५ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

देश र समाजमा योगदान पुर्‍याउन कृषि क्षेत्रमा

लतिका गोल्यान    
निर्देशक, गोल्यान समूह
गोल्यान समूहले सञ्चालन गरिरहेका बैंक, टेक्सटायल, स्पेनिङ मिल, स्वेटर कम्पनी, हाइड्रोपावर, निर्माण व्यवसाय, प्लास्टिक, तारपोलिनलगायत अधिकांश उद्योग, व्यवसाय सफल मानिन्छन् । अहिलेसम्म गोल्यान समूहले जे जति सफलता हात पारेको छ । त्यसमा देखिने गरी पुरुषको योगदान बढी छ । अब भने समय फेरिएको छ । गोल्यान समूहको प्रगतिलाई थप योगदान पुर्‍याउन बुहारी लतिका (शक्ति गोल्यानकी पत्नी) अग्रपङ्क्तिमा आएकी छन् ।

फाइदाका लागि अनेकथरिका व्यापार गर्न सकिन्छ । कमाउने धेरै बाटा छन् । तर कृषि भनेको फरक कर्म हो ।

जसका लागि गोल्यान परिवारले ३६ वर्षीया यी बुहारीलाई झापामा दुई सय बिघा जमिनमा सुरु गरेको कृषि फार्म र काठमाडौंको ताहाचलमा बन्दै गरेको फाइभ स्टार होटल हायात पिलेसको जिम्मा दिएकोे छ । भारतको चेन्नईमा जन्मेकी लतिकालाई पारिवारिक व्यवसायले सफलता देला वा नदेला भविष्यमा थाहा हुने भए पनि सुरुवाती लगनशीलता भने प्रशंसा गर्न लायक छ ।

साना–साना दुई सन्तानलाई घर र विद्यालयको जिम्मा लगाएर उनको दैनिकी ती प्रोजेक्टलाई कसरी सफल बनाउने भन्नेमै केन्द्रित छ । अन्तर्वार्ताको क्रममा ताहाचलमा बन्दै गरेको होटल हायात पिलेसमा पुग्दा उनी निर्माण कार्यमा जुटिरहेका तीन सय हाराहारी श्रमिकको खटनपटनमा व्यस्त थिइन् । शून्यबाट सुरु गरिएका दुई ठूला प्रोजेक्ट (झापामा दुई सय बिघा जमिनमा अर्गानिक खेती र एक सय ५३ कोठाको फाइभस्टार हायात पिलेस)  लाई उनले कसरी अघि बढाइरहेकी छन् त ? नागरिक परिवारका लागि रुद्र खड्कासँग लतिकाले सबै खुलस्त पारेकी छन् ।

 

आजकाल केमा व्यस्त हुनुहुन्छ ?
म यतिखेर होटलमा अलि बढी व्यस्त छु । सन् २०२० को अप्रिलदेखि खुल्ने क्रममा रहेको फाइभ स्टार होटल हायात पिलेसको काममा बढी व्यस्त भइरहेकी छु । होटलसँगै अपार्टमेन्ट पनि बनिरहेको  छ । त्यस्तै पछिल्लो एक वर्षयता कृषि फार्ममा पनि समय दिनु परिरहेको छ ।  झापामा अर्गानिक खेती र फलफूल उत्पादनमा लाग्नु परेको छ । माटो ब्रान्डको उत्पादन सुरु पनि भइसकेको छ । फाइदाको दृष्टिकोणले नेपालमा अझै पनि कृषिलाई  राम्रो मानिँदैन । कृषिबाट आर्थिक लाभ लिन नसक्ने भन्दै दैनिक एक हजार बढी युवा वैदेशिक रोजगारीमा गइरहेका छन् । तर, गोल्यान समूह भने एकैचोटी ठूलो स्केलमा कृषिमा लाग्यो ।

