एउटा सम्मान कार्यक्रमबाट भर्खरै घर फर्किएपछि हातमा भएको किताब स्टडी रूममा राखेँ। आज मन निकै हलुका थियो। किताब हेरेँ। हातले सुमसुमाएँ। छोराछोरीले बारम्बार भनेका कुरा सम्झेँ– आमा कति समाजको बारेमा मात्र चिन्ता गरेर लेख्नुहुन्छ ? कहिलेकाहीँ त आफ्नो कथा पनि लेख्नुहोस् न। जसरी हजुर हाम्रो रोल मोडल हो। त्यसरी नै समाजका लागि पनि रोल मोडल हुनुहुन्छ। हजुरले गरेका निर्णय, हजुरका संघर्षका पाइलाबारे थाहा पाउने अधिकार समाजलाई पनि त छ। उनीहरूले पनि धेरै कुरा सिक्छन् हजुरको सफलता अनि संर्घषका कथाबाट। के त्यसबाट उनीहरूलाई मात्र वञ्चित गराउन तपाईँको विवेकले मान्छ र ? म उनीहरूलाई आश्वस्त तुल्याउँथेँ– लेख्नेछु अवश्य। तर, अहिले समय आइपुगेको छैन।
आज उनीहरूकै बहुप्रतीक्षित यो किताबले समाजमा निकै नै चर्चा कमाएको छ। ‘अन्तिम निर्णय’ नामक यो किताब तिमीहरूकै आमाको हो। तिम्रै आमाको संघर्ष अनि एउटा यस्तो निर्णय जुन मन/मस्तिष्कसँग नडगमगाएर लिएको निर्णय। यस्तै सोचिरहेकी के थिएँ, आस्था र आयुष कोठाभित्र छिरे आमु... आमु... भन्दै। मेरा मन मुटुका टुक्रा प्यारा नाति/नातिनीप्रति ध्यानाकर्षण नहुने कुरै भएन। जसले त्यो घरलाई साँच्चै घरमा परिणत गरेका छन्। उनीहरूलाई च्याप्प समाएँ। अनि मजाले म्वाइँ खाएँ। त्यसपछि उनीहरूकै लागि ल्याएको चकलेट ब्यागबाट झिकेर दिएँ।
घर भन्नेबित्तिकै मलाई छोरा/छोरीको सम्झना आउँछ। आमा नदेख्दा ती बच्चाको दिमागले के सोच्दो होला ? त्यसैले आफू जतिसुकै पीडाको आहालमा डुबुल्की मार्न बाध्य भए पनि मैले सन्तानप्रतिको जिम्मेवारीबाट भाग्न कदापि मिल्दैन। किनकि म आमा हुँ। यति फरक छ बाबु र आमामा।
आस्था र आयुष एकछिन बसे। उफ्रे। चकलेट खाए मीठो मानेर। अनि मेरो कोठाबाट बाहिर निस्के। मलाई भने मेरो परिवारको अन्तिम किताबले पछ्याइरहेको थियो एकोहोरो। आज मलाई एकपल्ट आफ्नो अतीत पल्टाउन मन लागिरहेको थियो। जब मैले केही नढाँटी किताब लेखिरहेकी थिएँ, सँगै एक किसिमको डर पनि थियो– कतै मैले उठान गरेका सवाल, मैले चयन गरेका शब्द समाजले नपचाउने त होइन ? अनि भित्री मनले ढाडस दिन्थ्यो आफैँलाई– तैँले जे गरिस्, ठीक गरिस्। हो पनि, आज वर्षौँदेखि बिझेको काँडा शरीरबाट निकालेपछिको झैँ हल्का भएको छ मन। त्यसैले आज फेरि मलाई हरेक क्षण अनुभव गरेर आफ्नो किताब दोहो¥याउने मन छ। गीतै छ नि– मनको कुरालाई बाँधी नराख, गाँठो परी जाला...। त्यसैले पढ्न सुरु गरेँ। तातो पानीको घुट्कोसँगै।
प्रिय पाठकसमक्ष केही नढाँटी जीवनका हरेक तीतामीठा क्षण पोख्न गइरहेकी छु। आजसम्म धेरै कथा विभिन्न शीर्षकमा उतारेँ। समाजमा विद्यमान सवाललाई दर्पणका रूपमा उजागर गरेँ। मनमस्तिष्कबाट फुरेका सबै पक्ष समेटेँ किताबका पानाहरूमा। त्यहीँबाट त पाठकको विश्वास जितेँ। जुन विश्वास नै मेरो अन्तिम किताब ‘अन्तिम निर्णय’ को जगका रूपमा जगजाहेर छ।
