२६ कार्तिक २०८१ सोमबार
image/svg+xml
अन्य

सामाजिक सञ्जालको जञ्जाल

डेढ दशकयता सामाजिक सञ्जालहरुले हाम्रो दैनिक जीवनमा ठूलो प्रभाव ल्याएका छन् । कतिपय अवस्थामा यो प्रभाव सकारात्मक पनि छन् र कतिपय अवस्थामा नकारात्मक पनि ।

ट्वीटर, फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालको प्रयोग र दुरुपयोग पनि अत्यधिक नै भइरहेको छ । यसले फाइदाको साथसाथै बेफाइदा पनि निम्त्याएको छ ।

ट्वीटर, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालले आफूलाई मनमा लागेको भावना व्यक्त गर्ने ठाउँ दिएको छ । युट्युब र टिकटकजस्ता सञ्जालले आफ्नो प्रतिभा निखार्ने अवसर दिएको छ ।

यति मात्र होइन, इन्टरनेटको सहयोगले भ्वाइस र भिडियो कललाई सजिलो पारिदिएकाले देश–विदेशमा बसेका आफन्तसँग कुराकानी एवं सम्पर्क गर्न सजिलो पनि पारिदिएको छ । कतिसम्म भने सामाजिक सञ्जालकै भरपूर उपयोगका कारण दुर्गम क्षेत्रका दिदीबहिनी, दाजुभाइले आफ्नो जीवनशैलीमा व्यापक रुपमा सुधार गर्ने मौका समेत पाएको देखिन्छ ।

अभिभावकहरुले विदेशमा भएका सन्तानसँग भलाकुसारीदेखि उनीहरुको दिनहुँको अपडेट हेर्न पाएका छन् र मन सन्तोष बनाउन पाइरहेका छन् । एक हिसाबले सामाजिक सञ्जाल हिजोआज जीवन बाँच्ने एउटा शैली बन्न पुगेको छ ।

सामाजिक सञ्जाललाई सकारात्मक रुपमा उपयोग गर्ने सोच हुँदा यसले व्यक्तिको मानसिक तनाव, अवशाद मात्र होइन अनेकन् किसिमका विग्रहहरुबाट पार पाउने ठाउँ बन्न पुगेको पनि देखिएको छ ।

यसको ठीक विपरीत यसको अनेकन् दुरुपयोगसमेत भएका छन् । यहीँबाट मानिसहरु ठगिएका छन्, शोषित भएका छन् र अन्ततः आत्महत्यासमेत गर्न बाध्य भएका छन् । कतिले त आत्महत्याको लाइभ ब्रोडकास्टसमेत गर्ने गरेका छन् ।

सकारात्मक रुपमा उपयोग गरिँदा यहीँबाट जनचेतना फैलिएको छ । कुनै विषयको विज्ञापन भएको छ । मानिसले नयाँ–नयाँ कुरा यहीँबाट थाहा पाएका छन् । छलफलमा वृद्धि भएको छ भने सर्वसाधारणको समयको वचत तथा सदुपयोग पनि भएको छ ।

यिनै सामाजिक सञ्जालका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहुँच बढाउन सहज भएको छ भने व्यवसाय विस्तार गर्न सजिलो भएको छ ।

यत्तिका धेरै फाइदा हुँदाहुँदै पनि समाजमा यसको कुप्रभाव पनि उत्तिकै देखिएको छ । सारा कामकुरा छाडेर सामाजिक सञ्जालमा अनेकन् काम–कुरो छोडेर हरबखत व्यस्त भइरहने बानीले आँखा कमजोर हुने, आलस्यता बढ्ने, सामाजिक सञ्जालको अवशाद बढ्ने मात्र होइन, परिवारसँगकै सम्बन्ध बिग्रने, समय नदिनेजस्ता समस्या बढेर गएका छन् ।

पछिल्लो समय भएको एउटा अध्ययनले जति समय हामी फेसबुक, ट्वीटर र ट्वीटरलाई दिन्छौँ, त्यति समय किताबलाई दिन सक्यौँ भने हामीले वर्षमा दुई सय वटा किताब पढिसक्छौँ भनी औँल्याएको थियो । हुन पनि सामाजिक सञ्जालमा हामी यति व्यस्त हुन थालेका छौँ कि यो कुनै कोर्स हुन्थ्यो भने हरकोही यसैमा पिएचडीधारी बन्थ्यो होला । यही सञ्जाललाई बढी समय दिँदा हामीले परिवारसँगको सम्वादलाई क मगर्न थालेका छौँ र कृत्रिम सम्बन्धलाई बढी महत्व दिन थालेका छौँ ।

सामाजिक सञ्जालको सबैभन्दा ठूलो समस्या भनेको यो अहिलेको चौतारी हो, जहाँ हामी दुःखसुख, तनाव, क्रोध सबैसबै बाँड्छौँ । तर ती सबै कुरा बाँड्दा हामीले हाम्रो डिजिटल प्रिन्ट पनि छाडिरहेका हुन्छौँ । अर्थात्, हामीले जे लेख्यो, त्यो कहीँ न कहीँ बसिरहेको हुन्छ । हामीले त्यसलाई तुरुन्त मेटाइदिए (डिलिट गरे) पनि त्यो कहीँ न कहीँ बस्छ । या, कसैले ती कुरालाई गहिरो गरी हेरिरहेको हुन्छ ।

हामीले तत्काल हाम्रा भावनालाई व्यक्त गर्दा छाडेको फुटप्रिन्टले कहिलेकाहीँ हामीलाई नै असर पारिरहेको हुन्छ । कहिलेकाहीँ जायजै कुरा भनिएको भए पनि समाजका लागि ती अपाच्य हुन्छन् । ती अपाच्य कुराका लागि हामी नराम्रोसँग प्रताडित बन्नुपर्ने अवस्था आउन सक्छ ।

अर्को कुरा, अरुका बारे चाहिने नचाहिने कुराहरु, कुनै प्रमाण नभई अपलोड हुँदा मानिसहरुले कसलाई भनेको हो भन्ने नबुझी भावनामा बगेर आत्महत्या नै गरेको पनि धेरै घटना छन् । पछिल्लो समय त फेसबुक, ट्वीटरजस्ता सञ्जाल कतिले नियतवश ह्याक गरिदिन्छन् । यसपछि पाइने सास्तीको त झन् कुनै नगरौँ ।

यसरी सामाजिक सञ्जाल चलाउन नजान्दा हाम्रो दैनिक जीवनमा धेरै नै असर पारेको हुन्छ । चलाउँदा राम्ररी जानकारी मात्र चलाउनु पर्ने हुन्छ । सत्यतथ्य र सोचविचारपछि मात्र कतिपय कुरा अपडेट गर्नुपर्ने हुन्छ । कसैको घर–परिवारलाई नराम्रो असर पर्ने गरी काल्पनिक कुरा अपडेट गर्नु हुँदैन । झन् हाम्रो जस्तो विकासोन्मुख देशमा त सामाजिक सञ्जालमा अझ बढी हेक्का राखेर लेख्ने, बोल्ने र पोस्ट गर्ने गर्नुपर्छ ।

त्यसमाथि हिजोआज सामाजिक सञ्जालमा व्यक्त भावना, धारणाका कारणले कडा कानुनी सजायको हकदारसमेत बन्नुपर्ने कानुन बनिसकेको अवस्थामा यसमाथि गम्भीर बन्नु आवश्यक छ ।

 

 

प्रकाशित: १३ माघ २०७६ ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App