१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

खाँडादेवी दर्शन

खाँडादेवी प्रख्यात शक्तिपीठ हुन्। खाँडादेवी गाउँपालिका–७, रामेछापमा प्यागोडा शैलीको मन्दिर छ। मन्दिरभित्र देवीको निराकार शिला। देवीको दर्शनले शक्ति आर्जन, प्रसन्नता, सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास।

‘देवीलाई भाकेर चोखो मनले जे माग्यो त्यही पूरा हुन्छ’, खाँडादेवी विकास कोषका महासचिव समेत रहेका पूजारी लक्ष्मीबहादुर तामाङ भन्छन्, ‘भाकल पूरा भएपछि भक्तजन आएर पूजापाठ गर्छन्।’ उनीहरू देवीलाई पञ्चबलि, नरिवल, धुप, अक्षता र फूल चढाउँछन्। 

खाँडादेवीमा तामाङ जातिका पूजारी छन्। अचेल पूजारीका ११ घर छन्। उनीहरू आलोपालो प्रणालीमा पूजापाठ गर्छन्। खाँडादेवी मुन्तिर दुर्गा नदी छ। त्यहाँको जलले खाँडादेवीलाई स्नान गराइन्छ। चैते दशैं र बडा दशैंमा मन्दिरमा भीड लाग्छ। पञ्चबलि दिइन्छ।

तामाङका अनुसार खाँडादेवीको मनुष्य चोलाको नाम सुकुमाया पोहरी हो। उनको माइती रामेछापकै गेलु गाउँमा छ। तिनताका राजा गाउँ डुल्ने क्रममा उनको घरमा पुगेपछि मोहित बने। उनले सुकुमायालाई जबर्जस्ती सिन्दूर हाले र डोलीमा चढाए।

उनलाई राजधानी ल्याउने क्रममा जंगलमा आराम गर्न डोली बिसाइयो। त्यतिबेला सुकुमाया अलप भइन् र शीलाको रूपमा प्रकट भइन्। समय क्रममा उनलाई देवीका रूपमा पुज्न थालियो। यसरी विसं १५१५ माघ १५ गते मंगलबारका दिन खाँडादेवी उत्पत्ति भएको मानिन्छ।

खाँडादेवी दर्शनले मनोकांक्षा पूरा हुन्छ। त्यसैले शैलुङ यात्रामा खाँडादेवी पुग्न नछुटाऔं है !

मन्दिर धेरै पुरानो हो भन्ने विसं १५७३ सालमा चढाइएको घन्टाले पनि प्रमाणित गर्दछ। त्यस्तै नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले सिन्धुलीगढीपछि खाँडादेवीमा अर्को गढी बनाएर देवीकोे आशीर्वाद लिएको जनश्रुति पाइन्छ।

कोषले मन्दिरको व्यवस्थापन गर्दै आएको छ। विसं २०५९ मा कोष दर्ता गरिएको थियो। टिनको छाना भएको मन्दिरलाई पुरातत्व विभाले तामाङको छानासहित नयाँ स्वरूप दिएको छ।

मन्दिर सेरोफेरोमा तामाङ, मगर, क्षेत्री लगायतको बसोबास छ। मन्दिरमा बेलाबेलामा टाढाटाढाका भक्तजन पनि आउँछन्। त्यहाँ सामान्य खाना र बास सुविधा पाइन्छ।

खाँडादेवी मन्दिर पुग्न काठमाडौंबाट धुलिखेल हुँदै नेपालथोक पुग्नु पर्छ। नेपालथोकबाट कुशेश्वर दर्शन गरी सुनकोशी तरेर एक घन्टा उकालो चढे मन्दिर पुगिन्छ। नेपालथोकबाट शैलुङ उकालिँदा खाँडादेवी दर्शन गरेर चढ्ने र मुढेबाट शैलुङ पस्दा फर्कंदा खाँडादेवी दर्शन गरेर ओरालो झर्नु बेस हुन्छ।    

अथाह संभावना
प्रेम तामाङ,अध्यक्ष, खाँडादेवी गाउँपालिका


सुन्दर, सभ्य र समृद्ध खाँडादेवीको अवधारणा अघि बढाएका छौं। त्यसैले हामीले कृषि र धार्मिक पर्यटनमा जोड दिएका छौं। हाम्रो गाउँपालिकामा खाँडादेवी मन्दिरका साथै विश्वामित्र गुफा, अग्लेश्वर, सुनकोसी र ग्रामीण जीवनशैली आदिको अनुपम सौन्दर्य छ। गाउँको ठाउँठाउँमा होमस्टे सुविधा छ। हाम्रो गाउँमा अथाह सम्भावना छ। हामी गाउँलाई सिँगार्दैछौं। समग्र गाउँपालिकालाई धार्मिक गन्तव्य बनाएरै छाड्छौ।

प्रकाशित: ४ माघ २०७६ ०४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App