१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

काजोल, मैना, निर्मला र सपनाहरू !

–लक्ष्मी घिमिरे  
बाक्लो हुस्सुले तराईलाई ढपक्कै ढाकेको थियो।फागुन लागिसकेकाले चिसो उतिसारो थिएन।बादलको पर्दाबाट सूर्यले धर्तीलाई चियाउन खोज्दै थियो।चौरमा बालबालिका खेल्दै थिए।कक्षा सुरु हुने समय भइनसकेकाले म धमिलो घाममा बसेर पत्रिका पल्टाउँदै थिएँ।एउटा समाचार शीर्षकमा मेरा आँखा पुगे, ‘निर्मला प्रकरणमा डिएनए विज्ञमाथि छानबिन गर्न निर्देशन ।’ सोचें, ती किशोरीले न्याय कहिले पाउलिन् ? नारीमाथि कतिन्जेल यस्ता आततायी घटना भइरहन्छन् ? नारी हिंसामुक्त समाज सपना मात्रै हो त ?
घन्टी बज्यो म कक्षातिर लागेँ ।

शुक्रबारे अतिरिक्त क्रियाकलापअन्तर्गत कक्षा दसका भाइबहिनी ‘महिला हिंसा’ विषयमा वक्तृता आयोजना गर्ने तयारीमा थिए।म प्रवेश गर्दा कक्षाकोठामा विद्यार्थी खचाचख थिए।सबैलाई नियाल्दै म पछाडिसम्म पुगेँ।आहा ! फक्रँदै गरेका कोपिला ! भविष्यका कर्णधार ! हाम्रा बाँच्ने आधार !!

सबैको उपस्थिति (हाजिर) लिएर वक्ता भाइबहिनीलाई शुभकामना दिएँ।त्यसपछि पहिलो वक्ताको नाम बोलाउँदै थिएँ। एक्कासि हुन्डरी आएजसरी ढोका खुल्यो।उपस्थित सबै अचम्मित भए।तत्क्षण बुर्का लगाए पनि अनुहार प्रस्ट देखिने एउटी किशोरीले ‘म आउन सक्छु’ भन्दै अनुमति मागी।

मैले ‘आऊ’ भन्न नपाउँदै अगाडि आई र आफ्नो परिचय दिई – ‘म काजोल खातुन’।को काजोल ? ‘मलाई चिन्नुहुन्न ?’ रिस, आवेग र पीडा मिश्रित स्वरमा ऊ चिच्याई।‘पख्नोस्, अनुमति पाए मेरो वास्तविकता बताउनेछु’ भन्दै ऊ पछाडिको खाली बेन्चमा गएर बसी। म अवाक् भएँ।विद्यार्थी भाइबहिनी जिल्ल परे।कुनै सहाराविहीन केटीजस्तो लाग्यो।केटाकेटीलाई शान्त हुन लगाएर कार्यक्रम अगाडि बढाएँ। यत्तिकैमा ‘म मैना सुनार’ भनेर हुत्तिँदै अर्की किशोरी भित्र छिरी।उसलाई देखेपछि विद्यार्थी आपसमा खासखुस गर्न थाले।

एक छात्रले जुरुक्क उठेर सोधिहाले, ‘को हौ तिमी ? किन आएकी यहाँ ?’ ‘मलाई चिनेनौ ? म त्यही मैना क्या त ! मैना सुनुवार !’ मैले ऊसँग बोल्न नपाउँदै ‘म निर्मला पन्त हुँ निर्मला, मलाई चिनेनौ ?’ भनेर अत्तालिँदै अर्की किशोरी प्रवेश गरी। कक्षाकोठामा आज के हँुदैछ ? म आश्चर्यमा परेँ।ढोका खोलेर चारैतिर नियालेँ।त्यस्तो केही देखिनँ । ढोका बन्द गर्न लगाएर सबैलाई बस्न लगाएँ र कार्यक्रमलाई निरन्तरता दिन के लागेकी थिएँ, काजोल जुरुक्क उठी र भन्न थाली – ‘मिस ! पहिला मेरा कुरा सुन्नुस् अनि हजुरको काम थाल्नुस् !’

