३० असार २०७७ मंगलबार
अन्य

अनि ऊ बौलायो

अनि ऊ बौलायो । मानिस बौलाउने कारण एउटै हुन्छ । बाँच्न पनि नसक्ने र मर्न पनि नसक्ने अवस्थामा पुगेपछि मानिससँग एउटै मात्र विकल्प बाँकी रहन्छ – बौलाउनु । त्यसैले हाम्रो समाजमा ‘मर्नुभन्दा बौलाउनु जाती’ भन्ने गरिएको हो । यही जाती हुने भएर नै होला ऊ बौलायो ।

ऊ अचानक बौलाएको होइन, र कोही पनि अचानक बौलाउँदैन सायद । बौलाउन पनि एउटा लामो प्रक्रिया पूरा गर्नुपर्छ । एक पछि अर्को घटनाको शृंखलाको चोटले उसलाई बौलाउन बाध्य पारेको हो भन्ने मेरो ठम्याइ छ ।

पहिलो घटना यस्तो थियो – उसकी हिस्सी परेकी स्वास्नी जागिर खान्छे । उसलाई लाग्छ उसकी स्वास्नीले आफ्नो योग्यताको भन्दा पनि हिस्सी परेको अनुहार र बान्की परेको जिउडालकै भरमा जागिर खाइरहेकी छ । यति सोचाइ दिमागमा आउनु नै उसलाई भट्टीसम्म पुर्‍याउन काफी हुन्छ । भट्टीबाट जसोतसो घर पुग्दा उसकी स्वास्नीले उसलाई घरमा पालेको कुकुरलाई जति पनि वास्ता गर्दिने ।

एउटा शनिबारको कुरा हो, उसकी स्वास्नी आज अफिसको पिकनिक छ भनेर बिहानै घरबाट निस्की सिंगारपटार गरेर । दिउँसो ऊ टोल बजारतिर निस्कँदा उसकी स्वास्नीकै अफिसमा काम गर्ने छिमेकीसँग भेट भयो र सोध्यो –
‘तपाई त पिकनिक जानु भएन छ त ?’
त्यो छिमेकी छक्क पर्दै सोध्यो– ‘कहाँको पिकनिक गोविन्द दाइ ? ’
‘तपाईंहरुको अफिसको पिकनिक छ हैन र आज ? बबिता त बिहानै गईन् त ।’  
छिमेकीले मुसुमुसु हाँस्दै जवाफ दियो – ‘ए उसो भए हाकिम साव र बबिता भाउजूको मात्र पिकनिक होला, अफिसको त पिकनिक छैन ।’

यो सुनेर चियापसलको बाहिर बेन्चमा बसेर चिया, चुरोट खाइरहेका केटाहरु गललल हाँसे । ऊ भने मरे तुल्य भयो र त्यहाँ टिक्न नसकी केही नबोली फटाफट अघि बढ्यो । राति उसकी स्वास्नीलाई घर पुर्‍याउन हाकिम आफैँ गाडी चलाएर आएको उसले देखेको थियो ।

स्वास्नी घरभित्र पसेपछि महाभारत सुरु भइहाल्यो । स्वास्नीले सुरुमा त अफिसकै पिकनिक गएको भनेर अड्डी लिन छोडिनन् । तर जब उसले दिउँसो भेटेको छिमेकीको हवाला दियो त्यसपछि स्वास्नीको मुख बन्द भयो । स्वास्नीको मुख बन्द भएपछि उसको हात चल्न थाल्यो । अन्त्यमा ऊ रक्सी पिएर सुत्यो, स्वास्नी रुँदारुँदै निदाई । भोलिपल्ट आफ्नो निधारमा ठूलै टुटुल्को उठेको देखेपछि स्वास्नी अफिस गइन् । यस्ता घटना बारम्बार दोहोरिए । अन्ततः उसकी स्वास्नीले सम्बन्ध बिच्छेदको मुद्दा हाली, अनि उसले सहजै स्वास्नीलाई मुक्ति दियो र आफू पनि मुक्त भयो । मुक्ति पाएको खुसियालीमा उसले खुव पियो, खानुभन्दा पिउनु बढी पर्‍यो ।

पूर्व स्वास्नी कहाँ गई, के गरी उसले कुनै चासो राखेन । अब ऊ नितान्त एक्लो भयो । यसै मौकाको फाइदा उठाई उसको दाजुले उसलाई मुद्दा हाल्यो, ऊ बसिरहेको घरजग्गा दाबी गरेर । वास्तवमा त्यो घर उसको बाजेको पालाको थियो र बाबुको पालामा अंशवण्डा गर्दा उसको भागमा परेको थियो, दाजुको भागमा अलिपरको अर्को घर परेको थियो । स्वास्नीले छोडेर गएपछि ऊ प्रायः रक्सीमै डुबेर बसिरहेको हुन्थ्यो । दाजुले दिएको मुद्दासँग भिड्ने कुनै सुझबुझ उसलाई थिएन ।

एउटा निकै चतुर कहलिएको वकिललाई सबै जिम्मा लगाएको थियो उसले । तर कतिखेर त्यो वकिल त दाजुको प्यारो भइसकेछ उसले पत्तै पाएन । अन्ततः एक दिन अदालतबाट ३५ दिनभित्र घर खाली गरिदिनु भन्ने सूचना आएपछि ऊ छक्क पर्‍यो । उसले आफ्नो वकिलको खोजी गरी बल्लबल्ल फेला पर्‍यो । वकिलले उसलाई सल्लाह दियो ‘अहिले घर खालि गरिदिनुस्, तपाइ एक्लो मान्छे कतै डेरा गरेर बसे भै हाल्यो, नआत्तिनुस बिस्तारै माथिल्लो अदालतमा पुनरावेदन गरौंला नि ।’

