२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्य

अस्ट्रेलियन क्याम्पको सौन्दर्यमा हराउँदा

अनुष्का रेग्मी,
कक्षा–१०,
काञ्जीरोवा नेसनल मावि
कोटेश्वर, काठमाडौँ।

हरेक वर्ष हामी पारिवारिक भ्रमणमा सहभागी हुने गर्छाैँ। प्रायः विद्यालयमा बिदा भएका समयमा उक्त भ्रमणको आयोजना गरिन्छ। यस वर्ष रमाइलो पारिवारिक भ्रमणका लागि हामी पोखरा जाने भयौँ। आफ्नो गाउँ जाने बाटो पनि त्यही भएका कारण म यसपूर्व धेरैचोटि पोखरा गइसकेकी थिएँ। यसअघिका भ्रमणमा मैले पोखराका लगभग सबै स्थान भ्रमण गर्ने अवसर पाइसकेकी थिएँ। प्राकृतिक सौन्दर्यका कारण पोखरा भ्रमण गरेर कहिल्यै न्यास्रो लाग्दैन। जति गयो उति गइरहूँझैँ लाग्छ, पोखरा। त्यसैले यसपटकको भ्रमणमा पनि हामी सबैको रोजाइमा पोखरा नै प-यो। यसपालि भने हाम्रो भ्रमणको केन्द्र ‘अस्ट्रेलियन क्याम्प’ थियो। त्यसैले विगतका भ्रमणका तुलनामा यसपालि म झनै उत्साही थिएँ।

यात्रामा सहभागी हुन पाइने कुराले म निकै खुसी थिएँ। भाइ र म मिलेर भ्रमणका सामान्य योजना बनायौँ। काठमाडौँबाट हाम्रो पोखरा यात्रा प्रारम्भ भयो। जाडो याम भएकाले जताततै चिसो थियो। काठमाडौँमा बिहान घाम लागेको भए पनि बाटामा बाक्लो कुहिरो र हुस्सु लागेको थियो। बाटाको मौसमी अवरोध पन्छयाउँदै हाम्रो यात्रा अघि बढ्यो। हाम्रो यात्रामा विष्णु सापकोटा, महेन्द खनाल, रञ्जीत थापा सर र सम्झना खरेल म्यामको परिवार पनि सहभागी थियो। गीतसङ्गीतको रमाइलो तालमा झुम्दै र ठाउँठाउँमा रोकिँदै झन्डै ९ घन्टाको आरामदायी यात्रामा हामी पोखरा पुग्यौँ। बसमा धेरै रमाइलो भएका कारण मलाई त त्यो ९ घन्टाको लामो अवधि कसरी सकियो पत्तै भएन।

अपराह्नपख पोखरा पुग्दा त्यहाँको मौसम अत्यन्त सफा थियो। काठमाडौँका तुलनामा पोखरामा त धेरै न्यानो पो रहेछ। बसबाट झरेर बस्ने होटलमा आफ्ना सामानहरू राख्यौँ। लामो यात्रामा सहभागी हुँदा हामी निकै थकित थियौँ। त्यसैले एकछिन हामीले होटलमै आराम ग¥यौँ। पोखरा पुग्ने कसैले पनि नछुटाउने ठाउँ हो, फेवाताल। अनि फेवाताल जाने व्यक्तिले घुम्नैपर्ने बजार हो, लेकसाइड। त्यसैले हामी साँझपख लेकसाइडतिर निस्क्यौँ। पैदलयात्रामै लेकसाइड पुग्दा हामीलाई त्यहाँको वातावरण निकै रमाइलो लाग्यो। लेकसाइडमा धेरै स्वदेशी तथा विदेशी पर्यटकहरूको घुइँचो लागेको थियो। ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भनेझैँ लेकसाइड पुग्दा हामीले फेवातालमा हरेक दिन साँझमा हुने आरती अनुष्ठान अवलोकन गर्ने अवसर पायौँ।

