१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

तिहारका शास्त्रीय तर्क

हेमराज भट्टराई ‘शास्त्री’

यमपञ्चक
वैदिक सभ्यताको विकासक्रमसँगै हिन्दु सनातन धर्म–संस्कृतिको विकास भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख छ। योसँगै सभ्यता सुहाउँदा र शास्त्रीय मान्यतामा आधारित विभिन्न चाडपर्वको पनि विकास हुँदै गयो। ती चाडपर्व चान्द्रमास र सौर्यमासमा आधारित छन्। जसमध्ये चान्द्रमासका आधारमा मनाइने यमपञ्चक (तिहार) लाई पनि विशेष रूपमा लिइन्छ। तिहार हिन्दू धर्मावलम्बीको दसैंपछिको दोस्रो महान् पर्व हो।

चान्द्रमास अनुसार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भनिन्छ। पौराणिक इतिहासका आधारमा सूर्यपुत्र यमराज (यमलोक वा मृत्युलोकका मालिक) ले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीकै घरमा उत्सव मनाएको आधारमा यी पाँच दिनलाई यमपञ्चक भनिएको हो। यो अवधिमा यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक मान्यता छ। यो पर्वभरि इन्द्रादि दशदिक्पालले पनि राजा बलिका लागि आफ्नो राज्य छाड्ने कथा पुराणमा पाइन्छ।

आफूलाई गरेको सत्कारबाट प्रशन्न भई यमराजले बहिनी यमुनालाई ‘वर माग’ भन्दा उनले ‘हरेक वर्ष यी पाँच दिन हजुर मेरो घरमा रहनुपर्ने, मेरै हातले बनाएका विभिन्न प्रकारका मिष्ठान्न ग्रहण गर्नुपर्ने साथै दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता सधैं अटल रहनुपर्ने’ लगायत मागिन्। साथै, कुम्भीपाक नरकमा सजाय भोगिरहेका पापीले छुट पाउनुपर्ने र यमराजका दूत वा सहकर्मीले पनि छुट्टी पाउनुपर्ने भनिन्।

दाजु यमराजले तथास्तु भनी वरदान दिएको र बहिनीको घरबाट फर्किएको पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन थालिएको पं. बलराम सिग्देलको भनाइ छ।

यमुनाले हरेक वर्ष यी पाँच दिन दाजु आफ्नो घरमा रहनुपर्ने, आफ्नै हातले बनाएको भोजन ग्रहण गर्नुपर्ने लगायत वर मागिन्। दाजु यमराजले पनि तथास्तु भनी वरदान दिई बहिनीको घरबाट फर्किएको पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन थालिएको हो।

यी पाँच दिन क्रमशः काग, कुकुर, गाई, गोरु र दाजुभाइको पूजा गरिन्छ। यमपञ्चकलाई तिहार वा दीपावली पनि भनिन्छ। तिहार ‘त्रिरात्र’बाट अपभ्रंश भएको कतिपय विद्वान्को भनाइ छ। स्कन्द पुराण अनुसार, नर्मदा किनारमा ‘भृगुकच्छप’ नामक यज्ञ गरिरहेका बलिराजाले सर्वस्व दान पनि गरिरहेका थिए। स्वर्ग र मत्र्यलोक जितिसकेका उनले यति ठूलो यज्ञ गरिरहँदा देवताहरु डराए। उनीहरुको अनुरोधमा भगवान् विष्णुले ‘वामन’ अवतार धारण गरी बलिसँग तीन पाइला जमिन मागे। विष्णुले आफ्नो स्वरूप यति विशाल बनाए कि उनको पहिलो पाइलाले स्वर्ग ढाक्यो, दोस्रोले मत्र्य। तेस्रो पाइला जमिन माग्दा बलिकी पत्नी विन्ध्यावलीले आफ्नो र पति बलिको शिर बाँकी रहेको बताइन्। बलिले भने आफ्नै शिर थापिदिएपछि उनको सर्वस्व हरण भयो, उनी सुतललोक जान बाध्य भए। विष्णुले उनलाई वर माग्न भने। उनले मागे, ‘वर्षमा तीन दिन कात्तिक कृष्ण चतुर्दशीदेखि कात्तिक शुक्ल प्रतिपदासम्म म यहीँ आएर राज्य गर्न र बाँकी दिन सुतललोकमा बाहिर–भित्र गर्दा हजुरको दर्शन गर्न पाऊँ।’ तसर्थ यी तीन दिन बलिले राज्य गर्ने भएकाले त्रिरात्र वा तिहार भनिएको हो।

