१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

एनआरएन घटाउने, रोजगार बढाउने

२० वर्षको उमेरमै अध्ययनका लागि जापान पुगेका मुस्ताङको मार्फागाउँ थाकखोलामा जन्मिएका देवमान हिराचन गैर आवासीय नेपाली संघ (एनआरएन) का पूर्व अध्यक्ष हुन्। नेपालमा आइएस्सीसम्मको शिक्षा लिएर अध्ययनका लागि जापान पुगेका हिराचन त्यहाँ एक्स रे सम्बन्धी अध्ययन गरेपछि करिब डेढ दशक त्यहाँको अस्पतालमा काम गरे। अध्ययन, जागिरसँगै व्यवसाय सुरु गरेका हिराचन जेम्स, ट्राभल, आइटी, रियलस्टेटलगायत व्यवसायमा आबद्ध छन्। ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेका हिराचनले नेपालमा अर्गानिक कृषि अभियान, पर्यटन क्षेत्र, होटललगायतका क्षेत्रमा काम गरेका छन्। ६६ वर्षीय हिराचन जीवनको उत्तराद्र्धमा स्वदेशमै बसेर नयाँ परियोजना सुरु गर्ने तयारीमा छन्। हिराचनसँग स्वदेशमा लगानीको सम्भावना, विदेशमा नेपालको पर्यटन प्रवद्र्धन, मुलुकको विकासमा एनआरएनको भूमिका, विदेशी लगानी भिœयाउन के गर्नुपर्छ, जापान अनुभवलगायतका विषयमा परिवारका लागि दिलीप पौडेलले गरेको कुराकानी

जापान किन जानु भयो?
नेपालमा ४५/४६ सालमा उच्च शिक्षा अध्ययन गर्ने कलेज त्यति धेरै थिएनन्। त्यो बेला अध्ययन गर्नका लागि धेरै अमेरिका, चीन, रसिया, जापान जाने प्रचलन थियो। म एक्स रे सम्बन्धी अध्ययन गर्नका लागि जापान गएँ।

जापानमा के काम गर्नुभयो?
चार वर्ष एक्स रे सम्बन्धी अध्ययन गरेपछि त्यहाँको अस्पतालमा काम सुरु गरेँ। दुईवटा अस्पतालमा करिब १६ वर्ष काम गरेपछि व्यवसायमा आएको हुँ।

जागिर गर्दागर्दै कसरी व्यवसायमा सिफ्ट हुनुभयो?
जागिरसँगै अरु केही व्यवसाय भन्ने सोच थियो। त्यही सन्दर्भमा नेपालमा जेम्स स्टोनहरु पाउँछ भन्ने विभिन्न किताब तथा समाचारहरुमा सुनेको थिएँ। बजारको अध्ययन गर्दा नेपालमा जेम्सको उद्योग खोलेर भ्यालु बढाएर जापान निर्यात गर्न सकिन्छ भन्ने लागेपछि व्यवसायमा आएको हुँ। पोखराको औद्योगिक क्षेत्रमा जेम्सको उद्योग सञ्चालन गरेर त्यहाँको उत्पादनलाई जापान निर्यात गरेँ। १० रुपैयाँको कच्चा पदार्थबाट उत्पादन गरेको जेम्स हजार रुपैयाँमा बिक्री हुन्थ्यो। यसले मुलुकको अर्थतन्त्रलाई पनि टेवा पुग्यो। जेम्सपछि नेपाल र जापानबीच ब्रिजको काम गर्नुपर्छ भनेर ट्राभल एण्ड ट्रेड व्यवसाय गरेँ। आइटी, रियल स्टेटमा पनि काम गर्दै आएको छु। नेपालबाट जापान गार्मेट निर्यात पनि ग-यौं। एक/डेढ लाख सल, स्वीटर निर्यात गरेथ्यौं।

