१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

पत्रुखानाको विकल्पमा लोकखाना

हामी पाहुनालाई पत्रुखाना खुवाउँछौँ, यो संस्कृतिकै रूपमा विकास भएको पाइन्छ ।

एकपटक म साथीकहाँ गएकी थिएँ । उनले मुस्कानसहित स्वागत गरिन् । हामीबीच केहीबेर गफगाफ भयो । भान्सेले चिया र बिस्कुट हाम्रो अगाडि बढो आदरका साथ राखिन् । म उनलाई हेरेर मुसुमुसु हाँसेँ । अनि साथीलाई पुलुक्क हेरेँ । उनले भनिन्, ‘खाऊ न खाऊ अरुणा,’ उनले चियाको कप उठाइन् ।

‘मैले पत्रुखाना खाने गरेकी छैन । मेरो भान्सामा पत्रुखाना निषेध छ ! चिनीबिनाको चिया हो भने खान्छु,’ मैले हाँस्दै भनेँ ।
‘ओ सरी सरी अरुणा !’ उनले भान्सेलाई बोलाएर बिस्कुट पन्छाइन् ।

मैले पत्रुखानाबारे उनीसँग निकैबेर छलफल गरेँ । अन्ततः उनले हाँस्दै भनिन्, ‘पत्रुखानालाई भान्सामा नो इन्ट्री ।’

०००
पत्रुखाना नियन्त्रण गर्न उच्च तहका सरकारी कर्मचारी सम्मिलित बैठक बसेको थियो । बैठकमा पत्रुखानाको विकल्प र बाध्यताबारे अनेक कोणबाट छलफल भयो । अन्त्यमा पत्रुखाना नियन्त्रण गर्ने निर्णय पारित भयो । बैठकका अध्यक्षता गरिरहेका आदरणीय व्यक्तित्वले भन्नुभयो, ‘यहाँहरूको सहभागिता र अमूल्य सुझावका लागि धन्यवाद । खाजा पाकेको छ, खाएर जानुहोला ।’

बैठक निकै लम्बिएकाले खुब भोक लागेको थियो । खाजा कुरेर बस्दै थिएँ । केहीबेरमा चाउचाउ ल्याइयो । म तीन छक्क परेँ अनि भनेँ, ‘हामीले पत्रुखाना रोक्ने निर्णय गरेलगत्तै त्यही  खान्छौँ भने कसरी बोलाइ र गराइबीच तादात्म्य मिल्छ ? म त चाउचाउ खान्नँ ।’

कोही हाँसे, कोही खाइरहे, कोही तर्क गर्न थाले । 
हामीसँग पत्रुखानाको विकल्प छैन ? खाजा र खानाका परिकार छैन ? पेयपदार्थ छैन ? यस्ता प्रश्नको एउटै उत्तर दिने गरेकी छु, ‘हामीसँग सबथोक छन् ।’

हाम्रा खाजा

हामीसँग खाजाका रूपमा प्रयोग गर्न अनेक खाद्यपदार्थ छन् । हिमाली क्षेत्रमा उवा, जौ र आलुका परिकारलाई खाजाका रूपमा खाइन्छ । उवाको सातु, चौंरीको दूध खाइन्छ । त्यस्तै, पहाडी क्षेत्रमा मकै–भटमास, चामलको पुवा, रोटी, चाम्रे, कोदो र फापरको रोटी, मकैको सातु, दही, चिउरा, चाकु, योमरी लगायत परिकार खाजाका रूपमा खाने चलन छ ।
त्यस्तै, तराईमा गहुँको रोटी, सातु, जेरीलगायत परिकार खाइन्छ । यी परिकारमा सूक्ष्म पोषक तŒव पर्याप्त पाइन्छन् । यसकारण यी स्वास्थ्यका लागि नै हितकर छन् ।

पूर्खाले वैज्ञानिक ढंगले खानाको अध्ययन गरेनन् । तर, यी खाना स्वास्थ्यवद्र्धक छ भन्ने थाहा थियो । सुदूरपश्चिममा गौरापर्वमा बिडौरा खाने चलन छ, यो बेलुका भिजाएर बिहान खाइन्छ । भिजाएर फुलेपछि पकाउँदा पचाउन सहज हुन्छ । 
तिलको लड्डु र तिलको अचारमा धेरै क्यालसियम पाइन्छ । सखरखण्डमा भिटामिन ए पाइन्छ । यसले ऊर्जा दिन्छ । सखरखण्ड र तरुलले जाडो मौसममा शरीर स्वस्थ राख्न मद्दत गर्छ ।