के तपाईंलाई कृषि क्षेत्रले अन्य उद्योग, व्यवसायजस्तो आम्दानी गर्न सक्छ भन्ने लाग्छ ?
फाइदाका लागि अनेकथरिका व्यापार गर्न सकिन्छ । कमाउने धेरै बाटा पनि छन् । त्यस्ता व्यापारबाट आर्थिक लाभ  हुनसक्छ ।  समाजमा जन्मिएपछि यतिले मात्र दायित्व पूरा हुँदैन । हरेक व्यक्तिले समाज र देशका लागि केही गर्नुपर्छ । देश र समाजका लागि केही गर्नुपर्छ भनेर हामी कृषि उत्पादनमा आएका हौं । यतिखेर हामीले मात्र कृषि फार्म सुरु गरेका छैनौं । किसानलाई अर्गानिक खेती र बजारको बारेमा पनि जानकारी दिइरहेका छौं ।

गाउँमा बस्ने मान्छेको आर्थिक वृद्धिका लागि कृषि कर्म महत्वपूर्ण छ । कृषिमा लाग्नुको उद्देश्य देशले भोगिरहेको व्यापार घाटा कम गर्नलाई सघाउने पनि हो । त्यस्तै कृषिबाट आम्दानी गर्न सकिन्छ भनेर किसानलाई देखाउने पनि हो । अहिले हामीले खाने अधिकांश उत्पादन विषादीयुक्त छन् । जसले गर्दा सर्वसाधारणको स्वास्थ्यमा समस्या पारिरहेको छ । हामीले उत्पादन गरेको अर्गानिक उत्पादनले यस्तो समस्या समाधान गरोस् भन्ने पनि चाहना छ । कृषिकर्म सर्वसाधारणको स्वास्थ्यसँग जोडिएकाले अन्य व्यापारबाट हुने आम्दानीलाई कृषिसँग तुलना गर्न सकिँदैन ।  आमसर्वसाधारणका लागि कृषि उत्पादन महान् कर्म हो ।

कृषि क्षेत्रमा लागेको एक वर्षको अवधिमा कस्तो अनुभव हुँदैछ ?
सजिलो त छैन । तैपनि सन्तुष्टी भइरहेको छ । हामीले जति जमिनमा कृषि उत्पादन सुरु गरेका छौं । त्यति स्केलमा सायदै अरुले गरेका छन् । काम गर्ने मान्छे नपाएर बाहिरबाट ल्याउनु परेको छ । हामीसँग अरु व्यवसाय भए पनि कृषिकर्म सबभन्दा राम्रो लागेको छ । यसले दिने सन्तुष्टी छुट्टै छ ।

कृषिकर्म सजिलो छैन पनि भन्नु भयो । के कारणले सजिलो छैन ?
पहिला त अर्गानिक खेतीका लागि किसानलाई सम्झाउन, बुझाउन कठिन छ । उत्पादन निकाल्न त्यस्तै कठिन छ ।  साथै अर्गानिक उत्पादन सबै उपभोक्तालाई पुर्‍याउन र बिचौलिया हटाउन पनि गाह्रो छ । आँप, लिचीजस्ता कृषि उत्पादनबाट लाभ लिन कम्तीमा तीन÷चार वर्ष कुर्नुपर्छ । अन्य व्यापारबाट चाहिँ छिटो आम्दानी लिन सकिन्छ ।

कृषि फार्म झापामा मात्र हो कि अन्यत्र पनि गर्दै हुनुहुन्छ ?
झापामा आफ्नै दुई सय बिघा जमिन खरिद गरेर सुरु गरेका हौं । त्योबाहेक देशका अन्य क्षेत्रमा पनि करार खेती (कन्ट्रयाक्ट फार्मिङ) थालेका छौं । ललितपुरको लेले, पालुङ, धनकुटा, जुम्ला, बर्दियामा सोही मोडलमा (कन्ट्रयाक्ट फार्मिङ) सुरु गरेका छौं । देशका अन्य भागमा पनि करार खेतीलाई विस्तार गर्ने योजना छ । हालसम्म दुई हजार किसान हामीसँग आबद्ध भइसकेका छन् ।

उत्पादन पनि सुरु भइसकेको हो ?
तरकारी उत्पादन सुरु भइसक्यो । अब फलफूल उत्पादन हुँदैछ । यो वर्ष साढे चार लाख केजी स्ट्रोबेरी उत्पादन गर्ने योजना छ । त्यस्तै सुन्तला, चिया पनि उत्पादन हुँदैछ । मह उत्पादन गर्ने योजना छ । केही वर्षमा आँप र लिची पनि उत्पादन हुँदैछ ।

