९ असार २०८१ आइतबार
image/svg+xml
अन्य

नौमती बाजाको समावेशी सन्देश

कृष्णा क्षेत्रीको मूलघर तनहुँ हो। कामका सिलसिलामा विगत आठ वर्षदेखि उनी राजधानीमा संघर्षरत छिन्। कपडाको व्यवसाय नचम्केपछि निराश उनी पछिल्लो दुई वर्ष भने बाजा बजाउँदै र रमाउँदै छिन्। बाजाले जीवनमा खुसी ल्याएको छ,’ लोक सांस्कृतिक महिला नौमती बाजा समूहकी अध्यक्ष समेत रहेकी उनले भनिन्, ‘विगत दुई वर्षदेखि नरसिंहा बजाउँदै आएकी छु।’

गाउँघरमा यस्ता बाजा दलित समुदायले बजाउने चलन रहे पनि आफ्नो भने यस्तै बाजातर्फ रुचि बढेको उनले सुनाइन्। ‘पहिलापहिला दमाई दाइहरूले मात्र सनई, ट्याम्को तथा नरसिंहा बजाउने भन्ने थियो,’ उनले भनिन्, ‘म त सानैदेखि यी सबै सिक्दै र बजाउँदै आएकी छु ।’ महिला त्यसमा पनि गैरदलितले यस्तो बाजा बजाउन थालेको भनेर केहीले टिप्पणी समेत गरेको उनले सुनाइन्। तर उनी बाजा जसले बजायो, त्यही राम्रो भन्थिन्। ‘बाजा जातले होइन, कलाकारले बजाउने हो,’ उनले भनिन्, ‘बाजा बजाएर बाँच्न सक्ने भएकी छु ।’

परापूर्व कालदेखि पञ्चैबाजा मंगलवाद्यका रूपमा दमाई जातिले विवाह, व्रतबन्ध, उत्सव, रोपाइँ, पूजा–पञ्चबलि आदिमा बजाउँदै आएका हुन्। नौमती बाजा पञ्चैबाजाको ठूलो रूप हो। नौजना वाद्यवादक लोक कलाकारले एकैपटक बजाइने भएकाले नौमती बाजा भनिएको हो। समूहमा रहेका ११ सदस्यमध्ये कृष्णाबाहेक अन्य भने सबै दलित समूदायका छन्। नौ महिला सदस्य रहेको उनको टिमका सदस्यले ढोलकी, दमाहा, नरसिंहा, सनई, ट्याम्को र झ्याली लगायत बाजा बजाउने गर्छन्। दलित र गैरदलित महिला एकै ठाउँमा बसेर दमाहा, नरसिंहा, सनई एकै सुरमा बजाउँदा सामाजिक सद्भावको सन्देश बढी बज्ने गरेको छ।

पञ्चैबाजा वा नौमती बाजामा बज्ने प्रसिद्ध परम्परागत धुनहरू मंगल धुन, रामकली, चाँचरी, मालश्री, दिवस राग, बेहुली अन्माउने राग आदि हुन्। त्यसैगरी लोकधुनमा ख्याली, झ्याउरे, चुड्का र सेलो लगायत पर्छन्। एकै पोसाकमा सजिएर महिलाहरूले नौमती बाजा बजाउँदा हेर्नेले पनि रमाइलो मान्ने गरेको उनी सुनाउँछिन्। ‘कतिपय त हामीसँग सेल्फी खिच्न पनि आउँछन्,’ उनकी साथी पुनम परियार भन्छिन्, ‘हामीलाई रमाइलो लाग्छ।’ गैरदलित समुदायका महिलासँग मिलेर बाजा बजाउँदा थप खुसी मिलेको पुनमले सुनाइन्।

