१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

बालबालिकालाई दसैंको बिदामा कसरी खुसी राख्ने ?

बालकदेखि वृद्धसम्म महिला पुरुष सबै नेपालीका लागि खुसी लिएर आउने चाड हो दसैं । आफन्तसँगको भेटघाट, नयाँ ठाउँको घुमघाम, नयाँ लुगा, टीका–जमरा यिनै हुन् दसैँलाई रमाइलो बनाउने कुराहरू । नेपालीहरूको महान् चाड भएकैले दसैंमा विद्यालयहरूले बालबालिकालाई लामो बिदा दिएका हुन्छन् ।

लामो बिदा हुनु धेरैजसो बालबालिकालाई खुसीको कुरा हुन्छ भने अभिभावकलाई यति लामो बिदामा केटाकेटीलाई कसरी घरमा राख्ने भन्ने पिरलोले टाउको दुखाइ सुरु हुन थाल्छ । वर्षमा एकपल्ट आउने दसैं र दसैंका बेला बालबालिकाले पाउने लामो बिदालाई कसरी सार्थक बनाउन सकिन्छ भन्ने बारे केही चर्चा गरौँ ।

मानिसलाई सधैं एकै किसिमको काम गरिरहँदा पट्यार लाग्न थाल्छ । त्यसैले ऊ बेलाबेलामा स्वतन्त्र हुन चाहन्छ । एकोहोरो दैनिकीबाट स्वतन्त्र भएर फुक्काफाल हुँदा मस्तिष्क फेरि ताजा हुन्छ र कामका लागि नयाँ ऊर्जा प्राप्त हुन्छ । त्यसैले वयस्कहरूका लागि पनि छुट्टी आवश्यक हो भने दिनदिनै स्कुलको अनुशासनमा बाँधिएर बसेका बालबालिकालाई त झन् बेलाबेलामा छुट्टी नभई नहुने कुरा हो ।

कतिपय बालबालिका भने चाडबाडको लामो बिदा हुँदा पनि खासै खुसी हुँदैनन् । यसको कारण यो पनि हुन सक्छ, स्कुलबाट धेरै गृहकार्य दिनु, घरमा उमेरमिल्दो साथी नहुनु, दसैंजस्तो चाडमा पनि सधैँझैँ घरैमा मात्र बसिरहनु, खेल्ने ठाउँ नहुनु, घरको अनुशासन विद्यालयको भन्दा कडा हुनु, पारिवारिक समस्या हुनु, परिवारबाट तनाव हुनु आदि ।

त्यस्ता बालबालिकालाई स्कुल जाँदा साथीहरूसँग एकछिन भए पनि खेल्न पाइन्छ भनेर स्कुल नै रमाइलो लाग्ने पनि हुन्छ । कक्षामा राम्रो अङ्क ल्याउने र अतिरिक्त क्रियाकलापमा पनि सहभागी भइरहने बालबालिकालाई शिक्षकहरूले मायालु व्यवहार गर्ने हुनाले त्यस्ता बालबालिकाले पनि बिदालाई कम महत्व दिएको देखिन्छ । अधिकांश बालबालिकाले भने चाडपर्वमा हुने लामो बिदालाई उत्सवमाथिको महोत्सवका रूपमा लिन्छन् ।

श्रीमावि ठूलो नन्दनगर कपिलवस्तुकी शिक्षिका शान्ता बेल्बासेका विचारमा दसैँ तिहारजस्तो चाडपर्वमा हुने लामो बिदामा बच्चाहरूलाई घुमघाममा जोड दिनुपर्छ । उनका भनाइमा बच्चाहरू जहाँ जाँदा रमाउँछन् त्यहाँ लैजानुपर्छ र उनीहरुसँगै आफू पनि रमाउनुपर्छ । हिजोआजका धेरैजसो बच्चाहरू पहिलेको जस्तो संयुक्त परिवारमा बसेका छैनन् ।

