धनगढी- सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट धनगढी झर्ने जो कोही होस् या कैलाली, कञ्चनपुरबाट धनगढी पुग्नेहरु नै किन नहोस् चौराहामा टक्क अडिन्छन् । र, सोझिन्छन् गुरुङ सेकुवा कर्नरमा । धनगढीमा पुग्ने जो कोही सेकुवा पारखीले गुरुङ सेकुवा कर्नरमा सेकुवाको स्वाद नलिएसम्म धनगढी आएको महसुसै गर्दैनन् । हुन त धनगढीमा तमामौ सेकुवा सेन्टर छन्, तर यहाँको जस्तो स्वादिष्ट सेकुवा अन्यको नभएको भन्दै सेकुवा पारखीको रोजाइ नै बनेको छ गुरुङ सेकुवा कर्नर ।
लमजुङ जिल्लामा जन्मेका कुमार गुरुङ युवा अवस्थामा हुँदा (२०४८ साल) दिदी भेना भेट्न भनेर धनगढी आए । धनगढी दिदी भेनाको भेटघाटकै बेला उनले यतै बसेर व्यवसाय गर्ने सोच बनाए । २०४८ सालमै उनले धनगढी चौराहमा सानो किराना पसल चलाए । करिब ६ वर्ष किराना पसल चलाएपछि उनकै छिमेकमा रहेको पाल्पाली सेकुवा पसल बिक्री हुन थाल्यो । छिमेकी पाल्पाली सेकुवा पसलका सञ्चालकले गुरुङलाई किराना हटाएर सेकुवा पसल सञ्चालन गर्न सुझाए र आफ्नै पसल बिक्री गरे । पाल्पाली सेकुवा पसल किनेपछि कुमारले नाम बदलेर गुरुङ सेकुवा कर्नर सञ्चालन गरे । केही समय भाडाकै घरमा पसल चलाएका उनले १४ वर्ष अघि घर किनेर आफ्नै घरबाट सेकुवा कर्नर चलाउँदै आएका छन् । उनले अहिले २३ वर्ष भयो धनगढीमा सेकुवा बेच्न थालेको ।
दैनिक एउटा खसी काट्ने र त्यही खसीको सेकुवा बनाउँदै बेच्छन् उनी । ‘एक दिनमा एउटा सिंगै खसी सेकुवा बनाएरै सकिन्छ,’ उनले भने, ‘माग त धेरै छ, तर धान्न नसकेका कारण एउटै खसी मात्रै बेच्छु ।’ आफ्नोमा सेकुवा खान धनगढी बाहेकबाट पनि आउने गरेको उनी सुनाउँछन् । ‘पहाडबाट झरेका ग्राहक त एक पटक यहाँ नछिरेर जाँदैनन्,’ उनले भने,‘गुरुङको ब्रान्ड भनेकै स्वादिष्ट सेकुवा हो ।’ सेकुवाका पारखीहरुले प्याकिङ गरेर समेत घर लैजाने गरेको उनी बताउँछन् । ‘यहाँ आउनेहरुले यही बसेर खान्छन् र पनि घर लैजान भन्दै पार्सल गरिमाग्छन्,’ उनले भने । उनी होटेलमा सेकुवाबाहेक अन्य परिकार बेच्दैनन् । ‘अन्य परिकार बेच्न थालेमा सेकुवाका पारखीहरु हिच्किचाउँछन्,’ उनले भने,‘त्यही भएर पनि एउटै परिकार हो हामीले बनाउने ।’
बिहानैदेखि तयारी
बिहान सबेरै उठ्न कुमार । नित्यकर्मपछि पत्नी शान्तिसँगै खसी काट्न जुट्छन् । खसी काटिसकेपछि दुवै जनाले सेकुवाका लागि चाहिने खालको मासु छुट्याउँछन् । स–साना टुक्रा पार्छन् । यो कार्य उनीहरु बिहान १० बजेसम्म गरिसक्छन् । त्यसपछि पत्नी शान्तिले सेकुवाका लागि चाहिने मरमसाला तयार पार्छिन् । मसाला तयार पारिसकेपछि मासु तेल र मसाला मोल्छन् र फ्रिजमा राखिन्छन् । यो कार्य उनी बिहान ११ बजेसम्म गरिसक्छन् । त्यसपछि खाना खाइसकेपछि केही समय आराम गर्छन् । दिउँसो २ बजेदेखि सेकुवाका लागि तयार गरिएको मासु फलामको सिन्कामा उन्न बस्छन् कुमार । र काउन्टर सम्हाल्छिन् उनकी पत्नी शान्ति । सेकुवा पोल्ने, ग्राहकलाई लगाउने देखि सरसफाइको काममा उनले ६ जना सहयोगी पनि राखेका छन् । दिउँसोदेखि सेकुवा बेच्न सुरु गर्ने उनी बेलुकी करिब ६ नबज्दै सेकुवा सकिन्छ । ‘हामीले कहिल्यै बेलुकी अबेरसम्म सेकुवा बेच्दैनौ,’ उनले भने, ‘बेलुकी चार बजेदेखि दुई/तीन घण्टा भने धान्नै नसकिने भीड हुन्छ, बेलुकी ६ देखि सात बजेसम्म त सेकुवा सकिइसक्छ ।’
स्वादको राज
गुरुङ सेकुवा कर्नरमा प्रयोग गरिने सबै मसाला लोकल नै हुन्छ । अदुवा, लसुन, जिरा, धनियाँ, खुर्सानी, हल्दी एकैमा राखेर मिक्चरमा पिसिन्छ । त्यही लोकल मसाला नै उनी वर्षाैदेखि प्रयोग गर्दै आएका छन् । ‘हामीले बाहिरको तथा स्वास्थ्यलाई खराब गर्ने कुनै मसला प्रयोग गर्दैनौं,’ शान्ति भन्छिन्, ‘त्यही गाउँघरमा पाइने मसला नै आफैँले पिसेर प्रयोग गर्दै आएका छौँ ।’ लोकल मसला नै स्वादको राज भएको उनी बताउँछन् । ‘लोकल मसलालाई राम्रोसँग मोलेर राख्दा नै स्वादिष्ट हुन्छ,’ शान्तिले भनिन् ।
कोइलाको जोहो
सेकुवाका लागि चाहिने भनेको मुख्य कुरा काठ दाउरा बालेर निस्केका कोइला हुन् । धनगढी बजारमा कोइला पाउनै मुस्किल छ । कोइलाका लागि भने उनले दुई/तीन जनालाई जिम्मा दिएका छन् । गाउँबाट कोइला संकलन गर्ने तथा तयार गरेर धनगढीसम्म ल्याउने गर्छन् । एउटा सानो कट्टामा राखिएको कोइला उनी आठ सयदेखि एक हजार रुपैयाँसम्ममा खरिद गर्छन् । ‘सेकुवाका लागि चाहिने भनेकै मुख्य कुरा कोइला हो,’ उनले भने, ‘कोइला पाउनै मुस्किल हुन्छ, पाइए पनि महँगो पर्न जान्छ ।’
भारतबाट खसी
नेपाली बजारमा खसी समयमै नपाइने र खोज्न झन्झट हुने गरेको छ । पछिल्लो समयमा भने भारतबाट खसी आयात हुने गरेको छ । खसी बेच्ने व्यापारीले भारतबाट नियमित खसी ल्याएर आउँछन् । तिनै व्यापारीबाट कुमारले पनि नियमित खसी किन्छन् ।
प्रकाशित: १६ कार्तिक २०७६ ०६:०५ शनिबार