म अतीतप्रति गहिरिँदै गएँ। चार जना छोरा/छोरी थियौँ। बा÷आमा गाउँकै सरकारी पाठशालामा पढाउनुहुन्थ्यो। एउटा साधारण परिवार। बस्न÷खान पुगेकै थियो। त्योभन्दा पनि ठूलो हामीसँग इज्जत थियो। म कक्षा १० मा पढ्थेँ। घरकी जेठी छोरी। भाइ÷बहिनीको पढाइमा सहयोग त गर्नै पथ्र्यो साथै आमालाई घरधन्दामा पनि सघाउनु मेरो दायित्व थियो। आफ्नो पढाइ त छँदै थियो।
एक दिनको कुरा हो– बुबाको स्कुल बेलाको साथी आउनुभएको थियो घरमा। बुबा र त्यो अङ्कल बाल्यकालको कुरा सम्झेर ठूलोठूलो स्वरमा हाँसिरहनुभएको थियो। म पुग्नेबित्तिकै बुबाले अङ्कललाई केही खानेकुरा ल्याउन अराउनुभयो। बुबाले अङ्कललाई भनेको भान्साबाटै सुनेँ, ऊ मेरो जेठी छोरी, जस्तो नाम शुभ छ ऊ हाम्रो गृहस्थी जीवनमा आएदेखि सबैतिर शुभ नै शुभ भएको छ।
छोरी घरमा जति राम्रो भए पनि बिहे गरेर पठाउनै पर्छ। बुबा अङ्कलसँग थप्दै हुनुहुन्थ्यो– ‘एक÷दुई वर्षमा विवाह पनि गर्दिन्छु।’ अंकलले थपेको सुनेँ, ‘त्यसो भए सहरमा एउटा राम्रो परिवार छ। ऊसँग कुरा चलाउँछु।’ म भने आफैँलाई सोधिरहेकी थिएँ, ‘के छोरी भएर जन्मेपछि आफ्नो जीवनको कर्तव्य र महत्व नै नबुझी अर्काको घरमा गइहाल्नुपर्छ ? के आमा÷बाबासितै बस्ने उसको अधिकार हुँदैन ? किन मेरो बाबालाई यति हतारो परेको होला मलाई पठाइहाल्न ?’ यही प्रश्नले राति पनि पछ्याइरह्यो।
केही दिनपछि अंकलले मलाई आफ्नै बुहारी बनाउने खबर पठाउनुभयो। बुबा–आमामा खुसीको सीमा थिएन– छोरीलाई राम्रो घरमा दिन पाइयो भनेर। हुन पनि मेरो घर कल्पना र सपनाभन्दा सम्पन्न थियो। आफू त गाउँको साधारण वातावरणमा खाईखेली हुर्केकी केटी। उक्त घरको वातावरण मिल्दोजुल्दो बनाउन मात्र मलाई करिब वर्ष दिन लाग्यो। अंकल बुबा जस्तै माया गर्नुहुन्थ्यो। उहाँकै सद्भावका कारण पढाइलाई निरन्तरता दिएँ। श्रीमान् विकास प्रायः घरबाहिर नै समय बिताउनुहुन्थ्यो। मलाई अंकल यति माया गर्नुहुन्थ्यो कि जसले गर्दा श्रीमान्को प्रायःघरबाहिरको व्यस्तता महसुस हुनै पाउँदैनथ्यो।
विडम्बना, अङ्कल एक्कासि हामीलाई छाडेर यस धर्तीबाट बिदा हुनुभयो। सदाका लागि। उहाँ आफू मात्र जानुभएन, घरको सुख, शान्ति सबै लैजानुभो। हुन त संसार निकै ठूलो थियो तर मेरा लागि आफ्नो भन्ने कोही भएन त्यसपछि। म एक्लै भएँ। आफू र घरलाई निकै सम्हाल्न खोजेँ। तर, मेरो केही लागेन। यत्तिको पढे÷लेखेको तिमी जस्तो मानिस त्यत्तिकै बस्नुहुन्न भनेर अंकलले नै लगाइदिनुभएको थियो जागिर। तर, अंकलको देहावसानपछि परिवारका कसैलाई पनि म अफिस गएको मन परेन। यस्तै–यस्तै कारण थिए, जसले घरमा अशान्ति निम्त्याइरहन्थ्यो।
उता श्रीमान्को पनि बाहिरी केटीहरूप्रति रुचि बढ्दै गयो। छोराछोरी सधैँ बाबु–आमाको झगडा देखेर तर्सन्थे। निराश हुन्थे। जब श्रीमान्ले नै श्रीमतीलाई सुको नगनेपछि घरका अरू सदस्य त कुरै छाडौँ, काम गर्नेले समेत टेर्न छाड्छ। रात÷दिन श्रीमान्को पर्खाइमै समय बित्न थाल्यो। मनमा अशान्तिको थुप्रो भरिँदै जान थालेको थियो। उता माइती भने सामान्य थियो तर खुसी थिए। एक–अर्कालाई सम्मान गर्थे। हाँसीखुसी दिन बिताएको देखिन्थ्यो।