मुलुकमा विभिन्न कार्यक्रममा सँगै सर्वसाधारणको विवाह व्रतबन्ध र अन्य कार्यमा उनीहरूलाई निम्तो आउने गरेको छ। ‘नेपाल भ्रमण वर्ष र खेलकुद कार्यक्रमको उद्घाटनमा पनि हामीले नौमती बजाएर स्वागत ग-यौँ,’ पुनमले थपिन्, ‘अन्य कार्यक्रम भन्दा यस्ता कार्यक्रममा थप खुसी मिल्छ।’नौमती बाजा नेपाली धार्मिक, एवं सांस्कृतिक सम्पदाको रूपमा विवाह, व्रतबन्ध, विदेशी पाहुनाको स्वागत र बिदाइ, राष्ट्रिय–अन्तर्राष्ट्रिय सभा समारोहदेखि विशेष कार्यक्रममा बजाइने गरिन्छ।

केही साताअघि नेपाली सेनाको एकीकरण मार्ग पदयात्राका क्रममा तारकेश्वरको पाँचमानेमा नौमती बाजा बजाएर स्वागत गरिएको थियो। सैनिक दाजुभाइले पनि बाजा बजाएका थिए।

केही साताअघि नेपाली सेनाको एकीकरण मार्ग पदयात्राका क्रममा तारकेश्वरको पाँचमानेमा नौमती बाजा बजाएर स्वागत गरेको सम्झना गर्दै उनले त्यति बेला नाच्न समेत मन लागेको सुनाइन्। ‘सैनिक दाजुभाइले पनि हाम्रो बाजा बजाउनुभयो,’ उनले भनिन्, ‘यसले हामीलाई थप हर्षित बनाएको छ।’ लोक सांस्कृतिक महिला नौमती बाजा समूहले आफ्नो कला देखाउँदै देशभित्रै अवसर सिर्जना गरी अगाडि बढ्न सकिने सन्देश दिएको बाजा गुरु धु्रव नेपाली बताउँछन्। ‘उहाँहरूले मिहिनेत गरेर सिक्नुभएको छ,’ उनले भने, ‘धुन पनि निकै राम्रो निस्कन थालेको छ ।’

अहिले राजधानी लगायत देशका विभिन्न ठाउँबाट कार्यक्रममा आफूहरूलाई निम्तो आउने क्रम बढेको कृष्णाले सुनाइन्। ‘मुलुकमै बसेर कला र सीप देखाएर पनि बाँच्न सकिन्छ,’ उनले भनिन्, ‘नौमती समूहलाई विदेशबाट पनि सांस्कृतिक कार्यक्रमको निम्तो आउन थालेको छ।’ समूहकी कोषाध्यक्ष अम्बिका परियारले नेपालमा आफ्नै सीप कलाले गरिखान सकिने बताइन्। ‘बाजा बजाएर बाँच्न सकिने बेला आएको छ,’ उनले भनिन्, ‘अझै राम्रो अवस्था आउने विश्वास लिएका छौँ ।’ कम साधन र स्रोतका बाबजुद पनि महिला नौमती बाजा समूहले ठूलो उपलब्धि हासिल गरेको बताए।

लोक सांस्कृतिक महिला नौमती बाजा समूहमा अध्यक्ष कृष्णा क्षेत्री रहेकी छिन् भने पुनम भुसाल सचिव, अम्बिका परियार कोषाध्यक्ष, तथा सदस्यहरू विष्णु परियार, नम्रता भुसाल, सरिता परियार, राधिका परियार, रीता नेपाली, मीना परियार र गुरु ध्रुव नेपाली रहेका छन्। कृष्णा क्षेत्रीको समूहमा मात्र होइन, परापूर्वकालदेखि दमाईले बजाउने बाजाको संरक्षणमा राजधानीसँगै मुलुकका विभिन्न ठाउँमा बाहुन–क्षत्री, मगर, गुरुङ लगायत जाति समूह बनाएर बाजाको संरक्षणमा जुटेका छन्।

प्रकाशित: १८ माघ २०७६ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App