१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

मन मिल्दैन कसरी मिलाउने ?

एलपि भानु शर्मा
प्राचार्य, पोखरा विश्वविद्यालय
जीवनविकास विशेषज्ञ
वर्षेनी सम्बन्धविच्छेद बढ्दो छ । सम्बन्धविच्छेदको अनुपात घट्ने देखिँदैन उल्टो बढ्ने देखिन्छ । कारण किन त ? किन हाम्रो मन मिल्न सकिरहेको छैन ? श्रीमान्–श्रीमतीको मात्र हैन साझेदारीमा सँगै व्यवसाय गरेकाहरुबीच पनि लामो समय टिक्न सकेको देखिन्न । मित्रवत् व्यवहार मर्दै गइरहेको छ । मित्रवत् व्यवहारलाई कसरी जागृत गर्ने ? यसबारे दुई तीन कुरामा ध्यान दिन जरुरी छ ।

जोसँग हाम्रो विचार मिल्छ उसैसँग प्रेम हुन्छ । विचार नमिल्ने सँग प्रेम जन्मिन कठिन हुन्छ । जब विचार मिल्छ तब एक अर्काबीच एउटै भाव पैदा हुन्छ । घटेको घटनालाई हेर्ने दृष्टिकोण एउटै हुन्छ । त्यसकारण विश्वमा समूह बनाउँदा एउटै विचार मिल्नेहरुले विभिन्न राजनीतिक, सामाजिक, सांस्कृतिक, तथा आर्थिक समूहहरु बनाउन थाले ।

सबै विचार राख्नेहरुको उद्देश्य अन्तिममा एकै हुन पनि सक्छ तर पुग्ने बाटो फरक हुने भयो । त्यसकारण विवाह गर्दा होस्, साझेदारीमा व्यवसाय गर्दा होस् या जुनसुकै काम गर्दा होस् एउटै विचार भएको सँग गर्दा मन नफाट्न सक्छ ।

तर के सधैं मनुष्यको स्वभाव एउटै हुन्छ ? एउटै समूहमा पनि फरक विचार र आदर्श बोक्नेहरु हुन्नन् त ? हो हुन्छन् यस्तो अवस्थामा के गर्ने ?

मानौँ यहाँ दुईवटा फूलको माला छन् । एउटा माला एकै प्रकारको फूलको छ र अर्काे धेरैथरि फूलको छ भने कुन राम्रो देखिन्छ ? पक्कै पनि धेरै प्रकारका फूल भएको माला राम्रो देखिन्छ । जसरी बगैँचामा धेरै थरि फूल फुल्छन् त्यसरी नै मनुष्यको विचारमा विविधता हुन्छ । जसरी प्राकृतिक विविधता हुन्छ मनुष्यमा पनि विविधता हुन्छ ।

सकेसम्म समान विचारधारा भएको एउटै स्वभाव भएको व्यत्तिहरु मिल्ने सहज समस्या समाधान त भइ नै हाल्यो तर घरमै कोही फरक चिन्तन शैली र विचारको व्यक्ति जन्मियो भने ? त्यसकारण उपाय सजिलो छैन दीर्घकालीन सोच्न जरुरी छ ।

हृदयलाई फराकिलो बनाउन जरुरी छ । विरोधी आवाजलाई सहजै स्थान दिन सकिने, आफूअनुकूल होस् या प्रतिकूल होस् हृदयमा सबैलाई स्थान दिन सक्नु महानता हो ।

जति हृदयलाई फराकिलो बनाउँ भन्न सहज छ । व्यवहारतः यो लागू गर्न निकै चुनौतीपूर्ण कार्य हो ।  हामीले देखिरहेका छौँ चाहे राजनीतिक नेतृत्व होस् या अन्य नेतृत्व सबैको विचारलाई समाहित गरेर लैजाने शत्रु मित्र जे भए पनि स्थान दिने नेतृत्व र पेलपाल गर्ने नेतृत्व देखेकै छन् । कालान्तरमा तिनै सफल र सबैको हृदयमा सजिन्छन् जो विरोधीलाई पनि स्थान दिन्छन् ।

हामीले घरमा ध्यान दिनुपर्ने कुरा पनि यही हो । श्रीमान्ले भनेको श्रीमतीले मान्नैपर्ने, श्रीमतीले भनेको श्रीमान्ले मान्नैपर्ने आफूचैं कसैले भनेको नमान्ने तर अरुले आफूले भनेको मान्दिऊन् भन्ने अपेक्षा राख्ने यहाँ भन्दा तुच्छ सोचाइ कसैको हुँदैन ।

