२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

पिच माग गर्दै जनता, आलटाल गर्दै सरकार

राजधानीको बौद्धस्थित हिलाम्मे सडक। तस्बिर: श्याम राई

–वैशाख २५ गते बौद्ध व्यापार संघ र स्थानीयले सडक पिचको माग राख्दै बौद्ध गेट अगाडिको सडकमा आन्दोलन गरे।
–वैशाख २६ गते चुच्चेपाटी–बौद्ध–जोरपाटी मूल सडक संघर्ष समितिले बौद्ध सडक क्षेत्रमा टायर बालेर सडक पिचको माग राखेर आन्दोलन ग-यो।

–जेठ २८ गते थलीका स्थानीयले सडक स्तरोन्नतिको माग गर्दै थली चोकमा टायर बालेर आन्दोलन गरे।
– असार ९ गते बाटोकै विषयलाई लिएर साँखुका स्थानीयले मुर्दावादको नारा लगाउँदै शंखरापुर नगरपालिकाको बजेट अधिवेशनमा सम्बोधन गर्न पुगेका नेता पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालको बाटो छेके।

काठमाडौं उपत्यकावासीले सडक कालोपत्रे गर्न माग गर्दै आन्दोलनमा उत्रिएका केही प्रतिनिधिमूलक घटना हुन् यी। धुलाम्मे र हिलाम्मे सडकबाट आजित भएर सर्वसाधारण सडक कालोपत्रे गरिदेऊ भन्दै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको छ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजना र ठेकेदार कम्पनीको ढिलासुस्ती र आलटालको कारणले उपत्यकाका सडक वर्षाैदेखि लथालिंग अवस्थामा छन्। तर, सडक कालोपत्रे हुने कुनै छाँटकाट देखिएको छैन। सरकारले एक वर्ष भित्रमा कालोपत्रे हुने बताएको थियो। तर, सरकारले तोकेको म्याद सकिँदा समेत पिच हुन सकेन।

बौद्धका स्थानीय मोहन मगरले अहिलेसम्म पनि सडक नबन्दा धुलो र पानी पर्दा हिलोमा बस्न बाध्य भएको बताए। ‘सडकको खाल्डाखुल्डीमा परिणत भएको १० वर्ष हुन लागिसक्यो। अहिलेसम्म पनि सडक कालोपत्रे हुन सकेको छैन,’ उनले भने, ‘सबै सडक खाल्डाखुल्डी छन्। सरकार र ठेकेदारको लापावाहीले सडक नबन्दा पानी पर्दा हिलो र घाम लाग्दा धुलोमा बस्न बाध्य छौँ। ठेकेदारले समयमा काम नसक्दा स्थानीय मारमा परेका छौँ। पटक–पटक सडक पिचको माग राखेर आन्दोलन भइरहेको छ।

कहिले हाम्रो माग पूरा हुन्छ सरकार ?’ उनका अनुसार सडक कालोपत्रे मागको लागि पटक–पटक आन्दोलन गरेर सडकमा उत्रिए पनि अहिलेसम्म सडक पिच हुन सकेको छैन। सडक धुलाम्मे भएकाले दैनिक चार–पाच पटक व्यापारीसँग मिलेर सडकमा पानी हाल्ने आएका छन्। सवारीसाधन समेत जाम हुन थालेको छ। ‘पानी हालेन भने धुलोले नजिककोे मान्छे पनि देख्न सकिँदैन,’ उनले भने, ‘खाल्डा नपुरिँदा दैनिक सवारीसाधन दुर्घटना हुन्छन्। सर्वसाधारण माक्सबिना हिँडेको देखिँदैन। बौद्धस्तुपामा आउने आन्तरिक र बाह्य पर्यटकलाई सास्ती भएको छ। तर, सरोकारवालाले सडक निर्माणमा बेवास्ता गरिरहेका छन्।’

सरकार र ठेकेदारको मिलेमतोमा समयमै सडक पिच हुन नसकेको उनले बताए। ‘ठेकेदारले थोरै कामदार ल्याएर काम गराएजस्तो गर्छन्। कहिले चार जना पनि हुँदैनन्,’ उनले भने, ‘स्थानीयको आँखामा छारो हालेका छन्। सरकार र ठेकेदारकै मिलेमतोले काम हुन सकेको छैन। म्याद थप्दै जाने तर, काम भने गर्न सकेका छैनन्। सडकको खाल्डा समेत पुर्न सकेका छैनन्।’ सरकारले पहल गरी तत्काल सडक पिच गर्नुपर्ने स्थानीयको माग छ। चावहिल–साँखुको १२ किमि सडक विस्तार गरेर चार लेन र दुवैतर्फ फुटपाथ बनाउने कार्य २०७२ मा अघि सारिएको थियो।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार एक अर्ब ७५ करोड रूपैयाँको लगानीमा उक्त सडक निर्माण भइरहेको छ। सडक निर्माणको लागि युनाइटेड बिल्डर्स एण्ड इन्जिनियर्स, बज्रगुरु/च्याङमिला÷खानी जेभि, बज्रगुरु÷बिरुवा÷खानी जेभी र बिटी/सुनकोसी/वल्र्डवाइड जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। समयमा काम सम्पन्न नभएपछि फेरि थप लामा समानान्तर ठेकेदार थपिएको छ। उक्त सडक निर्माणको काम पाच प्याकेजमा राखिएको छ।