एक वर्षअघिसम्म तपाईसँग कृषिको अनुभव थियो ?
थिएन । चेन्नेईमा बुवाले निर्माणको काम गर्नुहुन्थ्यो । त्यसैले कृषिको अनुभव थिएन । एक वर्षअघिसम्म कृषिको ज्ञान र अनुभव मेरा लागि शून्य बराबर नै थियो । तर, अहिले सिक्दै, बुझ्दै छु । कृषिमा लाग्दा निकै सन्तुष्टि मिलिरहेको छ । अन्य व्यापारको बारेमा त अनुभव थियो । मलाई अहिले के लाग्दैछ भने व्यापार कमाउनलाई हो भने कृषि व्यवसाय समाज र देशका लागि योगदान गर्न हो । कृषिलाई राम्रो गर्न सही सिस्टमको आवश्यकता पर्छ । राम्रो सिस्टमको विकास गर्न सकियो भने कृषिबाट पनि कमाउन सकिएला भन्ने लाग्दैछ ।

कृषिमा लाग्दा सरकारी निकायको सहयोग/व्यवहार कस्तो पाउनु भएको छ ?
सरकारी निकायको भूमिका सकारात्मक छ । सहयोग गरिरहेको छ । सरकारले हामीलाई कुनै सहायता चाहियो भने दिने पनि प्रतिबद्धता जनाएको छ । मेरो विचारमा कृषि खेतीलाई राम्रो गर्न उत्पादन निर्यात गर्दा अनुदान दिने व्यवस्था गर्ने हो भने धेरै राम्रो हुन्छ । अरु देशमा यस्तो सुविधा दिइएको हुन्छ ।

गोल्यान समूहले तपाईलाई कृषिबाहेक होटलको पनि जिम्मा दिएको छ । एकैसाथ कृषि र होटलको काम कसरी गरिरहनु भएको छ  ?
कृषिफार्ममा म जहिले जरुरत पर्छ । त्यतिबेला जान्छु । महिनामा एक÷दुई चोटी फार्मको भिजिट गर्ने गर्छु । कृषि फार्मका लागि मेरो छुट्टै टिम पनि भएकाले सधैं गइरहनु पर्दैन । अरुबेला काठमाडौंमा हुने हो । काठमाडौंमा हुँदा होटलमा समय दिन्छु ।

माटो ब्रान्डको नामबाट कृषि उत्पादन बजारमा ल्याउनु भएको छ । ब्रान्डको नाम माटो राख्नुको केही कारण छ ?
धेरैले नेपाल भनेको हिमाल मात्रै हो भन्ने बुझ्छन् । त्यसैले धेरैले हिमालको बारेमा मात्र कुरा गर्छन् । नेपालको माटोको बारेमा कुरा गरेको खासै सुनिँदैन । नेपालको माटो पनि महत्वपूर्ण छ भनेर धेरैले बुझेका छैनन् । हामीले नेपालको माटोको महत्वलाई बुझाउन कृिष उत्पादनको नाम माटो ब्रान्ड राखेका हौं । नेपालको अर्थतन्त्र वृद्धि गर्न माटोले निकै सघाउँछ । नेपालको दुई तिहाई माटो कृषिमा उपयोग गर्न सकिन्छ । अब नेपालको माटोबारे कुरा गर्न जरुरी छ ।

शून्यबाट नेतृत्व लिएका कृषि र होटललाई भविष्यमा कस्तो बनाउने योजना छ  ?
नेपालमा कृषि र पर्यटनको निकै सम्भावना छ । काठमाडौंमा होटल सञ्चालन भइसकेपछि टुरिज्मलाई देशभरि नै एक्सप्लोर गर्ने योजना छ । त्यस्तै एग्रि टुरिज्ममा पनि जान सोच्दैछौं ।

गोल्यान परिवारमा अन्य महिलाले व्यवसायको नेतृत्व गरेको देखिँदैन । तपार्इंले कसरी यस्तो अवसर पाउनु भयो ?
व्यवसाय गर्ने मेरो सानैदेखिको चाहना हो । केही गर्ने मेरो लक्ष्य थियो । विवाह गर्ने बेलामा पनि मैले आफूले केही न केही काम गर्नुपर्छ भनेकी थिएँ  । परिवारले मेरो चाहनामा सपोर्ट गरेको हो ।