केटी जुझारु जस्तो लाग्यो र बोल्न अनुमति दिएँ।मनेर आएर उसले वर्षाैंदेखि कुण्ठित आफ्नो गथासो यसरी पोख्न थाली – प्रिय भाइबहिनीहरू ! म ‘काजोल खातुन’, तिमीहरू धेरैले मलाई चिन्दैनौ।चिन्नु पनि कसरी ? म यहाँकी होइन।तर याद गर भाइबहिनी ! मेरो हत्या यहीँ भएको थियो २०५८ फागुन १० गते।त्यतिबेला तिमीहरू जन्मिएका पनि थिएनौ।गुडिरहेको बसमा तत्कालीन विद्रोही माओवादीले आगो लगाउँदा म यहीँ भण्डारामै मारिएकी थिएँ।भाइबहिनीहरू ! म त्यतिबेला आठ वर्षकी थिएँ।

उसको कुरा सुनेपछि कक्षाकोठा शान्त भयो।तर उसले आफूलाई रोकिन। राजनीतिक परिवर्तनका नाममा म मारिएँ।मैले आजसम्म न्याय पाएकी छैन भाइबहिनीहरू ! मेरो नाम बेचेर धैरै मान्छे चर्चित भइसके।उनीहरूले लाखौँलाख कमाइसके।फाइदैफाइदा लिइसके।एकजनाले त कथासंग्रह नै लेखे मेरा नाममा।भाइबहिनीहरू ! विचार गर त, मेरो हत्यामाथि कस्तो उपहास ? न्याय पाउन नसकेर मेरो आत्मा भड्किरहेको छ।त्यसैले म भौंतारिइरहेकी छु।तिमीहरू ख्याल गर।अब कक्षाकोठामा छलफल गरेर र पढाएर मात्र महिला हिंसा रोकिन्न !

काजोलका कुराले विद्यार्थी जुर्मुराउन थालिसकेका थिए।म अर्का विद्यार्थीको नाम बोलाउने तयारीमा थिएँ। ‘पख्नुुस् पख्नुस्’ भन्दै मैना फुत्त अगाडि आई र बोल्न सुरु गरी –

धन्यवाद काजोल ! अब मेरो पालो ल बोल्ने।मेरो नाम ‘मैना सुनार’ हो।आजभन्दा पन्ध्र वर्षअगाडिको घटना हो।म कक्षा नौमा पढ्थेँ।एक दिन आमा मामाघर जानुभएको थियो।घरमा बुबा र म मात्रै थियौँ।यति भनेर ऊ रोकिई केही बिर्से जसरी।अनि फेरि बोल्न सुरु गरी –

औंसीको रात भएकाले बाहिर केही देखिँदैनथ्यो।चिसोले बेलाबेला मुटु छेड्ला जस्तो गथ्र्याे।अँगेनाभरि आलु हालेर बुबा र म आगो तापिरहेका थियौं।कसैले ढोका ढकढक्यायो।अनि ड्याम्म ढोका फोडेको आवाज आयो।हतियार बोकेका एक डफ्फा बर्दीधारी समूहले तत्काल घर खचाखच भरियो।उनीहरूका आँखा आगोको फिलुङ्गाझैँ देखिन्थ्यो।उनीहरूले मलाई काम छ भन्दै हिँड्न आदेश गरे।आदेश पालना गर्नुबाहेक कुनै विकल्प थिएन हामीसँग।म घर छाडेर उनीहरूसँगै हिँडे।त्यतिबेला बुबाको विवशता देखेर मेरो भक्कानो छुट्यो।

प्यारा भाइबहिनीहरू ! अहिले सम्झँदा कहाली लाग्छ।अनेकांै घेरा पार गर्दै मलाई त्यहाँ पु¥याए, जुन ठाउँ उनीहरूका लागि सुरक्षित थियो भने मेरा लागि भयग्रस्त।दया, माया, प्रेम, सद्भाव भन्ने केही थिएन त्यहाँ।मान्छेलाई नसानसामा घोपेर आलो रगत पिउन सक्रिय थिए तिनीहरू ! अत्याचारले पराकाष्ठा नाघेको थियो।

मैनाले यसो भनिरहँदा विद्यार्थीका आँखामा आक्रोशको ज्वाला दन्किएको देखिन्थ्यो।उनीहरूमा प्रतिशोधको भावना जागृत भएको सहजै आँकलन गरें मैले।मैनाले चारैतिर हेरी।एक घुट्को पानी खाई र फेरि बोल्न सुरु गरी –

