१२ असार २०८१ बुधबार
image/svg+xml
अन्य

ब्रेललिपिको किताब विमोचन गर्न पाउँदाको त्यो दिन

सरिता अर्याल

नमुना मच्छिन्द्र मावि, लगनखेल, ललितपुरको दृश्यविहीन शाखामा गत २०७६ असार १२ गते ६ ओटा ब्रेललिपिमा प्रकाशित बालकथासङ्ग्रह विमोचन भयो। आफैं पनि दृष्टिविहीन भएकाले सो कार्यक्रम हुँदा म फुरुङ्ङ परेकी थिएँ। उक्त कार्यक्रममा नमुना मच्छिन्द्र क्याम्पसका क्याम्पस प्रमुख डा. दीनबन्धु शर्मा, विमोचित कृतिका लेखकहरू कार्तिकेय, जलेश्वरी श्रेष्ठ, गङ्गा कर्माचार्य पौडेल, साहित्यकार देवु लुइँटेल, दृश्यविहीन युवा आश्मा अर्याल, कलाकार हेम पौडेल र म आफैँ लगायतले संयुक्त रूपमा कृति विमोचन गरेका थियौँ। साँच्चै त्यो दिन आफूजस्तै आँखा नदेख्नेहरूका लागि प्रकाशित ब्रेलपुस्तकहरू विमोचन गर्न पाउँदा म अत्यन्त हर्षित भएकी थिएँ।

विमोचित कृतिहरूमा साहित्यकार जलेश्वरी श्रेष्ठ लिखित पिङ्की र पुतलीहरू र अरू बालकथाहरू, साहित्यकार गङ्गा कर्माचार्य पौडेल लिखित को ठूलो ?, भारतीय बालसाहित्य लेखक मनोरमा जफा लिखित हाँस्ने सुगा र अरू बालकथाहरू र लेखक कार्तिकेय घिमिरेद्वारा लिखित ३ ओटा बालकथा सङ्ग्रहहरू म चोर होइन र अरू बालकथाहरू, वाहा, दुनोट पसलेकी छोरी र अरू बालकथाहरू र साँच्चैको हिरो हो कृष्णबहादुर र अरू बालकथाहरू गरी ६ कृतिहरू रहेका छन्। विमोचित कृतिहरूमा ६/६ ओटा बालकथाहरू समावेश रहेका छन्। यी कृतिहरूको आवरण कलाकारहरू अविन श्रेष्ठ, राजुबाबु शाक्य सारब, विक्की आर्या, सोनाम तामाङ र रश्मि खागी रहेका छन्। ब्रेललिपि सम्पादनमा नीरकुमार मगर, नेपाल नेत्रहीन संघले सहयोग गरेका छन्।

उक्त अवसरमा विमोचित कृतिहरूबारे समीक्षा गर्ने जिम्मेवारी म आफैँले पाएकी थिएँ। मजस्तै अर्का दृष्टिविहीन युवा प्रतिभा दिदी आश्मा अर्यालले सुन्दर कार्यक्रम संचालन गरिन्। कार्यक्रमको समीक्षा मन्तव्यमा ब्रेलमा नेपाली बालसाहित्य प्रकाशनको इतिहासमा एकै पटक ६ ओटा बालपुस्तक विमोचन भएको यो नै पहिलो पटक भएको र एउटै लेखकका ३ कृतिहरू एकै दिन ब्रेललिपिमा प्रकाशित भई विमोचन भएको पनि यो नेपाली बालसाहित्यमा पहिलो पटक हो भन्ने कुरा मैले उल्लेख गरेकी थिएँ।

समारोहमा फरक क्षमताका बालबालिका माझमा माउन्ट एभरेस्ट स्टोरी टेलिङ एक्सप्रेस कार्यक्रम अन्तर्गत विमोचित कृतिका लेखकत्रय जलेश्वरी श्रेष्ठ, गङ्गा कर्माचार्य पौडेल र कार्तिकेयले कथावाचन गरेका थिए भने कलाकार हेम पौडेल र साहित्यकार देवु लुइँटेलले बालकविता वाचन गरेका थिए।

स्वागत मन्तव्यको क्रममा साहित्यकार तथा नमुना मच्छिन्द्र क्याम्पसका क्याम्पस प्रमुख डा. दीनबन्धु शर्माले बालसाहित्य लेखन अत्यन्त संवेदनशील लेखन भएकाले बालसाहित्य लेखकहरूले सजग भई यस क्षेत्रमा कलम चलाउनु पर्ने धारणा राखेका थिए। उनले असल पुस्ता निर्माणका लागि बालसाहित्यले गहन जिम्मेवारी बहन गर्न सक्नुपर्छ। त्यसैले आजैबाट हामीले  बालसाहित्य लेख्न सजिलो छ भन्ने धारणा त्याग्नुपर्छ । यो अत्यन्त जटिल लेखन विधा हो। यसमा कुशल कलम चलाउन मिहिनेत र समर्पण चाहिन्छ भन्ने कुरा बोलेका थिए।

