१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

बलात्कार, बलात्कार, बलात्कार

दुई हजार अड्चालीस सालमा मैले एउटा निबन्ध लेखेको थिएँ । त्यसको शीर्षक थियो, नारीभित्र त्यस्तो के छ हजूर । शनिश्चरे कृष्ण मिलको परिसरमा एउटी चौध वर्षकी बालिकाको बलात्कार गरी हत्या गरिएको थियो । घटनास्थलमा त्यो बालिकाको क्षतविक्षत लाश देखेपछि मैले एकै बसाइमा लेखेको थिएँ त्यो निबन्ध ।

पछि काठमाडौंबाट गोधूली पत्रिकामा प्रकाशित भएपछि त्यसलाई दाहाल यज्ञनिधिले रेडियो नेपाल साहित्य संसारबाट लगातार चारपल्ट प्रसारण गरेका थिए । त्रिपन्न सालमा प्रज्ञाप्रतिष्ठानबाट त्यही निबन्धको शीर्षकमा किताब नै निस्क्यो । अहिलेसम्म पाँचभन्दा बढी संस्करणमा प्रकाशित भइसकेको छ ।

बलात्कार शब्द सुन्दै घिन लाग्छ । त्यो शब्द आफैंमा अश्लील छ । हरेक शब्द आफैँमा चित्र पनि हो । हामी कुनै कुरा यदि सजिलैसँग बुझ्छौं भने त्यो शब्दबारे हामीलाई ज्ञान छ र त्यो ज्ञान हामीलाई दिमागमा बन्ने चित्रका कारणले हुन्छ । हरेक शब्दले दिमागमा चित्र बनाउँछ भने बलात्कार शब्दले हाम्रो दिमागमा बनाउने चित्र कस्तो हुन्छ ?

बलात्कारका घटना जस्तोसुकै कडा कानुनलाई पनि नटेरी हुने गर्छन् । त्यसो त बलात्कारका लागि त्यति कडा कानुन नै पनि कहाँ छ र ? बलात्कारका मुद्दा संसारभरि नै छन् । तर हरेक देशमा कानुन फरक–फरक छन् । केही वर्ष अघि भारतको चल्ती बसमा एक युवतीको बलात्कार भयो र केही दिन पछि उनको उपचारकै क्रममा निधन भयो । त्यो घटनाले देशभरि ठूलो विरोध प्रदर्शन भयो ।  विश्वभरिबाट सरकारलाई ठूल्ठूला दबाब आएपछि कारबाही गर्न र कानुन बनाउन आवश्यक बल मिल्यो ।

कानुन बन्नु र अपराधीले सजाय पाउनु नै चित्त बुझाउनुपर्ने कुरा होइन । अपराधीलाई दण्ड दिएकाले सरकार सफल भो भन्ने कुरा आउँदैन । कुनै पनि अपराध हुनै नपाउने अवस्थाको सिर्जना नगरेसम्म त्यो सरकारले जनताबाट अनुमोदन पाउने कुरै हुँदैन ।

सबैभन्दा लाज लाग्दो र आधुनिक युगकै कलंकका रुपमा रहेको अति प्राचीन अपराध भनेकै बलात्कार हो । मानव  इतिहासको सुदूर पूर्वमा पुग्यौं भने पनि त्यहाँ सबैभन्दा धेरै बलात्कारकै शृंखलाहरु छन् । हाम्रा पौराणिक कथा पढ्यौं भने सम्पूर्ण पृष्ठ महिलाकै अस्मितामाथि लतपतिएका छन् । पुरुषको कुनै पनि पुरुषार्थ जाँच्नु पर्दा उसँग जोडिन आएका वा ल्याइएका महिलाहरुकै शरीरसँग उसको सम्बन्ध प्रमुख आधार बन्दछ ।

संसारमा जति पनि युद्धहरु भए, ती सबैका पछि कुनै न कुनै महिलाकै अश्मिता प्रश्न भएर उभिएको हुन्छ । राजा महाराजाहरुले नारी र पशुलाई धनको रुपमा बुझ्ने गर्थे । संसारभरि नै कुनै राजा महाराजा वा सम्पन्न व्यक्तिले गरेको सुन्दर नारीहरुको संकलन एउटा बहादुरी र सम्पन्नताको बिम्ब बन्थ्यो ।

