२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्य

टोर्नाडो पीडितको नाममा असुली

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीलाई चेक हस्तान्तरण गर्दै मुख्यमन्त्री लालबाबु राउत। तस्बिरः नागरिक

धनुषा– सेवाको नाममा स्वास्थ्य संस्थाहरूले गोरख धन्दा गरेको पाइएको छ। चैत १७ गते बारा पर्सामा आएको हावाहुरी (टोर्नाडो) मा परी घाइतेहरूको निःशुल्क उपचार गर्ने भनेका वीरगञ्जका स्वास्थ्य संस्थाहरूले उपचार खर्चवापत प्रदेश सरकारबाट ३१ लाख ३८ हजार २ सय ८४ रुपैयाँ भुक्तानी लिएको पाइएको हो।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले हावाहुरीबाट घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने घोषणा गरे पनि २ सय ३२ जना घाइतेको उपचार गरेको भन्दै प्रदेश सरकारबाट सम्पूर्ण रकम लिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली घाइतेहरूको निरीक्षण गर्न अस्पताल पुगेको बेला कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले सञ्चारकर्मीसमक्ष निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए। तर अस्पतालका निर्देशक आविद हुसेनले निःशुल्क उपचार गर्ने बारे आफूलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै संघ संस्थालाई उपचार खर्च दिने भन्दै आह्वान गरेकाले आफूले रकम लिएको प्रतिक्रिया दिए।

अस्पतालले हावाहुरी आएको बेलामा विभिन्न ठाउँमा निःशुल्क उपचार र खानाको व्यवस्था गरेको भन्दै पर्चासमेत टाँसेका थिए। तर अहिले आफैंले गरेको घोषणाविपरीत रकम लिएका छन्। यसैगरी वीरगञ्ज हेल्थ केयर हस्पिटलले समेत निःशुल्क उपचारको नाममा १० लाखको भुक्तानी लिएको छ। हेल्थ केयरका चेयरम्यान डा. अब्दुल हैसले चेक बुझेका हुन्। दुवै अस्पताललाई मुख्यमन्त्री लालबाबु राउतले बुधबार चेक हस्तान्तरण गरेका हुन्।

प्रकाशित: २३ श्रावण २०७६ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App