जापानमा व्यवसाय गर्न कति सजिलो/अप्ठ्यारो छ ?
त्यहाँ व्यवसायमा समय, विश्वास, प्रतिबद्धता र समय व्यवस्थापनलाई फलो गर्छन्।  व्यवसाय गर्न सजिलो छ तर मिहिनेत गर्नुपर्छ। सिस्टममा छ तलमाथि केही होला भनेर सोच्नु पर्दैन। जापानमा व्यवसाय गर्न सजिलो छ। हुन नसक्ने काम बोल्दैन। बोलेपछि काम पूरा हुन्छ।

जापान र नेपालको व्यावसायिक वातावरणमा के फरक पाउनु भयो?
नेपालमा धेरै कठिन छ। आज हुन्छ भनेको भोलि हुँदैन भोलि भनेको काम पर्सि पनि हुँदैन। सफल हुने भनेको भने विश्वास आर्जन गर्नुपर्छ। विश्वास आर्जन नहुने हो भने जीवन सफल बन्न सक्दैन। बोलेको कुरा सतप्रतिशत पूरा गर्नुपर्छ।

नेपालमा कुन–कुन क्षेत्रमा लगानी गर्नु भएको छ?
विगत आठ वर्षदेखि नेपाललाई अर्गानिक देश बनाउनुपर्छ भनेर कृषिमा अभियान सञ्चालन गरेको छु। काठमाडौंको सीतापाइला रामकोटमा ३० रोपनी क्षेत्रफलमा कृषि फार्मसहित तालिम केन्द्रमा अहिलेसम्म २५ हजारजनालाई अर्गानिक कृषिको तालिम दिएका छौं। चितवनको भरतपुरमा पाँच हजार रोपनीमा मोडल फार्म बनाउन त्यहाँका मेयरसँग कुरा भइरहेको छ। अहिले विभिन्न गाउँमा जेटिए र कृषिका विशेषज्ञलाई पठाएका छौं। हामी मल, बीउ दिएर खेती गर्ने तरिका सिकाउने र उनीहरुको उत्पादन खरिद गर्छौं। कृषि उत्पादन बिक्री गर्न सानेपा, गौरीधारा, बागबजारमा हाम्रो फेम्ली मार्ट तथा अर्गानिक हाउस खोलेका छौं। म जापानमा बस्ने भएकाले त्यहाँबाट मुलुकको पर्यटनको विकासका लागि पनि जोड दिएको छु। पर्यटकीय नगरी पोखरामा फाइभ स्टार होटल निर्माण गर्ने तयारीमा छौं।

व्यवसाय सुरु गर्नुभन्दा पहिला के कुरामा ध्यान दिनुपर्छ?
कुनै पनि व्यवसाय वा काम सुरु गर्दा त्यसको विश्लेषण गर्नुपर्छ। कसैले फाइदा हुन्छ रे भनेपछि हावाका पछाडि दौडिने प्रचलन छ। डिपिआर तयार गर्नुपर्छ। व्यवसाय गर्दा कति वर्ष लगानी गर्नुपर्छ, कहिलेबाट प्रतिफल दिन थाल्छलगायतका यावत् विषयमा हिसाब गरेर मात्र व्यवसायमा लगानी गर्नुपर्छ।

विकसित मुलुकमा व्यवसाय गर्नु भएको छ। नेपालमा पनि व्यवसाय विस्तार गर्दै हुनुहुन्छ। सरकारले निजी क्षेत्रलाई कस्तो वातावरण बनाउनु पर्छ?
व्यवसाय गर्नका लागि आवश्यक पर्ने पुँजी हो। त्यसका लागि बैंकले सघाउनु पर्छ। व्यवसाय गर्ने मान्छेको क्लियर भिजन हुनुपयो। यहाँ बैंकबाट ऋण ल्याएर नतिर्ने चलन पनि छ। जापानमा ऋण तिरेन भने त्यहाँको सबै सिस्टममा ऊ कालोसूचीमा पर्छ। कुनै पनि कारोबार गर्न सक्दैन। लगानी गर्दा भनसुनका आधारमा लगानी गर्ने प्रचलन छ। अनुसन्धान नगरिकन बैंकहरु पनि फसेको देखिन्छ। यसले अर्थतन्त्रमा पनि असर पर्छ। भनसुन गर्ने प्रवृत्ति रोक्नुपर्छ।

