१६ चैत्र २०८० शुक्रबार
अन्य

भुइँचालोले जगाएको हिरो

कुनै बेला अस्ट्रेलिया जाने तयारी थालिसकेको एउटा केटो आज नेपाली फिल्मको डिमान्डिङ हिरो भएको छ। सुन्दा अपत्यारिलो लाग्ला तर यो अभिनेता प्रदीप खड्काको वास्तविक कथा हो। ०७२ सालमा भुइँचालो नआएको भए शायद प्रदीप यतिबेला अस्ट्रेलियाको कुनै रेस्टुराँमा भाडा माझिरहेका हुुन्थे होलान् तर समयले आज उनलाई अर्कै परिचय दिलाएको छ, अर्थात् नेपाली फिल्मका ‘चकलेटी हिरो’।

कुनै दिन फिल्मको हिरो बनौँला र विश्वभर फ्यान कमाउँला भन्ने प्रदीपले  कहिल्यै सोचेका थिएनन्। सानैदेखि उनलाई टिभीमा अनुहार देखाउन पाए हुन्थ्यो भन्ने नलागेको भने होइन। ३–४ वर्षको हुँदा उनी ममी–ड्याडीलाई खुब सोध्थे रे, यो टिभीमा कसरी छिर्ने होला !

फिल्म नै नखेले पनि टिभीमा देखिएर नाम कमाउने रुचि भने उनमा थियो। तर, परिवार यसमा खुशी थिएन। उनको परिवारलाई यो क्षेत्रमा भविष्य छ जस्तो लाग्दै–लाग्दैनथ्यो। परिवार ठान्थ्यो, यहाँ लाग्यो भने त रंग–रमाइलोमै जिन्दगी बित्छ, आर्थिक रुपमा सबल बन्नै सकिँदैन। बरु परिवारको चाहना छोरो विदेश जाओस्, पैसा कमाओस् र हामीलाई पनि घुमाउन लैजाओस् भन्ने थियो।

प्रदीपलाई भने मिडिया क्षेत्रमै भविष्य बनाउने मन थियो। तैपनि परिवारको अघि उनको केही लागेन। परिवारकै दबाबले उनले मार्केटिङमा एमबीए गरे। पढाइमा कहिल्यै सेकेन्ड भएनन्। पढ्दै गर्दा पनि उनले आफ्नो रुचि त्यागेनन्। खोजी प्रतिभाको, वाइवाइ क्विजजस्ता रियालिटी शोमा प्रोगाम म्यानेजरका रुपमा काम गरिरहे। कारण, उनलाई टिभीमा देखिनु थियो।

तापनि सोचेजस्तो प्रगति भएन। त्यसपछि आफैँ फिल्म बनाएर अनुहार देखाउने सोच बनाए। अनि, आफैँ निर्माता बनेर फिल्म ‘ठूलो मान्छे’ बनाए। फिल्ममा उनलाई डान्स टिचरको भूमिका दिइयो। ट्राइ गरे तर फिट महसुस भएनन्। त्यसैले खेलेनन्। पछि फिल्म पनि फ्लप भयो।

तैपनि उनले हार खाएनन्। यो प्रदीप सबैभन्दा बलियो गुण पनि हो। एकपल्ट हार खाएर के भो, अर्कोपल्ट जितिएला नि ! यस्तै सोचेर फेरि अर्को फिल्म बनाए, ‘इस्केप’। यसपालि  प्रमुख भूमिकामा पनि आफैँ खेले। फिल्म दुव्र्यसनमा फँसेको युवाको कथामा केन्द्रित थियो। फिल्मले प्रदीपको हिरो रहर त पूरा ग-यो तर बक्सअफिसमा हिट हुने रहर पूरा गर्न सकेन।

दुवै फिल्म असफल भएपछि उनले ठाने, आफ्नै कमजोरीका कारण फिल्म चलेन। मनमनै सोचे, यो क्षेत्र मेरा लागि होइन रहेछ। त्यसपछि कमजोरी स्वीकार्दै आफ्नो करिअरको बाटो बदल्ने निर्णयमा पुगे। नयाँ निर्णय थियो, अब अस्ट्रेलिया जाने।