मलाई सम्झना आउँछ, युरोप भ्रमणका क्रममा जे–जति सालिकहरु देखिए, ती अधिकांश राजामहाराजाका बहादुरीपूर्ण इतिहासका बिम्बका रुपमा थिए । कि त लेखक, कवि, दार्शनिकहरु थिए । कतैकतै रानीहरु पनि देखिन्थे नगन्य मात्रामा । जब कला म्युजियममा पुगियो त्यहाँ अधिकांश चित्रहरु महिलाका नांगा आकृतिहरुले सजिएका थिए । तिनीहरुसँगै नारिएका पुरुषहरु पनि नांगा हुन्थे तर तिनीहरु महिलालाई मनोरञ्जनको रुपमा प्रयोग गरिरहेको अभिनयमा देखिन्थे ।

पेरिसको लुभ्र म्युजियमको ढोकामै केही सिंहमरमरका मूर्तिहरु छन् जहाँ दुवै हात काटिएका महिलाका नांगा आकृतिहरु उभिएका छन् । ती आकृतिसँगै नांगा पुरुषहरुका रमाउँदै उभिएका मूर्तिहरु पनि छन् । झट्ट हेर्दा लाज लाग्ने गरी देखिने ती मूर्तिहरुका अघि पुरुषहरु किसिम–किसिमका अभिनय गर्दै फोटो खिचेको दृश्यलाई नदेखेको जस्तो गर्दै महिलाहरु अघि बढिरहेका हुन्छन् । त्यहाँ पनि लाजको जिम्मा महिलालाई मात्र देखियो ।

जब भित्र पसियो भीड थुप्रिएको थियो पाँच सय वर्ष पुरानो शुभ्र, शान्त, र सादा पोसाक लगाएकी विश्व प्रसिद्ध क्यान्भास मोनालिसाको अघि । जब त्यहाँबाट अघि बढियो त्यसपछि त काम शास्त्रका ठेली भित्रै पसेजस्तो हुन्छ । जता पनि अत्यन्त आकर्षक ठूलाठूला भित्ते क्यानभासहरुमा महिलाकै स्तन र योनिको प्रदर्शन गरिएको छ । युद्धले आक्रान्त भएका चित्रहरुमा पनि पुरुषहरु सामान्य लगौंटीमा हुँदा महिलाहरुको शरीरमा एउटा धागोको डोरो पनि देखिँदैन ।

रोमान्टिक कालको युरोपियन कलाको त्यो विशेषतामाथि अनेकौं अध्ययन भएका होलान् । ती कलाले जतिसुकै मार्मिक भाव र त्रासदीको बिम्ब बोकेको भनिए पनि निर्वस्त्रता त्यो कालको  युरोपियन सभ्यता त थिएन नि । त्यति विकसित युरोपले कलाको नाममा महिलालाई किन त्यसरी नंग्याएको होला ?

पहिलोपल्ट जब म पशुपतिनाथ दक्षिणको उन्मत्त भैरवको अघि पुगें, म अलमल्ल भएर हेरेको हेरेकै भएँ । उन्मत्त भैरव भन्ने सुनेको थियो तर त्यस्तो मूर्ति होला भन्ने कल्पना गरेको थिएन । पछि जर्मन सहयोग नियोगको शहरी लेखन परियोजनाअन्तर्गत कृति लेखन कार्य गर्ने बेलामा मलाई काठमाडौंका मन्दिरका टुँडालहरुमा राखिएका रताशनका चित्रहरुले विषयको आकर्षण दिएका थिए । टुँडाल लेखनपछि नै जर्मन भ्रमणको यात्रामा जाँदा माथि उल्लेख गरिएका चित्रहरु देखिएका हुन् ।

मलाई अचम्म लागेको कुरा के हो भने मानव सभ्यताले यौनको सन्दर्भमा सबै भार महिलालाई नै किन बोकाउँछ र अश्लिलताको सबै जिम्मा उनले किन लिनु पर्ने ? संसारकै सबै पुराना सभ्यताहरुमा नारीलाई नै अश्मिता, मानसम्मान र इज्जतको बिम्ब मानिएको छ । अनि नारीलाई नै कतै नगरबधु, कतै रखैल, कतै यौन दासीका रुपमा समेत प्रयोग गरिएको पाइन्छ । त्यो परम्पराले आजसम्म पनि अनौपचारिक रुपमा निरन्तरता पाइरहेकै छ । कानुनले बर्जित गरेको भए पनि कतिपय अवस्थामा समाज र न्यायालय समेत मौन रहेको भेटिन्छ ।