नेपालमा व्यवसाय गर्न के चुनौती देख्नुहुन्छ?
पहिलो कुरा व्यवसाय केका लागि गर्दैछु भन्ने पहिलो भिजन हुनुपर्छ। यहाँको बजारअनुसार व्यवसाय गर्न सक्नुपर्छ। नेपालमा ठूलो अवसर छ। हाम्रा दुई छिमेकी चीन र भारतमा ठूलो बजार छ। मानौं  जापानको नाम लिने हो विश्वभर जापानको उत्पादनको राम्रो प्रभाव छ। एक नम्बर कम्पनी बनाउने लक्ष्य छ। जापानमा बनेको भनेपछि संसारभर आँखा चिम्लेर सामान खरिद गर्छन्।  नेपालमा यति राम्रो अवसर छ। जहाँ जोखिम छ त्यहाँ अवसर पनि हुन्छ। लगानी गर्ने वातावरण बनाउन सरकारले बनाउनु पर्छ।

यहाँ लामो समय विदेशमा बस्नु भएको छ। विदेशीबाट लगानी ल्याउन सरकारले के गर्नुपर्छ?
हरेक स्वदेशी तथा विदेशी लगानीकर्ताले आफ्नो लगानीको सुरक्षाको प्रत्याभूति खोज्छ। हाम्रो मुलुकको काम गर्ने प्रक्रिया झन्झटिलो छ। काम गर्ने वातावरण दिन छिटो निर्णय गर्ने प्रणालीको विकास गर्नुपर्छ। मेरा साथीहरु यहाँ लगानी गर्न चाहन्छन्। तर, यहाँ आउने वातावरण छैन। मेरा विदेशी साथी जापानबाटै दुई–तीनपटक यहाँ लगानी गर्न आए। एउटा कम्पनी दर्ता गर्न नै ६ महिनादेखि एक वर्ष लाग्छ। अनि कसरी विदेशी लगानी गर्न आउँछ ?

नेपालको अर्थतन्त्रमा के कस्ता चुनौती छन्?
नेपालको अर्थतन्त्र कमजोर हुनुमा यहाँ प्रयोग हुने करिब ९० प्रतिशत वस्तु विदेशबाट आयात भैरहेको छ। अहिले एक रुपैयाँको सामान बेचेको छ नौ रुपैयाँको सामान किनेको छ। यसले मुलुक गरिब हुँदै जान्छ। यहाँ चाहिने सामान उत्पादन गर्न सकिएन भने गरिबी घट्दैन। नेपालको बजेटको हाराहारीमा व्यापार घाटा छ। स्वदेशको उत्पादन बढाउनु पर्छ। बाहिर कमाएर ल्याएको र विदेशमा जानका लागि बाँचेको नेपालीजस्तो भएको छ।

सरकारले दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको छ। के सम्भव छ?
सरकारले पहिला जग दरिलो बनाउनु प-यो। ठूला कुरा र भाषण गरेर मात्र भएन। गाउँघरका किसानलाई कसरी व्यवस्थित गर्ने, कृषि उत्पादन कसरी वृद्धि गर्ने खाका तयार गर्नुपर्छ।  नेपालको अर्थतन्त्र गाउँबाट सुरु हुने भएकाले किसानको उत्पादन बढाउनु पर्छ। आम्दानी र उत्पादन बढ्यो भने सबै समस्या समाधान हुन्छ। औद्योगिकीकरण गर्नुपर्छ। पूर्वाधार निर्माणलाई तिब्रता दिनु आवश्यक छ।