भुइँचालोले फाइदा !
अस्ट्रेलियाका लागि आइएल्ट्स कक्षा लिनेदेखि अन्य सबै डकुमेन्टसम्म तयार गरिसकेका थिए उनले। त्यही बेला नेपालमा ठूलो भूकम्प आइदियो, ७.८ म्याग्निच्युडको। यसले ठूलो मानवीय क्षति मात्र गरेन, लाखौँ नेपालीको मन पनि भत्कायो। सायद प्रदीपको अस्ट्रेलिया सपना पनि। अस्ट्रेलियाको प्रक्रियामा बाधा पुग्यो।

‘मैले दुःखका साथ एकदुई ठाउँ भनेको पनि छु, भुइँचालोले यो देशमा नचाहँदा–नचाहँदै फाइदा पु¥याएको कोही मान्छे छ भने त्यो म नै हुँ,’ प्रदीप सम्झन्छन्, ‘किनभने भुइँचालो नआएको भए म त्यतिखेरै अस्ट्रेलिया उडिसक्थेँ। र, मसँग अहिलेको यो नाम, दाम, माया, चर्चा र प्रशंसा केही हुँदैनथ्यो।’

अस्ट्रेलियाको प्रक्रियामा बाधा पुगेर प्रदीप तनावमा भइरहेका बेला फिल्म ‘प्रेमगीत’ले नयाँ हिरो खोजी गरिरहेको थियो। यसको सुइँको पाए उनले। आफ्नै फिल्म ‘इस्केप’मा हिरो भइसके पनि उनलाई फेरि रहर जाग्यो, अडिसन दिने। फ्रि टाइमको सदुपयोग गर्दिऊँ न त भन्ने उनलाई लाग्यो। अडिसन दिन गए। निर्माता र निर्देशक दुवैलाई उनको काम र लुक्स मनप¥यो।

निर्माण युनिट फिल्म खेलाउन तयार भयो तर एउटा सर्त राखेर। सर्त थियो, फिल्म क्षेत्रकै लागि केही गर्छु भन्ने भावना छ भने खेलाउँछौँ नत्र रहरकै लागि खेल्ने हो भने खेलाउँदैनौँ।

उनीहरुको सर्त प्रदीपका लागि झन् अवसर भइदियो। कारण, उनी पनि फिल्म क्षेत्रकै लागि केही गर्न चाहन्थे। दुई पल्ट प्रयास गरेकै हुन्। फरक यत्ति थियो, दुईपल्ट आफ्नै लगानीमा गरे, यसपल्ट अर्कैले लगानी गर्दैथियो।

अन्ततः अर्कैैको लगानी प्रदीपलाई फाप्यो। ‘प्रेमगीत’ हलमा हिट भयो। उनको ‘लभर ब्वाई’ अवतारको चौतर्फी तारिफ पनि। यससँगै प्रदीपको करिअर पुनः एकपल्ट पुरानै बाटोमा मोडियो।

फिल्म प्रेमगीतको अभिनयका कारण उनले आफ्नो चर्चाको तापमान वृद्धि गर्न सफल भए। उनको दाबी पत्याउने हो भने अहिले उनलाई फिल्ममा खेलाउन ५० लाख पारिश्रमिक दिनसमेत तयार हुन्छन् निर्माता। २५ लाखसम्म त लिएको खबर नै छ। ‘प्रेमगीत’को सफलताकै कारण उनले ‘प्रेमगीत–२’ पनि खेले। फिल्म छानेर मात्रै खेल्न रुचाउने उनले त्यसपछि ‘लिलिबिली’, ‘रोज’, लभ स्टेसन’ लगायतका फिल्ममा काम गरे। अहिले फेरि ‘प्रेमगीत–३’का लागि अनुबन्धित भइसकेका छन्। कभर फोटोसुटका लागि अनुरोध गर्दा उनी यही फिल्मको क्यारेक्टर निर्माणमा व्यस्त रहेकाले केही समय मिडिया आउन नचाहिरहेको सुनाइरहेका थिए।

