२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अन्य

मृगौला प्रत्यारोपणको इतिवृत्ति

तस्बिरः कृष्पा श्रेष्ठ

थाहा छैन कुन बेला दिव्या सिंह शाहको मनमा डाक्टर बन्नु ठूलो कुरा हो भन्ने छि-यो, उनलाई सधैँ डाक्टरको भूत सवार भइरह्यो। उनलाई लाग्थ्यो, धेरै पढ्ने मान्छे डाक्टर हुन्छ र डाक्टरलाई सबैले सम्मान गर्छन्। तातेताते गर्ने उमेरमै उनी हजुरबुबाको छेउमा गएर ‘जिजुबुबा, म हजुरको उपचार गर्छु, निको पार्छु’ भन्थिन् रे ! पछिसम्म पनि परिवारले जिस्क्याउनु पर्दा सानैमा त यो यस्तो भन्थी, अहिले किन डाक्टर नबनोस् त भनेर जिस्क्याउँथे।

किशोरावस्थामा उनी जसै बिहानीपख निद्राबाट ब्युँझन्थिन्, कोठाबाट निस्कनेबित्तिकै बुबालाई चिहाउँथिन्। बुबालाई किताबहरुको बीचमा हराइरहेको पाउँथिन्। उनका बुबा तोपबहादुर सिंह सर्वोच्च अदालतको न्यायाधीशसम्म बन्नुभयो। कयौँ कानुनसम्बन्धी पाठ्यपुस्तक उनले लेखेका थिए। त्यसैले घरमा पढ्ने वातावरण र पढ्ने कुरालाई महत्त्व दिइन्थ्यो।

कसो–कसो उनलाई पनि पढ्नमा रस बस्न थाल्यो। पढ्नमा तेज भएकाले उनले सोचेजस्तै चिकित्सा अध्ययन गर्न बाटो खुल्यो।

त्यो बेला राम्रो पढाइ हुनेबित्तिकै स्कलरसिप पाउने सम्भावना बढी हुन्थ्यो। उनीभन्दा अघि ठीकैका विद्यार्थीहरु गएकाले हुनसक्छ, भारतको इलाहावादमा नेपाली विद्यार्थीको इज्जत त्यति राम्रो थिएन। उनीहरुलाई लाग्थ्यो, अन्य राम्रा विद्यार्थीको भाग खोसेर यी आइपुगे।

शुरुमा दिव्यालाई पनि औसत विद्यार्थी ठानेर व्यवहार गर्थे। उनलाई त्यस्तो मन पर्दैनथ्यो। त्यसैले उनले आफूलाई प्रमाणित गर्नुपर्छ र हेपिएका नेपालीको स्तर उकास्नुपर्छ भन्ने लाग्थ्यो।

त्यसैले उनको मिहिनेत बढ्न थाल्यो। कक्षामा उनले आफ्नो तीक्ष्णता देखाउन सफल भइन्। खासमा शिक्षकले दिएका कयौँ प्रश्नको उत्तर अरु विद्यार्थीले दिन नसकेपछि दिव्या उठ्थिन् र कक्षाको अगाडि उभिएर प्रस्तुति दिन्थिन्। छोटो समयमा नै उनले आफ्नो प्रतिभाको परिचय दिएर साथीहरुको इज्जत कमाइन्।

कलेजभन्दा बाहिर भारतीय समाजमा स्त्रीको अवस्था त्यति राम्रो थिएन। व्यवहार हेपाहा नै थियो। कलेजभित्र भने उनले कहिल्यै पनि त्यस्तो व्यवहार सहनु परेन। सबैले सानो कदकाठीकी दिव्यालाई माया र सम्मान गर्थे। कहिलेकाहीँ केटा साथीहरुले कलेजमा केटीहरुको कुरा काटिरहेका हुन्थे। उनले आँखा तरेर हेर्थिन् अनि साथीहरुले सच्याउँदै भन्थे, ‘अरे यार दिव्या हामीले तिम्रो कुरा काटेको होइन। हामीले कहिल्यै पनि अपवादको कुरा काट्दैनौँ। अरु औसत युवतीको कुरा काटेको हो।’

यसरी उनलाई अपवादभन्दा माथि राखेर कुरा गर्थे। उनले आफ्नो क्षमताको लोहा कायम राखेकी थिइन्। त्यसो त उनको सहज तरिकाले मिल्ने स्वभावका कारण पनि जहिल्यै माया पाइरहिन्।

