१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अन्य

जुवाको कर उठाएर...

फेरि आएछ तिहार।
सहरको पूरै परिवेशमा तिहारको तयारी देखिन्छ। तर यहीँ के–के नपुगेजस्तो, के–के नभएजस्तो, अपुरो– अपुरो लाग्दै छ तिहार।

तिहार त आयो, तिहारसँग गाउँ आएन। बालापनको त्यो तिहार आएन। अहा, कति रोमाञ्चक हुन्थ्यो गाउँको त्यो बालापनीय तिहार ! तिहारसँगै चारैतिरबाट सयपत्रीको बास्ना हरर आउँथ्यो। साथमा जताततै देखिने सुपारी फूल, मखमली फूलको चहकले त्यसै–त्यसै तिहार स्वागतीय बन्थ्यो।

आफू नखेले पनि अरुले लिङ्गेपिङ मच्चाएको देख्दा मन प्रफुल्लित हुथ्यो। यो दृश्य हेरेर, उफ्री–उफ्री थप्पडी मारेर रमाएको त्यो क्षण अहिले सम्झँदा मन रोमाञ्चकताले भरिन्छ।

खोई अहिले तिहारको त्यो रौनक, त्यो चमक, बत्तीको त्यो झिलिमिली खोई ? लक्ष्मीपूजाको साँझ, लस्कर घरका सङ्घार र झ्याल–ढोकामा मैनबत्ती र पालाको बत्ती झलमल बत्ती बल्थे। तिनका उज्यालोले थोरै भए पनि हामीलाई लाग्थ्यो– गाउँको अन्धकारलाई तिनले पर पन्छाइदिएका छन्। अहिले कहाँ खोजूँ म त्यो संसारै उज्यालो भएको आभास, सहरको यो भीडमा ! कृत्रिम बिजुलीबत्तीले अहिले जतिसुकै चहकिलो उज्यालो फ्याँके पनि मनलाई उज्यालो पार्न सकेको छैन।
०००
लक्ष्मीपूजाको समापनसँगै साँझको अर्को प्रहरमा गाउँ गुञ्जन्थ्यो– भन भन भाइ हो, देउसी रे !
त्यो देउसीमा समावेश हुनु मात्र पनि कुनै काल्पनिक स्वर्गको बगैँचामा रम्नुजत्तिकैै आनन्दको अनुभूति हुन्थ्यो।

त्यहीँ कतै भैलेनीहरूको सामूहिक आवाज– ‘भैलेनी आइन् आँगन, गुन्यु–चोली माग न’ले मन हथ्र्यो।
आज, फेरि यो सहरमा तिहार आएको छ। लाग्छ, डुप्लिकेट तिहार आएको छ। केवल शब्द बोकेर आएको छ तिहार। शब्दबाहेक के छ र यो तिहारसँग ? सहरमा मगमग चल्नुपर्ने न फूलको सुगन्ध छ। न अँगेनामा सेलरोटीको च्वाइँच्वाइँ छ, न त केराको पातमा भुमरीको सेकाइ छ।

जसले जुवाको दाउ हानेर जित्छ, उसले जितेको रकमबाट एउटा निश्चित अघोषित ‘कर’ उठाउने हामी तमासेको ‘ड्युटी’ हुन्थ्यो।

यो सहरले त्यो अग्र्यानिक तिहारलाई मिसावटमा ढालेको छ। यहाँ देखिन्छन्, अनेक थरी मिश्रण भएका रङ्गीन बुट्टेदार मीठाइरोटीहरू, प्लाष्टिकको फूलका मालाहरू, डोरेपिङको नाममा ठूला–ठूला मल–कम्प्लेक्सबाहिर झुण्ड्याइएका शो–पिस पिङहरू।
०००
बजारमा जुवा फुक्थ्यो, तिहारमा।
हाम्रो बस्तीको अलिक मास्तिर सांस्कृतिक भवन थियो। त्यही भवन थियो, जहाँ त्यहीँ स्थापित हिम नाटक मण्डलको अग्रसरतामा प्रायः चाडपर्व र राष्ट्रिय उत्सवको अवसर पारेर विभिन्न सांस्कृतिक कार्यक्रम र नाटकहरूको आयोजना हुने गथ्र्यो। त्यही सांस्कृतिक भवनभित्रबाट तिहारको ‘पञ्चक’मा ‘मार्रा, मार्रा’ आवाज गुञ्जन्थ्यो। लाग्थ्यो, त्यो जुवा–खेलको आवाजमा पनि एक किसिमको सङ्गीत थियो। मलाई त्यो आवाजले असाध्यै आकर्षण गथ्र्यो। त्यतिखेरको जुवालाई आजको ‘क्यासिनो’को संज्ञा दिने हो पनि ‘त्यो’ र ‘यो’मा आकाश–जमिनको अन्तर छ। यो क्यासिनोको जुवा नितान्त व्यक्तिगत आर्थिक उपार्जनको निमित्त खेलिन्छ, त्यो तिहारको जुवामा सामूहिक स्वार्थ जोडिएको हुन्थ्यो। अवश्य पनि जुवा खेल्नेको नियत आर्थिक प्रलोभनसँग जोडिएको हुन्थ्यो होला। तर त्यो प्रलोभन आजको जस्तो समाज भत्काउने खालको स्वार्थपूर्ण अवश्य थिएन, बडो बलियो, एक–आपसमा मैत्री र सद्भाव बोकेको थियो।

