निर्माण क्षेत्रमा ज्यालादारी काम गर्ने गुल्मी खड्गकोटका प्रमोद परियार दसैंमा काठमाडौंबाट घर जाँदैछन् । वैशाखदेखि घर नगएका नेपाली ६ महिनापछि घर जाँदा श्रीमती, छोराछोरीलाई लत्ताकपडासहित घरायसी सामान लैजानका लागि २० हजार रुपैयाँ जम्मा गरिसकेका छन् ।
‘दसैंमा जहान केटाकेटीलाई ओरापरी (नयाँ कपडा) फेर्दिनु पर्छ,’ वनस्थलीमा मिस्त्रीको काम गर्ने नेपालीले भने, ‘चाडपर्वलाई पैसा जोहो गरेको छु ।’
असोजको दोस्रो साता घर जाने तयारीमा रहेका परियारले अरु खर्च कम गरेर दसैंका लागि खर्चको बन्दोबस्ती गरेका हुन् । जागिर खानेले त थप भत्ता पनि पाउँछन् रे,’ उनले भने, ‘भत्ता नभए पनि ठेकदारसँग पुरै ज्याला र थप पेस्की पनि मागेको छु । खसी पनि काट्नै पर्यो ।’
दसैंमा परियारको २५—३० हजार रुपैयाँ खर्च गर्ने तयारी देखिन्छ । चाडपर्वमा परियार मात्र होइन हिन्दु तथा बौद्ध धर्म मान्ने आम नेपालीलाई यस्तै तयारीसँगै उत्साह पनि छ । दसैं, तिहार टीका लगाउने चाडपर्व हुन् । धार्मिक, सांस्कृतिक रुपमा यी चाडको जति महत्व छ, आर्थिक रुपमा अझै बढी ।
यी चाडले मुलुकको अर्थतन्त्रलाई नै चलायमान बनाउँछन् । निम्न आम्दानी भएका गुल्मीका परियारले जस्तै मध्यम र उच्च आम्दानी हुनेले पनि आफ्नो हैसियत अनुसारको खर्चको व्यवस्थापन गरेका छन् । यी चाडपर्वसँग बजार र उत्पादनको अन्तरसम्बन्ध जोडिएको छ ।
चाडपर्व मनाउन सरकारले बिदा दिने भएकाले पनि यो समयमा खानपान, लवाईखवाई, भ्रमण, आफन्त भेटघाटलाई प्राथमिकता दिइन्छ । दसैँ भनेकै मीठो खाने र राम्रो लगाउने चाडको रुपमा सामाजिक मान्यता विकास भएकाले पनि यो समयमा ठूलो धनरासी खर्च हुन्छ ।
दसैं खर्चका लागि सरकारी तथा निजी प्रतिष्ठानमा काम गर्ने कर्मचारीलाई थप एक महिनाको तलब भत्ता दिइन्छ । सरकारी कर्मचारीले मात्र दसैं भत्ता करिब साढे १६ अर्ब रुपैयाँ पाउँछन् । निजी कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुले पनि आफ्ना सदस्य तथा शेयरधनीलाई बोनस वितरण गर्छन् । विदेशमा भएकाले घरमा रेमिट्यान्स पठाउँछन् ।
दसैंमा लत्ताकपडा, माछामासु, दैनिक उपभोग्य वस्तु, मदिरा, सवारी साधन खरिद, घर रंगरोगन, घरायसी सामान, पारिवारिक घुमफिर गर्ने भएकाले व्यापार ह्वात्तै फस्टाउँछ । निम्न आम्दानी हुनेले थोरै खर्च गरे पनि उच्च आम्दानी हुनेबीच खर्च गर्ने एक प्रकारको प्रतिस्पर्धा नै देखिन्छ ।
आफ्नो आम्दानीको स्रोतअनुसार खर्च गर्ने गर्छन् । बैंकमा काम गर्ने प्रमिला देवकोटाले दसैंका लागि २० हजार रुपैयाँको सपिङ गरिसकिन् । ‘वर्ष दिनमा घरमा जाँदा घर र माइती दुवैतिरलाई कपडा लैदिनुपर्यो,’ देवकोटाले भनिन्, ‘आफ्नो लागि सपिङ गर्दैछु ।’ बर्दिया घर भएकी देवकोटाले दसैंमा करिब ५० हजार खर्च हुने बताउँछिन् । उनका श्रीमान् सरकारी कर्मचारी हुन् । ‘दसैंभत्ताले भरथेग गर्छ,’ उनले भनिन्, ‘टिकाटालोमा पनि पैसा खर्च हुन्छ ।’