एकल परिवारको बसाइ बालबालिकालाई संयुक्त परिवारको जस्तो रमाइलो हुँदैन । बिदाको बेलामा हामीले बालबालिकालाई आफन्तकहाँ लैजानुपर्छ । आफन्त पनि कस्ता भने जहाँ गएर निःसङ्कोच आफ्ना कुरा गर्न सकियोस् । यसरी आफन्तसँग खुलस्त भएर कुरा गर्दा एकातिर उनीहरूसँगको सामीप्य बढ्छ भने अर्कातिर आफ्नो मन पनि हलुङ्गो हुन्छ ।

यसो गर्दा मानिसको दिमाग पनि एकदमै ताजा हुन्छ । कहिल्यै नगएका नयाँ ठाउँहरूमा घुम्न जाने र मन खोलेर कुरा गर्ने गर्दा मानसिक र शारीरिक स्वास्थ्य राम्रो हुन्छ भने बालबालिकाले धेरै कुरा सिक्न पनि सक्छन् । अझ त्यसरी सिकेका कुरालाई लेख्न लगाउने हो भने उनीहरुमा रचनात्मक सीपको विकास पनि हुन्छ ।

सेन्ट जेभियर्स गोदावरीकी शिक्षिका राधिका भण्डारीको अनुभवमा हामीले सोचेजस्तो सबै बालबालिका लामो बिदा हुँदा खुसी हुँदैनन् । घरमा समस्या हुने, अभिभावकहरू काममा बढी व्यस्त हुने परिवारका बालबालिकालाई लामो बिदा हुँदा भन्दा नहुँदा खुसी लाग्छ । कैयौँ बालबालिकाहरू बिदा भएका बेला घरमा एक्लै बस्नुपर्ने हुन्छ । साँझ खानासमेत उनीहरूले नै पकाउनुपर्ने हुन्छ । यस्ता बालबालिकाहरू लामो बिदा हुनुभन्दा स्कुल लागेको मन पराउँछन् ।

शिक्षिका भण्डारीका विचारमा बालबालिकाको बिदा कसरी सदुपयोग गर्ने भन्ने कुरा अभिभावकले योजना बनाउनुपर्छ । नियमित स्कुल लागेका बेलाभन्दा छुट्टीका बेला बालबालिकालाई अभिभावकले बढी ख्याल गर्नुपर्ने हुन्छ । उनी भन्छिन्, हिजोआज बच्चालाई एक्लै घरमा छोड्ने वा छिमेकीको जिम्मा लगाएर आपूm अर्कातिर व्यस्त हुने जमाना छैन । यसो गर्दा बच्चा खुसी पनि हुँदैन र सुरक्षित पनि हुँदैन ।

बच्चालाई त अभिभावकले नै बिहानदेखि बेलुकासम्म पूरै रुटिन बनाएर चलाउनुपर्छ । पढ्न मात्र दबाब दिने होइन, सुत्ने, उठ्ने, खाने, खेल्ने, नयाँ ठाउँमा घुम्न जाने, आफन्तकहाँ लैजाने कुराको रुटिन बनाएर बच्चाको ख्याल गर्ने हो भने मात्र बच्चालाई खुसी राख्न पनि सकिन्छ र उनीहरूको समयको सदुपयोग पनि हुन्छ ।