भोलिपल्ट हाम्रो अस्ट्रेलियन क्याम्प पुग्ने कार्यक्रम थियो। त्यसका लागि हामी सुरुमा पोखराबाट धम्पुस पुग्यौँ। बसयात्रामा धम्पुस पुग्दा झन्डै एक घन्टा लाग्यो। बसबाट ओर्लेर एकछिन धम्पुसमा आराम ग¥यौँ। यसअघिका भ्रमणका क्रममा हामी धम्पुस आएर फर्किसकेका थियौँ। त्यसैले त्यहाँ पुग्दा पुरानो भ्रमणको झलझली सम्झना आयो। धम्पुसबाट अस्ट्रेलियन क्याम्प पुग्न पैदलयात्रा गर्नुपर्दाेरहेछ। हामी पनि त्यहाँबाट पैदलयात्रामा सहभागी भयौँ। बाटो ठाडै उकालो थियो। ढुङ्गा छापेर बनाइएको व्यवस्थित बाटो भएकाले बाटो सहज नै देखिन्थ्यो। तर, त्यस्तो बाटामा प्रायः नहिँडेको भएर हामीलाई भने अप्ठ्यारै भयो। धम्पुसबाट एक घन्टाको पैदलयात्रामा हामी बल्ल अस्ट्रेलियन क्याम्प पुग्यौँ।

ठाडै उकालो बाटोमा पैदलयात्रा गर्दा म निकै आत्तिएकी थिएँ। तर, अस्ट्रेलियन क्याम्प पुगेर त्यहाँको सौन्दर्यमा हराउँदा मैले पैदलयात्राका सबै पीडा एकाएक बिर्सिएँ। क्याम्पबाट उत्तरतिर देखिने सेतै टल्केका अन्नपूर्ण, धौलागिरि, माछापुच्छ«े, लमजुङजस्ता हिमालहरूको सौन्दर्यमा म लठ्ठिएँ। मौसम खुल्दा हिमाल त कहिलेकाहीँ काठमाडौँबाट पनि देखिन्थ्यो। तर, मैले त्यति नजिकबाट कहिल्यै हिमाल अवलोकन गर्ने अवसर पाएकी थिइनँ। त्यहाँ पुगेपछि मलाई त्यो अवसर प्राप्त भयो। मैले त्यहाँबाट देखिने हिमाललाई पृष्ठभूमिमा राखेर एकल तस्बिरहरू खिचेँ। पछि फेरि परिवार र हाम्रो भ्रमण टोलीसँग सामूहिक तस्बिरहरू खिच्ने अवसर पनि पाइयो। त्यहाँ पुग्दा मलाई त माछापुच्छ«कै काखमा पुगेर बसेजस्तो अनुभूति पो भयो। त्यस दिन हामी क्याम्पकै एउटा होटलमा वास बस्यौँ। बेलुकीको खानामा मलाई त्यहाँको स्थानीय परिकार अत्यन्तै स्वादिष्ट लाग्यो। सराङकोट र धम्पुसमा झैँ अस्ट्रेलियन क्याम्पबाट पनि सूर्याेदयको रमणीय दृश्य अवलोकन गर्न पाइँदो रहेछ। भोलिपल्ट आफू बसेकै ठाउँबाट मैले पनि सूर्याेदयको दृश्य अवलोकन गर्ने अवसर पाएँ।