दसैं आउनु तीन/चार हप्ताअघिदेखिनै सपिङ सुरु गरे पनि असोको दोस्रो साता धेरैले सपिङ गर्छन् । घर छाडेर रोजगारीसहित विभिन्न पेशा व्यवसाय गर्ने पनि जन्मथलो फर्किन्छन् । करिब २० लाख नागरिक उपत्यकाबाट मुलुकभर जान्छन् । त्यसले यातायात क्षेत्रको पनि व्यापार चम्किन्छ । राजमार्गका होटलका लागि ठूलो अवसर छ । हवाई जहाजका सिट फुल हुन्छन् । बजारमा किनमेलको चहलपहल छ ।
मुलुकका प्रमुख व्यापारिक केन्द्र, बजार, सपिङ मलमा किनमेल गर्नेको भिडभाड नै हुन्छ । स्वदेशमात्र नभएर सीमा क्षेत्रका बासिन्दाले भारतीय बजारमा पुगेर सपिङसहित खाद्यान्नलागयतका सामग्री ल्याउने गर्छन् । दसैंलाई खसीबोका ग्रामीण क्षेत्रबाट सहर तिर ल्याएका छन् । दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडाका विक्रेताले सामान बिक्री गरिरहेका छन् ।
अतिरिक्त रकम आउने भएकाले दसैंमा सवारी साधन कार, जिप, भ्यानजस्ता हलुका सवारीको बिक्री बढेको छ । घरमा प्रयोग हुने इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, खासगरी वासिङ मेसिन, फ्रिज, रेफ्रिजेरेटर, टीभीजस्ता सामग्री बिक्री हुन्छ । त्यसका लागि स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूले विशेष छुटसहितका आकर्षक उपहार प्याकेज ल्याएर उपभोक्तालाई आकर्षित गरेका छन् । सामान बिक्री गर्नेलाई समेत विदेश भ्रमणका आकर्षक प्याकेज छन् । दसैंमा मात्र करिब साढे तीन खर्ब रुपैयाँको सामान विदेशबाट आयात हुने व्यवसायी बताउँछन् ।
बजार क्षेत्रमा त यसको प्रभाव छ नै ग्रामीण क्षेत्रबाट पनि उत्तिकै छ । रोजगारी, अध्ययनलगायत अन्य अवसरका लागि सहर पसेका पनि दसैंमा गाउँ फर्किने भएकाले यो बेला ग्रामीण अर्थतन्त्र पनि उत्तिकै चलायमान हुन्छ । असोज २१ गते दसैंको टिका भए पनि असोजको पहिलो साताबाट नै बजारमा चहल पहल सुरु भएको छ ।
जताजतै किनमेल र खर्च बढेको देखिन्छ । पूर्व अर्थसचिव रामेश्वर खनालका अनुसार कुल राष्ट्रिय उपभोगको करिब २० प्रतिशत उपभोग दसैं, तिहारमा कारोबार हुन्छ । मुलुकको अर्थतन्त्रको आकार करिब साढे ३४ अर्ब रुपैयाँ पुगेको छ । यो भनेको ६ खर्ब ९० अर्ब रुपैयाँ हो । रेमिट्यान्सले नेपालीको खर्च गर्ने प्रवृत्ति अझै बढेकाले दसैं, तिहारमा यो भन्दा बढी रकम खर्च हुन्छ ।
दसैंमा नेपाल राष्ट्र बैंकले करिब ४० अर्ब रुपैयाँका नयाँ नोट बजारमा पठाउँछ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले दसैं,तिहारमा व्यापार ह्वात्तै बढ्ने बताउँछन् । ‘चाडपर्वले बजारलाई चलायनमान बनाउँछ,’ श्रेष्ठले भने, ‘यो सिजनमा आर्थिक गतिविधि ह्वात्तै बढ्छ ।’ दसैंका बेला अत्यधिक उपभोग बढ्ने भएकाले अधिकांश वस्तुको मूल्य वृद्धि भने हुने गरेको छ । दसैं भत्ता, बोनस, रेमिट्यान्सले बजारमा पैसाको प्रवाह बढ्छ ।
यसले मुलुकको समग्र अर्थतन्त्रमा नै भाइब्रेसन ल्याउँछ । दसैंतिहारसँग सबै क्षेत्रमा सुस्त रहेका आर्थिक गतिविधि चलायनमान हुन्छ । यसले उत्पादनदेखि बिक्रीसम्मको चक्रमा प्रभाव परेको हुन्छ । राष्ट्रिय उत्पादनमा पनि टेवा पुर्याउँछ । खर्च गर्दा बजारमा पैसाको फ्लो बढ्ने भएकाले यसलाई सकरात्मक रुपमा लिनुपर्ने अर्थशास्त्री बताउँछन् । दसैंमा खसीबोका, तरकारी, खाद्यान्न गाउँबाट सहर जान्छ भने सहरबाट गाउँमा पैसा जान्छ । यसले ग्रामीण अर्थतन्त्रलाई पनि मजबुत बनाउँछ ।