सम्झौता अनुसार २०७४ सम्ममा सडक विस्तारको काम सकाउनु पर्ने हो। तर, पनि हालसम्म कामले गति लिन सकेको छैन। मापदण्ड अनुसार १८ मिटर सडक र दुर्ई–दुई मिटरको अपांगमैत्रि गरी २२ मिटरको सडक बनाउनुपर्ने भए पनि घरधनीले घर नभत्काएका कारण अहिले मापदण्ड घटाएर चुच्चेपाटी अगाडिबाट बौद्धसम्मको करिब एक किमि, जोरपाटी ओरालोबाट नारायणटारसम्मको करिब दुई किमि, र दक्षिण ढोकाबाट थलीसम्मको करिब एक किमिको मात्रै सडक पिच भएको छ।  आयोजनाले निर्माण समय सकिए पनि फेरि तिनै कम्पनीलाई काम गर्न दिएकोे छ।

किन भएन सडक विस्तार ?
उक्त सडकमा भएको संरचना हटाउन नसकेको कारणले सडक विस्तार हुन नसकेको हो। सडक विस्तार आयोजनाका अनुसार घरधनीले मुआब्जा नपाएपछि घर भत्काउन नदिँदा सडक कालोपत्रे गर्न सकेका छैनन्। आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले घरधनीले घर नभत्काउँदा र ठेकेदारको ढिलासुस्तीले सडक विस्तारमा समयमा सम्पन्न गर्न नसकेको बताए। ‘घर नभत्केकोले ठेकेदारले काम गर्न पाएनन्,’ उनले भने, ‘केही ठाउँमा भने ठेकेदारले काम गर्न ढिलाइ गरेका छन्। अहिले घर नभत्काए पनि पिच गर्ने आदेश आएकाले पिचको काम भइरहेको छ। हाम्रो प्राथमिकता सडक निर्माण हो। हामी निरन्तर लागिपरेका छौँ।’ घरधनीले जग्गाको मुआब्जा माग राखेर काममा समेत अवरोध गरिरहेको उनले बताए। ‘जहाँ घर भत्काएको चौडा छ,  त्यहाँ सडक पिच भइसकेको छ,’ उनले भने, ‘घर नभत्केको ठाउँमा भने पिच गरिएको छैन। समस्या समाधान भएपछि काम थाल्छौँ। बौद्ध गेटदेखि बौद्ध पीपलबोटसम्म बेस हालेर तयार भइसकेकोले १० दिनमा सडक पिच हुन्छ।’

श्रेष्ठका अनुसार बौद्ध पीपलबोेटदेखि जोरपाटी ओरालोसम्मका घरधनीले घर नभत्काउँदा यो वर्षमा पिच हुने छैन। ढल निर्माण निरन्तर भए पनि अर्को वर्ष भदौमा मात्र पिच गरिनेछ।  बाग्मतीको पुलदेखि दक्षिणढोका क्षेत्रमा ढलको समस्या भएकोले पिच हुन सकेको छैन। त्यहाँ पनि छिट्टै काम थालिने छ। ‘इन्द्रायणी अगाडिको करिब डेढ मिटर सडक यो वर्ष पिच गछौँ। खुलालटारमा भने त्यहाँकै जनताले काम गर्न दिएको छैन। ढलबाहेक अरु काम गर्न सक्दैनौ,’ उनले भने, ‘सलम्बुटार क्षेत्रमा ढलको पाइप हाल्न नदिए पनि काम सुरु हुन्छ। अगाडिको वन क्षेत्रमा कालोमाटो भएकाले ढलान गरिरहेका छौँ। आगामी दसैंसम्ममा पिच हुन्छ।’ चावहिलदेखी साँखुसम्मको सडकको कालोपत्रे  आगामी आर्थिक वर्षमा सक्ने उनले बताए।

९७ करोेड सकियो, काम ५० प्रतिशत मात्रै
आयोजनाका प्रवक्ता श्रेष्ठका अनुसार चावहिल–साँखु सडक निर्माणको क्रममा अहिलेसम्म ९७ करोड रूपैयाँ खर्च भइसकेको छ। तर, काम भने ५० प्रतिशत मात्रै सम्पन्न भएको छ। प्रतिशतको हिसाबले हेर्दा बजेट अनुसार कामले तीव्रता पाएको देखिँदैन।

ढलको खाल्डा ह्वांगै
सडक विस्तारको नाममा उपत्यकाको विभिन्न ठाउँमा ढलका खाल्डा ह्वांगै राखिएको पाइएको छ। चावहिल, बौद्ध, साँखु लगायत ठाउँको सडकमा ढलका खाल्डा नछोपी ह्वांगै राखिएका छन्। खाल्डा छोप्नेमा कुनै सरोकारवाला निकायको ध्यान जान सकेको छैन। खाल्डा नपुरिँदा यम्बुस भएकाले वर्षायाममा सवारीसाधन दुर्घटना हुनुको साथै सर्वसाधारणको ज्यान जाने उच्च जोखिम देखिन्छ। सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले भने बौद्ध क्षेत्रको सडकमा हालिएको मंगालको ढकान चोरी भएकोले ह्वांगै देखिने गरेको दाबी गरे।

प्रकाशित: १४ असार २०७६ ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App