अस्ट्रेलियन क्याम्पलाई पहिले ठूलो खर्कका नामले चिनिँदो रहेछ। धेरै पहिले यो यस क्षेत्रकै राम्रो पशुचरन क्षेत्र रहेछ। पोखराबाट धम्पुस, पोठाना, देउराली, लान्द्रुक, चोमरोङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पुरानो मार्गमा पर्ने यो क्याम्पको बाँटो हुँदै पहिले धेरै पर्यटकहरू पैदलयात्रा गर्दारहेछन्। पछि ठाउँठाउँमा मोटरबाटो पुगेपछि यो ठाउँ अलि बिरानो भएको रहेछ। कुनै समय पोखरा तथा अन्नपूर्ण आधार शिविरको भ्रमणमा आएका पर्यटकहरू कहिलेकाहीँ यहीँ अस्थायी क्याम्प खडा गरेर बस्दा रहेछन्। एकपटक त्यहाँ अस्ट्रियाका पर्यटकहरू आएर क्याम्प खडा गरी निकै दिन बसेछन्। त्यसैले सुरुमा यसलाई अस्ट्रियन क्याम्प भनिएको रहेछ। पछि त्यही अस्ट्रियन क्याम्प अस्ट्रेलियन क्याम्पमा परिवर्तन भएको इतिहास रहेछ। अन्नपूर्ण हिमशृङ्खलाको दृश्य प्रस्ट देख्न सकिने यो क्षेत्र हाल पोखरा भ्रमणमा आउने धेरै विदेशी पर्यटकहरूको रोजाइमा पर्ने प्रसिद्ध पर्यटकीय स्थल रहेको कुरा मैले त्यहीँ पुगेर थाहा पाएँ। पोखरा नजिकैको पर्यटकीयस्थल भएकाले त्यहाँ पनि थुप्रै पर्यटकहरू पुगेका थिए। उनीहरू आफ्नै धुनमा वरपरका दृश्यावलोकन गर्न मस्त थिए।

हामीलाई अस्ट्रेलियन क्याम्पमा क्याम्प नै खडा गरेर लामो समयसम्म बस्न मन लागेको थियो। तर सीमित समय लिएर गएका कारण त्यो सम्भव भएन। त्यसैले बिहान खाजा खाइवरी रमणीय अस्ट्रेलियन क्याम्पलाई बिदाइका हातहरू हल्लाउँदै हामी ओरालो झ¥यौँ। उकालोभन्दा ओरालो बाटामा यात्रा गर्न निकै कठिन हुँदोरहेछ। अस्ट्रेलियन क्याम्पबाट फर्कने क्रममा ओरालो झर्दा मैले यो कुरा बल्ल अनुभव गरेँ। हामी त्यहाँबाट सिधै पोखरा आएर खाना खायौँ। थकाली खानाका लागि पोखरा प्रसिद्ध छ। हामीले पनि थकाली खानाको मीठो स्वाद लिने अवसर पायौँ। दिउँसोतिर मैले बुबाको सहयोगमा पोखरामै साइकल चलाउन सिकेँ। एक घन्टा साइकलचढीमा रमाएपछि हामी होटल फक्र्याैँ। यस वर्ष म माध्यमिक शिक्षा परीक्षामा सहभागी हुँदै थिएँ। त्यसैले अरू वेला भ्रमणमा रमाए पनि भ्रमणअवधिभर मैले हरेक साँझ केही क्षण समय निकालेर परीक्षाको तयारी गरिरहेँ।

पोखरा यात्राका क्रममा अस्ट्रेलियन क्याम्पमा बिताएका ती अविस्मरणीय पलहरू निकै रमाइला रहे। विद्यार्थीले अध्ययनसँगै कहिलेकाहीँ यस्ता रमाइला भ्रमणमा पनि सहभागी हुने अवसर पाउनुपर्छ। यस्तो अवसरले विद्यार्थीमा नयाँ जोस र जाँगर भरिदिन्छ। मैले पनि यस भ्रमणबाट छुट्टै जीवनोपयोगी अनुभव हासिल गर्ने मौका पाएँ। उक्त भ्रमणमा सहभागी भएर आएपछि मैले आफूभित्र अध्ययनप्रति थप उत्साह र स्फूर्ति बढेको महसुस गरेकी छु।

प्रकाशित: २६ पुस २०७६ ०६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App