घरेलु हिंसा त आमाहरुले युगौंदेखि सहँदै आएकै हुन् तर अत्याचारपूर्ण तरिकाले गरिने बलात्कारलाई चाहिँ कसरी र कति सहनु पर्ने ? इतिहास र पुराणको आलोचना गर्दै गरौंला तर आज हामी बाँचिरहेको युगमा दैनिक भइरहेका बलात्कार र हत्याहरुको जवाफ भने भविष्यलाई कसरी दिने ? मैले नारीभित्र त्यस्तो के छ हजुर निबन्धमा लेखेको रहेछ, म पुरुष भएकाले लज्जित छु । यो खबर भरे घरमा मैले कसरी सुनाउनु आमा, श्रीमती र बहिनीलाई ?.............।

आज त मलाई त्योभन्दा पनि झन् धेरै घिन लाग्छ किनकि आज सबैका हातहातमा मोबाइल छ र मैलेभन्दा अघि नै छोरी, बुहारी, श्रीमती र अरु महिलाले बलात्कारका घटना र समाचार सुनिसकेका हुन्छन् अनि भनिरहेका पनि हुन्छन्, लोग्ने मानिस भनेका सबै उस्तै हुन् । उनीहरुको त्यो साझा अभिमतलाई म कसरी हैन भनौं ? नभनौं भने के म पनि त्यस्तै पुरुष हुँ ? घरघरमा आफ्नै लोग्ने, बाबु, दाजु, भाइ, काका, मामा, हजुर बा, भिनाजु, ज्वाइँ शिक्षक, सुरक्षाकर्मी, पाहुना आदिबाट हुने यौन हिंसा र बलात्कारका समाचारहरुका कारण पुरुष भएर जन्मेकोमा त्यस्सै शिर ढल्छ ।

एक्काइसौं शताब्दीले विकास गरेको खुला बजारले हरेक विज्ञापनमा महिलाको शरीरको प्रयोग गर्छ । शहरमा जति ठूलाठूला सुविधासम्पन्न होटलहरु खुल्छन् ती सबै महिलाको यौन व्यापारका गौंडाहरु हुन्छन् । गरिबीको कारणले वा स्वइच्छाले गरिने यौन व्यापारबारे पनि फरक विमर्श हुन सक्छ तर हिँड्दाहिँड्दै, खाँदाखाँदै, हरेक एकान्त महिलाका लागि किन आतंक हुन्छ र हरेक पुरुष एकान्तमा एकाएक कसरी राक्षस हुने साहस गर्छ ?

हाम्रो देशमा हरेक दिन बलात्कार र त्यसपछि हत्याका समाचारहरु आँखा र कानलाई निराश बनाउने गरी आइरहन्छन् । हाम्रो देशले विभिन्न कालमा विश्वलाई चकित पार्ने धेरै थोक गर्‍यो होला । त्यही धेरै थोकमा पछिल्लो कालमा शृंखलाबद्ध बलात्कार र हत्याका घटना पनि रेकर्डेड भइरहेका छन् ।

यही सन्दर्भमा गत वर्ष साउन दस गते कञ्चनपुरको भीमदत्त नपाकी तेह्र वर्षीया निर्मला पन्तको बलात्कार अर्को विश्व थर्काउने घटना भयो । जसको आजसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन । अपराधी पत्ता लगाउने क्रममा प्रहरीले गरेको लापरबाहीले सरकारकै पनि अत्यन्तै आलोचना हुन पुग्यो । यस्तै बलात्कार चालीसको दशकमा पोखरामा दुई युवतीहरु नमिता र सुनिताको भएको थियो र हत्या पनि ।

त्यस काण्डको पनि आजसम्म अपराधी पत्ता लाग्न सकेको छैन । निर्मला बलात्कार काण्ड अघि पनि र पछि पनि लगातार बलात्कार र हत्या भइरहेकै छन् । सरकार अपराधी समात्न सकेकोमा खुसी छ तर घरघरमा छोरीहरु दिनदिनै आतंकित र त्रसित छन् ।