बिनाकसुर निर्दोष मान्छेहरू सजिलै बलिवेदीमा होमिन बाध्य बनाइएका थिए।चरम यातना र दण्ड दिनु उनीहरू आफ्नो कर्तव्य ठान्थे।मान्छेलाई करेन्ट लगाएर बकाउन खोज्थे, तर्साउँथे, धम्काउँथे।तातोपानीमा टाउको चोबलिदिन्थे।म विवश भएर उनीहरूको हर्कत सहन्थेँ।

मेरा प्यारा साथीहरू ! राताराता आँखा पार्दै तिनीहरू कामुक दृष्टिले शरीरका अङ्गप्रत्यङ्ग हेर्थे, लछारपछार गर्थे।मनलाग्दी बोल्थे।एउटाले शरीरमा नीलडाम हुने गरी पाइप र डोरीले कुट्थ्यो।अर्को सहानुभूति देखाउँदै आउँथ्यो र बेसरमपूर्ण व्यवहार गथ्र्यो।प्रतिकार गर्न खोज्दा मुख थुनिदिन्थ्यो।केही सीप नलागे उनीहरूले हातखुट्टा एकै ठाउँमा डल्लो पारेर कसिदिन्थे।कहिले डफ्फाका डफ्फा आउँथे भने कहिले एक्लाएक्लै।यसै क्रममा एकजनाले छेउमा आएर ढेसिएर बस्न खोज्दै बनावटी प्रेमको पासोमा पार्न हर प्रयत्न ग¥यो।म उसको पन्जाबाट भाग्न चाहन्थेँ तर जानु कहाँ ? उसको शरीरको अमिलो गन्धले म निसासिन्थेँ।बलिष्ठ पाखुराले अँठ्याएर यातनाले क्षतविक्षत मेरो शरीरलाई ओल्टाइपल्टाई गरिरहन्थ्यो।मैले आफ्नो श्री जोगाउन के मात्र गरिनँ ? म जति रोइकराई गरेर प्रतिवाद गरे पनि म त्यहाँ एक्लो थिएँ।हेर साथी हो ! मैले कतिपटक मलाई तत्काल मारिदिन आग्रह गरेँ तर त्यो मेरो शरीरसँग खेलेर तृप्ति लिनमा मस्त हुन्थ्यो।म बिस्तारै जीवित लासमा परिणत भइसकेकी थिएँ।

उपस्थित सबैको अनुहारमा ऊप्रति सहानुभूतिको भाव देखिन्थ्यो।ऊ पुनः बोल्न थाली –
प्रिय मित्रहरू ! म पलपलमा मेरा स्कुलका गुरु र गुरुआमा सम्झन्थेँ।आफ्ना साथी सम्झन्थेँ।विद्यालयको वार्षिकोत्सव कार्यक्रममा ‘महिला हिंसाविरुद्व विद्यार्थीको भूमिका’ शीर्षक निबन्धमा मैले प्रथम स्थान हासिल गरेकी थिएँ।यी सब कुराले म झन् विक्षिप्त हुन्थेँ।उनीहरूले दिनप्रतिदिन स्याल, गिद्द र ब्वाँसाहरूले सिनो तानेझैं आफूखुसी तान्थे मलाई।अन्ततः एक दिन मरी भनेर आफ्नै शिविरको हाताभित्र गाडिदिए मलाई।मानवताको लेस नभएका उनीहरूलाई म जिउँदै छु भन्ने कुरा के थाहा ? पृथ्वीको गर्भभित्र दुई वर्ष व्यतीत गरेर मेरो कङ्काल निकाल्दा पनि म उस्तै छु आज।

साथीहरू ! मेरो नाममा पैसाको बाढी बग्यो।धेरैले मेरै नाम बेचेर महल बनाए, विदेश घुमे, ऐसआरामको जीवन बिताए।खै त मैले न्याय पाउन सकेको ? के पीडित परिवारले न्याय पाउनु पर्दैन ? के मैना सबैकी कमाइ खाने भाँडो बनेकी हो ? कृपया साथीहरू ! बन्द कोठाभित्र बसेर सभा, गोष्ठी र कार्यपत्र तयार पार्दैमा महिला हिंसा अन्त्य हुन सक्दैन।आज तिमीहरू यहाँ नारी हिंसाबारे कार्यक्रम गरेर आफ्नो जिम्मेवारी पूरा भएको ठान्दैछौ।चार घेराभित्र कार्यक्रम गर्दैमा सफल भइन्छ त ?

