प्रिय पारिज्यादम
तिमीलाई नालु (मलायलम ठिटो) ले दिएको नाम मन प-यो। प्यारो लाग्यो। उही संबोधन तिमीलाई प्रिय पारिज्यादम अर्थात् पारिजात।
भर्खरै म्हेपी चक्कर काटी फिरेकी छु। तिमीले आफ्ना लेखाइहरुमा वर्णन गरेजस्तो निर्जन रहेन म्हेपी अब। पूरा पूरा फेरिएको छ। खचाखच छ ती धान खेत आज कंक्रिट भवनहरुले। म मात्र कल्पना गर्न सक्छु त्यसबखत असारमासको किसानहरुको धान रोपाइँ चटारो। तर ती सब एक सुदूर विगत भइसकेको छ। तिम्रो प्रिय मित्र बारबारा निम्री अजीजले तिमीसँगको पहिलो भेटको प्रसंगमा भनेको कुरा अझै ताजै छ पारिज्यादम। उनी खेतका गरैगरा हिँडेर खेतहरुकै बीचमा भएको तिम्रो निवासमा पुगेकी थिइन् रे। विगत खोतल्दै गर्दा उनका वृद्धा आँखामा एकाएक चमक उठेको थियो। छेवैमा बसेकी दिदी सुकन्या पनि हराएझैँ लागेकी थिइन् त्यही समयमा। एक साँझ हामी सम्झँदै थियौँ तिमीलाई तिम्रै म्हेपी निवासमा।
ती दिनहरुमा तिम्रो घर धानखेतले मात्र हैन प्रहरीहरुको तीखो नजरले पनि घेरिने गर्दै रहेछ। समय फरक लयमा घस्रिँदै थियो त्यस बखत। तिमी एक प्रतिरोधी लेखक। विपरीत ध्रुव। राज्यको चिन्तन विपरीतको बाटो तिम्रो? तिमीलाई तह लगाउने अचुक उपाय भन्नु शक्ति प्रयोग। राज्य तर्साउन चाहन्थ्यो तिमीलाई। फुको भन्छन् शरीर ‘राजनीतिक क्षेत्र’ हो। तिम्रो शरीर सामान्य शरीर भन्दा अर्कै भयो। त्यस कमजोर देह राज्यलाई चुनौती दिइरहेको थियो। त्यसैले राइफलसहितका केही प्रहरी खटाइदिएपछि तिमी तह लाग्छौ भन्ने उनीहरुको बुझाइ छ। तर खै कहिले बुझ्दा हुन् निरंकुश शासकहरुले कि बन्दुकभन्दा कलमको निब कति शक्तिशाली छ। के जरुरी थियो होला र एक लेखक, जो आफैँ हिँडडुलसम्म गर्न सक्दिैन, उसैलाई घेराबन्दीमा राख्नु? इतिहासको एक हास्यास्पद च्याप्टर। बस्। यति भन्न सक्छु यतिखेर। तर पक्का हो, एक लिखुरे कलमजीविसँग कति डराउँदो रहेछ शासक। पारिज्यादम आज ती समय सम्झिँदा पनि कहाली लाग्छ। कति मोनोटोनस समय। बन्देजै बन्देज। तर फेरिएझैँ लाग्ने हाम्रो समय फेरि पनि उही शासक मानसिकता भोग्दै छ। भर्खरै एक कवि विनाकारण थुनामा परेका थिए। किन डराउँछ होला सरकार यतिविधि कलमसँग?
तिमीले सुकन्यालाई पठाएका चिट्ठीहरु पढ्दैछु। तिमीले डाक्टर मास्केलाई लेखेका पत्रहरुमा पनि घोत्लिदैछु। र बुझ्दैछु तिमीभित्रका अनगिन्ति पीडा र मानसिक उल्झनसहितको जटिल भोगाइ। खासमा जीवन कहाँ सरल छ त। त्यसमा पनि तिमीजस्ती एक सफल तर सधैँकै विवादित लेखक। शारीरिक पीडाको पराकाष्ठा भोगेकी तिमी बिस्तारै ज्याद्रो हुँदै गएको प्रमाण भेटेकी थिएँ एउटा पत्रमा। ‘पहिले पहिले बिरामी हुँदा म असाध्य रुन्थेँ, रात भरिभरि रुन्थेँ, तकिया लफ्रक्कै हुने गरी। अब त रुनुको अर्थ केही छैन। मलाई आजभोलि आफ्नो माया नै लाग्दैन’। आफैँलाई माया नलाग्ने त्यस्तै तीता समयमा सायद अंकुराएको हुदो हो साकम्बरी तिमीभित्र। ऊ एक ढिट आइमाई। एक रहस्यमयी आइमाई। तर ऊ आफ्नो अस्तित्वको दाबा गर्दागर्दै चुपचाप गई। तिमी भने चुपचाप हैन हल्लाखल्लासहित गयौँ। आज पनि उत्तिकै छ तिम्रो वाचालपन। त्यसैले मजस्ता धेरैँ तानिइरहन्छौ तिमीतिर। अनि हामी खोज्दै सोध्दै पुगिदिन्छाँै