एनआरएनको मुभमेन्टमा कसरी सहभागी हुनुभयो?
सन् २००३ मा काठमाडौंमा एनआरएनको कार्यक्रम थियो। उक्त कार्यक्रममा सहभागी हुन अनुरोध गरेपछि एनआरएनको समितिमा बसेर काम गरेँ। त्यो बेलामा संस्थापक कोषाध्यक्षको जिम्मेवारी पाएँ। एनआरएनमा कोषाध्यक्ष, एसिया प्यासिफिक क्षेत्रको भाइस प्रेसिडेन्ट, अन्तर्राष्ट्रिय भाइस प्रेसिडेन्ट हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेँ।

विदेशमा रहेका नेपालीको अवस्था कस्तो छ, कसरी सफलता प्राप्त गरेका छन्?
कुनै पनि काम गर्न सिस्टम विकास गर्नुपर्छ अनि मात्र सफलता प्राप्त हुन्छ। विदेशमा रहेका धेरै नेपालीले सफलता प्राप्त गर्नुमा त्यहाँको सिस्टमले सघाएको छ। सम्बन्धित देशको नीति नियम सिस्टमलाई फलो ग¥यो भने सफलता प्राप्त हुन्छ। नेपालमा सिस्टम नहुँदा सफलता पाउन कठिनाइ छ।

नेपाली युवा विदेश जान लालायित छन्? तपाईं एनआरएनको पूर्व अध्यक्ष पनि हुनुहुन्छ, कहिलेसम्म युवालाई विदेश निर्यात गर्ने र विदेशबाट सामान आयात गर्ने?
यो नेपालका लागि गम्भीर विषय हो। हामी पनि एनआरएन घटाउने, स्वदेशमा रोजगार बढाउने गर्नुपर्छ भन्ने पक्षमा छौं। नेपालमा रोजगार छैन। तपाइँ काठमाडौंको रत्नपार्कमा जानुस्। मान्छे हल्लेर बसेको देखिन्छ। जापानमा त्यो सम्भव छैन। सडकमा मान्छे नै देख्नुहुन्न।

सरकारले काम दिन सकेन भन्नुभएको हो ?
रोजगारी सिर्जना गर्ने दात्यिव राज्यको हो। त्यसका लागि निजी क्षेत्रलाई परिचालन गर्नुपर्छ। जापानमा तीनदेखि चार प्रतिशत मान्छे मात्र बेरोजगार छन्। जापानमा ९६ प्रतिशत काम गरेको छ।

रोजगारी सिर्जना गर्न राज्य र निजी क्षेत्रको भूमिका कस्तो हुनुपर्छ ?
जापानमा निजी क्षेत्रले धेरै रोजगारी सिर्जना गरेको छ। तर, सरकारले सहयोग गरेको छ। कुनै व्यक्तिले काम नपाउँदासम्म सरकारले भत्ताको व्यवस्था गर्छ। कामको खोजी गर्ने छुट्टै संयन्त्र छ। तपाईंलाई जागिर चाहियो भने सम्बन्धित ठाउँमा गएर दर्ता गरेपछि काम खोजेर खबर गर्छन्। त्यस्तो सिस्टमको विकास गरेको छ। नेपालमा रोजगारी छैन। कोरिया जाने भन्दा ८६ हजारको आवेदन प¥यो। म त छक्क परेँ। यही अवस्था हुने हो भने नेपाल खाली नै हुन्छ कि भन्ने चिन्ता लाग्यो। विदेशमा निकै दुःख छ। त्यति काम गर्ने हो भने यहीँ तलब पाउँछ। सरकारले रोजगार वृद्धि गर्ने सिस्टमको विकास गर्नुप¥यो। सरकारले तालिम प्रदान गर्नुप¥यो। विदेश पठाउनु नै पर्ने हो भने पनि उच्च क्षमताका सीपयुक्त जनशक्ति तयार गरेर पठाउनु पर्छ। उदाहरणका लागि जापानमा एकजनाको मासिक तलब दुईदेखि तीन हजार डलर पाउँछ। तर मध्यपूर्वको देशमा दुई सय डलर तलब छ। १५ जना मिडलिष्टमा पठाउनु र जापानमा एकजना जापान जानेले जिन्छ।  विदेश पठाउँदा कामदार मात्र पठाउनु भएन सीपयुक्त जनशक्ति पठाउनु पर्छ।
यहीँ खेती गर्ने वातारण बनाउन सकिन्छ। वर्षमा पाँच÷दश लाख कमाउने किसानहरु पनि धेरै छन्। सरकारले जनतालाई बाटो देखाउनु पर्छ। निजी क्षेत्रले गरेर मात्र हुँदैन।