बुझ्नुपर्ने कुरा के हो भने मतभिन्नता हुन्छ मनभिन्नता हुनुहुँदैन । विचारमा मतभिन्नता हुन्छ तर सबन्धमा मन भिन्नता हुनुहुँदैन ।  

परिवारका सदस्यहरुमा फरक–फरक सोच चिन्तन हुन्छ । लक्ष्य त एउटै हुन्छ सबैजना सुखी हुने  । आफैं जस्तो अरुमा भेटिन्नँ । आफैँले भनेजस्तो अरुलाई बनाउन सकिँदैन । अर्काे जस्तो छ त्यस्तै स्वीकार गर्नुको विकल्प रहन्न  ।

कोही विद्रोही स्वभावका हुन्छन् । विचार बुझ्ने हो अरुलाई सुधार्न पट्टी लाग्ने हैन । सबैले आफूतिर फर्किने कला सिक्नुपर्छ । अरुलाई तिमी यस्तो भएको भए हुन्थ्यो उस्तो भएको भए हुन्थ्यो भनेर परिवर्तन गर्न खोज्ने हैन । आफ्नो कमीकमजोरी के छ नियाल्ने र त्यसैलाई सुधार्नेतर्फ लाग्नुपर्ने देखिन्छ ।

कहिलेकाहीँ हामी भन्ने गर्छाैँ मेरो स्वभाव र मेरो मान्छेको स्वभाव उल्टो छ । हामीले के बुझ्न जरुरी छ भने ईश्वरले नै हाम्रो स्वभावको प्रतिकूल मान्छे आफन्तहरु पठाइदिन्छन् । खर्च नगर्नेको छोराछोरी खर्चालु, अल्क्षीको जोडी जाँगरिलो त्यसकारण अरुको स्वभाव बदल्नेतर्फ हैन स्वीकार्न सक्नुपर्छ । जसरी बगैँचामा एकैथरिका फूलहरु एक तमासको देखिन्छ त्यस्तै एकै स्वभावका व्यक्तिहरु भइदिएको भए यो समाज एकतमासको हुन्थ्यो रमाइलो हुन्नथ्यो । यो कुरा हामीले बुझ्न जरुरी छ ।

केही नराम्रो भयो भने कसैले गाली गर्‍यो भने प्रतिक्रिया दिनेतिर हैन किन यस्तो भइरहेको छ भन्ने खोजीमा जानुपर्छ । यो बाटो नै मनुष्य हुनुको अर्थ हो । जब हामी अहंकार बढाउँछाैं तब हामीले धेरै गाली खान थाल्छौँ । प्रकृतिले सबैलाई ठिक ठाउँमा राख्छिन् त्यसकारण त्यहीअनुसार हाम्रो संगत पर्न गएको हुन्छ ।

भगवान् गौतम बुद्धले निर्वाण गर्नुपूर्व उहाँका पनि शत्रु थिए । बुद्धले निर्वाण प्राप्त गरेपछि सबैलाई धन्यवाद दिए कारण शत्रु नभएको भए आफूले निर्वाण प्राप्त गर्ने थिइनँ उनले त्यसबेला भने । जब अहंकारले धुरी चढ्छ जयजयकार बढ्छ, आलोचना मन पर्दैन, प्रशंसाको आवाज मात्र सुन्न मन लाग्छ तब प्रगति रोकिन्छ । प्रशंसाले विकास हुँदैन ।

परिवारमा, कार्यालयमा सरकारमा सबै तिरको आलोचनात्मक दृष्टिकोण राख्ने व्यक्ति छैन भने नेतृत्व मैमत्ता हुन्छ र भड्खालोमा जाकिन्छ । भगवान् बुद्धले अहंकारलाई बलि चढाउनुभयो । न त प्रशंसामा नै भुल्नुभयो न त विरोधमा नै आत्तिनुभयो दुवै कुरालाई तटस्थ भावले हेर्दै मान्छे चिन्ने प्रयासरत गर्नुभयो ।

अति प्रशंसाले कंश बनिन्छ भन्ने भगवान् बुद्धलाई पहिले नै थाहा थियो । त्यसकारण आलोचकलाई, भिन्न विचारधारा बोकेकोलाई पनि उत्तिकै स्थान दिनु उचित हो ।

घरमा मन नमिल्ने श्रीमान्–श्रीमती, छोराछोरी, छिमेकी छन् भने पनि सुधार्न पट्टी लाग्नु जरुरी छैन । घरमा होस् या कार्यालयमा सबैको विचार सुन्दै अगाडि बढ्नु जरुरी छ र सबैलाई उत्तिकै स्थान दिनु पर्छ जसले परिवार, समाज र राष्ट्र नै विविधतामा एकता हुन सक्छ ।

 

 

प्रकाशित: ९ माघ २०७६ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App