१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
अन्य

मुनामदन अब कमिक्समा

सन्तोष शर्मा, काठमाडौं, कात्तिक १९- महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १ औं जन्मजयन्तीका अवसरमा साझा प्रकाशनले उनको कृति 'मुनामदन' लाई सचित्र प्रकाशन गर्ने निर्णय गरेको छ। प्रकाशन उपसमिति बैठकले बालबालिकालाई लक्ष्य गर्दै सचित्र 'मुनामदन' छाप्ने प्रस्ताव पारित गरेको हो। १९९२ सालमा पहिलोपल्ट प्रकाशित 'मुनामदन' खण्डकाव्य नेपालमै सबभन्दा बढी बिकेको कृति हो।

  साझाले हरेक वर्षजसो यसको पुनर्प्रकाशन गर्दै आएको छ। यो एक संस्करणमा एक लाखप्रति छापिने गरेको व्यापार प्रबर्द्धन विभाग प्रमुख रुद्रप्रसाद न्यौपानेले जानकारी दिए। अहिलेसम्म यसको बीसौं संस्करण आइसकेको छ।

'सुरुसुरुमा कम छापिए पनि पछिल्लो चरणमा नयाँ संस्करण निकाल्दा एक लाख घटी छापेका छैनौं,' न्यौपानेले नागरिकसँग भने, 'कम्तीमा ३ लाखप्रति बिकिसकेको छ।'
मुना र मदनको वियोगान्त प्रेमकथामा आधारित यो खण्डकाव्य नेपाली साहित्यमा सबभन्दा बढी रुचाइएको कृति हो। यसलाई देवकोटाले समेत प्रिय कृति बताएका थिए। उनले 'म मरेपछि मुनामदनलाई छाडेर मेरा सबै कृति जलाइदिए हुन्छ' भनेका थिए भनिन्छ।

'पहिलो प्रकाशन भएको ७५ वर्ष बितिसक्दा पनि यो कृति प्रत्येक पुस्ताले उत्तिकै रुचाउँदै आएका छन्,' साझाकी प्रकाशन प्रमुख तारा चालिसेले भनिन्, 'स्कुलदेखि क्याम्पससम्म पढाइ हुन्छ।'

ठुल्ठुला साहित्यकारदेखि राजनीतिज्ञ र विद्यार्थीसम्मलाई 'सबभन्दा मनपरेको कृति कुन हो' भनेर सोध्दा 'मुनामदन' छुट्दैन। 'मुनामदन' चलचित्र पनि बनिसकेको छ।

यही प्रभावलाई नयाँ पुस्तामा पनि निरन्तरता दिन 'देवकोटाको महान कृतिलाई चित्रमार्फत अभिव्यक्त गर्ने जमर्को गरेको' न्यौपानेले बताए। 'कमिक्स पढ्ने बानी परेका साना नानीसम्म यो कृति पुर्‍याउन सचित्र कथा प्रकाशन गर्न लागेका हौं,' उनले भने।

‰याउरे भाकामा लेखिएको यो कृतिले तत्कालीन अर्थव्यवस्था र सामाजिक स्थिति वर्णन गर्छ। वैदेशिक रोजगारका लागि खाडी र मलेसियातिर जाने जुन प्रचलन छ, त्यतिखेर रोजगारका सिलसिलामा तिब्बत जाने गरिन्थ्यो जसलाई यो कृतिमा भोट भनिएको छ।

देवकोटाले यो कृतिमार्फत जातीय विभेदविरुद्ध आवाज उठाएका छन्-
क्षेत्रीको छोरा यो पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन
'मुनामदन'को सबभन्दा चर्चित पंक्ति हो यो।

'मुनामदन'सहित साझाले देवकोटाका सबै खण्डकाव्य समेटी सिंगो पुस्तक निकाल्ने तयारी पनि गरिरहेको न्यौपानेले जानकारी दिए। देवकोटाका धेरै छापिने कृतिमा 'लक्ष्मी कथासंग्रह', 'लक्ष्मी गीतिसंग्रह', 'लक्ष्मी निबन्धसंग्रह', 'शाकुन्तल', 'सुलोचना', 'चम्पा', 'प्रमिथस' लगायत पर्छन्।

रोयल्टी विवाद कायमै
देशभर विभिन्न स्तरमा देवकोटाको शतवार्षिकी र जन्मजयन्ती मनाइए पनि प्रकाशक र देवकोटाका उत्तराधिकारीबीच रोयल्टी विवाद सेलाएको छैन।

देवकोटाका छोरा पद्मप्रसादले प्रकाशकबाट स्रष्टा पक्षलाई अन्याय भइरहेको गुनासो गरे। प्रकाशनको पचास वर्षपछि कृतिको सर्वाधिकार सार्वजनिक हुने नीतिमा पुनर्विचार हुनुपर्ने उनको जिकिर छ। 'पचास वर्षलाई अरू लम्याइदेऊ भनेर हामीले २-४ वर्षदेखि भन्दै आएका छौं,' उनले भने, 'विदेशतिर हेर्ने हो भने असी वर्षलाई मापदण्ड मानिएको छ।'

साझाले प्रतिलिपि अधिकार ऐनले तोकेअनुसार कृति प्रकाशनको ५० वर्षपछि सर्वाधिकार सार्वजनिक हुने पद्दति अपनाएको जनाएको छ। 'प्रकाशन भएको मितिले पचास वर्ष पुगेपछि जुनसुकै किताब जोसुकैले छाप्न सक्छ,' सञ्चालक समिति सदस्य तथा लेखक नयनराज पाण्डेले भने। महाकविको सन्दर्भमा रोयल्टीको हिस्सा आधा परिवारलाई र आधा साहित्यकार कल्याण कोषमा जम्मा गरिँदै आएको साझाका न्यौपानेले जानकारी दिए।

'देवकोटा परिवारलाई पर्याप्त सम्मान र सहयोग गर्दै आएका छौं,' उनले भने, 'पचास वर्ष नाघिसक्दा पनि रोयल्टीको आधा हिस्सा परिवारलाई नै बुझाउँछौं।'

देवकोटाका अधिकांश कृति साझाले नै छापेको छ। साझाबाट उनका ४३ कृति छापिएका छन्। १९९२ सालमा छापिएको 'मुनामदन' खण्डकाव्यबाट सुरु शृंखला २०५५ सालमा 'जन्मोत्सव मुटुको थोपा' कवितासंग्रहसम्म आएको छ। साझाको सूचीअनुसार देवकोटाका १७ कृतिले पहिलो प्रकाशनको ५० वर्ष नाघिसकेका छन्। प्रतिलिपि ऐनअनुसार अब यी कृतिको अधिकार सार्वजनिक भएकाले जसले पनि छाप्न सक्छ।

प्रकाशित: १८ कार्तिक २०६७ २३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App