लामो समयदेखि पर्यटन क्षेत्रमा हुनुहुन्छ। मुलुकको पर्यटन विकास कसरी गर्न सकिन्छ ?
नेपाल प्रकृतिमा धनी छ। विदेशीलाई नेपालमा पैसा खर्च गर्ने ठाउँ बनाइदिनु प-यो। पर्यटकले रमाइलो भयो भन्ने छाप पार्न यहाँको सुरक्षा, ट्राभल एजेन्सी, होटल तथा रेस्टुरेन्टमा राम्रो सर्भिस दिनुपर्छ। सडक पूर्वाधारको विकास र कनेक्टिभिटीमा ध्यान दिनुपर्छ। विदेशी आउनका लागि सहज एक्सेस आवश्यक छ। जस्तै हामी जापानबाट आउँदा ट्रान्जिटसहित १५ देखि १७ घण्टा लाग्छ। सिधा हवाई सेवा हुनुपर्छ।

जापानबाट पनि यहाँ पर्यटक ल्याउन सकिन्छ कि?
निस्चय पनि सकिन्छ। त्यो काममा विगत लामो समयदेखि लागिरहेका छौं। अहिले जापानबाट वार्षिक दुई करोड ३० लाख मान्छे विदेश घुम्न जान्छन् भने तीन करोड ५० मान्छे त्यहाँ आउँछन्। जापानीलाई नेपालमा ल्याउन पनि सघाइरहेका छौं। उनीहरु यहाँ आउने भनेको प्रकृतिसँग रमाउन हो। ट्रेकिङमा जाँदा बगेको खोला, पहाडमा चराचुरुंगीको आवाज, वन्यजन्तु, कला, संस्कृति, स्थानीय जनजीवन, पहाड, रमणीय स्थलले आकर्षित गर्न सकिन्छ। जापानीले उपयुक्त गन्तव्य पाएका छैनन्। यस्तो अवस्थामा प्रकृतिकसँग रमाउन नेपालमा आकर्षित गर्छ सक्छौं। नेपालसँग जापानको सिधा हवाई सम्पर्क हुँदा पर्यटक आगमन बढाउन सकिन्छ।

यहाँ अर्गानिक कृषि अभियानमा काम गर्नुभएको छ? कसरी यो क्षेत्रमा आउनु भयो?
एनआरएनको अध्यक्ष भएपछि साथीलाई हस्तान्तरण गरेँ। त्यसपछि यहाँको तरकारी बजारदेखि अस्पतालको अवलोकन गरेँ। ६० देखि ७० प्रतिशत मान्छे रोगी देखेँ। यो विषादीकै कारण भएको भन्ने अनुसन्धानमा भेटियो। विषादी प्रयोग भएको तरकारीको प्रयोगले रोग लागेको भन्ने बुझेँ। त्यसले नेपाललाई रोगी बनाउनु हुँदैन। एक जना मान्छे रोगी भयो भने परिवार रोगी हुन्छ। अनि समाज र देश नै रोगी हुन्छ। स्वस्थ बनाउन नसके विकास गर्न सकिँदैन। त्यसैले स्वस्थ बनाउनका लागि अर्गानिक कृषि अभियानमा लागेको हुँ। अहिले काठमाडौंका रामकोटमा तीन सय रोपनी जमिनमा अर्गानिक तरकारी उत्पादन भैरहेको छ।

