१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

चिरबिर ! चिरबिर !

सन्जु खड्गी शाहीले चराको चित्र बनाउन थालेको दुई दशक भैसक्यो। ठमेल, लाजिम्पाट, पाटन र सौराहातिरका ग्यालरीमा भेटिन्छन् उनका चित्रहरू। उनका अधिकांश कलाकृति विदेशीले किनेर लैजान्छन्। पछिल्लो समय नेपाली ग्राहकको संख्या पनि बढ्दै जाँदा उनी उत्साहित छन्।

चरा अर्थात् प्रकृतिका सुन्दर सृजना। कुनै साना, कुनै अजंगका। हेर्दा मन रमाउँछ भने चिरबिर सुन्दा कान। चरा मन नपराउने मान्छे सायदै भेटिएलान् ! 

धर्तिमा दश हजार भन्दा बढी प्रजातीका चरा पाइन्छ। त्यस्तै नेपालमा ८८७ प्रजातिका। घरआँगन, करेसाबारी र जंगलमा चरा अवलोकन गर्न सकिन्छ। तीनै चराका तस्बिर र चित्र भित्तामा सजाएर आनन्द मान्छन् प्रकृतिप्रेमीहरू।

धैर्य, क्षमता र लगन भएका फोटोग्राफरले तस्बिरमा चरालाई कैद गर्न सक्छन्। कलामा पनि तस्बिरमा जस्तै दुरुस्तै उर्ताने काम सजिलो होइन। यसका लागि निकै मिहिनेत गर्नु पर्छ। त्यस्तै एक जना कुशल कलाकारको नाम हो–सन्जु खड्गी शाही।

सन्जु खड्गी शाही

उनले आजसम्म सयौं थरि चराका हजारौं चित्र बनाइसकेका छन्। ‘मैले सबैभन्दा बढी चित्र बनाएको भनेको डाँफेको हो’, उनी सुनाउँछन्, ‘नेपालको राष्ट्रिय पंछी भएकाले नेपालीले पनि सजाउन थालेका छन्। त्यस्तै लाटोकोसेरो पनि मन पराउँछन्। विदेशीले त लाटोकोसेरोलाई प्रेमको प्रतीक नै मान्छन्।’

उनी घरमै बसेर चित्र बनाउँछन्। ती चित्र ठमेल, लाजिम्पाट, पाटन र सौराहातिरका ग्यालरीबाट बेचिन्छ। उनका अधिकांश कलाकृति विदेशीले किनेर लान्छन्। पछिल्लो समय नेपालीको माग पनि बढ्दै छ। यसबाट उनी उत्साहित छन्।

उनले चराको चित्र बनाउन थालेको दुई दशक भैसक्यो। उनी विशेषतः एक्रेलिक कलर प्रयोग गरेर चित्र बनाउँछन्। कति चराको तस्बिर आफैं खिच्छन्, कति अरुले खिचेका तस्बिर हेरेर÷पढेर त्यसलाई क्यानभासमा उर्ताछन्।

कलाकारितामा उनी एसएलसी पछि होमिएका हुन्। काठमाडौंको बागबजारमा जन्मे/हुर्केका शाही एसएलसी पछि ललितकला क्याम्पसमा भर्ना भए। चरातिर लाग्नुमा एउटा घटनाले काम गरेको छ, उनी पहिलो वर्षमा हुँदा क्याम्पस प्रमुख गोविन्द डंगोलले चराकलामा निपुण विजय डंगोललाई क्याम्पसमा निम्त्याए। उनले दुई दिन चराकलाबारे प्रशिक्षण दिए। 

‘विजय सरबाट कक्षा लिएपछि मलाई चरामा रुची बढ्यो’, शाही सम्झन्छन्, ‘त्यहीबेलादेखि मैले चराकलामै लाग्ने अठोट गरें।’ धन्यवाद विजय गुरु जसको प्रेणाबाट शाही चराकलामा स्थापित बन्न पुगे।

उनले दुई पटक एकल चित्रकला प्रदर्शनी गरिसकेका छन्, काठमाडौं र सौराहामा। सन् २०१५ मा सौराहामा भएको ‘आर्ट फर नेचर’ इन्टरनेशनल वर्कसपमा बनाइएका चित्र पछि बौद्धमा प्रदर्शन गरिएको थियो।

‘त्यतिबेला मेरो चित्र ५० हजार रुपैयाँमा विक्रि भएको थियो’, उनले खुशी बाँडे। नामसँगै दाम पनि दिलाएको छ कलाकारिताले। उनलाई चित्र बनाउन भ्याई नभ्याई हुन्छ। घरमा स्टक बस्दैन। यसबाटै गुजारा चलेको छ। त्यसैले कामबाट सन्तुष्ट छन्।

चित्रकारिता बाहेक उनी संगीतमा पनि निपुण छन्। हरेक साँझ काठमाडौंका रेष्टुराँमा गीतार बजाउँछन्। ‘कलामै जीवन समर्पण गर्छु’, ४८ वर्षे शाहीले भबिश्यको योजना सुनाए’, ‘चित्रकारिता र संगीतलाई संगसँगै लैजान्छु।’

अचेल उनी परिवारसहित धुम्बाराहीमा बस्छन्। जीवन चलिरहेकै छ। एउटा कुराले भने उनलाई सधैं दुःखी बनाउँछ–वन फँडानी र बढ्दो शहरीकरणले चराको विनास भैरहेको छ। त्यसैले कला मार्फत् संरक्षणको सन्देश दिँदै छन् उनी। हरेक नागरिकले संरक्षणका लागि पहल गर्नु पर्छ। अन्यथा भोलि चित्रमा मात्रै चरा देखिने छन्। आशा गरौं, त्यो दिन नआओस्।

प्रकाशित: ११ श्रावण २०७६ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App