हाम्रो बजार आयातमुखी भएकाले आन्तरिक उत्पादनमा बढाउनु पर्ने सरकारवाला बताउँछन् । चाडपर्वमा दैनिक उपभोग्य वस्तु, तरकारी, माछामासु, लत्तकपडाको भाउ बढ्छ । धेरै माग हुने भएकाले यही मौका छोपेर मूल्य बढाउने गरेका छन् । कतिपयले दसैं,तिहारलाई वर्षभरी थेग्ने गरी कमाउँछन् ।
सरकारले अनुगमन कमजोर हुँदा व्यापारीले फाइदा उठाउने गरेका छन् । चाडपर्वमा उपभोक्ता ठगिनबाट जोगाउन अनुगमन प्रभावकारी बनाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्रकुमार गौचन बताए । ‘मूल्य नियन्त्रण गर्नका लागि सरकारले सहुलियत पसल सुरु गरेको छ,’ गौचनले भने, ‘अनुमगनलाई चार गुणा बढाएका छौं ।’
४० अर्बका नयाँ नोट
दसैंमा दक्षिणा दिने धार्मिक मान्यता रहेकाले राष्ट्र बैंकले नयाँ नोट बैंक बजारमा पठाउँछ । घण्टौं लाइन बसेर बैंक तथा वित्तीय संस्थाबाट नोट सटही गर्छन् । राष्ट्र बैंकले यो वर्ष असोज १० गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले राष्ट बैंकबाट लगेर आफ्ना ग्राहकलाई वितरण गर्छन् । करिब ४० अर्ब रुपैयाँका नयाँ नोट सटही गर्ने राष्ट्र बैंकको लक्ष्य छ ।
यो वर्षको दसैंका लागि एक जनालाई बढीमा १८ हजार ५ सय रुपैयाँसम्मका नयाँ नोट सटही गर्ने सुविधा दिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । निरौलाका अनुसार सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० रुपैयाँ दरका सय–सय थान नोट भएका एक-एक बण्डल नयाँ नोट सटही गरिन्छ । थप नोट चाहिएमा पुराना तर सफा नोट दिने बैंकले जनाएको छ ।
विगतका वर्ष राष्ट्र बैंकको थापाथली कार्यालयबाट दिँदै आएको नोट सटही सुविधा यो वर्ष राष्ट्र बैंककै बालुवाटार कार्यालयबाट दिने भएको छ । ‘थापाथलीमा नयाँ भवन निर्माणाधीन भएकाले बालुवाटारबाट दिने भएका हौं,’ निरौलाले भने, ‘सकेसम्म धेरै सर्वसाधारणलाई सेवा दिने योजना छ ।’ उनका अनुसार उपत्यकामा रहेका सरकारी बैंक नेपाल बैंक, राष्ट्रिय बाणिज्य र कृषि विकास बैंकका २५ शाखाबाट पनि नयाँ नोट सटही सुविधा दिइएको छ ।
नेपाल बैंकका न्यूरोड, कीर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबारप्लाजा केन्द्रीय कार्यालय, सिंहदरबार परिसर, टेकु, नयाँबानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा र कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुलचोक शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।
उपत्यकाबाहिरका सर्वसाधरणका लागि बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका रहेका राष्ट्र बैंक कार्यालयबाट पनि नयाँ नोट सटही सुविधा दिने भएको छ । निजी बैंक तथा वित्तीय संस्थाले पनि आफ्ना ग्राहकका लागि केही नयाँ नोट वितरण गर्छन् । दसैंमा नोट धेरै बिग्रिने भएकाले केरमेट तथा रङ लगाउने कार्य नगर्न राष्ट्र बैंकले अनुरोध पनि गरेको छ ।
