२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

योगेश दाज्यूलाई पत्र

 रोमहर्षण ढुंगेल,
 श्री योगेश भट्टराई,
 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री !

नमस्कार ! मैले यो चिठी लेख्दै गर्दा तपाईं गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निरीक्षणमा गएको फोटो सामाजिक संजालबाट देखिरहेको छु। तपाईं भिजिट नेपाल २०२० तयारीको चापमा हुनुहुन्छ। हाम्रो देशमा मुख्यतः पर्यटकहरू तीन ओटा स्रोतबाट आउने गर्छन्। पहिलो अमेरिका र युरोप लगायत देशहरूबाट घुम्न आउने, दोस्रो भारतबाट पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर लगायतमा आउने हिन्दू धर्मालम्बीहरू र तेस्रोमा भारत,चीन, जापान लगायतका देशहरूबाट लुम्बिनीमा आउने बुद्ध धर्मालम्बीहरू पर्दछन्।

पर्यटकहरू आउने स्थानहरूमा सडक, खानेपानी, बिजुली, इन्टरनेट आदिको उचित व्यवस्थापनले गर्दा उनीहरूको नेपाल बसाइ लम्बिने र उनीहरूले खर्च गर्ने दर पनि बढ्दछ।

यसपालि दसैंको बिदामा म अभिभावकहरूसँग गुह्येश्वरी पीठको दर्शन गर्न गएको थिएँ। त्यहाँ लाइन व्यवस्थापन राम्रो देखेँ तर मलाई शौचालयको व्यवस्था उचित लागेन। मन्दिरको वरपर फोहोर व्यवस्थापन नभएको देख्दा आफूलाई त्यहाँबाट कति बेला निस्कियौं जस्तो लाग्यो। त्यहाँबाट गुह्येश्वरी  देवीको दर्शन गरी मृगस्थली हुँदै पशुपतिनाथतर्फ जाँदा बाटोमा छरिएका फोहोर र मृगस्थलीमा योगी नरहरिनाथ आश्रम वरपर बनेका देवलहरूको अवस्था र फोहोर देखेपछि मलाई प्रधानमन्त्रीज्यूलाई चिठी लेख्न मन लागेको थियो। तत्कालै अभिभावकहरूसँग यो हेर्ने कार्यालय कुन हो भनी सोध्दा पशुपति क्षेत्र विकास कोष र संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय रहेको जानकारी पाएपछि तपाईंलाई यो पत्र लेखेको हुँ।

म पशुपति क्षेत्र घुम्दा अधिकांश व्यक्तिहरू भारतीय नागरिकहरू रहेको पाएँ। यसले हाम्रो धार्मिक पर्यटनको सम्भावना उजागर गरेको छ। पशुपतिनाथ क्षेत्रमा हिन्दूहरू आस्थासहित आउने गर्दछन्। हामी भने ‘माल पाएर पनि चाल नपाएको’ अवस्थामा रहेछौं भन्ने लाग्यो। मुख्यतः पशुपति क्षेत्रभित्र घटीमा पाँच ओटा अत्याधुनिक शौचालय, नुहाउने व्यवस्था र फोहोर उठाउने व्यवस्था तुरुन्त गर्न सकेमा भिजिट नेपाल २०२० लाई सहयोग गर्ने छ। त्यस्तै यस्ता धार्मिक पर्यटकस्थलहरूको कडाइका साथ नियमित सरसफाइ हुने व्यवस्था मिलाउँदै विद्यालयहरूलाई हप्ताको एक पटक सरसफाइ गर्ने अभियानमा सरिक बनाउँदा त्यसले पक्कै पनि सकारात्मक परिणाम दिनेछ। त्यसले २० लाख पर्यटक भित्राउने देशको लक्ष्यलाई एक अभियानका रूपमा हामी विद्यार्थीहरूले पनि सहयोग गर्ने थियौं।

मन्त्रीज्यू, तपाईं मेरो अभिभावकहरूको पुस्ताले आशाको नजरले हेरिएको व्यक्ति हुनुहुन्छ भने हाम्रो पुस्ताले तपाईंलाई जगको रूपमा हेरेका छौं। तपाईंले आज गर्ने कामले हामीलाई भोलिका दिनमा बाटो देखाउने गर्दछ। तसर्थ देशभरका धार्मिक पर्यटकस्थलहरूमा फोहोरविरुद्धको अभियान सञ्चालन गर्न म विनम्र अनुरोध गर्दछु। सफा र आकर्षक स्थलले कसको मन नलोभ्याउला र ! तपाईंको मन्त्रालयको नारा ’म फोहोर गर्दिनँ र गर्न पनि दिन्न’ भन्ने राख्न उपयुक्त होला कि !
अन्त्यमा नेपाललाई पर्यटकहरूको घर बनाउने हो भने तपाईं र तपाईं मातहतका जिम्मेवार व्यक्ति एवं निकायहरूले फोहोरविरुद्ध प्रभावकारी अभियान चलाउन आवश्यक देख्छु। बाँकी तपाईंकै इच्छा !

उही तपाईंको शुभचिन्तक
रोमहर्षण ढुंगेल,
कक्षा –५,
एभरेष्ट इङ्लिस स्कुल,भक्तपुर।

प्रकाशित: ९ कार्तिक २०७६ ०४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App