तिम्रो निवास म्हेपी। समाउँछौँ सुकन्याको हात र महसुस गछौँ तिम्रो स्पर्श। उत्तिकै उत्सुक हुन्छौँ भेटन् डा. मास्केसँग जो तिम्रा ती कन्फिडेन्सियल पत्रहरुका संरक्षक हुन्। खै किन हो तिमीले विश्वास गरी पोख्यौँ आफ्ना अन्तरकुन्तरका सारा कुरा उनलाई? तर तिम्रो विश्वासलाई बडो जतनले सम्हालेर नै डा. मास्केले म जस्ता धेरैलाई तिम्रो मन बुझ्ने अवसर दिएका छन्। २०५२ सालमै वेदनामा प्रकाशित ती तिम्रा गुप्त चिट्ठीहरु आज पनि अनलाइनहरुले छापिरहन्छन्। तिमी सधैँ नै चासो र खोजीको लेखक। आज पनि तिम्रा सामीप्य पाएकाहरुले लेखि बस्छन् ती समय। अनि हामी बेस्सरी मन दिएर पढ्छौँ। किन कि तिमी सधैँ एक रहस्य रहयौँ हाम्रा लागि जसले तिम्रो संसर्ग पाएन।
पारिज्यादम, तिम्री सुकन अर्थात् मेरी सुकन्या दिदी सधैँ तयार रहन्छिन् कुरा गर्नका लागि जसले तिम्राबारे बुझ्न खोज्छन्। तिम्रो घरको ढोका ढक्ढकाउनेहरुमा हुन सक्छन् पत्रकार, शोध कर्ता, कुनै कार्यक्रमका आयोजक या म जस्तै जिज्ञासु पनि। सबैका लागि उत्तिकै न्यानो छ उनको स्वागत। अक्सर ती भेटहरुमा हुन्छन् कहिल्यै नटुङ्गिने तिम्रै कुरा। सुकन्या दिदी बोलिरहन्छिन् घण्टौँ तिम्रै कुरा। तिमी नभएर पनि कहाँ रैनछौ र ? सायद त्यसैले डा. मास्केले एक संस्मरणमा दाबीका साथ लेखेका हुन्, ‘समयले जबर्जस्ती छुट्याए पनि उनीहरुलाई नजिकबाट चिन्ने मित्रहरुलाई थाहा थियो आज पारिजातसँगै अलिकति सुकन्याको पनि मृत्यु भएको छ र सुकन्यासँगै केही पारिजात अझै बाँचिरहेकी छिन् ’। क्या घतपर्दो कुरा। तिमी त हरदम छौँ सुकन्यासँगै। तर यो पनि पक्का हो, सुकन्या भने केही मात्रामा त सकिएकै हो तिम्रो अभावमा। मैले धेरै पटक उनीसँगको संवादमा त्यो महसुस गरेकी छु। उनी निकै निरश जस्तो लाग्छिन् घरीघरी र मनमा उम्लिरहेको बेस्वादिला पलमा बस तिमीलाई नै सम्झेकी हुन्छिन्। उनले भनेको कुरा घुमिबस्छ दिमागमा, ‘दिदी भएको भए मलाई कति सजिलो हुन्थ्यो’।
भर्खरै तिम्रो चिट्ठीको संगालो प्रकाशित भएको छ, ‘अपराजिता पारिजातका चिठीहरु’। म तिनै चिठीहरु पढेर खुब भावुक भएकी छु। उपचारका क्रममा दिल्ली रहँदाका बखत तिमीले लेखेका ती पत्रहरु वास्तवमै तिम्रो अप्ठारो अवस्थाको मनस्थिति निहाल्ने आँखीझ्याल हुन्। साडी र घडीसम्म बेचेर टिक्नु परेको अवस्था। बाह्र वर्षदेखि डिफर्मड रहेका खुट्टाको दुईपटकको म्यानिपुलेसनको सकस। त्यसमाथि सधैँ नै पैसाको अभाव। यी यस्तै भोगाइले गर्दा होला तिमीले साहसका साथ भन्न सकेको दुःखलाई पनि नसालु। भारत बसाइमा एक्लिएको मन र एडमिसन फर्ममा भर्नुपर्ने अनेक कुराहरुले गर्दा होला आफूलाई पूरा आवारा मानेकी छौ। त्यस मार्मिक प्रसंगमा तिमी लेख्छौ,
हिजो फेरि एडमिसन हुँदा फर्म भर्नुपरेको थियो। फ्यामिली मेम्बर...नो, होम...नो, प्यारेन्ट्स...नो। यतिका निगेटिभपछि मलाई एउटा कुरा याद आयो, कुल मिलाकर ‘आवारा’।