सुपथ मूल्य पसल सञ्चालन
चाडपर्वमा चिनी, खाने तेल, ध्यू, चामललगायतका दैनिक वस्तुको खपत बढ्ने भएकाले सरकारले उपभोक्तलाई राहात दिनका लागि सुपथ मूल्य पसल सञ्चालन गरेको छ । मुलुकभर ७३ स्थानमा भदौको अन्तिम साताबाट सुपथ मूल्य पसल सुरु भएका छन् ।
भदौ २३ बाट सुरु भएको सुपथ मूल्य पसल कात्तिक १६ गतेसम्म सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । ‘चाडपर्वमा उपभोक्तालाई राहात दिनका लागि छूट पसल सञ्चालन गरेका हौं,’ गौचनले भने, ‘यसले बजारमा मूल्यवृद्धि नियन्त्रणमा पनि टेवा पुग्छ ।’ सरकार स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन, र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छन् । ती संस्थाले सञ्चालन गरेका सुपथ मूल्य पसलमा छूट दिइएको छ ।
साल्ट ट्रेडिङले उपत्यकाका कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुरलगायतका स्थानमा नौ स्थानमा पसल सञ्चालन गरेको छ । कर्पोरेसनले उपत्यकाबाहिरका उपभोक्तालाई लक्षित गरेर २४ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले बताए । झाका अनुसार सरकारको निर्णय अनुसार छूटसहित सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य कम्पनीले काठमाडौं उपत्यकामा पाँच र बाहिर १८ पसल सुरु गरेको छ । दुग्ध विकास संस्थानले काठमाडौंमा चार वटा र बाहिर एक दर्जन स्थानमा पसल खोलेको छ ।
पसलमा दैनिक उपभोग्य वस्तु नुन, चामल, चिनी, पिठो, मैदा, गेडागुडीदेखि मासुसमेत छूट मूल्य दिइएको छ । मोटो चामलमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ तथा च्यांग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ, घिउ ५० रुपैयाँ छूट छ । सहुलियत पसलका लागि सरकारले सवा तीन करोड रुपैयाँ विनियोजन गरेको विभागले जनाएको छ । उक्त रकम खाद्य संस्थानमार्फत एक करोड ७५ लाख र साल्ट्र टे«डिङमार्फत डेढ करोड रुपैयाँ छूटमा सामान उपलब्ध गराउने योजना छ ।
उपत्यकामा ५० हजार खसीबोका
दसैंलाई लक्षित गरेर दसैंमा ठूलो परिणाममा खसीबोका उपत्यका भित्रिन्छन् । यो वर्ष पनि करिब ५० हजार खसीबोका बिक्री गर्ने तयारी व्यवसायीले गरेका छन् । विगतमा भारतबाट ल्याउने गरेकोमा यो वर्ष भारतबाट खसीबोका आउन रोकिएकाले मुलुकका विभिन्न ठाउँबाट यहाँ ल्याउन सुरु गरिएको छ । दसैं र तिहारलाई लक्षित गरी चौपया खरिद बिक्री संघले जुम्ला, डोल्पा जाजरकोट, सुर्खेत, रामेछाप, सिन्धुली, ओखलढुंगा, उदयपुर, सिरहा जिल्लाबाट खसी बोका ल्याएको छ ।
पशु सेवा विभागका अनुसार बाख्रा व्यवसायी महासंघले प्रदेश १ ले दुई हजार, प्रदेश २ ले दुई हजार, प्रदेश ३ ले १४ हजार, प्रदेश ५ र कर्णाली प्रदेशले दुई हजार पाँच सयका दरले र सुदूर पश्चिम प्रदेशले मासिक चार हजार गरी मासिक २७ हजार आपूर्ति गरेका छन् । खाद्य संस्थानले पनि तीन हजार खसी बोका र च्यांग्रा ल्याएर बिक्री गर्ने खाद्य संस्थानकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् । यो वर्ष खसी मासुको मूल्य बढेको छ ।