भक्का थारु समुदायमा प्रचलित भए पनि यसलाई अन्य जातिले पनि खान्छन् । मास र गहत मिसाएर खाइने गहतानी निकै लोकप्रिय छ । जाडोका बेला यसले धेरै तागत दिन्छ । मिर्गौलामा पत्थरी हटाउन यसले सहयोग गर्छ । गहतानी र भात खानु निकै महŒवपूर्ण मानिन्छ । योमरी पूर्णिमामा योमरी खाइन्छ, जुन चामलको पिठोलाई बफ्याएर बनाइएको हुन्छ । 

खाना र तरकारी

जोगीभात (चामल, गेडागुडी, दाल लगायत मिसाइएको), दालभात, च्याँख्ला, ढिँडो आदि हामीकहाँ खानाका रूपमा खाने चलन छ । तरकारीका रूपमा फर्सीको मुन्टा, लट्टे साग, सिमी, रायोको साग, दलहन प्रचलनमा छ । त्यस्तै, खसी–बोका, भेडा, च्यांग्रा, बँदेल, राँगा, माछा आदिको मासु  खाइन्छ ।

अचार

हामीकहाँ अनेक अचार प्रचलित छन् । जस्तो कि तिलको अचार, गुन्द्रुकको अचार, लप्सीको अचार, मेवाको अचार, आलुको अचार, आलसको अचार, मुलाको अचार, गोलभेँडाको अचार, तामाको अचार आदि । यी बनाउने तरिका व्यवस्थित छन् । 

पेय पदार्थ

त्यस्तै, कोक, फेन्टा, पेप्सी, बियरलाई विस्थापित गर्न सक्ने दही, मोही, जौको सत्व, कागतीको सर्बत, बाबरीको सर्बत, कागती चिया, पुदिनाको सर्बत जस्ता पेयपदार्थ हामीकहाँ छन् । फलपूmलका जुसका अनेक परिकार हामीकहाँ छन् ।

मसाज

हामीकहाँ शरीर मालिस गर्न स्वस्थकर तेल उपलब्ध छ । केही चिकित्सकले तिल र तोरीको तेल प्रयोग नगर्न सल्लाह दिन्छन्, यसमा विविध विषय लुकेको हुन्छ । तर तिल र तोरीको तेलले शरीर मालिस गर्न मज्जाले सकिन्छ । मसाज सेन्टरमा गएर २–३ हजार खर्च गर्नुभन्दा घरमै घरेलु तेलबाट शरीरको मालिस गर्न सकिन्छ ।

पकाउने भाँडा र तरिका

लोकखाना माटो, धातुका भाँडा र पातमा पनि पकाइन्छ । यो विधि निकै उपयुक्त हुन्छ । फलामका भाँडामा पकाइएका खानामार्फत हामीले पर्याप्त आइरन प्राप्त गर्छौं । भुटेर, उसिनेर, बफ्याएर, पोलेर खाना पकाउने चलन छ ।
लोकखानाको उत्पादन र प्रयोगका कारण कृषि क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धन हुन्छ । कृषियोग्य जमिन पनि स्वस्थकर हुँदै जान्छ । हामीले कम मूल्यमा आफ्नै वरपर पाइने अन्न, सागपात, माछामासु र फलफल प्रयोग गर्न पाउँछौँ । यी स्वास्थ्यका दृष्टिले निकै लाभदायक छन् । 

जनस्वास्थ्यसम्बन्धी नीति–नियम बनाउने जिम्मा सरकार र मातहतका निकाय हो, त्यसैले सरकारी कार्यालयबाटै पत्रुखाना निषेध अभियान चलाउनुपर्छ । बैठक तथा छलफलमा खाजाका रूपमा चाउचाउ, बिस्कुट होइन, दही–चिउरा, सातु, रोटी लगायत मौसमअनुकूलका खाद्यवस्तु प्रयोग गर्नुपर्छ । त्यस्तै, खानालाई अलिकति परिष्कृत गरेर खान सक्छौँ । जस्तो कि कोदोको ढिँडो मात्रै खानुपर्छ भन्ने छैन, यसका अनेक स्वस्थकर परिकार बनाउन सकिन्छ । लोकखानाको प्रयोगबाट स्थानीय व्यापारको प्रवद्र्धन गर्दै स्वस्थ जीवन जिउन सकिन्छ ।

प्रकाशित: १९ पुस २०७६ ०७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App