एकातिर यस्तै अनेक खल्लोपनामा चुर्लुम्म रहेकी तिमी फेरि आफ्नो कामप्रति भने कति दृढ। तिम्रा ती पत्रहरुमा बारम्बार आइरहन्छन् भर्खरै सकेका कथाका प्रसंग या लेख्न तयार उपन्यासका कुराहरु। तिमी कुरा गरी बस्छौ समयमा सकिने ‘पर्खाल भित्र र बाहिर’, सुरु गर्दै गरेको ‘तोरीबारी बाटा र सपनाहरु’ र तिमीलाई छपाईको चिन्ताले सताएझैँ लाग्छ ‘सिटीहलको बूढा ज्यामी’। बिरामी छौं, परदेशमा छौं तर लेखाई तिम्रो लत। कामप्रतिको तिम्रो लोभले आजित तुल्याउँछ जब भन्छौ, ‘शरीरको मलाई त्यति मायामोह छैन, सुकन। मृत्युले के गर्छ र ? एउटा मीठो छुट्कारा दिन्छ, शारीरिक यातनाहरुदेखि। तर मैले जुन दुई चारवटा काम सुरु गरेकी छु, त्यो मैले सिध्याउनै पर्छ’।
तिम्रो कामैले त हो मलाई तिम्रो घर खोज्न बाध्य पारेको। तिम्रा ती कालजयी लेखनले त हो आज पनि तिमीलाई असंख्य पाठकले मन मस्तिष्कमा सजाएका छन् पारिज्यादम। तिम्रा हरेक कृति म दोहो¥याइतेहे¥याई पढिरहेकी छु। भर्खरै दोहो¥याएँ ‘नैकापे सर्किनी’। कसैले खास वास्ता नगर्ने एक गरिब दलित महिलाको कथा। जब आजको दृष्टिले म त्यस कथा हेर्छु तब छर्लङ्ग हुन्छ तिम्रो चेतना। हामी आज सवार्लटनका कुरा उप्काउदैछौँ, तिमीले धेरै अघि नै ती सीमान्त पात्रहरुमा आफ्नो दृष्टि पारिसकेकी थियौँ। सिटीहलको बूढो ज्यामी, ‘नैकापे सर्किनी’ होस् या बाटुली या क्युरी सबै त ती आवाजविहीन दमितपात्रहरु हुन्। निरंकुश राज्यसंयन्त्र र सामन्ती समाजको शोषणले पिल्सिएका पात्रहरु बरा। उनीहरु तिम्रा लेखनमा जीवन्त भए। आज पनि छन् नैकापे सर्किनीको नियती व्यहोरिरहेका धेरै दलितहरु। उनीहरु दलनको दोहोरो तेहोरो मारमा छन्। राज्य छ, कानुन, संविधान सबै छ आज। सबै मानिस समान हुन् भन्न थालेको धेरै भइसक्यो। तर आज पनि छन् विभेदका, जातीय छुवाछूतका, सामाजिक उचनीचका ती असंख्य पर्खालहरु जो झन्झन् अग्लिएझैँ लाग्छन्। राज्य गर्व गरिबस्छ एउटा उदाहरणीय संविधान ल्याएकोमा तर कानुनकै नाकमुनिबाट फुत्कि बस्छ तस्करहरु, बलात्कारी र हत्याराहरु। अझ पनि डरडरैमा हिँड्नुपरेको छ छोरीहरुले। थाहा छैन कहाँ र कतिखेर निर्मलाको नियतिमा परिन्छ। समय फेरियो भन्दाभन्दै पनि फेरि उस्तै छ।
उस्तै समय माझ पनि केही त फेरिन्छ नै पारिज्यादम। मेरो आफ्नै समय अलि फरक छ यतिखेर। अनगिन्ति निराशाहरु चिरेर आज खुसी हुन सकेकी छु। त्यसका कारणहरुमध्ये तिमी पनि एक हौ। म आजकल तिम्रा प्रियजनहरुसँगको भलाकुसारीमा मस्त छु। बारबारा यस वर्ष पनि नेपाल आउने कुरा छ। गत वर्ष ठमेलको एक क्याफेमा लामै गफिएकी थिएँ। उनी आज पनि तिमीसँगको त्यो पहिलो भेट सम्झन्छिन्। उनी योगमायाका विषयमा बुझ्न हिँडेकी एक मानवशास्त्री र तिमी नाम चलेकी लेखक। तिमी दुईको भेट र झ्याङ्गिएको मित्रता। नेपाल आउदा सधैँ तिम्रो निवासमा पुग्ने गर्छिन् बारबरा। अनि सुकन्या दिदी जो प्रत्येक पल तिम्रो सम्झनामा हुन्छिन्। जब जब म उनकोमा पुग्छु तब कुरा हुन्छ तिम्रै। अझ उनले सम्हाली राखेकी छिन् तिमलाई मन पर्ने केही फूलहरु। एक बिहान गमलामा रोपेको फुल्न तयार गुलाब देखाउँदै भनेकी थिइन्, ‘यो गुलाब दिदीलाई खुब मन पथ्र्यो’। त्यसै बखत अड्कल गरेकी थिएँ तिमी दुईको आत्मियता। र ठ्याक्कै उही प्रेम र आत्मियता तिम्रा चिठीका यी हरफ पनि बोल्दैछन् ,
‘बाँच्नलाई जहाँ बाँचू, मर्नलाई तेरै घरको संघार चाहिन्छ, सकुन’।
मन भावुक छ यस बखत।
बिदा।
प्रकाशित: १३ श्रावण २०७६ ०८:५१ सोमबार