म जुवा हेर्थें, बुझ्दिनथेँ। ‘छक्का, पञ्जा’ भनेर छाती पिट्थे ‘जुवाडेहरू’। म बडो मज्जा मान्थेँ। मैले त्यसरी मज्जा मान्नुको कारण थियो। जसले जुवाको दाउ हानेर जित्छ, उसले जितेको रकमबाट एउटा निश्चित अघोषित ‘कर’ उठाउने हामी तमासेको ‘ड्युटी’ हुन्थ्यो। हामी तमासेमध्ये कसै न कसैले त्यो ड्युटी निभाउनुपथ्र्यो। प्रत्येक विजयीबाट लिइएको त्यो निश्चित रकम हामीले टिनको ‘ढ्वाङ’मा खसाल्थ्यौँ।

यसरी जुवा खेलाएर पैसा उठाउनुले समाजमा कुरीति फैलाउन बढावा दिए जस्तो लागे पनि वास्तविक उद्देश्य भने नितान्त अर्कै थियो। तिहारको जुवाखेल समाप्त भइसकेपछि स्थानीय हिमगंगा हाईस्कुलको सञ्चालक समितिको रोहबरमा सङ्कलित रकमको त्यो टिनको ढ्वाङ खोलिन्थ्यो। निकै ठूलो हुन्थ्यो त्यो सङ्कलित रकम, जुन विद्यालय वा सांस्कृतिक भवन, पुस्तकालय लगायतको भौतिक निर्माणमा जगेडा गरिन्थ्यो।

यतिखेर, तत्कालीन सञ्चालक समितिका अध्यक्ष मेरा बा भीमबहादुर भौकाजी, विद्यालयका हेडमास्टर मेरा फुपाजु तीलविक्रम रोका, पछिका हेडसर मेरा भिनाजु मेघराज खड्का, समाजसेवीहरू– उमेरले सबभन्दा पाका गुञ्जदास श्रेष्ठ तथा मेरी हजुरआमा पदमकुमारी, ठूलाबा हरिबहादुर, संस्कृतिकर्मी–कलाकार हरिकाजीसर (पुष्पलाल उदास) तथा मेरा भिनाजु ज्ञानबहादुर कर्माचार्य, राजनीतिज्ञ दाइ गोपालदास भौकाजी एवं लक्ष्मीदास श्रेष्ठ, सप्त–तीर्थ–तोत्र बज्राचार्यका अनुहारहरू मेरा सामु झलझली आइरहेछन्।

खोजेर कहाँ पाइन्छ, अब यो विगत ! कुनै खोलाजस्तो ! अझ भनुँ, सुकिसकेको खोलाजस्तो ! कुनै जमानामा यहाँ खोला बगेको थियो रे भने किंवदन्तीजस्तो ! तिहारका ती दिन आज स्मृतिपटमा आउँदा त्यतिखेरका सम्पूर्ण क्षण कुनै रोचक कथाजस्ता मात्र लाग्छन्। देख्ने आफैँ, भोक्ता आफैँ तर अहिले त्यो सम्झना लामो निद्रामा देखिएको सपनाजस्तो लागिरहेछ।

अहिले त्यो तिहार छैन। त्यो देउसी छैन। देउसी खेल्दा घरपिच्छेबाट नाङ्लोभरि फिँजाएर सेल, अनरसा र सुन्तला–जुनार पाइन्थ्यो, दक्षिणा स्वरूप त्यही नाङ्लोमा नयाँ–नयाँ खुद्रा नोटहरू सजाएर ल्याइएका हुन्थे। पुगेन भनेर भट्ट्याउँदा घरबेटीले थपिदिएको पाँच, दश, सय, पचास, जति भए पनि हामीलाई त्यो ‘लाख’ हुन्थ्यो।
आजको तिहार अर्कै भएको छ। तिहारको सांस्कृतिक रूप विकृत भएको छ। त्यसको सामाजिकता नराम्रोसँग छिन्नभिन्न भएको छ। लाग्छ, तिहार–नामको धुकधुकी मात्र शेष छ यतिखेर। आज यो तिहारमा साँच्चिकै त्यो रोमाञ्चक ‘तिहार’ छैन।
सोचिरहेछु– के त्यस्ता तिहार फेरि दोहारिएलान्, जीवनमा ?
०००

प्रकाशित: ९ कार्तिक २०७६ ०४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App