हेमगङ्गा कलासाहित्य प्रतिष्ठानबाट प्रकाशित को ठूलो ? ब्रेलबुक र बालसाहित्य प्रतिष्ठानबाट प्रकाशित ५ ब्रेलबुक गरी यी सबै ६ ब्रेललिपिमा प्रकाशित कृतिहरू निःशुल्क वितरणका लागि प्रकाशित गरिएको बालसाहित्य प्रतिष्ठान नेपाल र कार्तिकेय ट्रस्टले जानकारी गराएको छ। साथै प्रतिष्ठान र ट्रस्टबाट प्रकाशित ५ ओटा ब्रेललिपिका बालकथाकृतिहरू साहित्यकार कार्तिकेयले आफ्नी ममतामयी माता दुर्गादेवी घिमिरे (देवनायिकी रामानुजदासी) को स्मृतिमा सहयोग प्रदान गरी प्रकाशित गरिएका रहेछन्।

वास्तवमा हामी दृष्टिविहीनहरूका लागि ब्रेलमा बालसाहित्य पढ्न पाउनु निक्कै खुसीको कुरा हो। झन् यसअघि प्रकाशित भएका केही किताब महँगो मूल्य तिरेर किन्नुपर्ने बाध्यताले गर्दा पनि मैले पढ्न पाएकी थिइनँ। तर, यस पटक यी सबै कृतिहरू समीक्षाका लागि पढेर आउन मैले उपहार नै प्राप्त गरेँ। घरमा पुगेर रमाउँदै बालकथाहरू पढेँ। मलाई कार्तिकेयका बालकथाहरू पढ्दा खुब मजा आयो। वाहा, दुनोट पसलेकी छोरी, साँच्चैको हिरो हो कृष्णबहादुर, डस्टर उड्यो, म चोर होइन आदि जस्ता उनका सबै कथाहरू पढेर म निक्कै आनन्दित भएँ। त्यस्तै साहित्यकारहरू जलेश्वरी श्रेष्ठ र गंगा कर्माचार्य पौडेल र मनोरमा जफाका रमाइला बालकथाहरू पढेर पनि मैले ज्ञान, मनोरन्जन र प्रेरणा प्राप्त गरेँ। यी ३ जना आमा लेखकको सिर्जना वर्तमान पुस्ताका बालबालिकाहरूका लागि निकै प्रेरणादायी छन्।

विसं २०६९ देखि बालसाहित्य लेखक कार्तिकेयले हामीजस्ता बालप्रतिभाहरूको सिर्जनात्मक विकासका लागि कार्तिकेय ट्रस्ट र बालसाहित्य प्रतिष्ठान नेपालमार्फत् निक्कै सहयोग गर्दै आएका छन्। यस बीचमा हामी एक दर्जन दृष्टिविहीन बाल, किशोर र युवा प्रतिभाहरू कार्तिकेय ट्रस्ट र प्रतिष्ठानबाट नगद पुरस्कारसहित पुरस्कृत भइसकेका छौँ। म र गायिका दिदी सरिता अधिकारीले पहिलो पटक यो ट्रस्टबाट विसं २०६९ मा पुरस्कृत हुने अवसर पाएका थियौँ।


कार्तिकेय ट्रस्टलाई सम्झनासाथ म यस ट्रस्टका अध्यक्ष/संरक्षक वरिष्ठ शिक्षासेवी मोहन कार्कीलाई सम्झन पुग्दछु। विगत दुई दशकदेखि फरक क्षमताका लगायत विविध बालप्रतिभाहरूको सिर्जनात्मक विकासका लागि नगदसहित पुरस्कृत गर्ने काम गर्नु र उनीहरूका लागि ब्रेलबुक प्रकाशन गर्नु निश्चय पनि प्रंशसनीय कुरा हो। यसका लागि बालसाहित्य प्रतिष्ठान नेपालका संरक्षक प्राडा अच्युतमणि आचार्यको बालहितकारी कार्य र बालस्वास्थ्यको क्षेत्रको लामो साधनाले गर्दा उमेरले नब्बे टेक्न लागेका यी अग्रज हजुरबाप्रति पनि म सधैँ नतमस्तक हुने गर्दछु।

अन्त्यमा हामी दृष्टिविहीन बालबालिका र युवाहरूका पनि केही समस्या छन्, पीडा छन्, एक त हामी बढीभन्दा बढी पाठ्यपुस्तकबाहेकका ज्ञानगुनका सामग्रीहरू हाम्रो पहुँचको ब्रेललिपि र अडियो बुकको  रूपमा प्राप्त गर्न चाहन्छौँ । यसमा कमी भयो। यसलाई बढाइदिनुस् भनी आह्वान गर्दछु। त्यस्तै हामीलाई परीक्षामा राइटर राख्नका लागि निक्कै ठूलो समस्या र पीडा छ। त्यसका लागि घरका सक्ने पाका आफन्त वा जुनसुकै उमेर र तहका मान्छेले पनि हाम्रो राइटर बस्न मिल्ने नियम बनाएर हाम्रो यो समस्या र पीडालाई पनि कम गरिदिनुस् भनी आह्वान गर्न चाहन्छु। लेखक अधिकारीको ब्रेललिपिको लेखनलाई पढेर सुनाई देख्न सक्नेले पढ्ने लिपिमा बदल्न सहयोग गर्ने रमेश सर धन्यवादको पात्र हुनुहुन्छ।

प्रकाशित: २८ मंसिर २०७६ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App