‘कम उचाइकी भएकीले पनि सबैले प्यारो गरेका हुन सक्छन्,’ उनले आँकलन गरिन्।

कलेजमा पढुञ्जेल सधैँ सबै जना उनका बारेमा प्रोटेक्टिभ नै रहे। कहिलेकाहीँ बाहिर घुम्न जानु प-यो भने पनि केटा साथीहरुले घेरेर लैजान्थे, ल्याउँथे। त्यसो त यो सम्मानका लागि साथीहरुको मन जितेकी थिइन्। कोही बिरामी पर्दा सघाउनेदेखि लिएर उनीहरुका नोटहरु सारिदिने गर्थिन्। उनको सहयोगी बानी, मृदु भाषी व्यवहारका कारण साथीहरुमाझ निकै लोकप्रिय थिइन्।

उनले त पछिसम्म पनि केटा र केटीबीचको फरक थाहा पाइनन्। किन अर्कै व्यवहार गरेका होला भन्ने लाग्थ्यो उनलाई। कलेज पढ्दै गर्दा जब केटाहरुले आफूले दहेजको मूल्य बढाउनका लागि पढिरहेको बताउँथे, उनी छक्क पर्थिन्।

‘नेपालमा त्यो बेलासम्म मैले दहेजका कुरा सुनेकी रहेनछु,’ उनले भनिन्, ‘त्यसैले उनीहरुले दहेजका कुरा निकाल्दा म रिसाउँथेँ। यत्रो पढेलेखेको भएर पनि यस्तो गएगुज्रेको कुरा गर्ने हो ? म रिसाइदिन्थेँ। उनीहरु सामाजिक रीतिका कारण आफूहरु त्यस्तो गर्न बाध्य भएको सुनाउँथे। म छक्क पर्थें।’

विरोध प्रदर्शन
कलेज सकिएपछि उनलाई केही कुरा खट्कियो। त्यो कलेजमा पढाउने शिक्षक वा ठूला व्यक्तिका लागि आरक्षण हुन्थ्यो। कुनै प्रभावशाली शिक्षकले चाहेको खण्डमा तिनका सन्तान कमजोर भए पनि नम्बर दायाँबायाँ गराएर पढाउन सक्थे। यस्तो कुराका कयौँ पीडितहरु थिए। खासमा अति सक्षम विद्यार्थीले एमबिबिएसपछि सिधै एमडी गर्न सक्थ्यो। यस्तो सुविधा आरक्षित थिए। त्यसको विरोधमा विद्यार्थीहरु उत्रिए।

हुन त दिव्या विदेशी थिइन्। उनी भारतीय दूतावासको स्कलरसिपमा पढ्न गएकी थिइन् तर उनलाई कलेजमा हुने त्यस किसिमको चलखेल बिल्कुलै मन परेन। त्यसैले त्यस्तो चलखेल रोक्न विद्यार्थीहरुले -याली र विरोध प्रदर्शन गरे। उनी पहिलो पंक्तिमा उभिएर त्यस्तो कार्यको विरोध गरिन्।

यतिबेला सम्झँदा उनलाई रमाइलो लाग्छ, भन्छिन्, ‘त्यो मेरो सरोकारको विषय थिएन तर साथीहरुको दुःख देखेर जायज कुरामा आन्दोलन गर्नुपर्छ भन्ने लाग्यो। त्यसैले त्यहाँ विरोध गरियो। पछि त एउटा चर्चित भारतीय पत्रिका टाइम्स अफ इन्डियाले हाम्रो विरोधको तस्बिर प्रथम पृष्ठमा नै छाप्यो।’

उनलाई त्यो बेला सो तस्बिरको महत्त्व के हो भन्ने थाहा थिएन, हिजोआज सम्झँदा भने त्यो तस्बिर वा अखबारको टिपोट राखेको भए पनि हुने रहेछ भन्ने लाग्छ। ‘हामीले त एउटा विरोध कार्यक्रम आयोजना गरेका थियौँ तर त्यो विरोध एउटा समयमा इतिहास बनाउने काम रहेछ भन्ने त अहिले लाग्दैछ,’ उनी भन्छिन्।

