१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

जीवन शिक्षा : म कसरी जन्मिएँ

शान्ता दाहाल

म कसरी जन्मिएँ होला, के तिमीलाई थाहा छ ? मैले त अझै पनि पत्ता लगाउन सकेको छैन। तर म यसबारेमा धेरै सोच्ने गर्छु। अनि यो पनि सोच्छु, म जन्मिनुभन्दा पहिला कहाँ थिएँ होला ? के गर्दै थिएँ होला ? यदि म नजन्मेको भए के हुन्थे होला ? कि जन्मिए पनि चरा बनेर जन्मिएको भए कस्तो हुन्थे होला ?

कहिलेकाहीँ आमा र बाबाले म जन्मिएको बारेमा कुरा गर्नुहुन्छ। मान्छे भएर जन्मिएपछि त राम्रो काम पनि गर्नुपर्छ रे। मान्छेले गर्ने काम भनेको असल मात्र हो रे। जति असल काम गर्न सक्यो त्यति ठूलोे मान्छे भइन्छ। त्यही भएर त जनावर र हामीमा फरक भएको हो रे।
एक दिन मैले आमालाई सोधें, ‘आमा, म कसरी जन्मिएँ ?’

मेरो कुरा सुनेर आमा छक्क पर्नुभयो। यति सानो मान्छेलाई पनि कसरी यस्ता कुरा आयो होला ? कसले सिकायो होला ? अनि आज किन यस्तो प्रश्न ? आमाले सोच्नुभयो, ‘मैले अब यसको उत्तर दिनै पर्छ’ अनि उहाँले भन्नुभयो, ‘तिमी जन्मनुभन्दा पहिले कहाँ थियौ, थाहा छ ?’
मैले भने, ‘अहँ, थाहा छैन।’

आमाले भन्नुभयो, ‘तिमी जन्मनुभन्दा पहिले यस्तो न्यानो ठाउँमा थियौं कि त्यो ठाउँ तिम्रो आमाको कोख हो। सुरुमा तिमी त्यहाँ सफा अनि तातो पानीमा एउटा डल्लो बनेर पौडी खेलिरह्यौ।’

– के तिमीलाई थाहा छ ? त्यो तातो पानी भएको न्यानो ठाउँ कस्तो होला ? हो मेरो आमाले भन्नुभएको, त्यो त आमाको कोख हो रे । त्यो ठाउँ कस्तो थियो त ?

– त्यो कोख अँध्यारो थियो। आमाले मलाई देख्न सक्नु हुन्न थियो रे । म  बोलेको पनि सुन्न सकिँदैन थियो। मलाई छाम्न र छुन पनि सकिँदैन थियो तर थाहा छ अचम्मको कुरा मैले चाहिँ आमाबुबाले बोलेको कुरा र आमाले सास फेरेको सुन्न पनि सक्थें। सायद कहिलेकाहीँ म औँला पनि चुस्थें। ऊ त्यहाँ हेर त, भित्तामा भएको त्यो चित्रमा जस्तै।
मलाई झन् अचम्म लाग्यो, ‘म कसरी अहिलेचाहिँ सुन्ने अनि सास पनि फेर्न सक्ने भए त ?’

एक दिन मलाई म मान्छे भएर जन्मिएको बारेमा जान्न मन लाग्यो र आमालाई मेरो कथा भन्नुस् न भन्दै अनुरोध गरेको थिएँ।

पहिले जब मेरो शरीर बन्न सुरु भयो त्यति बेला शरीरका टाउको, हात, पाखुरा, औँला, खुट्टा र खुट्टाका औँला केही पनि बनेका थिएनन्। म त एउटा मसिनो थोप्लो जस्तो सेलबाट बन्न सुरु गरेको रे। तर ९ महिनापछि जब म जन्मिएँ यो धर्तीमा बाँच्नका लागि शरीरका सबै अंगहरू बनेर जन्मिएँ । त्यो मसिनो थोप्लो जस्तो सेलचाहिँ आधा मेरो आमाबाट अण्ड अनि आधा मेरो  बुबाबाट शुक्रकिट आएर एकै ठाउँमा मिसियो अनि म त यस्तो राम्रो मान्छे बनेँ।

एक दिन मैले यो मान्छे बन्ने तरीका थाहा पाउन मिहिनेत गरेर पढ्नुपर्ने सम्झिएँ। त्यतिबेला त म मान्छेको डाक्टर बनेको छु जस्तो लाग्यो अनि सबै कुरा बिर्सिएर आमालाई मलाई डाक्टर भन्नु न भन्न मन लाग्यो।

