गएको मंगलबार आर्नेदाइ (आरनको काम गर्दा पाएको नाम) उर्फ रडक विश्वकर्मा आरनमा फलामको टुक्रालाई आकार दिन व्यस्त थिए। उनको छेवैमा उनीबाट निर्मित हँसियाहरू थिए। उनको परिश्रम र कलाबाट निर्मित ती हँसियाहरूले उनको मुहारमा खुसीका तरंगहरू प्रवाहित गरिरहेका थिए, यसकारण कि ती फलामका सामान मात्रै नभएर उनका लागि पैसा वा पारिश्रमिक हुन्, जसले उनको जीविकामा सघाइरहेको छ। कुनै समय यही काम गरिदिएबापत उनले केही अन्नमा वर्षभरि चित्त बुझाउनुपथ्र्यो। अहिले उनको पेसा र पारिश्रमिक बदलिएको छ।
‘यहाँ सबैले मलाई आर्नेदाइ भनेरै चिन्छन्, बोलाउँछन्, यसमा खुसी छु,’ फलामको टुक्रालाई आरनमा तताउँदै उनी बोले, ‘काम अनुसारको नाम त हो। कमाइ पनि ठीकै छ।’ विश्वकर्मा जातिको प्रमुख पेसामध्ये एक हो, आरन। बाली वा खलोप्रथा (खेतबारीबाटै बालीका रूपमा अन्न पाउने) बाट जीवित रहेको आरन पेसा अहिले रूपान्तरित हुँदै गएको छ। यसका एक दृष्टान्त हुन्– ४५ वर्षीय रडक। मुगुको खत्याड गाउँपालिका– ५, कवाँ गाउँका रडकका बाबुबाजे हलिया र खलोप्रथाबाट जीविकोपार्जन गर्थे। वर्षमा दुईपटक अन्नपात संकलन गरेर वर्षभरिको खर्चको जोहो हुन्थ्यो। रडकले पनि बाबुबाजेकै बाटो पछ्याए। तर आरनको काम गरेबापत पाएको निश्चित अन्नबालीले श्रीमतीको उपचार गर्न नसकेपछि अन्ततः उनले आफ्नो पेसालाई नयाँ ढंगले सुरुवात गरे। अहिले सुर्खेतको वीरेन्द्रनगरस्थित रातो पुलनजिकै सडकछेउमा उनको आरन छ।
बिहानदेखि साँझसम्म उनले यहाँ धातुलाई तताउँदै र ठोक्दै आकार दिन्छन्। उनीबाट निर्मित औजार मानिसहरूले किनेर लैजान्छन्। औजार वा भाँडाकुँडाको मर्मतसम्भार गरेबापत उनले उचित पारिश्रमिक पाउँछन्। यस पेसाबाट उनलाई दैनिक पाँच सयदेखि एक हजार रूपैयाँसम्म आम्दानी हुन्छ। अहिले उनलाई घरखर्चका लागि खासै अभाव झेल्नुपरेको छैन।
खलोप्रथाबाट व्यवसायी
उनी २४ वर्षको हुँदा उनकी श्रीमती एक्कासि बिरामी परिन्। उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लैजानुपर्ने भयो। त्यसका लागि उनीसँग पैसा थिएन। खलोप्रथाबाट संकलित अन्नले खान मात्रै पुग्थ्यो। श्रीमती बचाउन उनले गाउँका धनी व्यक्तिकहाँ लालपुर्जा धितो राखेर दुई लाख ५० हजार रूपैयाँ ऋण लिए, पत्नीलाई भारतका नैनीताल लगेर उपचार गराए। पत्नीलाई पूर्ण निको बनाउन पैसा अभाव भएपछि उनले त्यहाँ ज्याला मजदुरी गर्न थाले। श्रीमतीलाई केही सन्चो भएपछि (२०७४ सालमा) उनी घर फर्किए। त्यतिबेलै पैसाको महत्व बुझेका उनले पुर्खाको पेसालाई रूपान्तरण गरी व्यवसायी हुने निधो गरे। २०७५ माघदेखि उनले वीरेन्द्रनगरमा आरन व्यवसाय सुरु गरेका हुन्। सोही कमाइबाट श्रीमतीको उपचारमा लागेको ऋणमध्ये एक लाख ५० हजार रूपैयाँ तिरिसके। अहिले आरनको कमाइबाट उनी सन्तुष्ट छन्। काम अनुसारको ज्याला पाइरहेकै छन्, पुर्खाले जसरी खलो उठाउनुपरेको छ। उनी भन्छन्, ‘औजार बनाउने मान्छे आउँछन्। काम हेरी पैसा दिएर जान्छन्।’