बालबालिकाको चाडबाडसँगैको लामो बिदालाई सदुपयोग गर्न यी उपाय अपनाउन सकिन्छ-

१. बालबालिकालाई मन पर्ने कपडा, खेलौना किनिदिने
दसैंमा प्रायः सबैले नयाँ कपडा लगाउँछन् । घरका अरु सदस्यलाई नभए पनि बच्चालाई भने अवश्य नयाँ कपडा चाहिन्छ भन्ने कुरा सबै अभिभावकलाई जानकारी भएकै कुरा हो । उनीहरुलाई कपडा किनिदिँदा उनीहरुलाई मन पर्ने रङ, डिजाइन कस्तो हो भनी उनीहरुलाई सोधेर किनिदिन सकिन्छ । बालबालिकालाई लैजान सम्भव भएमा सँगै लगेर देखाएर उनीहरुकै रोजाइको डिजाइनको कपडा खेलौना किनिदिँदा बालबालिका अत्यधिक खुसी हुन्छन् । यदि बच्चाको रोजाइमा नभई अभिभावकले आफू एक्लै गई आफ्नै सुरमा बच्चालाई सोध्दा पनि नसोधी कपडा खेलौना आदि ल्याइदिने हो भने बालबालिकालाई मन नपर्न सक्छ, बेखुसी हुन्छन् ।

२. मन पर्ने परिकार बनाइदिने
दसैं मीठामीठा परिकार बनाउने खाने पर्व हो । बालबालिकाको सधैँ छुट्टी नहुने, दसैँका छुट्टीमा भने उनीहरू पनि सहभागी हुन सक्ने भएकाले सिक्न सक्ने उमेरका बालबालिका छन् भने खानाका परिकारहरू बनाउन उनीहरूलाई पनि सिकाउन पनि सकिन्छ र गर्न सक्ने छैनन् भने पनि राम्रोसँग हेरेर बस, यसको नाम यो हो, यसलाई यसरी बनाउनुपर्छ, यसमा यी–यी किसिमका सामान मिलाउनु पर्छ भनी नजिकै राखेर सिकाउन सकिन्छ । यसो गर्दा बालबालिका खुसी हुन्छन्, केही सिक्न पनि सक्छन् र  समय गएको पनि पत्तो पाउँदैनन् । परिकार बनाउँदा बालबालिकालाई मनपर्ने परिकार घरमै बनाएर ख्वाउन सकिन्छ । यसरी उनीहरुलाई मनपर्ने परिकार घरमै बनाएर ख्वाउँदा बाहिर बनेका परिकार खान मरिहत्ते गर्दैनन् ।

३. बालबालिकालाई समय दिने
दसैंमा घरको काम धेरै हुन्छ । समय मिलाएर घरको काम पनि गर्ने र बालबालिकालाई पनि समय दिनुपर्छ । बालबालिकाले गर्न सक्ने किसिमको काम छ भने उनीहरुलाई सिकाउँदै पनि गर्न सकिन्छ । उनीहरूलाई धेरैभन्दा धेरै समय दिएर आफ्ना परम्परागत धार्मिक सांस्कृतिक मान्यता र त्यससम्बन्धी सीप सिकाउने महत्वपूर्ण समयका रूपमा दसैं बिदालाई उपयोग गर्न सकिन्छ ।  

४. रमाइला सामग्री पढ्न दिने
बालबालिकाहरू सधैँ सधैँ पाठ्यपुस्तक पढ्दा दिक्क मान्ने भएका हुन्छन् । बिदाका बेला उनीहरूलाई समय सान्दर्भिक पाठ्यसामग्री जम्मा गरिदिने हो भने रुचिपूर्वक पढ्न सक्छन् । दिनमा १०/१५ मिनेट जति त्यसै चाडबाडसम्बन्धी रमाइला कथा, कविता र जानकारीमूलक सामग्रीहरू पढ्न दिँदा उनीहरूलाई चाडपर्वको महत्व पनि थाहा हुन्छ, बाहिरी किताब पढ्ने बानी पनि पर्छ ।

५. कथाहरू सुन्न र सुनाउन लगाउने
बालबालिकाहरू कथा भनेपछि हुरुक्कै हुन्छन् । अरू बेला समय दिन नसके पनि बिदाका बेला उनीहरूलाई मन पर्ने रमाइला कथा सुनाएर मनोरञ्जन दिन सकिन्छ । चाडपर्वसम्बन्धी आफूले सुनेका कथा–कहानी सुनाउने र उनीहरूले जानेका कुरा सुनाउन लगाउने गर्दा उनीहरुलाई पनि आफ्नो संस्कृतिको बारेमा थाहा हुन्छ भने अभिव्यक्ति क्षमताको विकास पनि हुन्छ ।   