यो अभियान सफल होला?
हाम्रो देश नै अर्गानिक हो। ३०/४० वर्ष पहिला विषादीको प्रयोग हुँदैनथ्यो। हाम्रा बाउबाजे कहिलै पनि डाक्टरकोमा जानु परेन। अहिले अल्सर, सुगर, ब्लड प्रेसरलगायतका रोगबाट सबै ग्रसित छन्। हरेक घरमा रोगी छन्। यो सबै खानपानको कारणले भएको छ। त्यही भएर अर्गानिक उत्पादन गरेर देशलाई नै अर्गानिक बनाउनु पर्छ भनेर लागेका छौं।

अर्गानिक बनाउन सम्भव छ त?
अहिले हामी कन्ट्रयाक फार्मिङ मोडलमा गएका छौं। किसानलाई आफ्नै फार्ममा ल्याएर तालिम, बीउ, सीप दिन्छौं। यसमा किसान आकर्षित छन्।  किसानलाई प्राविधिक सेवा दिएका छौं। रोग, कीरा प्रकोपको बारेमा पनि चनचेतना जगाएका छौं। किसानलाई अप्ठ्यारो प¥यो भने सल्लाह दिने ठाउँ भयो भने ढुक्क हुन्छन्। उत्पादन भएको समानको बिक्री गर्ने प्रबन्ध मिलाएका छौं। अर्गानिक उत्पादनको बजार राम्रो छ। उचित मूल्य पाउँछन्। नेपाल कृषि प्रधान देश हो। ४० प्रतिशत जमिन बाँझो थियो। म पनि डोकोमा मोल बोकेर हुर्केको हुँ। यो अर्गानिक अभियान नौ वर्षअघि सुरु गरेका हौँ। अहिले सरकारले पनि आत्मसाथ गरेर अघि बढेको छ।

मुलुकको विकासमा एनआरएनले कस्तो भूमिका निर्वाह गरेका छन् त?
नेपाली–नेपालीबीच र नेपालबाट विदेशमा रहेका नेपालीबीच पुलको काम गर्दै आएका छौं। नेपाल र विदेशमा बस्ने नेपालीको नेटवर्क तयार भएको यसलाई राज्यले उपयोग गर्नुपर्छ। विदेशबाट आएको पुँजी र सीपको सदुपयोग गर्ने वातावरण सरकारले पनि गर्नुप-यो।

नेपालीहरु विश्वभर छरिएरका छन्। पूँजी र सीप छ। स्वदेश फर्काएर उत्पादनमा कसरी लगाउन सकिन्छ त?
यो काम गर्न ढिला भैसकेको छ। म पनि स्वदेशमा केही गर्नुपर्छ भनेर अहिले नेपालमा धेरै समय दिन थालेको छु। विदेशमा बसेर यसो गर उसो गर भनेर भन्दा पनि आफूले नै केही गर्नुपर्छ भनेर विभिन्न परियोजना सुरु गरेको छु। चीनको एउटा उदाहरण लिउँ। चीन कसरी दु्रत गतिमा विकास भयो त ? चीनले विश्वभर रहेका सबै वैज्ञानिक, डाक्टरलगायत सबैलाई स्वदेश फिर्ता हुन आह्वान ग¥यो। फर्केर आउँदा कम्पनी खोल्न सरकारले सहयोग गर्छ। संसारमा बसेको चिनियाँ फर्केका छन्। त्यो किसिमको सिस्टम नेपालमा विकास भएन। विदेशमा रहेका नेपालीलाई ल्याएर काम दिनुपर्छ। विदेशबाट आएकालाई सबैतिर प्रोत्साहन गर्नुप-यो। जापानमै रहेका धेरै साथी सँगै काम गरौं भनेर आए। राम्रो नभएपछि फ्रष्टेसन भएर फर्के। काम गर्छु भन्यो। सरकारी निकाय कहिले ह्रस्व पुगेन, कहिले दीर्घ पुगेन भनेर अल्झाउने काम भयो। लगानी गर्न चाहनेलाई सहज वातावरण बनाउनु पर्छ। सरकारले विदेशमा रहेकाको लिष्ट तयार गरेर फर्काउने अभियान सुरु गर्नुपर्छ।
 