पछिल्लोकालमा देशमा हुने अधिकांश बलात्कारहरु हत्यामा पुगेर मात्र रोकिने गरेका छन् । बलात्कारी तथा हत्यारा पक्राउ पर्नु ठूलो कुरा होइन, बरु तिनीहरुको मनमा कानुनी डर उत्पन्न गरी अपराधबाट भाग्ने वातावरण बनाउनु जरुरी छ । बलात्कार एउटा अक्षम्य अपराध हो । यसका लागि हदैसम्मको दण्डनीय कानुन बनिनु जरुरी छ ।

खासमा महिलामाथि हुने बलात्कारहरु असहाय, कमजोर, नाबालक, वृद्ध, एकल महिला, फरक शारीरिक अवस्था भएका मात्र होइन सक्षम, बौद्धिक, क्षमतावानहरु पनि पर्ने गरेको पाइन्छ । बलात्कारीहरु पनि बुढा, विदुर, फरक शारीरिक अवस्था भएका, नशालु पदार्थ सेवन कर्ता, यौन रोगी, मानसिक अवस्था विकृत भएकाहरु मात्र होइन सभ्य, सुसंस्कृत, सम्पन्न, इतिहासधारी, बौद्धिक, उच्च स्टाटस भएकाहरु पनि उत्तिकै भेटिएका छन् ।

धेरै जसो बलात्कारीहरुमा बाजे, बाबु, दाजु, भाइहरु जो घरभित्रै हुन्छन् र जसलाई विश्वास गरिएको हुन्छ । परिवारका नजिकका नातेदारहरु जस्तै मामा, काका, बडा बा र तिनका छोराहरु । टाढाका नातेदार पुरुषहरु, परिवारसँग नजिकको परिचय राख्नेहरु, छिमेकीहरु, जागिरसँग जोडिएका स्टाफहरु, केटो साथी जोसँग विवाह गर्न निधो गरिएको हुन्छ, विनाविवाह सँगै बस्ने कोठा साथी, छुट्टिएर अलग बसेको वा पूर्व पतिहरु, सुरक्षाकर्मी आदि बलात्कारका सम्भाव्य व्यक्तिहरु हुन्छन् ।

आफ्नै वरिपरि रहेका यति धेरै अपराधी मानसिकता भएका पुरुषहरुबाट जोगिँदै बाँच्न कति कठिन होला एउटी महिलालाई जो पूर्ण महिला पनि भइसकेकी हुन्न । सबैभन्दा बढी त एघार वर्षदेखि सत्र वर्षसम्मका नानीहरु बलात्कारका शिकार भएका पाइन्छन् ।

हामीले अमेरिकाको बलात्कारको रेकर्ड हेर्‍यौें भने सन् १९९३ मा १०६०१० देखिन्छ भने घट्दै गएर पनि २०१७ मा आइपुग्दा ९९८६५ जना महिला बलात्कृत भएका देखिन्छन् । संसारको सबैभन्दा सुरक्षित मानिएको कानुनी राज्यका रुपमा चिनिएको देशमा पनि महिलाको अवस्था यस्तो छ । भारतमा २००४ देखि २०१० सम्मको रेकर्ड हेर्दा २००४ मा १८२३३ देखिँदा २०१० मा २२१७२ जना बलात्कृत भएका छन् । भारतमा प्रतिदिन सरदर ९२ जना महिला बलात्कृत हुन्छन् भन्ने तथ्यांकले बताएको छ । २०१३ मा मात्र भारतमा ३३७०७ जना बलात्कृत भएका मध्य १५५६७ जना १८ देखि ३० वर्ष उमेर समूहका थिए ।

नेपालमा सन् २०१८ को साउनदेखि असोजसम्म ९३ दिनमा ६०१ वटा बलात्कारका घटना भएका थिए । यसबीचमा सरदर दिनको ६ वटा बलात्कार भएको छ । साउन र भदौमा मात्र बलात्कार पछि ६ जनाको हत्या भएको थियो । त्यो वर्ष भरिमा १४८९ जनाको बलात्कार भएको थियो भने ७२७ जनामाथि बलात्कारको प्रयास भएको थियो । यसरी बलात्कृत हुनेहरुमा सबैभन्दा बढी ११ देखि १६ वर्षभित्रका बालिकाहरु थिए ।

