। ती जिल्लामध्येको एक बाँकेको सदरमुकाम हो, नेपालगन्ज। जुन भारतको उत्तरप्रदेशको बहराइच जिल्लाको रुपैडिहासँग जोडिएको छ।
अहिले पनि अधिकांशलाई नेपालगन्ज तराईको अत्यधिक गर्मी हुने ठाउँ भन्नेबाहेक अन्य जानकारी नहुन सक्छ। तर, सांस्कृतिक, राजनीतिक तथा आर्थिक रूपमा नेपालगन्जको पहिचान छुट्टै छ। यही गर्विलो इतिहास र सुनौलो भविष्यमा केन्द्रित रहँदै मध्यपश्चिम स्रस्टा समाज नेपालगन्जले ‘सद्भावको सहर नेपालगन्ज’ नामक पुस्तक प्रकाशित गरेको छ।
पछिल्लो इतिहास खोतल्दा राणा प्रधानमन्त्री जंगबहादुरले तत्कालीन ‘इस्ट इन्डिया कम्पनी’का शासकलाई रिझाएबापत पाएको भूमि हो, नेपालगन्ज। नेपालगन्जमाथि केन्द्रित यस पुस्तकमा देश–विदेशका इतिहास पनि आएका छन् ।
६२ जना लेखकका खोजपूर्ण आलेख रहेको पुस्तकमा नेपालगन्जको इतिहासलाई मसिनोसँग उधुनिएको छ। २०७६ मा प्रकाशित पुस्तकमा नेपालगन्जको पछिल्लो जनसंख्या एक लाख ४६ हजार आठ सय ७१ रहेको उल्लेख छ। जसमा अवधि, नेपाली, थारु, मगर, नेवारी, गुरुङ, लामा, भोटे, शेर्पा लगायत मातृभाषी रहेको नेपालगन्ज एक साझा सहर रहेको पुस्तकको ठम्याइ छ ।
जनसांख्यिक विवरण र धार्मिक समीश्रण हेर्दा नेपालगन्जमा बसोबास नभएको सायदै कुनै जाति र धर्मालम्बी होलान् ! मुस्लिम, मधेसी, दलित, थारु, मगर, नेवार, गुरुङ, लामा, भोटे, शेर्पा, क्षेत्री, ब्राह्मण नेपालगन्जका रैथाने हुन्। कहलिएका साहित्यकार, इतिहासकार, राजनीतिक विश्लेषक, समाजशास्त्री, मानवशास्त्री, अर्थशास्त्री, कानुनविद् आदिले लेखेको यस पुस्तकको अध्ययनबाट नेपालगन्जलाई नजिकबाट चिन्न सकिन्छ।
अझै पनि देशका कति सहर वा बजारको इतिहासलाई प्रकाशमा ल्याई, त्यहाँको भौगोलिक अवस्थाको अध्ययन–अनुसन्धान गरी सही विकास गर्न नसकिएको थुप्रै वास्तविकता छन्। यस्तो अवस्थामा नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा प्रकाशित यस पुस्तकले नेपालगन्जको विकास कसरी गर्न सकिन्छ भन्ने पनि मार्गप्रशस्त गरेको छ। ‘नेपालगन्जको इतिहास र तत्कालीन समय’ शीर्षकमा प्राज्ञ सनत रेग्मीले सन् १८६० को स्वतन्त्रता संग्राममा अवधकी बेगम हजरत महल आफ्नो राज्य स्वतन्त्र गराउन ब्रिटिस सरकारसँग लडेको कुरादेखि उनको आन्दोलनलाई दबाउन जंगबहादुर स्वयंले सेनाको नेतृत्व गर्दै लखनऊ गएको उल्लेख गरेका छन्।
त्यसअघि नै (सन् १७७२ को युद्धमा) नेपालगन्ज भारतको अवधमा गाभिएको थियो, त्यसरी गुमेको भूभाग जंगबहादुरले अंग्र्रेजलाई सघाएर फिर्ता ल्याएन सफल भएका थिए। आठ दशक उमेर पार गरेका पत्रकार पन्नलाल गुप्ताको ‘त्यतिबेलाको नेपालगन्ज’ शीर्षकको आलेखमा नेपालगन्ज वि.सं. १९९४/९५ तिर नै काठमाडौं सहरकै हाराहारीमा विकसित भएको उल्लेख गरेका छन्। नेपालगन्जमाथि केन्द्रित यस पुस्तकमा देश–विदेशका इतिहास पनि आएका छन्। अमृत शर्मा ढकाल लगायतको सम्पादन रहेको ५३२ पृष्ठको यस पुस्तकको मूल्य ७५० रुपैयाँ छ।
प्रकाशित: १८ माघ २०७६ ०६:२२ शनिबार