- अर्जुन आचार्य
यो छोटो जिन्दगीको,
लामो धागो र केही थान प्रहरका
कुरुस बोकेर काँपिरहेको मेरो कर्णालीलाई
स्विटर बुन्न भनी म कुनै बेला सहर पसेको हुँ !
तर, देख्दैछु,
यी सहरका रहरहरू
सायद देखेरै होला यो प्रहर पनि
घटघट–घटघट जहर पिउन तम्तयार छ ।
तिम्रा
सातामा बदलिने नाताहरू
र, पैसामा साटिने बैंसहरू
ए सहर बताइदेऊ !
के मेरा कर्णालीका विकृतिभन्दा बढी
सभ्य देखिन्छन र ?
पाखा सर्दा छोरीले
छोएको नखाने बाबुलाई
सहर तिमीले
अशिक्षित घोषणा गरिदियौं,
के आज समाजअगाडि देखाउन सक्छौं
ए सर्टिफिकेट,
कि आफ्नै छोरी बलात्कार गर्ने सहरिया बाउ
कतिको शिक्षित थियो भनेर ।
फुक्नेले फुकिदिए
कर्णालीमा चरम भोकमरी छ भनेर
तर, कहिल्यै तिमीले खेल्यौ
मार्सी फल्ने खेतका रोपाइँमा
भुरल्ली कानमा राखी कोठीका खेलहरू !
कर्णालीमा सम्भावना
र अवसर छैन भन्नेहरूले
देख्यौ कहिल्यै
रारातालमा पौडिरहेका चहकिला डलरहरूलाई !
कहिल्यै पुगेनन् उज्यालो मैनबत्ती बनेर
कर्णाली शिक्षित छैन भन्नेहरू !
फेरि कहिल्यै फर्केनन्
कर्णाली झुल्काउन भनेर
मिरमिरेमा सपना बोकाएर
सहर पठाएका सूर्यहरू !
आज म एक अञ्जुलीभरि
कर्णाली लिएर
अबेरसम्म सुमसुमाइरहेछु !
र लागिरहेछ,
कर्णाली स्वतन्त्र बग्न पाएकै रहेन छ !
अझै पनि
यहाँ विभिन्न शीर्षकमा
बगाइएको छ मेरो कर्णालीलाई !
प्रकाशित: ११ श्रावण २०७६ ०६:०७ शनिबार