६. घरका काम गर्न सिकाउने
सधैँ सधैँ लेख्ने पढ्ने गर्दा बालबालिका वाक्कदिक्क भएका हुन्छन् । लामो बिदाको समयमा उनीहरूलाई उमेरअनुसार सक्दो काम गर्न सिकाउन सकिन्छ । यसो गर्दा उनीहरूलाई रमाइलो पनि हुन्छ र धेरै किसिमका काम गर्न पनि सिक्छन् । साथै आफूलाई पनि सहयोग हुन्छ । सहरमा बस्ने बालबालिकालाई घर सफा राख्ने, कोठा सफा राख्ने, कपडा पट्याउने, स–साना कपडा, आफ्ना जुत्ता मोजा, रुमाल धुन लगाउने, घरमा आएका पाहुनाको स्वागत–सत्कार गर्ने जस्ता काम सिकाउन सकिन्छ भने गाउँघरमा लिपपोत गर्ने, घर सिँगार्ने, सरसफाइ गर्ने जस्ता काम सिकाउन सकिन्छ ।

७. करेसाबारीका काम सिकाउने
दसैं वर्षाको अन्तिम र हिउँदको सुरुमा पर्ने भएकाले यसबेला करेसाबारी भएका घरमा वर्षे बाली हटाएर हिउँदे तरकारीहरू लगाउने तयारी हुन्छ । सानैबाट सिकेको काममा ठूलो हुँदा पनि रुचि हुने भएकाले बच्चालाई उसले सक्ने खालका करेसाबारीका काममा लगाउनु बेस हुन्छ । सानो छ जान्दैन भनेर काम गर्न नदिने हो भने उसले सिक्ने मौका कहिल्यै पाउँदैन । त्यसैले बिदाका बेलामा घर वरिपरिको झार गोड्ने, करेसाबारी छ भने त्यहाँ गोडमेल गर्ने, सामान सार्ने, कुटो चलाउने जस्ता साना–साना काम बालबालिकालाई गर्न लगाउन सकिन्छ ।

करेसाबारीमा काम गर्दा उनीहरूले तरकारीका, फलफूलका बोटबिरुवा चिन्छन् । ती बिरुवाको उम्रने तरिका, फुल्ने र फल्ने तरिका, तिनको जीवनचक्र र तिनको उपयोगिताका बारेमा पनि जानकारी प्राप्त गर्छन् । कस्तो बिरुवामा कति पानी राख्ने, कति मल राख्ने, रोग र कीराहरू लागे भने के गर्ने भन्ने कुरा पनि सिकाउन सकिन्छ । यसो गर्दा कतिपय पाठ्यपुस्तकमा पढेका कुराको प्रयोगसमेत आपैmँले गरेर अनुभव गर्न पाउँछन् । यसो गरियो भने उनीहरुको बिदा रमाइलो पनि हुन्छ र विद्यालय खुलेपछि साथीहरूसँग मैले त यो यो काम गरेँ, मलाई अब यति काम गर्न आउँछ भनेर गर्व गर्छन् ।