यता भने ठ्याक्कै उल्टो। मन सधँै उदास। तर पनि सबैका अगाडि देखावटी खुसी र बनावटी हाँसो मेरो बाध्यता थियो। एक दिनको कुरा हो, साहस बटुलेर सासूलाई भनेँ– हजुरको छोरा घर ढिला आउनुहुन्छ, सम्झाइदिनुप¥यो। त्यसपछि त के चाहियो र ? विकासले ममाथि हात उठाए। विकल्प के नै थियो र ? रातभर रोएँ। रातभर रुने, दिनभर कृत्रिम हाँसो हाँस्ने– धेरै समय बित्यो यसै गरी।
बाहिरबाट हेर्दा सम्पन्नताले भरिपूर्ण घर। तर भित्र ? माया, दया र खुसीको चरम अभाव। एक–अर्काप्रति घृणा, द्वेष...। अर्थात् भनौँ निर्जीव सम्पन्नता। यस्तै हुँदारहेछन् सम्पन्न भनिने घरहरू। यस्तो घरमा कसरी जीवन बिताऊँ ? जिन्दगीको रथ अघि बढाउनका लागि सानो धिपधिपे प्रकाशको संकेतसम्म थिएन। छोरा÷छोरी साना थिए। उनीहरूसँग व्यथा पोख्नुको कुनै अर्थ थिएन। दिन दुगुना र रात चौगुनाका दरले पीडाको भारीले थिच्दै जान थाल्यो।
बेलाबेलामा मनको बह कम गर्ने उपाय सोचिरहन्थेँ। साउनको पहिलो सोमबार। कति चिन्ता मात्र लिनु भनेर लागेँ मन्दिरको आरती हेर्न। गएको थिएँ आरती हेर्न तर पनि मनमा भने घरकै पिरलोले सताउन छाडेन। लागिरह्यो– मैले सासूलाई आमासरह मानेर समस्या राखेँ त के बिराएँ ? ‘तिमीले खुसी पारिनौ त अन्त गयो’ भन्न मिल्छ ? त्यो पनि एउटी महिला भएर महिलालाई नै। कसरी सकेको भन्न पनि ? के छोरी मान्छेको कुनै खुसी हँुदैन ? के उसको आत्मसम्मान हुँदैन ? विवाहपश्चात् सेवा दिने मेसिन मात्र हो महिला ? आइरहे निरन्तर जिज्ञासा। अर्थात् शरीर आरती अगाडिको भिडमा भए पनि मन भने उही प्रश्नको भिडमा हुँडारिइरहेको थियो।
सुनेकी थिएँ– ‘जसको कोही हुँदैन, उसलाई ईश्वरको साथ हुन्छ।’ मलाई मन्दिरको आरती हेर्न यही भनाइको सम्झनाले पु¥याएको थियो। आँसु पन्छाएँ हातको सहाराले। टुसुक्क बसेँ र हेर्न थालेँ। केही दृश्य मोबाइलमा पनि कैद गरेँ। सोचेँ– ‘कहिलेकाहीँ पीडामा दल्ने मलम बन्न सक्छन् यी तस्बिर।’ मेरो गतिविधि कसैले नियालिरहेको रहेछ। सायद मेरो आँखाबाट रोक्न खोज्दाखोज्दै पनि झरिरहेका आँसुले उसलाई मतर्फ जिज्ञासु बनाइरहेको थियो। आँसु रोकियोस् पनि कसरी ? थोरै भए पो। निरन्तर बगिरह्यो। मेरो थुन्न खोज्ने सारा प्रयास विफल तुल्याएर।
आज मलाई किनकिन बच्चा बेलामा आमा÷बाबाको अगाडि दुःख पोखेर रोएको महसुस भइरहेको थियो। जबकि मेराअगाडि बाबा÷आमा हैन, मात्र भगवान् थिए। जसप्रति मेरो अगाध आस्था थियो। त्यही भलाद्मी लाग्ने युवक एक्कासि मेरो सामुन्ने आयो। जो अघिदेखि मलाई हेरिरहेको थियो। म झसंग भएँ। भन्न थाल्यो– जीवन एउटा हिसाब हो जो हरेक समस्या सूत्रमार्फत् समाधान गर्दै हिँड्छ। कहिले सुख त कहिले दुःख। यही हिसाबकिताब मिलाउँदैमिलाउँदै जीवनको चक्र चलिरहेको हुन्छ। यो संसारमा कुनै प्राणी सुखी छैन जसलाई हामी सुखी देखिरहेका छौँ। खाली नाटक गरेका हुन्छन्। बस् फरक यत्ति हो, बुज्झकीहरू धैर्यको साथ लिन्छन् र निरन्तर अघि बढ्छन्। त्यसैले भो अब नरुनूस्।
म एक तरहले उसका कुरा सुनिरहेकी थिएँ। उसको कुरा जीवनप्रति अलिअलि नै किन नहोस्, आशाको दियो बनिरहेको थियो। म अचम्मित भएँ– यति छिटो कोही किन धेरै नजिक हुन्छ, जसले बोलेका कुरा एकनासले सुनिरहूँ जस्तो लाग्ने ?
