८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङमा दर्ता भएकामध्ये ४४ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका

ताप्लेजुङमा सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको छ। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा यस वर्ष जिल्लामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन्।

ताप्लेजुङ जिल्ला अदालतमा दर्ता भएकामध्ये ४४ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेका छन्। जिल्ला अदालतका श्रेष्तेदार (उपसचिव) मनोज बरालका अनुसार चालू आवको असोज पहिलो साता सम्ममा ९६ वटा मुद्दा दर्ता भएका छन्।

त्यसमध्ये ४२ वटा मुद्दा सम्बन्ध विच्छेदका छन्। देवानीतर्फका १ सय ४२ वटा मुद्दामध्ये ८१ वटा मुद्दा सम्बन्ध विच्छेदका रहेको अदालतले जनाएको छ।

देवानीतर्फका मुद्दा नयाँ आर्थिक वर्षमा दर्ता भएका र जिम्मेवारी सरी आएका समेत गरी १ सय ४२ वटा हुन्। आव २०८०।८१ बाट चालू आवका लागि १ सय २७ वटा मुद्दा जिम्मेवारी सरी आएका थिए। चालू आवको दुई महिना र एक साताको अवधिमै सम्बन्ध विच्छेदका मुद्दा दर्ताको यो प्रक्रियाले निरन्तरता पाए सम्बन्ध विच्छेदका घटनाले ताप्लेजुङमा एकपछि अर्को नयाँ रेकर्ड कायम गर्ने अवस्था देखिएको छ।

ताप्लेजुङ जिल्ला अदालतमा आव २०८०।८१ र आव २०७९।८० समान ४७ प्रतिशत, आव २०७८।७९ मा ४१ प्रतिशत र आव २०७७।७८ मा ३४ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका थिए।

अदालतमा चालू आवको साउन र भदौमा ७९ वटा तथा असोज पहिलो सातासम्ममा १७ वटा मुद्दा नयाँ लगतको रुपमा दर्ता भए। यसो गर्दा अदालतमा अहिले २ सय २३ थान मुद्दा रहेका छन्। ती मध्ये ३२ थान मुद्दाको फर्स्यौट भएको अदालतले जनाएको छ। 

मुलुकी देवानी संहिता २०७४ को दफा ९४ मा पतिले र दफा ९५ मा पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी प्रावधान उल्लेख छ।

प्रकाशित: ८ आश्विन २०८१ १७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App