उसले ‘के तपाईंहरू मलाई साथ दिनुहुन्छ ?’ भनेकी मात्र के थिई सबै विद्यार्थी एकै स्वरमा ‘मैनाले न्याय पाउनुपर्छ’, ‘काजोलले न्याय पाउनुपर्छ’ भनेर नाराबाजी गर्न थाले।वातावरण उद्वेलित भयो।त्राणको वेगवान् लहर सर्वत्र दौडियो।थकित मैना पछाडि गएर बसी ।

जुरुक्क उठेर निर्मला अगाडि आई।विद्यार्थीले गडगडाहट ताली ठोके।मध्यम वर्गीय परिवारमा जन्मिएकी निर्मला मेधावी छात्रा थिई।निर्मला सबैकी आँखाकी नानी थिई, अत्यन्त ज्ञानी थिई ।

टेलिभिजनका पर्दा र अखबारका पानामा मात्र देखेका विद्यार्थी आज निर्मलालाई आफ्नै अगाडि देख्दा अचम्मित भएका थिए।उसको हृदयमा पीडा, क्षोभ, ग्लानि, आक्रोश र छटपटी छ भन्ने कुरा अनुहारले प्रस्ट्याइरहेको थियो।ऊ बोल्न सुरु गरी –
साथीहरू ! मलाई पढाइले रित्यायो।म पढाइकै कारणले नासिएँ।डाक्टर बन्ने मेरो ठूलो सपना थियो।कक्षा नौमा पढ्दै थिएँ।मलाई साथीसँग छलफल गरेर पढ्न औधी मन लाग्थ्यो।

त्यस दिन पनि म किताबकापी च्यापेर साथीको घर गएकी थिएँ।घरमा एकजना पाहुना रहेछन्।सबै गफमा मस्त भए।साथीले पढाइमा रुचि देखाइनन्।त्यसैले म बगंैचातिर लागेँ।पाकेका अम्बाका हर्हराउँदो बास्नाले म कति बेला रूखमा चढेछु पत्तै पाइनँ।अघि झलक्क देखेको आगन्तुकले अम्बा ल्याऊ है भनेपछि म झसङ्ग भएँ।

अम्बाको बोटबाटै सीताष्मा र माधुरीलाई बोलाएँ।अँह कोही आएनन् मोरीहरू।मलाई झनक्क रिस उठ्यो।तैपनि सलमा अम्बा पोको पारेर माथि उक्लिएँ।कोठा सुनसान थियो।म भित्र पसेँ।जिउ सिरिङ्ङ भयो।टेबलको किताबकापी बोकेर घर जान तयार भएँ। ढोकामा अघिकै मान्छे देखियो।ऊ मुसुक्क हाँस्यो र भित्र पस्यो।मेरो डर हरायो।उसले मेरो परिचय माग्यो, दिएँ।ऊ निकै भलाद्मी मान्छे लाग्यो।मेरो समस्याको समाधान हुने लक्षण देखेँ मैले।उसले कत्ति झर्को नमानी मलाई धेरै कुरा सिकायो।ऊ मेरो दाजु भइदिएको भए कति जाती हुन्थ्यो जस्तो लाग्यो।

निर्मलाका कुरामा कक्षाका विद्यार्थी मन्त्रमुग्ध भइरहेका थिए।निर्मलामा भने आक्रोशको मात्रा बढेको थियो।उसले हातमा रहेको कापीको पाना कच्याक्कुचुक पारेर फाली र ठूल्ठूलो स्वरले चिच्याउन थाली –

प्रिय साथीहरू ! म किताबका पानामा यति मग्न भएछु।म कहाँ छु भन्ने कुरा पनि होस भएन मलाई।एक्कासि हातको गह्रौं स्पर्शले म आत्तिएँ।म फुत्किन खोजेँ।मेरो नाडी कस्सिएको महसुुस भयो।हात छुटाउन खोजेँ, सकिनँ।चिच्याउन खोजेँ, मुख थुनियो।मेरो बोली बन्द भयो।साथीहरू ! होसियार है होसियार !