संसारमा सबैभन्दा धेरै बलात्कार हुने देशहरुमा अमेरिका, दक्षिण अफ्रिका, स्वीडेन, भारत, बेलायत, फ्रान्स, क्यानडा, श्रीलंका र इथियोपिया मानिन्छन् ।

बलात्कारको तथ्यांक बढेको वा घटेको देखेर विश्लेषणमा रमाउने भन्दा पनि यी घटना हुन नदिनका लागि सरकार, समाज, गैर सरकारी संस्थाहरु, शिक्षालय, पाठ्य सामग्री आदिको भूमिका सशक्त हुनु जरुरी छ ।  बलात्कार प्राचीन युगदेखिको अपराधको निरन्तर शैली होला तर त्यसलाई आजसम्म पनि हामीले बचाइ राख्ने हो ? आफ्नै घरभित्र सुरक्षित नभएकी छोरी कहाँ सुरक्षित होली ।

यी सबै समस्याहरुसँग जोडिएका कारणहरु छन् गरिबी, बेरोजगारी, नशालु पदार्थको प्रचूर उपलब्धता र सेवन, अश्लील साहित्य र चलचित्र, अनुशासनहीन तरिकाले गरिने सामाजिक सञ्जालको प्रयोग, पुरुषमा उत्तेजना जाग्न प्रेरित गर्ने पोशाक, फेसन तथा अंग प्रदर्शन, नैतिक शिक्षाको अनुपस्थिति, मदिरा आदिको सहज उपलब्धता, पुरुषमाथिको अन्धविश्वास र यस्ता अरु पनि अनेकोैं कारणहरु हुन सक्छन् जसले यस खाले अपराधलाई दिन प्रतिदिन गोडमेल गरेर हुर्काइरहेको छ ।

यी सबै कुराको व्यवस्थापनको एक सूत्रीय जिम्मा सरकारमाथि नै जान्छ । सरकार त्यो हो जसले कानुन बनाउन, लागू गर्न र दण्डित गर्ने अधिकार बोकेको हुन्छ । सरकारले हुन्न, सकिँदैन आदि भन्ने कुरा गर्नै पाउँदैन । सरकारको पहिलो दायित्व जनताको जीउधनको सुरक्षा गर्नु हो । त्यसपछि विकास निर्माण र अन्य कुराहरु । हाम्रो सरकार यस्ता अपराधहरुको नियन्त्रण गर्न कति सफल छ भन्ने कुरा निर्मला बलात्कारका अपराधी समात्न नसक्नुबाटै नापिने गरेको छ ।

गत साउन ७ गते देशका गृहमन्त्री रामबहादुर थापा बादलको एक अभिव्यक्ति आयो जुन धेरै नै आलोचित भयो र त्यो हुनु उचित नै थियो । उनले भनेका थिए  निर्मला पन्तको प्रकरणको कुरा पनि एक वर्षदेखि निरन्तर रुपमा कुदिरहेको छ । निर्मला पन्तको बलात्कार र हत्या जघन्य अपराध थियो । यस किसिमका अपराधहरु कुनै नयाँ र पहिलो होइनन् ।

यस्ता निर्मला प्रकरणका घटनाहरु योभन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ । यस किसिमका अपराधलाई हामी पूर्णरुपमा निषेध गर्न सक्दैनौं । यस्ता अपराधलाई जसरी राजनीतिकरण गरिएको छ यो दुःखद् कुरा हो । हरेक पटक यो कुरा सदनमा उठ्छ ।

देशको गृहमन्त्रीको मुखबाट सार्वजनिक रुपमा आएको यो वक्तव्यले तमाम जनतामा निराशा उत्पन्न गरेको छ । जनताको मनबाट सरकारमाथिको भरोसा उठेको छ । अपराधीलाई समात्नु मात्र सरकारको दायित्व हैन , अपराध हुनै नदिनु र भएको अपराधको दोषीमाथि कुनै सहानुभूति नराखी कारबाही गर्न सक्नु प्रमुख कुरा हो ।

हामीले कसरी बनायौं आफ्नै आमा, दिदी, बहिनी, छोरी, श्रीमतीहरुलाई नै सुरक्षा दिन नसक्ने परिवार, समाज र राष्ट्र ? कसरी बनायौं आदर्श र उपदेशका ठेलीहरुसँगै महिलालाई मात्र असुरक्षित हुने यो सभ्यता ?

 

 

प्रकाशित: ३० भाद्र २०७६ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App