यही आन्दोलनका कारण अदालतले शिक्षकहरुको मनपर्दी रोक्दै एमबिबिएसबाट पास भएका केही उम्दा विद्यार्थीले सिधै एमडी पढ्ने पाउने आदेश गरिदियो। यो आदेशले दिव्याको पढाइ अड्किएन। उनले पनि प्रतिस्पर्धाबाट थप अध्ययन गर्ने मन बनाइन्।
त्यो बेला भारतको उत्तर प्रदेशमा सात वटा मेडिकल कलेजहरु थिए। ती कलेजमा भारतको अन्य भेगबाट पनि अध्ययन गर्न आउनेहरु थिए। अब थप अध्ययनका लागि उत्तर प्रदेश मात्र नभई पूरै देशबाट त्यहाँ प्रतिस्पर्धाका लागि आउने भए। नेपालीहरुलाई अध्ययनका लागि रोक्ने कुनै नीति वा नियम त्यो बेला थिएन। त्यसैले स्वयं दिव्याले पनि आफू सो प्रतिस्पर्धामा भाग लिन चाहिरहेकी थिइन्।

उनले बुबालाई भनिन्, ‘बाबा म पनि एमडी पढ्छु।’

उनका बुबाले रोक्ने कुनै कारण थिएन तर भने, ‘त्यहाँ त भारतभरिका विद्यार्थी आउँछन्, तिम्रो मिहिनेत पुग्छ त?’
उनका बुबालाई पनि छोरीको प्रतिभामा विश्वास थियो तर त्यहाँ प्रतिभा भएर मात्र पनि पुग्दैन, दृढता पनि उत्तिकै आवश्यक पथ्र्यो। दृढताले उनको प्रतिभालाई अझ पूट दिन्थ्यो र उनले कल्पेको सफलता दिलाउन सक्थ्यो।
दिव्याले भनिन्, ‘मलाई मन लागेको छ। त्यसैले एक पटक प्रयास किन नगर्ने?’

त्यो बेला इलाहावादमै पढ्ने कि पञ्जाबमा भन्ने उनलाई दोधार थियो किनभने पञ्जाबमा पिजिआई चण्डिगढ पनि चिकित्सा अध्ययनका लागि प्रख्यात कलेज थियो। यो पोस्टग्र्याजुएटका लागि निकै नाम कहलिएको थियो। उनलाई साथीहरुले त्यहाँ नाम निकाल्न गाह्रै हुन्छ भनेर अत्याएका पनि थिए।

उनलाई साथीहरुले जति अत्याउँथे, उनी त्यति मिहिनेतका साथ पढ्थिन्। उनी पहिला पढेकै कलेजमा पनि केही दिनपछि एमडीको प्रवेश परीक्षा हुँदै थियो। त्यसमा सहभागी हुनु केही दिनअघि उनी पञ्जाब गइन्। पञ्जाबमा उनले परीक्षामा राम्रो अङ्क मात्र ल्याइनन्, पढ्ने अन्तिम तयार पनि सबै गरिन्।

तर फेरि इलाहावादमा उनलाई आफ्नो क्षमता जाँच्न मन लाग्यो। यता इलाहावादमा पनि नाम निकालेपछि भने उनी इलाहावादमा नै पढ्न फर्किइन्। उनले भनिन्, ‘इलाहावादको कलेजभन्दा पनि पञ्जाबको निकै राम्रो भन्थे साथीहरुले र कतिपय सिनियर दाइहरुले पनि तर मलाई इलाहावाद नै मन प-यो।’

बिरामीको माया
उनी इलाहावाद आएर पढ्ने त भइन् तर के विषय छान्ने भन्ने धेरै सकस प-यो। फिजिसियन बन्ने कि अर्थोपेडिक्स भन्ने मेरो छनोटको विषय थियो। अधिकांश छात्राहरुले त स्त्री रोग विशेषज्ञ छानिहाले। उनलाई भने त्यो विषयले उति आकर्षण गरेन।

‘यो विषयभन्दा अलि मस्तिष्कको कसरत हुने कुनै विषय छानौँ भन्ने मलाई लागेर क्लिष्ट किसिमको विषय छान्न मन लाग्यो,’ उनले भनिन्, ‘मेडिसिनमा त्यो सम्भावना थियो। त्यसैले मैले यही पढ्न थालेँ।’

गाइनोकलजी (स्त्री रोग)मा बढी पैसा हुन्छ भन्ने धेरैलाई लाग्थ्यो। साथीहरुले त्यही पढ भनेर सुझाव नदिएका होइनन्। ‘तिमीकहाँ त को उपचार गर्न आउला र ?’ साथीहरुले गिज्याउँथे, ‘स्त्री रोगमा विशेषज्ञता हासिल गरेको भए तिमी सुहाउँदो पनि हुन्थ्यो !’