मलाई विद्यालयमा पनि मन पर्ने समय भनेको विज्ञानमा मानिसहरूको जन्मको बारेमा हो। त्यहाँ शान्ता मिसले भन्नुहुन्छ, ‘महिलाको शरीरभित्र साना अण्डका सेलहरू हुन्छन्। पुरुषको शरीरमा भित्र साना शुक्रकिटका सेलहरू हुन्छन्। ती अण्ड र शुक्रकिट एकदमै साना हुन्छन्। हामीले देख्न सक्दैनाैँ। तिनीहरूलाई हेर्न माइक्रोस्कोपको आवश्यकता पर्छ। ती अण्डहरू गोला हुन्छन् तर कुखुराको अण्डा जस्ताचाहिँ होइन नि। शुक्रकिटचाहिँ लामो पुच्छर जस्तो भएका हुन्छन् र ती पौडिन पनि सक्छन्। जब अण्ड र शुक्रकिट एकै ठाउँमा टाँसिन पुग्छन् अनि ती महत्वपूर्ण सेल बन्छन्। त्यस्तो महत्वपूर्ण सेलचाहिँ हामी सानो बच्चा बनेर हुर्कदै अहिले यति ठूलोे भएको हो। के तिमीले यसबारे जान्न कहिले मिहिनेत गरेका छौं ? कति सिक्न खोज्दा पनि सकेका छैनौं ? मैले त यस्तो धेरै पटक गरिसकेको छु।

शान्ता मिसले मलाई अस्ति कक्षामा ती सेलहरूको बारेमा सोध्नुभएको थियो। मैले उत्तर दिन नै सकिन। आमाले भन्नुभएको कुरा सम्झिन खोजें तर सकिन । एकछिन त दिक्क पनि लाग्यो। पछि छुट्टी भएपछि मिसले मलाई सबै कुरा बताउनुभयो। पहिले त्यो महत्वपूर्ण सेल दुई आधा भागमा बाँडिन्छ अनि फेरि दुई आधा भागमा बाँडिएको सेल फेरि आधा हुन्छ। अब त्यहाँ चार ओटा सेल हुन्छन्। ती फेरीफेरी आधाआधा भएर सयौं सेल बन्छन्। केही हप्तापछि ती बढ्न थाल्छन्। बढ्ने बेलामा तिनीहरूले आफ्नो आकार बनाउँछन् तर ती आकारहरू सानो बच्चा जस्ता देखिँदैनन् तर बच्चा बन्ने सुरुवातचाहिँ हो नि। जब त्यो लगातार बढ्दै जान्छ अनि बच्चा जस्तो देखिन्छ। एक हप्ता, तीन हप्ता, चार हप्ता, छ हप्ता सबैको आआफ्नै आकार हुन्छ।

मिसले मलाई यति सजिलो तरीकाले सिकाइरहनुभएको थियो। उहाँ सबैभन्दा असल लाग्थ्यो। अनौठो कुरा त के भने मलाई यी सबै कुरा सिकाउने मिससँग डर पनि लाग्न छोडिसकेको थियो। मलाई मिस प्यारी लाग्न थाल्नुभयो। पछि त मैले उहाँसँग धेरै कुरा सिकें।

केही दिनपछि त मैले मेरो कक्षाका सबै साथीहरूलाई राखेर सिकाउन सक्ने भएँ। एक दिन मैले भनें, ‘जब हामी हाम्रो आमाको न्यानो गर्भाशयमा छ हप्तासम्म हुन्छौं तब हाम्रा हातखुट्टाहरू बढ्न सुरु हुन्छन् । आँखा पनि त्यही हुन्छन् तर पूरा खुला हुन्छन् किनकि त्यतिबेलासम्म परेलाहरू बनिसकेका हुँदैनन्।  मुटुचाहिँ धड्किरहेको हुन्छ ।’

मैले किताबका पाना पल्टाएर देखाउँदै भनेँ, ‘हेर त यताको फोटामा आमाको न्यानो गर्भाशयमा नजन्मिएको ठूलो जस्तो देखिने बच्चा। तर यति बेला साँच्चै नै सानो हुन्छ। यो सानो ठाउँमा पनि अट्न सक्छ।’ मिसले मेरो कुरा सुनिरहनुभएको रहेछ। दाहिने हातको बूढी औँला ठाडो पारेर देखाउँदै हाँस्नुभयो। म पनि हाँसें। अनि त मलाई त भन्दाभन्दै अचम्म लाग्यो। के खाएर बाँच्ने होला त। आमाले मैले बोलेको पनि सुन्नु हुन्न। म अलिक उत्सुक भएको देखेर मिसले मुसुक्क हाँसेर मलाई भन्नुभयो, ‘तिमीलाई केही सोध्न मन लागे जस्तो छ।’
मैले छड्के आँखाले मिसलाई हेरेर ‘हो’ भनें।

‘तिम्रो आमाले यतिबेला तिमीलाई गर्भाशयभित्रै हेरचाह गर्न सुरु गरिसक्नुभएको हुन्छ। कस्तो खानेकुरा खानुपर्छ ? कति खानुपर्छ भनेर सबै थाहा पाउनुभएको हुन्छ। खानेकुरा र अक्सिजन तिमीलाई तिम्रो आमाको शरीरबाट रक्तनली हँुदै तिमीसँग टाँसिएको नालबाट तिम्रो शरीरमा जान्छ। त्यो नालचाहिँ तिम्रो नाभिमा टाँसिएको हुन्छ। तिमीले त्यसरी खानेकुरा लिएपछि शरीरबाट फोहोर वस्तु पनि त निस्किन्छ नि त्योचाहिँ नाल हुँदै आमाको रक्तनली मार्फत जान्छ र बाहिर निस्कन्छ। तिम्रो शरीरमा भएको नालले दुवै काम गर्छ। खाना भित्र पठाउने अनि फोहोर बाहिर निकाल्ने पनि।’