‘म स्टार होइन’
पछिल्लो समय प्रदीपलाई अर्का हिरो अनमोल केसीसँग तुलना गरेर चर्चा गर्ने गरिन्छ। बजार उनलाई ‘स्टार’को बिल्ला पनि भिडाइरहेको छ। तर, उनी स्वयम् आफूलाई स्टार मान्छन् कि मान्दैनन् त ? ‘नागरिक परिवार’को जिज्ञासामा उनी मुस्कुराउँदै प्रकट भए, ‘खासमा म एउटा कलाकार हुँ, जो लामो समयसम्म यही क्षेत्रमा टिकिरहन चाहन्छ। म यो क्षेत्रमा आएको कारण पनि पहिचान बनाउन नै हो। न यो फिल्डमा पैसा छ भनेर आएको हुँ, न  फ्यान फलोइङ हुन्छ भनेर।’

‘अझ म त हिरो बन्न आएको पनि होइन, भिजेमात्रै बन्न आएको हो,’ उनी थप बोल्दै गए, ‘भिजेलाई त हामीकहाँ स्टार भनिदैन। त्यसो भए स्टार मेरो सपना हुँदै होइन। अरुको नजरमा हिरो बन्न लायक छैन भनेर नै मैले आफैँ फिल्म बनाएँ हिरो बन्नलाई। र, मलाई थाहा पनि छ, यो चर्चा र स्टारडम सधैँ रहिरहँदैन। स्टार त कति भए, कति भएर पनि गए। म यो क्षेत्रमा रहिरहन चाहन्छु। त्यसका लागि राम्रो कलाकार हुन जरुरी छ जुन म हुन खोजिरहेको छु।’

पारिश्रमिकको सत्यता
नेपाली फिल्म क्षेत्रमा अहिले प्रदीप खड्कालाई पनि महँगो अभिनेताको सूचीमा राख्ने गरिन्छ। उनले बजारमा ४० देखि ५० लाख रुपैयाँसम्म पारिश्रमिक दाबी गरिरहेको चर्चा सुनिन्छ। तर यो सत्य हो त?

‘हामीकहाँ ५–१० लाख रुपैयाँ पारिश्रमिक लिनु पनि महँगै हो,’ प्रदीप भन्छन्, ‘यहाँ जति पैसा माग्यो त्यति नै पाइन्छ भन्ने मलाई लाग्दैन। माग्दैमा पाउने भए त म यो देशै माग्थेँ होला तर मागेर पाइन्छ त? र, मैले त्यति पैसा मागेको पनि छैन तर अफर आएको भने सत्य हो।’

प्रदीपले अहिलेसम्म आधा दर्जनजति फिल्ममा काम गरे तर कतै पनि पारिश्रमिक तोकेर काम नगरेको बताउँछन्। ‘म आफैँ कहिल्यै डिमान्ड गर्दिनँ। बरु यति दिन्छु, उति दिन्छु भनेर आफैँ अफर गर्नेहरु धेरै छन्,’ उनले भने।

उनलाई नचिन्ने धेरै फिल्मकर्मीको जिज्ञासा हुँदो हो, प्रदीपलाई फिल्म अफर गर्न बाकसमा कति लाख पैसा बोकेर जानुपर्ला ! यसमा प्रदीपको रमाइलो जवाफ छ, ‘दिमागको बाकसमा राम्रो कन्सेप्ट भएन भने जति लाख पैसा लिएर आए पनि प्रदीपलाई फिल्ममा खेलाउन पाइँदैन तर राम्रो कन्सेप्ट छ भने म उल्टै लगानी गर्न पनि तयार हुन्छु।’

आफैँ निर्माता भएर फिल्म यात्रा सुरु गरेको भएर होला, प्रदीपले निर्माताको समस्या र दुःख राम्रोसँग बुझेका छन्। त्यसैले उनी फिल्ममा खेल्दा प्रायः पारिश्रमिक लिँदैनन्, सकेसम्म सेयरमै काम गर्न खोज्छन्। बलिउडका शाहरुख, सलमान, आमिर खानले गरेजस्तै।

