६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

पौवादुम्मामा मीरा राई अन्तर्राष्ट्रिय रंगशाला

भोजपुर– पौवादुम्मा गाउँपालिका भोजपुरले अल्ट्राधावक मीरा राईको सम्मान गर्दै अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने भएको छ। निकै महत्त्वकांक्षी परियोजनाको रुपमा गाउँपालिकाले रंगशालाको काम थालेको हो। यसका लागि गाउँपालिकाले २६ रोपनी क्षेत्रफलमा रंगशालाको काम अघि बढाएको छ। गाउँपालिकाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त रंगशाला बनाउनका लागि आवश्यक डिपिआरसमेत बनाइसकेको जनाएको छ। विश्वविजेता अल्ट्राधावक मीरा राईको सम्मानार्थ मीरा राई अन्तर्राष्ट्रिय रंगशाला नामकरण गरिएको पौवादुम्मा गाउँपालिका अध्यक्ष किरण राईले बताए।

सम्पूर्ण सुविधासहितको रंगशाला बन्न करिब ५६ करोड खर्च हुने विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आएको अध्यक्ष राईले बताए। हालसम्म २ करोडभन्दा बढी रकम खर्च भइसकेको छ। रंगशालाको काम अगाडि बढिसकेको छ। विश्वविजेता अल्ट्राधावक मीरा राईको सम्मानार्थ निर्माणाधीन उक्त रंगशालाको कामले गति लिएको गाउँपालिकाले जनाएको छ।

पौवादुम्माकै सानोदुम्मामा जन्मेकी अल्ट्राधावक मीरा राईको सम्मानार्थ रंगशाला निर्माणको कार्य पूरा गरिने भएको हो। नेपाललाई विश्वमाझ चिनाएकी मीरा राईको योगदानको कदर गर्दै उनको सम्मानार्थ रंगशालाको निर्माण काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। उनका अनुसार प्रदेश सरकार, गाउँपालिका र विभिन्न दातृ निकायको सहयोगबाट उक्त रंगशालाको निर्माण काम धमाधम भइरहेको जनाइएको छ।

निर्माणाधीन रंगशाला अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को मापदण्डअनुसारकै ९० मिटर लम्बाइ र ४५ मिटरको चौडाइ रहने गाउँपालिकाले जनाएको छ। रंगशालाको कटिङ, फिलिङ र वालिङको काम सम्पन्न भएको छ। जसका लागि गाउँपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को क्रमागत योजनाअन्तर्गत विनियोजित ५५ लाख बजेटले र प्रदेश सरकारको १ करोड ३५ लाख गरी करिब २ करोड बराबरको लागत लागिसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको मात्र बजेटले तत्काल निर्माण सम्पन्न गर्न नसकिए पनि प्रदेश सरकार, संघीय सरकार र दातृ निकायको सहयोगमा निर्माण सम्पन्न गरिने राईको भनाइ छ।

करिब ४ वर्षको समयावधिमा बनिसक्ने रंगशालामा १२ हजारदेखि १४ हजार भिआइपी पाहुनासहितको प्यारापिट बन्ने खाका तयार पारिएको छ। गाउँपालिकाको अगुवाइमा स्थानीय उपभोक्ता समितिबाट निर्माण काम भइरहेको छ। निर्माणाधीन रंगशालाले पूर्णता पाएपछि सिंगो गाउँपालिकाकै आर्थिक उन्नति र खेलकुदको क्षेत्रमा राम्रो फड्को मार्ने सम्भावना रहेको स्थानीय युवा ज्ञानेन्द्र राईले बताए। फुर्सदिला बनेका गाउँका मानिसलाई रंगशालाको कामले व्यस्त बनाएपछि स्वरोजगार पनि थपेको स्थानीय मोहन दुलालले बताए। ‘रंगशालाको कामले आफ्नो गाउँको इज्जत पनि बढ्ने, रोजगार पनि मिल्नेछ’, उनले भने, ‘फुर्सदिला समयलाई यो कामले समयको पनि बचत हुने भयो, पैसा कमाइने बाटो पनि भयो।’