८. साथीहरूसँग मिलेर खेल्न सिकाउने
चाडबाडका बिदामा बालबालिकाहरू छरछिमेकका उमेर मिल्दा साथीहरू जम्मा पारेर खेल्छन् । दसैैंमा खास गरी पिङ खेल्ने चलन देशै भरि छ । पिङ खेल्न बच्चाहरू निकै रमाइलो मान्छन् । उनीहरूलाई मन पर्ने यस्ता खेलका लागि अभिभावकले झन्झट मान्नुहुँदैन बरु त्यस्तो वातावरण मिलाइदिनुपर्छ । खेल्दा साथीहरूसँग मिलेर खेल्ने, पालो पर्खने, आपूmभन्दा सानालाई पनि मौका दिने जस्ता सामाजिकताका कुरा खेलबाटै सिक्न सकिन्छ । साथीहरूसँग मिलेर खेल्ने बानीले ठूलो हुँदा पनि सबैसँग मिलेर काम गर्न सकिन्छ । यसो गर्दा केटाकेटीहरू समूहमा मिलेर बस्न, खान, खेल्न सक्छन् ।

बालबालिकालाई भरसक खुला चौरमा फुटबल, भलिबल, डन्डीबियो, क्रिकेट, ब्याडमिन्टन, दौडजस्ता शारीरिक व्यायाम हुने खेल खेलाउनु राम्रो हुन्छ । शरीर क्रियाशील हुँदा शरीरका साथै मस्तिष्क पनि स्वस्थ हुन्छ । बालबालिकालाई जम्मा गरेर घरनजिकका चौर, खुला ठाउँ अथवा जेजस्तो खेल्ने ठाउँ उपलब्ध हुन्छ त्यसैमा लगेर यस्ता खेल खेलाउन सकिन्छ ।

साँझ–बिहान वा घरबाहिर जान नमिल्ने समयमा घरभित्रै खेलिने चेस, बाघचालजस्ता बौद्धिक खेल र गट्टा, क्यारेम, लुँडोजस्ता सीपमूलक खेलहरू खेल्न लगाई उनीहरूलाई व्यस्त राख्न सकिन्छ । काठमाडौंजस्ता सहरमा प्रायः बाहिर खुला ठाउँ कम्ती हुने भएकाले स्किपिङ, ब्याडमिन्टन, टेबलटेनिस, रिङ, लुकामारी, रुमाल लुकाइ, कपर्दीजस्ता सानो ठाउँमा पनि खेल्न सकिने खेल बढी उपयोगी हुन्छन् ।

९. आफन्तकहाँ लैजाने
दसैंको मुख्य विशेषता भनेकै आफन्तसँग भेटघाट गर्ने हो । टीका लगाए पनि नलगाए पनि छुट्टीका बेला बालबालिकालाई आफन्तकहाँ लैजानुपर्छ । यसो गर्दा पारिवारिक एवं सामाजिक वातावरणमा घुलमिल हुने अवसर मिल्छ । आजको जस्तो एकल परिवार र बसाइसराइले गर्दा आफन्तहरू टाढाटाढा छरिएको अवस्थामा नयाँ पुस्तालाई को आफन्त हो ? कससँग कस्तो शिष्टाचार गर्नुपर्छ भन्ने जानकारीसमेत नहुने अवस्था भइसकेको छ । त्यसैले धेरै दिन बिदा परेको बेला आफन्तकहाँ जाने, भेटघाट गर्ने गर्नुपर्छ । यसो गर्दा बालबालिकामा सामाजिकताको विकास पनि हुन्छ मनोरञ्जन पनि हुन्छ ।

१०. आफ्नै अफिसमा लैजाने
बिदामा कामकाजे अभिभावकले बालबालिकालाई कहिले काहीँ आफूले काम गर्ने अफिसमा पनि लैजान सकिन्छ । त्यहाँ उनीहरूले धेरै कुरा देखेर सिक्न पाउँछन् । आफ्नै बाबुआमाको कार्यालय, उद्योगधन्दा वा व्यापारिक प्रतिष्ठानमा जाँदा उनीहरू विनाहिचकिचाहट त्यहाँको व्यवस्थापन, काम गर्ने तरिका, अनुशासन, मर्यादा र शिष्टाचारका कुरा पनि सिक्न पाउँछन् । यसले बच्चामा सानैदेखि निर्भिकताको विकास हुन्छ ।