उनले ‘लभ स्टेसन’मा पनि ३५ पर्सेन्ट शेयरमै काम गरे। ‘प्रेमगीत–२’ मा पनि नाफाकै सेयर लिने हिसाबले काम गरेको थिए। त्यही कारण पछि उनले निर्माताबाट कार उपहार पनि पाए। ‘रोज’मा भने २५ लाख पारिश्रमिक सम्झौतामा काम गरेका थिए तर अझै १५ लाख पारिश्रमिक पाउनै बाँकी छ। ‘म पैसामुखी थिएँ भने त त्यो फिल्मको रिलिज नै रोक्न सक्थेँ होला तर त्यसो गरिनँ,’ प्रदीप भन्छन्, ‘म आफैँ दुई वटा फिल्ममा डुबेपछि फिल्म क्षेत्रै त्याग्न तयार भएको मान्छे हुँ। त्यसैले म निर्माताका दुःख महसुस गर्न सक्छु। त्यसैले म प्रायः फिल्ममा सेयरमा काम गर्न रुचाउँछु। सोच्छु, मलाई दिने पारिश्रमिक त बरु फिल्ममै लगानी होस्, पछि फाइदा भएपछि मलाई आइहाल्छ नि !’

फिल्म फ्लप, हिरो हिट !
प्रदीपले अभिनय गरेका पछिल्ला तीन फिल्म ‘लिलिबिली’, ‘रोज’ र ‘लभ स्टेशन’लाई बजार फ्लप मान्छ। यी फिल्म रिलिजताका हलमा दर्शकको बाक्लो चहलपहल नदेखिएकै हो। व्यापारिक हिसाबले हिट÷फ्लपको लेखाजोखा गर्दा पनि उनका फ्लप फिल्मको संख्या धेरै देखिन्छ।

त्यसैले बजारमा उनीबारे एउटा टिप्पणी खुब सुनिन्छ, ‘फिल्म सधैँ फ्लप, हिरो भने सधैँ हिट’ तर यसमा प्रदीप सहमत छैनन्। ‘हिट÷फ्लपबारे कसले भर्डिक्ट गर्ने हो त्यो त मलाई थाहा भएन तर पूरै इन्डस्ट्रीकै कुरा गर्ने हो भने तुलनात्मक रुपमा मेरा फिल्म सफल देखिन्छन्,’ उनको दाबी छ, ‘मेरै मात्र कुरा गर्ने हो भने पनि मसँग काम गरेका निर्माताहरु घाटामा हुनुहुन्न। लगानी सुरक्षित गर्नुभएकै छ। यहाँ घाटा खाईखाई कसले बिजनेस गर्छ ? ‘प्रेमगीत’ चलेको थिएन भने ‘प्रेमगीत–२’ कसरी बन्यो ? ‘लिलिबिली’ घाटामै थियो भने त्यही मेकर्सले ‘लभ स्टेसन’ कसरी बनाए ? र, फिल्म डुबेको भए फेरि फिल्म बनाउँदा मलाई नै किन खेलाउँथे ?’ अहिले नेपालबाट पैसा नउठाउने फिल्मले पनि, युट्युब र विदेशमा प्रदर्शन गरेर भए पनि लगानी उठाउने गरेको उनको तर्क छ। उनको फिल्मको हकमा पनि त्यस्तै भएको उनको दाबी छ।

प्रदीपको रियल ‘लभ स्टेसन’
केही महिनाअघि प्रदीपको नयाँ फिल्म रिलिज भएको थियो, ‘लभ स्टेसन’। फिल्मलाई दुईवटा टर्किस फिल्मबाट हुबहु कपी गरेको आरोप पनि लाग्यो। खैर, त्यो त पर्दाको ‘लभ स्टेसन’को कुरा भयो। त्यो त दर्शकले हेरे पनि।