उनी सानैदेखि यसरी केटा वा केटी विभेद गरेको रुचाउँदिन थिइन्। त्यसैले पनि केटीले नै रुचाउने विषय म किन पढूँ, अरु नै चुनौतीको विषय किन नपढूँ भन्ने उनलाई लाग्यो।

कलेजभरि उनीबाहेक अरु कुनै छात्राले मेडिसिनको रोग पढेनन्। उनी केटाहरुको भीडमा एक्लो थिइन्। पहिला त कलेजमा केटी साथीहरु भएकाले रात्रिकालीन उपचारमा कोठा सेयर गर्ने, सुत्नेदेखि अन्य कुनै समस्या थिएन तर उनी एक्लो स्त्री डाक्टर भएपछि त्यो विधामा सुत्नेदेखि बाथरुमसम्मका व्यवस्थापन मिलाउन प्रशासनलाई गाह्रो भयो। त्यसैले उनले आफैँ यी समस्या समाधान गर्न केटाहरुसँगै कोठा र बाथरुम सेयर गर्न थालिन्। नर्सको कोठामा जान उनलाई मन लागेन किनभने त्यहाँ पनि त उनीहरुले अतिरिक्त सामग्री राखेका थिएनन् ! त्यो फेरि अलि टाढा पनि थियो। त्यसैले बुझ्ने केटा साथीहरु भएकाले उनको समस्या बुझिदिन्थे। जसका कारण उनले कुनै अप्ठेरो भोग्नु परेन।

समस्या कलेजभित्र होइन, कलेजबाहिर हुन्थ्यो। कस्तो भने, जब कुनै बिरामी आउँथे र डाक्टर बोलाइदेऊ भन्थे, उनी पुग्दा डाक्टर सा’ब खोई त भनेर -याख-याख्ती पार्थे। उनले म नै डाक्टर हुँ भनेर भन्दा पनि पत्याउँदैनथे।

हुन पनि खाइलाग्दो डाक्टरसा’बको खोजीमा रहेका सर्वसाधारणले सानो कदकाठीकी दिव्यालाई पत्याउने कुरा पनि भएन। तर जब उनीहरुको उपचारमा दिव्याले दिलोज्यान लगाएर निको पारेर पठाउँथिन्, उनीहरु छक्क पर्थे। त्यसपछि त उनलाई बिरामीका आफन्तदेखि सबैले घरै लैजाउँलाझैँ गर्थे। ‘कसैले त मेरी छोरीजस्तै भन्थे त कसैले देउता नै रहिछ भनेर हैरान बनाउँथे,’ उनले ती दिन सम्झँदै भनिन्, ‘खासमा त्यो उनीहरुको खुसी बोलेको हो भन्ने मैले बुझ्न थालेँ।’

पढुञ्जेल पनि प्राध्यापकहरुले सहयोग गरेका कारण आफूले उम्दा परिणाम ल्याउन सकेको उनको अनुभव छ। खासमा उम्दा विद्यार्थीको खोजीमा सधैँ एउटा गुरु हुन्छ। त्यस्तो विद्यार्थी पाउँदा उसले दिलबाट सक्दो सहयोग गर्छ। दिव्याका मामिलामा पनि सोही कुरा प्रमाणित भएर आयो।

मृगौलाकी पायोनियर
त्यो बेला भर्खर शिक्षण अस्पताल महाराजगञ्जमा एमडीको पढाइ शुरु भएको थियो। उनी उम्दा विद्यार्थी भएकाले उनले एमडी सक्नेबित्तिकै यहाँ पढाउने काम पाइहालिन्। प्रक्रिया नमिलेको एक दुई महिना उनले स्वयंसेवा गर्दागर्दै उनी त्यहाँको स्थायी चिकित्सक बनिन्।

उनले भारतमा पढ्दाका बेला कार्डियोलजीमा विशेषज्ञता पढेर निस्केकी थिइन्। उनको मूल थेसिस मुटुरोगमा थियो। त्यसैले त्यही क्षेत्रमा उनले केही योगदान दिन सकूँली भन्ने सोचेकी थिइन्। तर नियतिले उनका लागि अरु नै केही सोचेर राखेको थियो।