आत्मसम्मान
खलोप्रथा गर्दा उनलाई अलि अपमान बोध हुने खालका शब्दबाट सम्बोधन गरिन्थ्यो। त्यतिबेला आफू अपहेलित भएको र आफ्नो पसिना र पेसाको सम्मान नभएको उनलाई महसुस हुन्थ्यो। अहिले भने उनलाई त्यस्तो कुनै अपमानबोध महसुस हुँदैन। ‘अहिले यहाँ सबैले मलाई आर्ने दाइ भनेर चिन्नुहुन्छ, बोलाउनुहुन्छ,’ उनी भन्छन्, ‘त्यो सुन्दा मन खुसी हुन्छ।’ काम गराउन आउनेहरूले मीठो बोलीवचन गरेको उनको अनुभव छ। ‘आर्थिक रूपमा कमजोर हुँदा दलित समुदाय हेपिएका हुन्,’ उनी भन्छन्, ‘कम्तीमा हामीले हाम्रो पेसालाई मर्यादित र आधुनिक ढंगले सञ्चालन गर्न पाउँछौँ, यसमा राज्यले सहयोग गर्छ भने हाम्रो अवस्थामा सुधार आउने थियो।’
उनका अनुसार, दुःख धेरै र आम्दानीसँगै सम्मान कम हुने हुँदा नयाँ पुस्ता यो पेसाप्रति आकर्षित हुन सकेको छैन। उनी भन्छन्, ‘अहिलेका युवा बरु विदेशमा पसिना बगाउन तयार हुन्छन्, आरन सञ्चालन गर्न लजाउँछन्।’ बजारमा पाइने बनिबनाउ औजार र प्लास्टिकका सामग्रीले पनि आरनबाट उत्पादन हुने पुराना सामग्रीको ठाउँ लिएको छ। रडक भन्छन्, ‘यो पेसालाई आधुनिकीकरण गरेर सम्मानित बनाउन सकिन्छ, त्यसपछि नयाँ पुस्ता आफैँ आकर्षित हुन्छन्। कमाइ र सम्मान हुँदैन भनेर नयाँ पुस्ता तर्केका हुन्।’
किसान र आरन
वीरेन्द्रनगर ३ तातोपानीकी कृष्णादेवी ओलीले कृषिका लागि आवश्यक औजार रडकसँग किन्छिन्, औजारको मर्मत–सम्भार पनि यहीँ गराउँछिन्। गाउँमा पहिले खलो प्रथाबाट औजार बनाउने वा मर्मत गर्ने उनले अहिले यस कामबापत पैसा तिर्छिन्। उनी भन्छिन्, ‘पहिले वर्षमा दुईपटक दुई मुरी (६ महिनामा एक मुरी) खाद्यान्न दिएर आरनको काम गराउँथ्यौँ। अहिले जमाना बदलिएको छ।’ आरनबाट औजार तयार हुँदा आफूलाई कृषिमा काम गर्न सहज भएको उनी बताउँछिन्। अचेल बजारिया औजार पनि पाइन्छन्, तर उनले रडककै आरनबाट औजार किन्छिन् र बिग्रेका औजार पनि यहीँ मर्मत गर्छिन्। बजारियाभन्दा रडकले बनाएका औजार बलियो हुने उनको भनाइ छ।
पानी नहुँदा जति दैनिक जीवन असहज हुन्छ, दलित समुदायभित्र फलामको काम गर्ने विश्वकर्माहरू नहुँदा त्यति नै समस्या हुने वीरेन्द्रनगर भैरवस्थानका ६४ वर्षीय लोकबहादुर शाही बताउँछन्। उनी भन्छन्, ‘पहिले त पानीजतिकै आवश्यक थिए, आरनबाट बनेका औजार। खेती गरेर जीविका गर्ने किसानलाई हँसिया, कुटो, कोदालो आदि औजार अत्यावश्यक हुन्थ्यो, अझै पनि हामीलाई यी सामान अनिवार्य छन्।’
पहिले र अहिलेको आरन व्यवसायमा फरक नपाएको शाही बताउँछन्। ‘पहिला पनि आरन व्यवसाय यस्तै थियो,’ उनले भने, ‘अहिले पनि उस्तै छ।’ तर बजारमा पाइने रेडिमेड औजारले आरन व्यवसायलाई संकटमा पारेको उनको बुझाइ छ।
प्रकाशित: ११ माघ २०७६ ०७:३४ शनिबार