म त्यो दिन घर गएँ । घरमा पुगेपछि आमाले डाक्टर भनेर बोलाउँदा मलाई खुशी लाग्यो अनि मैले मलाई जन्माउने मेरी आमा पनि डाक्टर जस्तै लाग्न थाल्यो। आमाको त्यो न्यानो कोखको बारेमा आमाले भन्नुभएको कुरा सम्झिएँ। शरीरमा मासु पनि बन्दै जान्छ। अनि मैले मेरा पाखुरा र खुट्टाहरू चलाउन थाल्छु। कहिलेकाहीं त्यो न्यानो कोखमा साँच्चि नै नाचिरहेको हुन्छु रे। ४ महिनाको भएपछि आमाले कोखमा चलेको थाहा पाउनुहुन्छ रे। अनि अरूले पनि चलेको बाहिरैबाट देख्छन् रे। केही महिना बितेपछि म बढ्दैबढ्दै गएँ। बढेपछि म अटाउने जत्रो कोठा भएछ मेरो आमाको पेट पनि बढेर। यसरी नै ३ महिना, ६ महिना र ९ महिना बित्छ रे आमाको कोखमा ।

सोच त ९ महिनापछि म आमाको कोखलाई छोडेर बाहिर निस्कन तयार भएको बेला आमालाई कस्तो भयो होला ? आमाबुबालाई म बाहिर निस्कने तयारीमा छु भन्ने कुरा थाहा भयो अनि उहाँहरूले मेरा लागि चाहिने सबै कुराहरू तयार गर्नुभयो।

एक दिन आमा र म टेलिभिजन हेरिरहेका थियौँ। डाक्टरले पनि मानिस जन्मिने कुराका बारेमा भन्दै थिए। बाहिर टकटक आवाज आयो। आमाचाहिँ बाहिर को आयो भनेर निस्कनुभयो। मचाहिँ भित्रै बसेँ।

डाक्टरले म जस्तै ठूलो डाक्टरलाई भन्दै थिए, ‘बच्चा जन्मिने बेलामा आमालाई नराम्रोसँग दुखाइ हुन्छ जसलाई प्रसवपीडा भनिन्छ। यस्तो दुखाइ एकदमै बढी भएपछि बच्चा बाहिर निस्कन खोज्दै छ भनेर थाहा हुन्छ। त्यसपछि गर्भाशय बेस्सरी निचोरिए जस्तो गरी दुख्छ अनि त सानो मान्छे बाहिर संसारमा आउँछ।’ लोडसेडिङ भएर होला त्यति भन्नेबित्तिकै बिजुली गयो।

आमा भित्र फर्किनुभयो। मैले आमालाई फेरि सोधें, ‘आमा, म जन्मिएको कथा सकियो त ? भन्नुस् न आमा, मान्छेचाहिँ कसरी जन्मिन्छन् नि ?’

आमाले भन्नुभयो, ‘केही घण्टाको दुखाइ पहिला टाउको बाहिर आउँछ अनि पूरैचाहिँ शरीर बाहिर निस्कन्छ। तिमी सोच त त्यति बेला म र बुबा कति खुशी भयौँ होला। त्यतिबेला जब तिमी जन्मिएको थियौ।’

हो साँच्चै म जन्मिदा पूरै भिजेको र चाउरी परेको थिएँ रे। मलाई सफा गरेर तातो ओढ्नेमा बेरिदिनुभएको रहेछ। जन्मिएपछि मैले आफैं स्वाँस्वाँ गर्दै सास फेर्न र खानेकुरा खोज्न थालेछु। त्यो लामो नाइटोसँग जोडिएको नाललाई काट्दा पनि नदुखेको रे। दुई हप्प्तापछि त्यो काटिएको भाग सुक्खा भएर झर्छ। त्यसको मुनि सानो र गोलो आकारको बन्छ। त्यो गोलो भाग नाभि हो त्यो त बेली बटन हो नि। केही महिनापछि बुबाले मलाई हातले उचालेर बोक्नुभयो ।

मिसले एक दिन भन्नुभएको थियो, ‘मान्छे  परिवारको एउटा सदस्यको रूपमा प्रेम गर्न सिक्न, प्यारो बन्न र असल मान्छे बन्न जन्मिएको हुन्छ । सानो  हँुदै मान्छेले धेरै कुरा सिक्छ। मुस्कुराउन, खेलौनासँग खेल्न, घिस्रिन, हिँड्न र मुख चलाएर पहिलो शब्द भन्न अनि यसरी नै ठूलो हुँदै जान्छौँ, ‘त्यो मान्छे तिमी जस्तै !’

प्रकाशित: ४ माघ २०७६ ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App