काग तिहार
यम पञ्चकको पहिलो दिन कात्तिक कृष्ण त्रयोदशीमा कागलाई पक्षीको प्रतिनिधि तथा यमराजको सन्देश सुनाउने दूतका रूपमा पूजा गरिन्छ। काग यमराजको अत्यन्त प्रिय भक्त हो। सो दिन कागलाई बोलाएर मीठा–मीठा पक्वान्न खान दिने चलन छ। कागको पूजा गरी सो दिन बेलुकी ढोकाबाहिर यमलाई दीपदान गर्नाले अकाल मृत्यु नहुने स्कन्द पुराणमा उल्लेख छ–
मृत्युना पाशदण्डाभ्यां कालेन च मया सह।
त्रयोदश्यां दीपदानात् सूर्यजः प्रीयतामिति।।
अर्थात्, कात्तिक कृष्ण त्रयोदशीका दिन दीपदान गर्नाले मृत्यु, पाश र लक्ष्मीका साथै सूर्यपुत्र यम प्रशन्न हुन्छन्।
यस दिन काठमाडौंको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा कागरूपी महादेवको पूजा गर्न भक्तजनको भीड लाग्ने गर्छ। समुद्र मन्थन गर्दा आयुर्वेदका प्रवर्तक धन्वन्तरीको पनि यसै दिन जन्म भएकाले ‘धन्वन्तरी जयन्ती’ मनाउने चलन छ। स्वस्थ रहन आयुर्वेदले ठूलो सहयोग पु-याएकाले धन्वन्तरीको पूजा गरिएको हो।

कुकुर तिहार
यमपञ्चकको दोस्रो दिन कात्तिक कृष्ण चतुर्दशीका दिन पशुको प्रतिनिधि तथा यमराजको दूतका रूपमा कुकुरलाई पूजा गरिन्छ। कुकुर यमराजको अर्को प्रियभक्त र भैरवको वाहन मानिन्छ। यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिन कुकुरको पूजा गरी टीकामाला लगाइदिएर मीठामीठा पक्वान्न खुवाउने चलन छ। नरक चतुर्दशीका दिन बिहान सूर्य नउदाउँदै तेल लगाएर नुहाउने र चारसरे दीप बालेर नदीमा बगाउने शास्त्रीय विधान छ।

गाई र लक्ष्मीको पूजा
यमपञ्चकको तेस्रो दिन अर्थात् कात्तिक कृष्ण औंशीमा लक्ष्मीको प्रतीक र गौमाताको रूपमा गाईको पूजा गरिन्छ। हिन्दू धर्मशास्त्रमा गाईलाई लक्ष्मी र गौमाताको रूप मानिएको छ। लक्ष्मी शब्द ‘ऋग्वेद’को पुरुषसूक्तमा भेटिन्छ– ‘श्रीश्चते लक्ष्मीश्च ऊषाण’। अर्थात्, हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षणयुक्त लक्ष्मी दुवै हजुरका पत्नी हुन्।