११. मेलाहरूमा लैजाने
दसैंका बेला प्रायः जस्तो ठाउँमा मेला लाग्छ र त्यहाँ बालबालिकालाई लक्षित गरी खेल्ने कुराहरू राखिएका हुन्छन् । मेला हेर्न र खेलहरू खेल्न बच्चाहरू पनि औधि रुचाउँछन् । बिदाको समयमा उनीहरूलाई यस्ता मनोरञ्जन स्थलमा लगेर घुमाउने र खेलाउने गर्दा उनीहरूको मानसिक विकास हुनुका साथै लामो समयसम्म फ्रेस भएर पढाइमा लाग्न सक्छन् ।

१२. घुमाउन लैजाने
नयाँ ठाउँको भ्रमणले मानसिकतालाई ताजा बनाउनुका साथै अनेकौँ किसिमका ज्ञान पनि प्राप्त हुन्छन् । अभिभावकको फुर्सद र क्षमताअनुसार स्वदेशदेखि विदेशसम्म घुम्न लायक ठाउँ प्रशस्त छन् । घुम्नका लागि टाढा नै जानुपर्छ भन्ने पनि छैन, हाम्रै परिवेशमा घुम्न लायक धेरै ठाउँ हुन्छन् । मन्दिर, गुम्बा, मस्जिदजस्ता धार्मिक स्थल, वन, बगैँचा, पोखरी, तलाउ, खोलानालाजस्ता प्राकृतिक स्थल, सङ्ग्रहालय, दरबार, पाटीपौवाजस्ता ऐतिहासिक स्थल, चिडियाखाना आदि ठाउँ घुम्न लायक हुन्छन् ।

नजिकका त्यस्ता ठाउँमा हामी आफू गइरहने भएकाले खासै महत्व दिँदैनौं तर बालबालिकाका लागि तिनै ठाउँ पनि महत्वका हुन्छन् । त्यस्ता ठाउँहरू घुमाउँदा बालबालिकाले अवलोकनबाट धेरै कुरा सिक्न पाउँछन् र रमाइलो पनि मान्छन् । कतिपय कुरा त उनीहरूका पाठ्यपुस्तकका पाठ्यवस्तु नै पनि हुन सक्छन् । किताब पढेरभन्दा यसरी अवलोकन गरेर उनीहरूले रमाउँदै धेरै कुरा सिक्न सक्छन् ।

वर्षभरिको एकोहोरो जीवनचर्याबाट मुक्त भएर मानसिक पुनर्ताजगी प्राप्त गर्नका लागि नै समाजले दसैँ तिहारजस्ता चाडपर्व बनाएको हो । यी चाडपर्वमा हाम्रा परम्परा, संस्कृति र इतिहास लुकेका छन् । बालबालिकालाई चाडपर्वमा बिदा दिनुको मतलब पनि यिनै परम्परा, संस्कृति र इतिहास बुझून् र समाजमा घुलमिल हुन सकून् भन्ने नै हो । बच्चाहरूको सामाजिकीकरणका लागि यो अत्यन्त आवश्यक पनि हो ।

सानै उमेरदेखि आफ्नो समाज, सामाजिक मान्यता, रीति–रिवाज, धर्म–संस्कृति, भूगोल र इतिहासलाई राम्ररी बुझेको व्यक्ति नै ठूलो भएपछि हरेक क्षेत्रमा दह्रो गरी प्रस्तुत हुन सक्छ । त्यसैले उपयुक्त समयमा हुने बालबालिकाको चाडपर्व सम्बन्धी लामो बिदालाई के–के गरेर उपयोग गर्दा उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुग्छ भन्ने कुरा ख्याल गरेर अभिभावकले योजना बनाउनुपर्छ र त्यसै अनुसार उनीहरूलाई मार्गदर्शन गर्नुपर्छ ।

 

प्रकाशित: २७ आश्विन २०७६ ११:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App