‘बाइ द वे, हजुरको नाम के हो ?’ मेरो नाम विशाल हो।
‘म शुभ’– अनायासै मेरो मुखबाट निस्कियो।
‘अब आरती पनि सकियो। ल घर हिँड्नोस्। म हजुरलाई पु¥याएर घर फर्कन्छु।’
‘हस्।’
घर भन्नेबित्तिकै मलाई छोरा÷छोरीको सम्झना आउँछ। आमा नदेख्दा ती बच्चाको दिमागले के सोच्दो होला ? त्यसैले आफू जतिसुकै पीडाको आहालमा डुबुल्की मार्न बाध्य भए पनि मैले आफ्नो सन्तानप्रतिको जिम्मेवारीबाट भाग्न कदापि मिल्दैन। किनकि म आमा हुँ। यति फरक छ बाबु र आमामा। हरदम आउने यही सोचले मलाई घरप्रतिको पाइला तीव्र गतिमा बढाउन प्रेरणा दिइरह्यो। कुन बेला पुगेर ती बालबच्चाको गालामा चुप्प लगाउँ भनेर हतारो भइरह्यो। ‘अन्यथा नलेऊ, तिम्रो सम्पर्क नम्बर देऊ, मेरो पनि लेऊ, यदि केही समस्या आएमा फोन गरे हुन्छ, जीवनलाई निराश बनाउनु हुँदैन, म मनोचिकित्सक पनि भएकाले सहयोग गर्न सक्छु,’ मलाई घरसम्म पु¥याउने क्रममा विशालले भन्यो।
‘शुभ, हामी सोच्न सक्ने, राम्रो÷नराम्रो छुट्याउन सक्ने प्राणी हौँ। समाज, घरप्रति हाम्रो ठूलो कर्तव्य छ। मानिस जन्मेपछि खाली आफ्ना लागि मात्र सोच्ने होइन, अरूका लागि पनि सोच्नुपर्छ। नत्र पशु र मानिसमा के नै फरक भयो र ?’– विशालले भनेका कुरा मनमा पटकपटक ठोक्किइरह्यो।
सोचमा डुबेँ– विशाल कति नजिक भइसक्यो। वास्तवमै उसका सल्लाह अनुसरणीय छन्। बोलीमा कस्तो मिठास। नारीप्रतिको कस्तो अगाध सम्मान। झट्ट हेर्दा मभन्दा १०–१२ वर्ष कान्छो जस्तो। तर, भावना र विचार कति परिपक्क। मैले फेरि एकपटक श्रीमान् सम्झिएँ। जसले पटकपटक मलाई ‘पाखे, जंगली, बोल्न पनि नजान्ने, उठबस गर्न पनि नआउने, लुगा लगाउन, खान समेत नजान्ने’ भन्थ्यो र सुनाउँथ्यो– कस्ती केटी भिडाइदिए मलाई बाबाले ? त्यसैले यो तपाईँहरूकी बुहारी हो, मेरी श्रीमती हुनै सक्दिनँ...।
रातदिन मेरै अगाडि यस्तै पुराण सुनाएरै हैरान पाथ्र्यो। जसले मेरो मुटु छियाछिया पारिसकेको थियो। ‘कस्तो श्रीमान्, जसमा न माया न त दया। न नारीप्रतिको सम्मान न त महिलालाई मान्छे देख्ने दृष्टिकै बास।’ विशालले मसँग यति मीठो बोलिदिँदा पनि आफू मान्छे नै रहेछु भनेर महसुस गर्नुपर्ने अवस्था वास्तवमा श्रीमान्को व्यवहारले नै सिर्जना गरेको थियो।
