१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

तस्बिरमा अन्नपूर्ण

जिपी भण्डारी

गएको दशैँ बिदामा अन्नपूर्ण बेसक्याम्पमा ट्रेकिङ गयौँ। डोटीमा शिक्षक पेसा गर्ने साथी दिल जोराले भ्रमणको योजना बनाएको थियो। काठमाडौंदेखि पोखरासम्म बस वा प्लेन जेमा गए पनि पोखरादेखि घान्द्रुकसम्म गाडीमा जान सकिन्छ। त्यसपछि पैदलयात्रा गर्नुपर्छ, यति अग्रिम जानकारी लिएका हामी लुगाफाटो लगायतको तयारीसहित १८ असोजको बिहान पोखराका लागि बस चढ्यौँ। एक रात पोखरामा बसेर अर्को दिन बिहानै बसमा चार घन्टाको यात्रा गरेर घान्द्रुक पुग्यौँ। घान्द्रुकबाट भने पैदलयात्रा गर्नुपथ्र्यो। घान्दु्रकमा केही तस्बिर कैद गरी हामी कोमरोङका लागि हिँड्यौँ। एक घन्टा ४५ मिनेट हिँडेर कामरोङ पुग्दा थकाइको महसुस हुनै पाएन। हरिया डाँडाहरूसँगै नजिकै देखिने माछापुच्छ्रेको मनोरम दृश्यले हाम्रो सारा थकाइ बिर्साएको थियो। घान्द्रुकबाट आधा घन्टा जति हिँडेपछि एउटा गुरुङको घरमा पुग्यौँ र खाना खायौँ। कोमरोङ नपुग्दासम्म बीचबाटोमा यो एउटा मात्रै घर रहेछ।

समुद्री सतहदेखि करिब २२०० मिटर उचाइमा रहेको कोमरोङ डाँडा पुग्दा मौसम खुलेको थियो। नजिकै हात तन्काउँदा पनि छोइन्छ जस्ता देखिने हिमशृंखलाले जो कोहीलाई लोभाउँथ्यो। कोमरोङ डाँडामा थुप्रै आन्तरिक तथा बाह्य पर्यटक तस्बिर लिँदै रमाइरहेका थिए।

हामी कोमरोङमा बास बस्यौँ। जुनेली रात भएकाले रातका दृश्य क्यामेरामा कैद ग-यौँ। मौसम मिलेर होला, रातमा पनि आकाश खुलेको थियो।

भोलिपल्ट बिहानै किमरोङका लागि हिँड्यौँ। जंगलको बाटो हुँदै किमरोङ पुग्न ४५ मिनेट लाग्दोरहेछ। गुरुङहरूको ५/६ वटा घर रहेको किमरोङ पुग्दा पर्यटकहरू फूलको तस्बिर लिइरहेका थिए। यो खोँचमा ढकमक तिहारका फूलहरू फुलिरहेका थिए।

किमरोङ पुग्नुअघि पुल तर्नुपर्ने रहेछ। गएको भदौमा बाढीले पुल भत्काएपछि स्थानीयले काठको भ-याङले पुललाई जोडेका रहेछन्। खोलामा पानीको बहाव बढी नभए पनि पुलबिना तर्न सम्भव नभएकाले हामीले बडो कठिनले पार गरेका थियौँ।

किमरोङमा नास्ता गरेर हामी उकालो लाग्यौँ। करिब एक घन्टा उकालो लागेपछि हामीले जर्मनका पिटर मिलरलाई भेट्यौँ, यसअघि एक्लै धेरैपटक नेपाल आएका उनी यसपालि सात जनाको परिवारसहित आएका थिए। उनी अंग्रेजीमा भन्दै थिए, ‘उकालो चढ्ने काम सजिलो होइन, तर विशाल हिमालका छातीमा सूर्यको किरणले स्पर्श गर्दा सबै थकाइ मेटिएको महसुस भएको छ।’

केहीबेरको भलाकुसारीपछि हामी उकालो लाग्यौँ। करिब दुई घन्टा उकालो हिँडेर छोमरोङ पास पुग्यौँ। यहाँ एउटा होटल रहेछ। यहाँसम्म आइपुग्न घान्द्रुक मुनिबाट अर्को बाटो पनि रहेछ। हामीलाई जानकारी नभएकाले घान्द्रुकबाट यात्रा थालेका थियौँ। छोमरोङ पासबाट करिब डेढ घन्टा ठाडो उकालो हिँडेर छोमरोङ गाउँ पुग्यौँ। यहाँ बस्नका लागि राम्रो सुविधा छ।

त्यसपछि एक घन्टा हिँडेर हामी तल्लो सिनवा र यहाँदेखि ४५ मिनेटमा माथिल्लो सिनवा पुग्यौँ। चारैतिरबाट जंगलले घेरिएकाले यो ठाउँमा चिसो हावा चलिरहेको थियो। यहाँ सामान्य नास्ता गरेर हामी बाम्बोतर्फ हिँड्यौँ। लालीगुराँसको घारी हुँदै डेढ घन्टा हिँडेर बाम्बो पुग्यौँ। यहाँ पनि बस्न–खानको राम्रो व्यवस्था छ।

६–७ वटा होटल रहेको यस ठाउँमा निगालोको जंगल रहेछ। त्यहाँ बास बसेर भोलिपल्ट बिहानै हामी एक घन्टा हिँडेर दोभान पुग्यौँ। यहाँ माछापुच्छ्रेको शिरबाट उडेको बादलका डल्लाले हामीलाई मोहित बनायो। यहाँ एक कचौरा लसुनको सुपसँग रोटी र अमलेट खायौँ। त्यहाँबाट डेढ घन्टा हिँडेर हिमालय होटल पुग्यौँ। करिब २६०० मिटर उचाइरमा रहेको दोभानबाट २९२० मिटर उचाइमा रहेको हिमालय होटलसम्मको यात्रा निकै कठिन रहेछ।

बिहानको करिब ११ बजे हामी हिमालय होटलदेखि दुई घन्टा हिँडेर देउराली हुँदै हिन्कु गुफा पुग्यौँ। यो ठाउँमा ५/६ वटा होटल छन्।

भोलिपल्ट बिहान ११ बजेतिर खाना खाएर अन्नपूर्ण आधार शिविर (एबिसी)तिर लाग्यौँ। बाक्लो कुहिरो र घाँसघाँसै भएको बाटो हुँदै हामी झन्डै डेढ घन्टामा एबिसी पुग्यौँ।

एबिसीमा एक रात बसेर हिमालय होटल फक्र्यौं। त्यहाँ एक रात बसेर झिनु डाँडासम्म हिँड्दै आयौँ। त्यहाँबाट पोखराका लागि गाडी चढ्यौँ। यसरी हाम्रो यात्रा पूरा भयो।

प्रकाशित: ३० कार्तिक २०७६ ०२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App