रंगशालाको निर्माण कामले विशेषगरी गाउँपालिकाभित्रका मानिसहरूलाई स्वरोजगार बनाउने र रंगशाला बनिसकेपछि बाह्य तथा आन्तरिक पर्यटन भिœयाउन सकिने गाउँपालिका अध्यक्ष राईले जिकिर गरे। भने, ‘रंगशालाको कामले यहाँका जनताले काम पनि पाउने भए, केही आयमूलक पनि बन्ने भए। त्यसमाथि रंगशाला बनिसकेपछि देशविदेशका खेलाडी, अन्य पर्यटकहरूको आगमनले पर्यटन व्यवसाय पनि भित्र्याउन सकियो। जसले गर्दा यहाँ आर्थिक उन्नति पनि हुने सम्भावना देखिन्छ।’

रंगशाला बनाउनुको मुख्य उद्देश्य नै खेलकुदका लागि जिल्लाबाट बाहिरिने युवा प्रतिभालाई पलायन हुनबाट रोक्नु रहेको गाउँपालिका अध्यक्ष राईले बताए। उनले आफ्नै उर्वरभूमिमा दक्ष, प्रतिभावान्, स्वस्थ खेलाडी उत्पादन गर्नका लागि पनि रंगशालाको निर्माण भइरहेको बताए। विशेषगरी कुलत र दुव्र्यसनीमा फस्ने युवापिँढीलाई खेलकुदबाटै स्वस्थ र कुशल खेलाडीको रुपमा उत्पादन गर्ने रंगशाला बनाउनुको मुख्य उद्देश्य रहेको अध्यक्ष राईले बताए। रंगशालामा विशेषगरी फुटबल, म्याराथन, एथलेटिक्स, भलिबल खेलका लागि बनाइएको गाउँपालिकाले जनाएको छ।

को हुन् मीरा राई?
भोजपुरको पौवादुम्मा गाउँपालिका–६ सानोदुम्माकी मीरा राई नेपाली म्याराथन खेलाडी हुन्। पूर्वमाओवादीमा रहेर जनसेनामा समेत काम गरेकी मीरा फ्रान्समा आयोजित माउन्ट ब्लान्क अल्ट्रा म्याराथनको उपाधि जितेसँगै चर्चामा आएकी थिइन्। मीराले ८० किलोमिटरको म्याराथन १२ घण्टा ३२ मिनेटमा पूरा गर्दै उपाधि जितेकी थिइन्। मीराले २०१७ को नेशनल जोग्राफीको एड्भन्चर अफ द इयरमा साहसी वर्ष व्यक्ति २०१७ को उपाधि हासिल गरेकी थिइन्।

पौवादुम्मा गाउँपालिकाको सामान्य परिवारमा जन्मेकी मीरा राई गाउँका उकाली–ओरालीसँग संघर्ष गर्दागर्दै १५ वर्षको कलिलो उमेरमा माओवादीमा प्रवेश गरेकी थिइन्। कलिलो उमेरबाट माओवादीमा लागेकी मीरा अयोग्य लडाकुको रुपमा शिविरबाट बाहिरिनुपरेको थियो। मीराको जीवनमा अयोग्य लडाकु घोषित भएपछि जीवनमा नयाँ मोड आएको थियो।

अयोग्य भएपछि वैदेशिक रोजगारीमा जान तयारी गरिरहेको बेला मीराको क्षमतालाई देखेर खेलगुरु धु्रवविक्रम मल्लले केही समय खेलकुद क्षेत्रमै प्रतीक्षा गर्न उनलाई सुझाव दिए। नेपालका विभिन्न ठाउँमा आयोजना हुने अल्ट्रा म्याराथनमा मीराले भाग लिइन् र उपाधि जित्न थालिन्।

विगत दुई वर्षमा सफलता हात पार्दै मीरा केही समयअघि मात्र विश्वको दोस्रो स्थानमा उक्लेकी थिइन्। उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ को इटालीमा ५७ किलोमिटर र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन हुन्।

मीरा राईले सन् २०१४ को मुस्ताङ ट्रायल दौड, बफेलो स्टमपेड तथा अन्यमा जित हासिल गरिसकेकी छन्। हङकङमा भएको अल्टा ट्रायल दौड प्रतियोगितामा पनि उनि विजेता बनेकी थिइन्। त्यस्तै, ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानमा परेकी थिइन्। त्यही प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि नै उनको लोकप्रियता चुलिएको हो। मीराले २०१७ को नेशनल जोग्राफीको एड्भन्चर अफ द इयरमा ‘साहसी वर्ष व्यक्ति २०१७’ को उपाधि हासिल गरेपछि मीरा विश्वभर झनै चर्चित बनेकी थिइन्।

प्रकाशित: २० श्रावण २०७६ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App