त्यस्तै, तन्त्रागमका अनुसार सर्वोत्तम अवस्थामा विष्णु र उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन् भनिएको छ। त्यसैले लक्ष्मीलाई शुभ लक्षणयुक्त धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ। यस दिन लक्ष्मीपूजापछि दिदीबहिनीले भैलो खेल्ने तथा नाचगान गर्ने परम्परा छ। समुद्र मन्थन गर्दा यसै दिन लक्ष्मी प्रकट भएको शास्त्रमा उल्लेख भएका आधारमा लक्ष्मीपूजा मनाउन थालिएको हो। हिन्दु धर्मशास्त्रमा उल्लिखित चार रात्रिमध्ये सुखरात्रिका रूपमा मनाइने यस दिन साँझ उनै महालक्ष्मीको पूजासँगै बत्ती बालेर ‘दीपावली उत्सव’ गरिने पाणिनी संस्कृत विद्यालयका पं. राजेन्द्र आचार्य बताउँछन्। जसको घरमा दीपावली गरिन्छ, उसको घरमा मात्र लक्ष्मीको बास हुने धार्मिक मान्यता छ।

चतुर्दशीको दीपमालिका, लक्ष्मीपूजा र गोवद्र्धन पूजाको दिनलाई ‘बलिराज्य वा त्रिरात्र’ भनिन्छ। यी तीन दिन साँझमा घर तथा देवालयमा दीपावली गर्नुपर्ने शास्त्रमा उल्लेख छ।

गोवद्र्धन पूजा
यमपञ्चकको चौथो दिन गोवद्र्धन (गोबरको पर्वत) पूजा गरिन्छ। गोवद्र्धन पूजालाई गोरुपूजा पनि भनिन्छ। पौराणिक ग्रन्थमा इन्द्रको पूजा गर्ने चलनविरुद्ध श्रीकृष्णले गोकुलवासीलाई वर्षाका देवता इन्द्रको सट्टा गोबरको थुप्रो अथवा गोवद्र्धन पर्वतको पूजा गराउन लगाएको आधारमा यस दिन गोवद्र्धन तथा गोरु पूजा गर्न थालिएको उल्लेख छ। सो कथानुसार, गोकुलवासीले गोवद्र्धन पर्वतकै पूजा गरेपछि रिसाएका इन्द्रले भीषण पानी पारी गोकुलमा क्षति पु-याउन खोजेका थिए। कृष्णले एक औंलाले गोवद्र्धन पर्वत उचालेर गोकुलवासी तथा सम्पूर्ण प्राणीलाई बचाएका थिए।

यस दिन बिहान गोवद्र्धनको प्रतिमा बनाएर पूजा गर्ने र दिउँसो बाटोमा तोरण टाँगेर मुनिबाट हात्ती, घोडा, गाई, गोरु, भैंसी, राँगा लगायत घरपालुवा जनावर लैजानुपर्ने धार्मिक मान्यता छ। साथै यसअघिको एकादशीमा भुटिएका मकैको सातुमा नुन  मिलाएर कुँडो बनाई गाईगोरु र भैंसीलाई खुवाउनुपर्ने पनि शास्त्रमा उल्लेख छ। यसै दिन बलिराजको पूजा गरी राम्रो लगाउने, मिठो खाने र नाचगान गरी रमाइलो गरिन्छ। यसरी रमाइलो नगरे वर्ष दिनसम्म गरेका श्रौतस्मार्त धर्मबाहेकका अन्य धर्मको फल बलिराजलाई जाने जनविश्वास छ।

यसै दिन बेलुका नेवारी समुदायमा म्हःपूजा (आत्मपूजा) गर्ने चलन छ। आफ्नो र परिवारको आरोग्य तथा दीर्घायुका लागि यमराजलाई खुसी पार्न सो पूजा गरिएको मान्यता रहेको छ। शरीरमा शान्ति नभएसम्म आत्मामा शान्ति नहुने भएकाले तान्त्रिक विधिअनुसार म्हःपूजा गरिएको हो। यसै दिनदेखि राष्ट्रिय विभूति शंखधर साख्वाले चलाएको नेपाल संवत्को पनि पात्रो फेरिन्छ र नेपाल संवत्को नववर्ष सुरु हुन्छ।

