७ वैशाख २०८१ शुक्रबार
अन्य

जुम्ल्याहा जिन्दगी

अचेल सामाजिक सञ्जालमा भिडियो निर्माण र सेयरका लागि खुब प्रख्यात छ, टिकटक। यसले आम मान्छेभित्र लुकेर बसेको अभिनयको भुतलाई जगाइरहेको मात्रै छैन, यसैबाट सेलिब्रिटीसम्म बनाइरहेको छ। बच्चादेखि वृद्धसम्म, स्कुलदेखि बिहेको मण्डपसम्म जताततै यसको क्रेज बाक्लो छ।

क्रेज देख्दा लाग्छ, कोही सामाजिक सञ्जाल चलाउँछ तर टिकटक बनाउँदैन या अरुले बनाएको हेरेर रमाउँदैन भने त्यो सामाजिक सञ्जालको सदस्य नै नहुने खतरा भइसक्यो। सुरुमा त यो ‘म्युजिकल्ली’का रुपमा प्रख्यात थियो तर चिनिया कम्पनीसँगको सहकार्यपछि यो ‘टिकटक’ बन्यो।

प्रिन्सी र प्रिज्मा खतिवडा, यही टिकटकले ‘स्टार’ बनाएको जुम्ल्याहा दिदीबहिनी हुन्। अहिले टिकटकमा उनीहरु ‘ट्विनी गल्र्स’का रुपमा प्रख्यात छन्। आधा करोडभन्दा बढी उनीहरुका फ्यान फलोअर्स छन्। नेपाली प्रयोगकर्तामध्ये यो फलोअर्स संख्या दोस्रो बढी हो।

‘ख्यालख्यालमा भिडियो बनाउन थालेका थियौँ, थाहै नपाई भाइरल पो भइएछ !’ टिकटकले दिलाएको अप्रत्यासित चर्चाबाट दुवै अहिले दंग छन्।  

टिकटकबाट ‘ट्विनी गल्र्स’
प्रिन्सी र प्रिज्मा पाँच मिनेटको अन्तरमा जन्मिएका हुन्। प्रिन्सी प्रिज्माभन्दा पाँच मिनेटले कान्छी छन्। तैपनि हैकम उनकै चल्छ रे ! प्रिज्मा भन्छिन्, ‘म जेठी भएपनि हैकम उसैको चल्छ !’

प्रिन्सी त्यसमै थप्छिन्, ‘अलिकति छुच्ची छु, त्यही भएर यसलाई यस्तो लागेको हो तर हामी दिदीबहिनीबीच मात्रै यस्तो हो। बाहिर त दुवै नम्र भएर प्रस्तुत हुन्छौँ।’

मोरङ रमाइलोमा जन्मिएका ‘ट्विनी गल्र्स’को हुर्काई भने काठमाडौंमै भएको हो। यो धर्तीमा प्रिन्सीभन्दा पहिला प्रिज्माको प्रवेश भए पनि टिकटकमा भने प्रिज्माभन्दा पहिला प्रिन्सीकै प्रवेश भएको रहेछ। कारण, सानैदेखि उनमा रहेको अभिनय रुचि।

तर, दुवैले सँगै भिडियो बनाएर हाल्नुको कारण भने उनकी दिदी आयुषाको जोड रहेछ। ‘दिदीले अरुले ट्विन्सहरुको भिडियो देखेर तिमीहरु पनि त्यसरी नै बनाएर हाल न भन्नुहुन्थ्यो,’ प्रिज्माले सुनाइन्, ‘सुरुमा त त्यत्तिकै रुचि नभईनभई बनाइएको थियो, बनाउँदै गएपछि रुचि बढेको हो।’

साउनतिरको कुरा हो। उनीहरुले ‘बाटैमा भेट भयो, रैछौ काले काले’ गीतमा पहिलोपल्ट भिडियो बनाएका थिए। त्यतिबेला दुवैको आ–आफ्नै अकाउन्ट थियो। दुवैले दुवैको अकाउन्टमा भिडियो अपलोड गरेका थिए। लगत्तै भिडियो भाइरल भयो। टिकटकका नयाँ ट्विन्स भन्दै थुप्रै फेसबुक पेजले भिडियो सेयर गरे। रातारात उनीहरु भाइरल भए।

‘सेकेन्ड सेकेन्डमा फलोअर्स बढेको देखेर हामी त छक्कै परेका थियौँ,’ प्रिन्सीले भनिन्, ‘तर हामीले यो टन्नै फलोअर्स आउँछ भनेर गरेका थिएनौँ। त्यतिबेला एक हजार फलोअर्स हुँदा पनि दंग परेर फेसबुकमा स्टोरी राख्थ्यौँ। टिकटकले यति चर्चा दिलाउला भनेर त कहिल्यै सोचेकै थिएनौँ। सम्झिदा पनि सपनाजस्तो लाग्छ।’