अब धेरैको चासो होला, प्रदीपले रियल लाइफमा प्रेमिका भेट्ने स्टेसन कहाँ छ भन्ने पो हो त ! प्रश्न सोध्नासाथ प्रदीप एकछिन मुस्कुराउँछन्। हात कपालतिर लान्छन्, एकछिन कोट्याउँछन् अनि भन्छन्, ‘ठ्याक्कै यही ठाउँ भए भन्ने थिएँ। प्रायः त बाइकमै डुल्थ्यौँ होला। कहिले कता, कहिले कता पुग्थ्यौँ।’
‘त्यो त पहिलेको कुरा भयो, अहिले ?’
‘अहिले त म एक्लो छु।’
‘ढाँटेजस्तो लाग्यो नि !’
‘ढाँटेको होइन। ब्याचलर्स, मास्टर्सपछि मेरो कोहीसँग सिरियस रिलेसनसिप भएन। म काममा बढी फोकस भएँ।’

उनले यस्तो दाबी गरिरहँदा बजारमा भने उनकै को–एक्टर जसिता गुरुङसँगको उनको अफेयर हल्ला व्यापक छ तर त्यसलाई पनि हल्ला मात्रै भनेर टार्छन् उनी। खैर, समयसँगै सत्य आफैँ बाहिरिएला !

‘म झगडिया होइन’
फिल्मवृत्तमा प्रदीपमाथि झगडियाको आरोप छ। कारण, उनी जोसँग फिल्म खेल्छन्, उसैसँग उनको सम्बन्ध पछि बिग्रिदिन्छ। जुन फिल्मबाट उनको करिअर चम्कियो, त्यही फिल्मका निर्देशक सुदर्शन थापा र को–एक्टर पूजा शर्मासँग उनको लफडा प¥यो। सुनिन्छ, अहिले पनि सम्बन्ध राम्रो छैन्। ‘लिलिबिली’का निर्देशक मिलन चाम्ससँग पनि त्यस्तै भयो।

‘तपाईंले ज–जसको नाम लिनुभयो, उनीहरुको अरु कोकोसँग कस्तो सम्बन्ध छ, त्यो विचार गर्नुस्,’ प्रदीपको स्पष्टीकरण छ, ‘त्यसपछि मेरो हकमा फिल्मको सुटिङ र प्रदर्शन टाइमबाहेक फाल्तु समयमा मेरो उहाँहरुसँग पहिला कस्तो उठबस थियो र अहिले कस्तो छ भनेर पत्ता लाउनुभयो भने सम्बन्ध बिग्रिएको पाउनुहुन्न। त्यतिखेर पनि मेरो फर्मल हाइ÷हेल्लो मात्रै थियो, आज पनि त्यस्तै छ। फिल्ममा काम गरेको टाइमबाहेक म कहिल्यै पनि उहाँहरुसँग सँगै खाएको, सँगै सुतेको एक दिन पनि छैन।’

मनपर्ने कलाकार
प्रदीपलाई ‘टाइटानिक’का हिरो लियानार्डो डि क्याप्रियो खुब मनपर्छ। उनको लुक्स, अभिनय र बोल्ने शैलीबाट खुब प्रभावित रहेछन्। भन्छन्, ‘मलाई पनि उहाँजस्तै बायोपिक फिल्ममा काम गर्न मन छ। कोही योगदान पु¥याएको व्यक्तिको जीवनमाथि बनेको फिल्ममा काम गर्ने मन छ।’

चित्त दुख्ने पाटो
फिल्म क्षेत्रको के कुराले प्रदीपको चित्त दुख्दो हो ? प्रश्न सुनेपछि उनी एकछिन टोलाए अनि नन्स्टप बोले, ‘यहाँ नयाँनयाँलाई पेल्न खोजिन्छ। जो बलियो छ, त्यसले राज गर्न खोज्ने संस्कार जहीँतहीँ छ। यहाँ पनि रहेछ। पारिवारिक पृष्ठभूमि फिल्म नभएकालाई यहाँ एकदम गाह्रो छ। फिल्मको वितरण र प्रदर्शनमा पनि पारदर्शिता छैन, जुन दुइटा फिल्म निर्माण गर्दा मैले भोगिसकेको छु। यस्तैयस्तै कुराले चित्त दुख्छ।’

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App