उनले केही वर्ष आफ्नो रुचिको क्षेत्रमा काम गर्दैरहँदा उनलाई क्याम्पस प्रशासनले मृगौला रोगमाथि एउटा विशेषज्ञ टोली निर्माण गर्ने र मृगौला प्रत्यारोपणका लागि मानसिक रुपमा तयार हुन सुझायो। उनलाई मृगौला त्यति रुचिको विषय थिएन। मुटुको रोगमा काम गरिरहेको मान्छे, अब फेरि नयाँ विषयमा कसरी काम थाल्ने ! उनको दिमागमा यस्तै चलिरहेको थियो तर उनले पूरै अस्वीकार भने गरेकी थिइनन्।

उनले बिस्तारै मृगौला रोगीसँग संगत गर्दै गएपछि भने नेपालमा यस्ता रोगीले निकै दुःख पाइरहेको फेला पारिन्। मृगौलाको समस्या भइसकेपछि त्यसलाई निको पार्नका लागि कि त विदेश जानुपर्ने, विदेशमा पनि महँगो रकम खर्च हुने देखेपछि उनलाई मृगौला प्रत्यारोपण र यससम्बन्धी काम गर्न मन लागेर आयो।

उनी भन्छिन्, ‘हेर्नुस्, कुनै डाक्टर छ र उसलाई कुनै बिरामीको पीडाले छुँदैन भने असल डाक्टर हुन सक्तैन। शायद ममा पनि थोरबहुत बिरामीको पीडा बुझ्ने गुण थियो होला, त्यसले मलाई छोयो। यत्रा बिरामीहरुको सेवा मेरो एउटा स्वीकृति र सक्रियताले हुन्छ भने किन नगर्ने भन्ने भावना पलाएर आयो।’

मृगौलाको काम त गर्ने तर कुनै पूर्वाधार र अन्य जनशक्ति रत्तिभर थिएनन्। त्यसैले शून्य तहबाट उनले मृगौला प्रत्यारोपणको कार्य गर्नुपर्ने भयो। उनले मृगौला रोगीको उपचार मात्र होइन, त्यसलाई प्रत्यारोपण गर्ने, गरिसकेपछि नियमित उपचारमा संलग्न हुने र निको भइसकेपछि पनि रोगीको अवस्थामा ध्यान दिने उपचारपद्धतिको पूरै एउटा चक्र बुझ्नुपर्ने अवस्था थियो। तर उनलाई चुनौती मनपथ्र्यो। त्यसैले पनि उनले यो चुनौती पनि स्वीकार गरिन्।

यसको ठीकअघि नेपालमा वीर अस्पतालले मृगौला प्रत्यारोपणबारे काम गरिरहेको थियो तर सफल भएको थिएन। त्यस्तै डा. असर्फी शाहले पनि आफ्नो नर्सिङ होमबाट मृगौला प्रत्यारोपण गराएका थिए तर त्यो पनि सफल हुन सकेको थिएन। उनलाई कतै यो काम गरेर एउटा बेग्लै इतिहास बनाउन सकिन्छ कि भन्ने लाग्यो।

ठीक त्यही बेला मृगौला प्रत्यारोपणसम्बन्धी कडा कानुन ल्यायो। यसपछि लुकिछिपी कसैले मृगौला प्रत्यारोपण गर्ने ठाउँ पनि रहेन। यसका लागि अब त उनलाई चुनौती नै थपियो, उनलाई मृगौला प्रत्यारोपण गराएर त्यसलाई सफल पनि तुल्याउनु थियो।

यसका लागि उनी अब अस्ट्रेलिया पढ्न जाने भइन्। सन् २००४ मा उनी अस्ट्रेलिया गइन् पनि। यसका लागि उनले स्कलरसीप पनि पाइन्। त्यहाँ पढुञ्जेल सहयोगी चिकित्सकहरुले उदार मनले सहयोग गरे। खासमा मृगौला रोगको पहिचानदेखि, नयाँ मृगौला कसरी राखिन्छ, त्यसलाई कुन रुपमा सुरक्षित राखिन्छ, कस्ता केमिकल प्रयोग गरिन्छ, उपचारका क्रममा कस्ता औषधि उपयोग हुन्छ भन्ने इतिवृत्ति थाहा पाउनु उनका लागि जरुरी थियो। उनले प्रयोगशालामा छिर्नै नपर्ने ठाउँमा, जानकारी लिन नपर्ने अवस्थामा पनि कयौँ कुरा बटुलेकी थिइन्। ‘ती सबै स–सानो चासोका कारण मैले शिक्षण अस्पतालमा आधार बनाउन सकेँ,’ उनी भन्छिन्।