लामो समय जापानमा व्यवसाय गर्नु भयो। उनीहरुको सफलता सूत्र के हो? हामीले के सिक्न सकिन्छ?
जापानिजको सफलताको प्रमुख सूत्र समय व्यवस्थापन हो। जापानिजले २४ घण्टामा १८ घण्टा काम गर्छन्। नेपालीले नेपालमा दिनमा तीन–चार घण्टा काम गर्छन्। जापानीले कसरी विकास गरे भन्ने गतिलो प्रमाण नै यही हो। नेपालीले समय बर्बाद गरिरहेका छौं। जापान जाने अधिकांश नेपाली १८ घण्टा काम गर्छन्। त्यहाँ काम गर्न हुने यहाँ काम गर्न नहुने? विदेशमा गएर मिहिनेत गर्ने नेपालीले आफ्नै मुलुकमा गर्न किन नसक्ने? यसको अर्थ समयमा काम फत्ते गर्दै जाने हो भने मुलुकको विकास सम्भव छ।

अवकाशको जीवन बिताउने बेला अझै सक्रिय हुनुहुन्छ?
६६ वर्ष पुगे पनि काम गर्ने जाँगर मरेको छैन। ८५ वर्षसम्म काम गर्छु भन्ने योजना छ। मान्छेको उमेर भनेको काम गर्ने सोचले निर्धारण गर्छ। मेरो आयु एक सय पाँच वर्ष होला भन्ने अपेक्षा छ। त्यसपछि मात्र २० वर्ष अवकाशको जीवन बिताउने योजनामा छु। अझै २० वर्षसम्म काम गर्न सक्छु भन्ने विश्वास छ। शरीर देखावटी हो तपाईंको मनले युवा छु भन्ने ठान्नु भयो भने काम गर्न सक्नुहुन्छ। मैले भन्ने गरेको छु– मन भनेको खेत र सोचाइ भनेको बीउ हो। खेतमा बीउ रोप्नु पर्छ।

यहाँको दैनिकी?
बिहान साढे पाँच बजे उठेर बेलुका ११ देखि साढे ११ बजे सम्ममा सुत्छु। भगवानप्रति आस्था भएकाले दैनिक पूजा गर्ने, हेल्थ एक्ससाइज गरेपछि आफ्नो दैनिक कार्यतालिका बनाएर काम गर्छु।

दिनमा कति घण्टा काम गर्नुहुन्छ?
जापानमा न्यूनतम १४ घण्टा काम गर्थेँ , नेपालमा १२ घण्टा काम गरिरहेको छु।

खानपान?

नेपाली खाना नै मनपर्छ। जापानमा हुँदा पनि नेपाली खाना खान्थेँ।

समय व्यवस्थापन कसरी गर्नुहुन्छ?    
समयलाई फलो गर्छु। कुनै पनि व्यवसाय सफल पार्न समयको अघि दौडिनु पर्छ।  जहिले पनि समयभन्दा अगाडि जानुपर्छ भन्ने मान्यता छ।  समयको अघि बढ्न नयाँ चिज पाउन सकिन्छ।

प्रकाशित: १९ श्रावण २०७६ ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App