अलिकति फरक प्रसङ्गमा कुरा गरौं । यतिखेर नेपालको अवस्था कस्तो पाउनु भएको छ ?
मलाई त नेपालमा अब केही गर्ने बेला आएजस्तो लाग्दैछ । नेपालका समस्या समाधान भएर जाँदैछन् जस्तो लाग्दैछ । अहिले स्थायी सरकार छ । धेरै अवसर पनि देखिएका छन् । आर्थिक प्रगति गर्ने बेला आएको छ । उद्योग क्षेत्रबाट पनि धेरै प्रगति गर्न सक्छौं ।

कतिपय उद्योगी लगानी गर्ने वातावरण छैन भनेर गुनासो गरिरहेका हुन्छन् नि ।
मलाई त त्यस्तो लाग्दैन । हरेक व्यक्तिले फरक–फरक आँखाले हेर्न सक्छन् । मलाई भने अहिले राम्रो वातावरण सिर्जना भएको लाग्छ । लगानी गर्ने मौका हो । पर्यटन वर्ष पनि आउँदैछ ।

तपाई भारतको चेन्नेईमा जन्मेकी । नेपालमा आएपछि जन्मस्थलको के कुरा मिस गर्नुहुन्छ ?
म नेपालमा बस्न थालेको १५ वर्ष भइसक्यो । सुरुका केही वर्ष भारतको धेरै याद आए पनि अब त्यस्तो छैन । भारत नेपालभन्दा थोरै विकसित छ । मलाई भने नेपालमा सहज लाग्न थालिसकेको छ । नेपाली मान्छे राम्रा लाग्छन् ।

नेपाली केटासँग विवाह गरेका कारण सुरुमा परिवारसँग केही खटपट परेको थियो ?
सुरुसुरुमा परिवारले केही अप्ठेरो मानेको थियो । सायद आमाबुवालाई छोरी टाढा भई भन्ने पनि लाग्यो होला । अहिले परिवार खुसी छ । परिवार नेपाल पनि आउन थालेको छ ।

नेपाली केटासँग बिहे गरेकोमा सन्तुष्ट हुनुहुन्छ ?
छु । परिवार पनि सहयोगी छ । बिहे गर्दा म २१ वर्षकी  मात्र थिएँ । विवाहपछि व्यापारलाई अटो पाइलटमा कसरी अघि बढाउने भन्नेबारे भारतमा गएर आठ महिनाको कोर्ष गरेँ । त्यस्तै एमबीए पनि विवाहपछि नै गरेकी हुँ ।

दुई ठूला प्रोजेक्टलाई हाँकिरहनु भएको छ । यस्तो बेला घरपरिवारसँगको समय व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
समय व्यवस्थापन गर्न अलि कठिन नै छ । सात वर्षको छोरा र पाँच वर्षकी छोरीलाई समय दिन अति आवश्यक छ । बिहान र बेलुका छोराछोरीलाई समय दिन्छु । बिहान उठ्नेबित्तिकै छोराछोरीसँग समय बिताउँछु । उनीहरू स्कुल गएपछि म पनि घरबाट निस्कन्छु । बेलुका साढे ६ बजेसम्म घर फर्कन्छु ।  संयुक्त परिवारमा बस्दै आएकी छु । सासूआमाले पनि बच्चालाई सहयोग गर्नुहुन्छ ।

घरमा खाना आफैँ पकाउने हो ?
होइन । खाना अरुले नै पकाउँछन् । विवाहपछि भान्छामा जान खोजेकी थिएँ । पछि परिवारले नै जान दिएनन् । यसो कहिलेकाहीँ समय निस्क्यो भने मात्र खाना पकाउँछु । खाना पकाउन मन लागे पनि समय हुँदैन ।

भविष्यमा राजनीतिमा आउने कुनै सोच छ ?
तत्काल त्यस्तो सोच छैन । व्यापार, व्यवसाय नै गर्ने हो । व्यवसायबाट नै राम्रो गर्न सक्छु भन्ने लाग्छ । यही क्षेत्रबाटै समाज सेवा गर्ने हो ।

 

 

 

प्रकाशित: २२ मंसिर २०७६ ०६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App