भारतबाट आयात रोकिएपछि मासु किलोमा २०० रुपैयाँ बढेको हो । दसैं, तिहारमा अझै बढ्न सक्ने व्यापारी बताउँछन् । असारसम्म ११ सय रुपैयाँ किलोमा बिक्रै भएको खसीको मासु अहिले खुल्ला बजारमा किलोको १३ सय रुपैयाँ पुगेको छ । सरकारले भारतबाट खसी, बोका आयातमा प्रतिबन्ध लगाएकाले मागअनुसार मूल्य बढाउनुपरेको चौपाया खरिद–बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले बताए ।
छूट र उपहार प्याकेज
सरकार स्वामित्वका संस्थानहरु मात्र नभएर चाडपर्वमा ग्राहक आकर्षित गर्नका लागि निजी कम्पनी, डिमार्टमेन्टल स्टोर्स, मार्टहरु, इन्टरनेट सेवाप्रदायक कम्पनी, इलेक्ट्रोनिक्स सामानहरु टेलिभिजन, रेफ्रिजिरेटर, एसीमा छूट तथा उपहारका स्किम ल्याएका छन् ।
दसैंलाई लक्षित गरेर छूट, सामग्री उपहार र विदेशी घुम्न लैजानेसमेत अफरका प्याकेज छन् । गोदरेज अप्लाएन्सेसले चाडपर्व लक्षित गरेर इन्डोनेसिया घुम्न लैजाने अफर ल्याएको छ । ‘फ्री कपल ट्रिप टू बाली’ अफर अन्तर्गत गोदरेजका उत्पादन खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत इन्डोनेसियाको बाली घुम्न जान पाउँछन् । उक्त कम्पनीले रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन र माइक्रोवेभ ओभन बिक्री गर्छ ।
चौधरी ग्रुपको सिजीले ‘सिजीसँग उत्साह उमंग, थाइल्यान्ड जाउँ परिवारसँग’ नाम दिएर प्रवद्र्धन योजना ल्याएको छ । प्रत्येक सिजी टिभी र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशतसम्म क्यासब्याक लक्की ड्रमार्फत पाँच भाग्यशाली जोडीलाई थाइल्यान्ड घुम्ने अवसर दिने कम्पनीले घोषणा गरेको छ ।
इलेक्ट्रोनिक्स सामग्रीको बिक्रेता हिमस्टारले टेलिभिजन, रेफ्रिजिरेटर, एसीको खरिदमा अफर ल्याएको कम्पनीका डेपुटी जनरल म्यानेजर केशव धितालले बताए । हिमस्टारले १९, २२, २८ र २४ इन्चको टेलिभिजन खरिदमा इस्त्री, ३२ इन्चको टेलिभिजनमा इलेक्ट्रोनिक केतली र ४० इन्च वा त्योभन्दा माथिको टेलिभिजन र डबलडोर रेफ्रिजिरेटरको खरिदमा विभिन्न उपहार दिएको छ ।
इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले ९९ रुपैयाँमा इन्टरनेट अथवा क्लियर टिभी सेवा प्रदान गरेको छ । जगदम्बा मोटर्सले टिभिएस टू–ह्विलर्स अन्तर्गत टिभिएस दसैं दौडको अफर छ । बिगमार्टले चाडपर्वको अफरमा करिब दुई सय प्रकारका समानहरुमा पाँच रुपैयाँदेखि दुई सय ५१ रुपैयाँसम्म छुट दिइएको दाबी गरेको छ ।
कम्पनीका अनुसार अमृत सनफ्लावर तेलमा प्रतिलिटर ५ रुपैयाँ, मसुरो दालमा प्रतिकिलो १५ रुपैयाँ, चिउरामा १० रुपैयाँ, चनामा ६ रुपैयाँ छुट दिएको जनाएको छ । धारा तेलमा १८ रुपैयाँ र चिनीमा प्रतिरुपैयाँ सात रुपैयाँको दरले छुट घोषणा गरेको छ । जिरा मसिनो चामलमा प्रतिबोरा एक सय २६ रुपैयाँ छुट छ । आफ्नो ३७ वटै आउटलेटबाट छूट दिएको बिगमार्टका आर्थिक प्रशासन प्रमुख विवेक देवले बताए ।
प्रकाशित: २७ आश्विन २०७६ ११:३३ सोमबार