‘ल म्याडम घर आयो,’ फेरि झसंग भएँ। अनि ओर्लेँ। विशाललाई धन्यवादको औपचारिकता पूरा गरेँ र घर गएँ। छोरा÷छोरी सुतेछन्। कोठामा पस्नु मात्र के थियो, उही शून्यता। सजिसजाउ त छ तर कुनै चिज जीवन्त छैन। हरेक भित्तो र फर्निचरले आफैँलाई जिस्काइरहेका जस्तो लाग्ने, फेरि फर्केर यहीँ आइस् भनेर व्यंग्य गरेजस्तो। तर, आज भने म यो कोठाले सोचेजस्तो थिइन्। मन्दिरबाट नितान्त फरक भएर फर्केकी थिएँ। अर्थात् भिन्न तरिकाले जिउने शैली सोचेकी थिएँ। जुन कुरा निर्जीव कोठाले बुझोस् पनि कसरी ? त्यो पनि निर्जीव घरको।
दिन बित्दै गए। समाजका विकृति÷विसङ्गतिबारे लेख्न थालेँ। मेरा लेखमार्फत् धेरैका समस्या उजागर हुन गाले। साथीका रूपमा विशालले पनि यसमा सघायो। लेख्न सघाएको मात्र हैन, मनोचिकित्सक भएर मलाई जीवनप्रति सकारात्मक र उत्साही भएर अघि बढ्न पनि सिकायो। यसबीचमा छोरा÷छोरीको विवाह भयो। श्रीमान् पनि हर्टअट्याक भएर बितेको पन्ध्र वर्ष भयो। उता विशालसँग कहिलेकाहीँ भेटघाट हुने क्रम पनि जारी थियो।
एक दिन विशाल कफी खान मेरो घरमा आयो। मलाई भने ज्वरो आइरहेको थियो। कुरैकुरामा सोधेँ– विशाल तिमी हिरो छौ, राम्रो काम गर्छौ, सबैको आत्मसम्मानको ख्याल राख्छौं। तर पनि जीवनसाथी भने किन रोजेनौ ? ऊ केहीछिन टोलाएजस्तो मात्र गरिरह्यो। त्यसपछि आफैँ थपेँ– म जस्तो आत्महत्या गर्न गएकी तिमीभन्दा १०÷१२ वर्ष जेठी महिलालाई बाँच्न सिकायौ। परिवार टुक्रनबाट बचायौ। छोरा÷छोरीलाई अनाथ हुनबाट रोक्यौ। मेरो सानो साथी, अनुरोध छ कि कृपया अब आफ्नो घर बसाऊ।
‘के तिमी मसित विवाह गर्छौ ? के तिमी मेरो जीवन साथी बन्न तयार छौ ? जीवनभर म आफ्नो भविष्य बनाउनतिर लागेँ जुन युवतीको नजिक भएँ जसको विचारधाराबाट प्रेरित भएँ, त्यो तिमी नै हौ। के तिमी विशालको जीवनको शुभ हुन सक्छौ ?’
म एक्कासि छाँगाबाट खसेजस्तो भएँ। अनि सोधेँ–विशाल तिमी के भनिरहेका छौँ ? तिमीले मलाई बाँच्न सिकायौ। जीवनमा आइपर्ने समस्या समाधान गरेर अघि बढ्न प्रेरणा दियौ। मेरो सानो साथी, मेरो मनमा तिम्रा लागि धेरै ठूलो स्थान छ। तर, म तिम्रो यो प्रस्ताव स्वीकार गर्न सक्दिनँ। फेरि म परिपक्व नारी, आजका दिनसम्म समाजलाई गाइड गर्दै हिँडेँ। म मेरो परिवार अनि समाजप्रतिको दायित्व बिर्सन चाहन्न। यही मेरो अन्तिम निर्णय हो। मेरो सानो साथीको जीवन फलोस्÷फुलोस्। यही नै शुभको कामना छ।
अतीतको कल्पनाले आँसु बगिरह्यो। छोरा÷बुहारी कोठामा आएर आमा यतिबेलासम्म किन नसुतेको भन्दा पो झसंग भएँ। अनायासै आँखा पुगेको घडी भने आफ्ना तीनवटै सुई १२ मा पुगेर सुइड्ढयँ गर्दै रहेछ, सायद ऊ पनि सुत्ने तरखरमा हुँदो हो।
प्रकाशित: १८ श्रावण २०७६ ०६:१५ शनिबार