८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्य

लक्ष्य अनुसार उठेन राजस्व

बूढानीलकण्ठ नगरपालिकाले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन। नगरपालिकाले लक्ष्यभन्दा साढे ५ करोड रूपैयाँ कम संकलन गरेको हो। नगरपालिकाका राजश्व प्रमुख अछुत खड्काका अनुसार गत आर्थिक वर्षमा २४ करोड ७ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएमा १८ करोड ५० लाखमात्रै संकलन भएको छ।

कर संकलनमा कडाइ तथा करदातालाई चेतना दिन नसकेकाले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकिएको उनको भनाइ छ। नगरपालिकाले घर तथा जग्गा बहालको राजस्व संकलन गर्ने गरेको छ। ‘नगरवासी र व्यापार व्यवसायीलाई कर तिर्न चेतना नभएकाले कर उठ्न सकेको छैन। प्रदेश सरकारले पनि कर उठाउने विषयमा समन्वय गराएनन,’ उनले भने, ‘पसल सञ्चालन गर्ने व्यवसायले कर पनि तिर्नुपर्छ भनेर सोध्छन्। कतिपयलाई करबारे जानकारी गराउँदा पहिला विकास गर्नु अनि तिछौँ भन्छन्। नागरिकमा करको चेतना फैलाउन नसकेकाले नगरपालिकाको लक्ष्य अनुसार कर उठ्न सकेको छैन।’ उनका अनुसार नगरपालिकामा रहेका करिब ४० हजार घरधुरी छन्। तीमध्ये सबैले कर तिरेका छैनन।

गत आर्थिक वर्षमा २४ करोड ७ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएमा १८ करोड ५० लाखमात्रै संकलन भएको छ।

नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा १७ करोड १० लाख रूपैयाँ कर संकलन गरेको थियो। कतिपयले पसल दर्ता नै नगरी सञ्चालन गरेकोले कर उठाउन नसकेको उनी सुनाउँछन्। जनशक्ति अभावले पनि कर उठाउन नसकेको उनले बताए। ‘यहाँ कर उठाउन जनशक्ति छैन। जनशक्तिको अभावले कर उठाउन सकिएको छैन,’ उनले भने, ‘वडामा कति–कसरी कर उठ्यो अनुगमन गर्न सकेका छैनौँ। करसम्बन्धी हेर्ने एक्लै छु भने नि हुन्छ। करसम्बन्धी हेर्ने स्रोत र जनशक्ति भएमा कर उठाउन सजिलो हुने थियो।’   उनका अनुसार महानगरवासी र व्यापार व्यावसायीले तिरेको कर उनीहरूकै चाहानाअनुरूप सडक निर्माण, खानेपानीको व्यवस्था लगायत विकासमा खर्च गरिन्छ। जसका कारण कर नउठेमा विकासका संरचना बनाउन असहजता मिल्नेछ। नगरपालिकामा ठूलठूला करदाता र व्यवसायीको कर वक्यौताको विवरण नरेहेको उनले बताए। ‘ठूला व्यवसाय र करदाताले के कति तिरेको छैैन भन्ने हामीसँग यकिन विवरण छैन,’ उनले भने, ‘यी सबै विवरण वडा–वडामा हुन्छ। उनीहरूले कर उठाउनु पर्छ। कर तिराउनको लागि हामीले पत्र पनि पठाइसकेका छौँ।’

कर उठाउन नागरिकलाई चेतना कार्यक्रम नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा व्यापार व्यवसाय, भवन तथा घर, पसल, गोदाम, ग्योरेज लगायतबाट कर उठाउनको लागि नागरिकलाई चेतना दिने कार्यक्रम गर्ने भएको छ। नगरपालिकामा घरधनी र व्यापार व्यवासायीले कर तिर्न आनाकानी गरेपछि घरघरमा गई करको चेतना जगाएर कर उठाउन लागेको हो। कतिपय व्यापार व्यवसायी र नगरवासीलाई करसम्बन्धी केही जानकारी नभएकाले घरघरमा गएर करको बारेमा भनी कर संकलन गर्न लागिएको नगरपालिका राजश्व प्रमुख खड्काले बताए। ‘करको विषयमा कतिपयलाई थाहै छैन। केको लागि कर तिर्नुपर्ने भन्छन्,’ उनले भने, ‘कर उठाउन घरघरमा भए पनि चेतना दिनेछौँ। कर बढाउँदैनौँ। मासिकमा कति उठ्छ त्यही अनुसार समीक्षा गरेर अरु कर उठाउने योजना ल्याउने छौँ। घरधनी र व्यापार व्यावसायी चेतना दिनेछौँ।  करको पर्चा पनि प्रिन्ट गरेर बाँड्दै आएका छौँ।’

प्रकाशित: ४ श्रावण २०७६ ०५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App