१२ असार २०८१ बुधबार
image/svg+xml
अन्य

पियानोको धुनमा कविता र मुक्तक

रमेशानन्द वैद्य
मन पोख्न मधुशाला छिर्छन् मान्छे या भनूँ आगो निभाउन। कोही रंगशाला धाउँछन् सीप निखार्न या भनूँ तन तताउन। कोही जीवन र समाज बुझ्न काव्यशाला पस्छन् या भनूँ जगत् उघार्न। माथिको पहिलो ‘शाला’ गाउँ, सहर, गल्ली, सडक जताततै सजिलै प्राप्य छ। दोस्रो सोध्न र खोज्नुपर्छ। तेस्रो भने दुर्लभ छ। दुर्लभ यसकारण कि यो रहर, लहड हुँदैमा हडबडमा प्राप्य हुँदैन। नास्तिकले पनि यसर्थ स्विकार्नैपर्छ कि समयले उसलाई भाग्यको अवसर दिए मात्र प्राप्त हुन्छ। गत मंसिरको तेस्रो र चौथो शनिबार लगातार प्राप्त भयो– काठमाडौं, कालिकास्थानस्थित ‘सर्वनाम’ रंगमञ्चमा।

मंसिर २१ गते उक्त रंगमञ्चमा ‘शुभारम्भ: द म्युजिकल जर्नी’ले तीन स्रष्टालाई प्रस्तुत ग-यो, जो आफैंमा स्वनामधन्य छन्– प्रकाश सायमी, गीतकार सुवासचन्द्र  ढुंगेल र पियानोवादक उपेन्द्र सिंह। पियानोमा उपेन्द्रका औंला हलुकासँग चलमलाउँछन्, पृष्ठबाट मञ्चमा एक मुस्लो उज्यालो पोखिन्छ, अनि गुन्जिए प्रकाश सायमी शान्त तलाउमा तरंग लहरिएजस्तै।

मभित्र मौन उज्यालो खस्छ
अथाह वेग दिएर
तिमीसमक्ष मेरो सामुद्रिक मनले
कविताको भूगोल बनाउँछ यत्रतत्र।
(तिमीलाई देखेको समय)

सायमीको कविता र उपेन्द्रको धुनसँगै हराइरहेका श्रोता–दर्शक फेरि गीतकार सुवासचन्द्र ढुंगेलका मुक्तकमा मन्त्रमुग्ध हुन पुग्छन्।

चल्लाहरू टिप्न छाडें भन्छ चिल, कसरी पत्याउँ
सुन्दरीहरूको पछि लाग्दिनँ भन्छ दिल, कसरी पत्याउँ
गफ दिने पनि हद हुन्छ, हदै नाघेर गफ नदिनू
अब झूठ बोल्दिनँ भन्छ वकिल, कसरी पत्याउँ !
०००
तासमा केवल चार हुन्थे, यहाँ हजारौँ भए गुलामहरू
यत्रतत्र सर्वत्र प्रायः तिमी देख्छौ, हेर बदनामहरू
त्यस दिनदेखि यो देश बन्न सुरु हुन्छ, लेखी राख
जुन दिनदेखि ठूलाले होइन, असलले खान्छ सलामहरू।
मुक्तकसँगै पाश्र्वमा पियानोको धुन बजिरहन्छ। उनीपछि प्रकाश फेरि कविता सुनाउँछन्।

हुनेछ कुनै सभा
गालिबको शतवार्षिकी
त्यहाँ कुनै मन्त्री भनिरहेका हुनेछन्,
गालिब गत शताब्दीका महान् चित्रकार
अनि, बोल्दाबोल्दै उनका झरेका आँसुलाई
कैद गर्न टीभी च्यानलका लेन्सहरू
तेस्रो विश्वयुद्ध गरिरहेका हुनेछन्।
(गालिबको चिहान)

प्रकाशका कविता र सुवासचन्द्रका मुक्तकसँगै प्रत्यक्ष पियानोको धुन निकालेका उपेन्द्रले अन्त्यमा एकल पियानो बजाउँछन्। ‘केही मीठो बात गर’ बोलको नारायणगोपालको स्वर रहेको गीत र अरुण थापाको स्वर रहेको ‘जति माया लाए पनि, जति कसम खाए पनि’ बोलको गीतलाई उनले पियानोको धुनमा ढाल्दा वातावरण मनमोहक बनेको थियो।

प्रकाशित: ५ पुस २०७६ ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App