१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

कुशे औंसीमा ‘बा’ कार्यक्रम

‘जब मेरा बा धेरै जान्नुहुन्छ भन्ने बुझ्न थालेँ तब मेरा छोराछोरीले मेरा बा केही जान्दैनन् भन्ने बुझ्न थालिसकेछन्।’ जब बुबाले केही दिनुहुन्छ, तब छोरो बुबासँगै खुसीले प्रफुल्ल हुन्छ। जब छोरोले बुबालाई केही दिन्छ, तब बुबाको आँखासँगै छोरोको आँखा रसाउँछ। साच्चै बुबा आदर्शको खानी हुन्। आमा धर्ती हुन् भने बुबा आकाश हो। बुबा नभत्किने घर हो, कहिल्यै नभेटिने थर हो। यही भनाइलाई आत्मसात् गर्दै भदौ १३ गते कुशे औँसीको दिन भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको हलमा ‘बा’ कार्यक्रम सम्पन्न भएको छ।

सिस्नुपानी नेपालद्वारा आयोजित ‘बा’ कार्यक्रममा बुबाले छोराछोरीप्रति गर्ने माया, सद्भाव, त्याग र बलिदान साथै छोराछोरीले आफ्नो बुबाप्रति निभाउनुपर्ने भूमिका, बुबाहरूप्रति गर्नुपर्ने सम्मान र पूरा गर्नुपर्ने कर्तव्यबारे कलाकार तथा कविहरूले गीत र कविताको माध्यमबाट प्रस्तुत गरेका थिए।
सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनालद्वारा लेखिएको गीतलाई स्वरूपराज आचार्यले प्रस्तुत गरेका थिए। उनको गीतमा लेखिएको थियो–

आँखाभरी आँसु, मनभरी पीडा
आफूहारी सन्तानलाई जिताउने बाबा
जति दुःख परे पनि मनमै लुकाउने
 सन्ततीको खुसीसँगै आफैं रमाउने
बाबा ! मेरो बाबा
आमा ! मेरी आमा

गायिका आनी छोइङ डोल्माले आफ्नो गीतमार्फत् जन्मदिने बुबा भन्दा पनि आफ्नो जीवनलाई सार्थक तुल्याइदिने गुरुबुबाको गुणगान र उहाँप्रतिको मायालाई प्रस्तुत गरेकी थिइन्। साथै मित्रलाल पंज्ञानी, डा. रामप्रसाद ज्ञवाली, लक्ष्मण गाम्नागे, डा. विप्लव ढकाल, विप्लव प्रतिक र सत्यराज आचार्यले गीत र कविताको माध्यमबाट बाप्रति श्रद्धासुमन अर्पण गरेका थिए।

कवि हेम प्रभासले ‘मेरा बा किसान हुन्’ शीर्षकको कविता प्रस्तुत गरेका थिए। उनले आफ्नो बाले जीवनमा गरेको संघर्ष, बाले जीवनभर ढुङ्गा, माटो र हिलोसँग बिताएका दिन र अहिलेको आधुनिक जीवनशैलीलाई आफ्नो कवितामा समेटेका थिए। उनको कविता यस्तो थियो–

यो संसारलाई अक्षरमा कैद गर्छु भन्ने अनगिन्ती अखबारहरु छन्
दृश्यहरूमा समेट्छु भन्ने टेलिभिजन च्यानलहरू पनि छन्
तर, ती अखबारहरुको पानाहरूमा
ती टेलिभिजनका स्क्रिनहरूमा मैले कहिल्यै देखेको छैन
मेरा बाको नाम, उनले हलो जोत्दै गरेको फोटो

कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए।
कार्यक्रम प्रमुख व्यक्तित्वका रुपमा उपस्थित सम्पूर्णले जन्मदिने बुबाको त्याग र बलिदानको कदर र सम्मान साथै माया,ममता र स्नेह हुनुपर्ने बताएका थिए।

प्रकाशित: १४ भाद्र २०७६ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App