भाइटीका
तिहारको पाँचौं दिन भाइटीका मनाइन्छ। शास्त्रमा ‘भ्रातृपूजा’का रूपमा  उल्लेख गरिएको यस दिन दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाई फूलमालाले सत्कार गर्छन्। भाइटीकाको दिन बिहानै नुहाएर सबैभन्दा पहिले दियो, कलश, गणेश, अष्टचिरञ्जीवी तथा बिमिराको पूजा गरिन्छ। त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखर तथा यमराजको पूजा गरी पानी वा तेलले कालको बाटो छेक्ने गरिन्छ। फूल, अक्षता, चन्दन र लावाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाएर सगुनका रूपमा दही खुवाउनुपर्ने मान्यता छ। भाइटीकाका दिन दाजुभाइलाई फूल वा दुबोको माला लगाइदिने गरिन्छ।

टीकापछि दिदीबहिनीले दाजुभाइलाई सगुनसहित फलफूल, मिठाई, पानमसला, पाकेका मिष्ठान्नादि परिकार एवं लुगाकपडा दिने र दाजुभाइले दिदीबहिनीलाई पैसा, लत्ताकपडा लगायत दिने गर्छन्।

बहिनी यमुनाले दाजु यमराजको पूजा गरेको शास्त्रीय प्रमाणका आधारमा भाइपूजाको प्रचलन सुरु भएको वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभागप्रमुख प्रा.डा. देवमणि भट्टराई बताउँछन्। यस दिन यमुना नदीमा नुहाई यमराजको पूजा गर्नाले यमलोक देख्नुनपर्ने पद्मपुराणमा उल्लेख छ। साथै दाजुभाइले निम्तो पाएर होस् वा नपाईकन जसरी पनि दिदीबहिनीको घर गई दिदीबहिनीको हातबाट भोजन गर्नुपर्ने शास्त्रमा उल्लेख छ।

यस दिन दाजुभाइ तथा दिदीबहिनीले आपसमा स्वागतसत्कार गर्नाले यमुनाको प्रार्थनाका आधारमा यमराजले यमुनालाई दिएका वरदानअनुसार दिदीबहिनीले उमेरमै विधवा हुनुनपर्ने र दाजुभाइको पनि आयु, सुखसमृद्धि बढ्ने तथा मृत्युपछि नरक जानु नपर्ने शास्त्रमा बताइएको छ।

देउसी–भैलो
पौराणिक मान्यताअनुसार श्रीराम वनबासबाट फर्किएपछि अयोध्यावासीले उनको आगमन र राज्यारोहणमा खुसियाली मनाएका थिए। उनको स्वागतमा अयोध्यावासीले सहरको चारैतिर दियो बालेका थिए। त्यो दिन कात्तिक महिनाको औंसीको रात थियो। दियोको उज्यालोले पूरै सहर जगमगाएको थियो। मानिसले घरघर, गल्लीगल्लीमा ‘देव श्रीराम’ (श्रीराम हाम्रा देउता हुन्) भन्दै जयजयकार गर्दै उत्सव मनाएका थिए। यही देव श्रीरामबाट अपभ्रंश हुँदै ‘देउसिरी राम, देउसिरे, देउसी’ भएको मानिन्छ। यसअनुसार अहिले पनि नेपाली समाजमा देउसी खेल्ने चलन छ।

यस प्रसंगमा बलिराजको कथा पनि आउँछ। स्कन्द पुराण अनुसार, विष्णुले सर्वस्व हरण गरेपछि बलि सुतललोक जान बाध्य भए। प्रत्येक वर्ष तीन दिन राज्य गर्न देवलोकमा आउँदा उनीसँग केही थिएन। त्यसैले उनले राज्य सञ्चालनका लागि आफ्ना सहयोगीलाई माग्न पठाए। तसर्थ यी तीन दिन लक्ष्मीपूजा गरेपछि दिदीबहिनीले र गाईपूजा गरेपछि दाजुभाइले देउसी/भैलो खेल्ने चलन छ। साथै, भट्ट्याउँदा बलिराजले पठाएको भन्ने गरिन्छ।

प्रकाशित: ९ कार्तिक २०७६ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App