उनलाई यो काम कति जान्ने इच्छा थियो भने नर्सले के–के गर्छन् त्योसमेत सिक्न तयार थिइन्। उनको यो अवस्था देखेर उनका प्राध्यापकसमेत हाँसे। उनले भने, ‘यो काम तिम्रो वशको होइन। यसका लागि नर्स नै चाहिन्छ। बरु तिम्रो अफिसका कुनै नर्सलाई यहाँ ल्याउने व्यवस्था मिलाऊ।’

यसपछि उनले नेपालबाट एक जना नर्स झिकाएर नर्सले मृगौला प्रत्यारोपणका विविध आयाम सिक्न सघाइन्।

उनी अस्ट्रेलियामा छँदै वीर अस्पतालले गरेको एउटा ट्रान्सप्लान्ट असफल भएको खबर सुनेकी थिइन्। त्यसैले आफूले यदि ट्रान्सप्लान्टको विभाग सम्हाल्ने हो भने कुनै पनि हालतमा उनी यसलाई असफल भएको हेर्न चाहन्न थिइन्। त्यसैले पनि स–साना कुरामा उनले चासोपूर्वक हेरिरहेकी थिइन्। कुनै पनि गडबड उनी चाहन्न थिइन्। उनलाई लाग्थ्यो, ‘यदि म पनि असफल भएँ भने नेपालमा कहिल्यै पनि मृगौला प्रत्यारोपणको प्रयास गरिने छैन। नेपालीहरु के उसो भए निकम्मा नै हुन् त ?’ उनी यो मान्न तयार थिइनन्।

ट्रान्सप्लान्टको यो चुनौती लिने उनी मात्र एक जना थिइनन्। सिंगापुर र बाङ्लादेश गएर यस विषयमा पारंगत हुन चाहने केही चिकित्सकहरु पनि थिए। उनीहरु सबैको सहयोग र परिश्रम दिव्यालाई काम लाग्ने दिन आउँदै थियो।

दिव्यालाई घरिघरि लाग्छ, भित्रबाट मानवीय भावनाले केही राम्रो गर्न चाह्यो भने सहयोग गर्ने हातहरु फेला पर्छन्। त्यो बेला उनले जति विदेशीलाई गुहारिन्, तिनले पनि सहयोग गरे। शिक्षण अस्पतालका निर्देशक रमेश खकुरेलले पनि पैसाबाहेक म जे पनि सहयोग गर्न तयार छु।

प्रत्यारोपणको सकस
उनले सबै किसिमको सहयोग सबैतिरबाट पाएका कारण एउटा बेग्लै विभाग उभ्याउन सकिन्। उनीसँग अब एउटा दक्ष जनशक्ति तयार थियो। बाधा थियो त सरकारी ! मानव अङ्ग प्रत्यारोपण गर्नुपर्ने भएकाले यसका लागि कानुन बनाउनुपर्ने थियो। यसका लागि सरकारले सहयोग गर्नुपर्ने थियो। कहिले के, कहिले के भएर उचित कानुन बन्न सकेको थिएन।

नेपालमा मुटु प्रत्यारोपण भइसकेको थियो, मृगौला प्रत्यारोपण भने हुन सकेको थिएन। जबकि गाह्रो हिसाबले भन्ने हो भने मृगौलाभन्दा मुटुलाई अप्ठेरो मानिथ्यो। एक जना स्वास्थ्य सचिवले त केसम् मभने भने, ‘नेपालमा यो हुनै सक्तैन, बेकारमा हामीले पनि पहिला धेरै प्रयास ग¥यौँ सकेनौँ। तपाईंको मिहिनेत पनि खेर जाने भयो।’

ती सचिवसँग झोँक्किनुको साटो उनले सम्झाइन्, ‘पहिलेको कुरा बेग्लै थियो। दक्ष जनशक्ति थिएनन्। अहिले त म आफैँ अस्ट्रेलियामा यही पढेर आएकी छु। अन्य साथीहरु पनि हुनुहुन्छ। एउटा दह्रो टोली बनेको छ। यसमा तपाईंले सहयोग गर्नुप-यो।’