वकिलको सल्लाहअनुसार उसले घर छोडिदियो र टोलकै एउटा कच्ची घरको एउटा सानो कोठामा आफ्नो ओछ्यान लगायो । आफूले घर छोडेको भोलिपल्ट साँझ त्यही घरमा निकै चहलपहल भइरहेको उसले देख्यो । आफ्नो  घरमा भोज चलिरहेको तर आफूलाई कुनै पत्तो नभएको देखेर ऊ जिल्ल पर्‍यो । त्यति मात्र होइन, बाटोमा उभिएर त्यो घरमा भइरहेको भोजको चहल–पहल हेरिरहँदा माथि कौसीमा आफ्नो दाजु र आफ्नै वकिल रक्सीको गिलास जुधाउँदै ठूलो स्वरले हाँसिरहेको दृश्य उसले पचाउनै सकेन ।  त्यसपछि ऊ रन्थनिएर सधैं जाने गरेको  भट्टीकै शरण पर्न गयो । भट्टीबाट निस्कँदा ऊ होसमा थिएन तर पूरा जोशमा थियो । ऊ भोज चलिरहेको त्यही आफ्नो घर अगाडि आयो र जथाभावी गाली गर्दै बाटोको ढुंगा टिप्दै भोज चलिरहेको ठाउँ तिर हान्न थाल्यो । एकछिनमै प्रहरी भ्यान आयो र उसलाई च्याकुलभ्याईं पार्दै भ्यानमा हाली लगे ।

भोलिपल्ट बिहान आँखा खुल्दा प्रहरी चौकीको खोरमा गुडुल्की  परेर सुतिरहेको अवस्थामा उसले आफूलाई पायो । एकछिन पछि प्रहरीहरुले ऊसँग खोधपुछ गरे । तर उसले हरेक प्रश्नको प्रायः एउटै उत्तर दियो ‘थाहा छैन’ । प्रहरीहरु उसको मानसिक अवस्था ठिक नभएको निष्कर्षमा पुगे र कुनै थप कारबाही नगरी उसलाई अब त्यसो नगर्नु, गर्‍यो भने जेल जानु पर्छ भन्ने चेतावनी दिएर छोडिदिए ।

प्रहरी चौकीबाट डेराको कोठामा फर्किएपछि उसलाई ज्यादै नरमाइलो लाग्यो । किनकि उसको परिवारमा यसरी प्रहरीको खोरमा रातभर थुनिएर आउने अरु कोही थिएन अहिलेसम्म । उसलाई आफ्ना बाबु, बाजे र पूरै परिवारको इज्जत आफूले फालिदिएको जस्तो हीनताबोध हुन थाल्यो र ओछ्यानमा पल्टिएर उसले आफ्नो विगत कोट्याउन थाल्यो । सम्झियो– जागिर  त मैले पनि खाएको थिएँ, तर जागिरले नै मलाई खाईदियो र यो अवस्थामा पुराइदियो ।
ऊ केहीवर्ष अघिसम्म बैंकको कर्मचारी थियो । कर्जा विभागमा भर्खरभर्खर सरुवा भएको थियो । शाखा अधिकृतको निर्देशन र सल्लाहअनुसार नै उसले सबै काम गर्ने गरेको थियो ।

केही समयपछि कर्जा कारोबारबारे बैंकमा काण्ड प¥यो । त्यसको गम्भीर छानबिन भयो । परिणाम स्वरूप उसको जागिर चट् भयो, उसको हाकिम अधिकृतको भने प्रमोसन भयो । त्यसपछि उसले कहिल्यै जागिर खाने आँट गरेन । अहिले ऊ सम्झन्छ यदि हाकिमले दिएको धोकाको कारण त्यसरी जागिर गुमाउनु नपरेको भए अहिले यो अवस्थामा अवश्य पुग्ने थिइनँ । स्वास्नी धेरै हिस्सी नभई दिएको भए पनि अहिले यसरी एक्लिनु पर्ने थिएन ।

केही दिनपछि बाटोमा उसको दाजु र त्यही वकिल सँगै गफ गर्दै हिँडिरहेको उसले देख्यो । उसलाई तत्कालै के जोश चल्यो कुन्नी सडकको छेउमा फेला पारेको फलामको डण्डी लिएर दुवैजना माथि जाई लाग्यो । तीनजनाको बीचमा एकछिन घम्साघम्सी पर्‍यो । वकिल तत्कालै भाग्यो, दाजु भने टाउकोमा डण्डीले लागेको चोटबाट रगत बगाउँदै नजिकैको औषधि पसलभित्र पस्यो ।

‘ऊ सडकमै बसेर भाइमारा, कुकुर तँलाई एक दिन नमारी छोड्दिन, तेरो दलाल वकिललाई पनि बाँकी राख्दिन’ भन्दै कराउँदै थियो । एकछिनमै प्रहरी भ्यान आयो र उसलाई हालेर लग्यो । प्रहरी चौकीको हाकिमले केही दिन अघि मात्र आफूले रातभर थुनेर छोडेको बहुला जड्याहालाई फेरि ल्याएको देखेर भ्यानमा ल्याउने प्रहरीलाई आदेश दियो–‘ए यसलाई फेरि ल्याइस्, यसलाई यहाँ होइन मानसिक अस्पतालमा लगिदे, यो त्यहीँ लानुपर्ने केस हो ।’ उसलाई तत्कालै मानसिक अस्पतालमा लगियो । त्यहाँ केही दिन अरु मानसिक रोगीहरुसँग बिताए पछि ऊ पनि बौलायो ।

 

 

 

 

प्रकाशित: ३० भाद्र २०७६ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App