साथीहरू ! अघि दाजु समान उच्चासन दिएकोमा मलाई पछुतो लाग्यो।म त राक्षसको पन्जामा परिसकेकी रहेछु।म अबोधमाथि त्यो निर्लज्ज पुरुषको पुरुषत्व निकृष्ट रुपमा जाइलागेको थियो। निर्मला बोल्दै थिई।मैले मेरा छात्रातिर आँखा डुलाएँ।उनीहरू भय र आशङ्काले थरथर काप्न लागेका थिए।छेउमा रहेको छात्र साथीप्रति सजगता अपनाउन लागेजस्ता देखिन्थे।

निर्मला अझै बोलिरही – मैले कति प्रतिकार गरेँ साथीहरू ! त्यसको कुनै अर्थ रहेन आखिर म निरूपाय र विवश भई छटपटाउन थालेँ।क्षणभरमै मेरो सर्वस्व लुटियो।मैले आफ्नो अस्मिता जोगाउन सकिनँ।मेरो प्राणपखेरू नै उड्यो।पछि खोज्नेहरूले मेरो लास उखुबारीबाट निकाले अरे।तिनीहरूसँग त के पो थियो र ! खोस्टो अर्थात् आवरणमात्र।म त कसैले थाहा नपाउने गरी पहिले नै सुटक्क भागिसकेकी थिएँ साथीहरू ! निर्मलाका कुराले सबैका ओठमुख सुकेजस्ता भए।उसले माइक टेबलमा राखी र हात हल्लाउँदै ढोकाबाट फुत्त बाहिर निस्की।
जिउँदै जलाइएका, बलात्कार अनि हत्या गरिएका यी युवतीका व्यथा सुन्दा विद्यार्थी भाइबहिनी निकै भावुक भए।

एक छात्रले जुरुक्क उठेर हावामा मुड्की हल्लाउँदै भन्न थाले, ‘महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कारबाही गर, काजोल, मैना र निर्मलालाई न्याय दे ।’ उनलाई कक्षाका सबैले साथ दिए।

पीडितले न्याय पाउनुपर्छ, पाउनुपर्छ भन्दै सबै विद्यार्थी हुल बाँधेर सडकमा निस्किए।शिक्षक तथा कर्मचारी त्यहीं मिसिन पुगे।उनीहरूलाई गृहिणी, व्यापारी, समाजसेवी र बुद्धिजीवीले साथ दिए।काजोल र मैना त्यही भीडमा हराए।सडक खचाखच भरियो।भण्डाराको सडकमा मानव सागर उर्लियो।ब्यानर, पर्चा, पम्पलेट, प्लेकार्ड बोकेका प्रदर्शनकारी ‘काजोल, मैना र निर्मलालाई न्याय दे’ भन्दै प्रशासन कार्यालयअगाडि धर्नामा बसे।

एक छात्राले माइकमा आएर कड्किएर भनिन्, ‘अब यो महिला हिंसाविरोधी मानवसागरलाई मेची–कालीका गाउँगाउँ पु¥याउनुपर्छ।हिंसामुक्त समाज हामी सबैको सपना हुनुपर्छ ।’ भीड सरकारविरुद्ध चर्का नाराबाजी गर्दै प्रशासन कार्यालतर्फको मुख्य द्वारतर्फ अघि बढ्यो।नियन्त्रण गर्न सुरक्षाकर्मीले अश्रुग्यास र पानीका फोहोरा प्रयोग गरे।अश्रुग्यासको सेल मेरै टाउका आएर ठोक्कियो।आँखा निकै पिरो भयो।मलाई खपिनसक्नु भयो र झल्याँस्स ब्युँझिएछु।बिहानको ६ बजेको रहेछ।कोठाको ढोका खोल्दा बाहिर कसैले पत्रिका छोडेर गएको थियो।पहिलो पानामा मैनाको तस्बिर राखेर एउटा

समाचार छापिएको थियो– कहिले मिल्ला न्याय ? अर्को शीर्षक थियो– निर्मलाका हत्यारालाई कारबाही गरिछाड्छौं !
(भण्डारा मावि, चितवन)

 

प्रकाशित: १४ असार २०७६ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App