तर उनले सोचेजस्तो गरी काम अघि बढ्न सकेन।

एक दिन सार्क स्तरीय स्वास्थ्यसम्बन्धी कार्यक्रममा स्वास्थ्य मन्त्री गिरिराजमणि पोख्रेलले हामी पनि निकट भविष्यमा मृगौला प्रत्यारोपण गर्ने लक्ष्य लिएका छौँ र यसका लागि काम गर्न इच्छुक छौँ भनेर भाषण गरे।

यही बेला घन हान्ने हो भन्ने लागेपछि दिव्याले यदि सरकारले चाह्यो भने आजको अहिले नै हामी प्रत्यारोपण गर्न सक्षम छौँ भनिहालिन्। मन्त्री पनि सक्रिय भएकाले त्यति नै बेला एउटा तदर्थ समिति बनाएर यसमाथि काम गर्न तदारुकता देखाइयो।

कतिपय बिरामीलाई अब नेपालमै उपचार गर्ने, बाहिर नजानुस् भनेर उनले सहमत गराइसकेकी थिइन्। कति बिरामी भारत पुगेर नेपालमै हुने भए किन जाने भनेर फर्किसकेका थिए। यस्तो अवस्थामा गर्नैपर्ने नैतिक दवाव दिव्यालाई थपिदै थियो।

यस्तोमा केही साथीहरुले सुटुक्क मृगौला प्रत्यारोपण गर्न नसुझाएका होइनन् तर सफल हुँदा त केही थिएन, असफल भयो भने त्यो अपराध नै हुन्थ्यो र त्यसपछि जुन कानुनी झमेला र अन्य समस्याले उनलाई पिरोल्थ्यो, त्यसका लागि उनी तयार थिइनन्। गरेदेखि कानुनी रुपमा नै काम गर्ने, सफल वा असफल भयो भने कानुनी रुपमा नै त्यसलाई सम्हाल्ने उनको धारणा थियो।

सन् २००४ मा नेपालमा मृगौला प्रत्यारोपणको रहर बोकेकी दिव्याले २००८ मा बल्ल काम हुने भयो। कयौँ सामग्रीहरु ल्याइएकै थिएन। कतिपय सामग्री ल्याउँछु भनेर पनि नपत्याएर ल्याइएको थिएन। कतिपय सामान महँगो भएकाले पनि आइपुगेका थिएनन्। अस्ट्रेलियाबाट सर्जन आइपुगेका थिए। रातारात सामानहरु ल्याइयो।

भोलि प्रत्यारोपण हुने दिनमा भने उनलाई समस्या प¥यो। किड्नी प्रत्यारोपणका लागि सबै जना तयार छन्। उनको जिम्मा सर्जरीभन्दा अघि बिरामीलाई तयार पार्ने र सर्जरीपछि सबै किसिमको समाधान गर्ने उनको जिम्मा थियो। सर्जरी गर्ने समूह तयार थियो तर सर्जरीपछिका लागि भने उनी मात्र एक जना थिइन्। एक्लैले कसरी यी सबै कुरा सम्हालुँला भन्ने उनलाई लाग्यो।

कुनै पनि मृगौला प्रत्यारोपण गरिएको अपरेसन सफल भयो कि भएन भन्ने मापन, त्यो व्यक्ति कति लामो समयसम्म बाँच्यो भन्ने कुराले निधो गर्छ। सर्जन त अस्ट्रेलियाबाट आएको छ, त्यो सफल हुन्छ, त्यसमा कुनै समस्या थिएन तर त्यसपछिको समस्यामा हेर्ने उनी मात्र एक्लो थिइन्।

जे होला त भनेर उनले सुरुमा हेमराज श्रेष्ठलाई थिएटरमा पठाइन्। त्यो सफल भयो। त्यसपछिका कयौँ अपरेसन सफल भएपछि उनको नाउँ एउटा कहलिएको चिकित्सकमध्येमा पर्छ। कतिसम्म भने उनको विशेषज्ञताका कारण नेपालका प्रधानमन्त्री केपी ओलीले समेत उनको विशेषज्ञ परामर्श लिने गरेका छन्।

प्रकाशित: ८ श्रावण २०७६ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App