पहिलो भिडियो भाइरल भएलगत्तै उनीहरुले एउटै अकाउन्ट बनाउने निर्णय गरे। नाम राखे– ट्विनी गल्र्स। लगत्तै अर्को भिडियो बनाए, हिन्दी गीत ‘मेरे सरकार’मा।

त्यसपछि त नेपालीमात्रै होइन, भारतीय फलोअर्स पनि गुटङटुङ बढ्न थाले। एकाएक ‘ट्विनी गल्र्स’ विश्वभर छाउन थाले। नेपालीले मात्रै होइन भारतीयले समेत जबर्जस्त पछ्याउन थाले। यो क्रम रोकिएको छैन, अझै जारी नै छ।

टिकटककै क्रेजका कारण आज ‘ट्विनी गल्र्स’ म्युजिक भिडियोमा छाइरहेका छन्। गायक प्रमोद खरेललेसम्म उनीहरुको चर्चालाई ‘क्यास’ गर्न आफ्नो नयाँ गीत ‘झुमा झुमा’मा नचाइसके। अब त अभिनय उनीहरुको लक्ष्यै भइसक्यो।

दुवै आफूहरु जुम्ल्याहा भएका कारण मात्रै रुचाइएको तर्कमा सहमत हुन तयार छैनन्। प्रिज्मा भन्छिन्, ‘हामीलाई ट्विन्स मात्रै भएका कारण रुचाइएको हो जस्तो लाग्दैन। भिडियोमा हामी दुई जनाको टाइमिङ, हाउभाउ, एक्सप्रेसन सबै एउटै मिल्छ। सायद यही कारण रुचाइएको होला।’

प्रिज्माकै तर्कसँग सहमति जनाउँदै प्रिन्सी थप्छिन्, ‘त्यही त, नत्र त यहाँ टिकटक भिडियो बनाउने ट्विन्स कति छन् कति ! सबै हिट हुुनुपर्ने हो !’


रहर छ हिरोइन बन्ने
२१ वर्षीया प्रिन्सी र प्रिज्माभित्र सानैदेखि कतै न कतै एक्टिङप्रति रुचि भए पनि एक्टर बन्ने चाह भने थिएन। न यो क्षेत्रमा उनीहरुका आफन्त थिए, न उनीहरुलाई थाहा थियो, अडिसन दिन कहाँ जाने। ‘हिरोइन पनि बनिन्छ होला र !’ उनीहरुलाई यस्तै लाग्थ्यो।

तर दृश्य अहिले फेरिँदैछ। टिकटककै कारण उनीहरु म्युजिक भिडियोमा छाइसके। फिल्ममा पनि अफर आइरहेको छ। ‘हिरोइन बन्ने रहर त छ तर अलि पछि,’ प्रिज्माले फिल्म योजना सुनाइन्।  

तर दुवै छुट्टिएर काम गर्ने मनस्थितिमा भने छैनन्। ‘हामी फिल्म, म्युजिक भिडियो जे गरे पनि सँगै गर्छौं,’ प्रिन्सीले भनिन्, ‘जन्मदा त सँगै जन्मियौँ भने काम गर्दा किन छुट्टिने ? हाम्रो अस्तित्व नै एकअर्कामा छ।’

यति भनेपछि प्रिन्सी एकछिन रोकिइन्। टेबलमा रहेको कफी सुरुप्प पारिन्। अनि छेउमा बेसी प्रिज्माले मुन्टो हल्लाउँदै सोधिन्, ‘हैन त प्रिज्मा?’

प्रिज्माले पनि मुन्टो हल्लाएरै सहमति जनाइन्। त्यसपछि संवाददाताले नै ठट्टैठट्टामा जिज्ञासा राख्यो, ‘बिहे त एउटै मान्छेसँग गर्ने सोच होइन नि?’

दुवै जोडले हाँसे अनि एकै टाइमिङमा जवाफ दिए, ‘त्यो त हुँदै हुँदैन।’

प्रिन्सी र प्रिज्मा दुवैको पढाइ सकिएको छैन। प्रिन्सीले नर्दन लाइट एकेडेमी अफ एभियसन एन्ड टेक्नोलोजीबाट डिप्लोमा सकेर एयरपोर्टको ग्राउन्ड क्र्युमा इन्टर्न गर्दैछिन् भने  प्रिज्मा चक्रपथको मेधावी कलेजबाट होटल म्यानेज्मेन्ट विषयमा स्नातक तेस्रो सेमेस्टर अध्ययन गर्दैछिन्। हिमालयन ह्वाइट हाउसबाट प्लस टु सकाएका उनीहरुले चावहिलको आइडियल स्कुलबाट एसएलसी दिएका हुन्।  

‘पढाइ त छोड्दै–छोड्दैनौँ तर यो लाइन पनि छोड्दैनौँ,’ प्रिज्माले भनिन्, ‘अभिनय र पढाइ दुवैलाई सँगसँगै लाने विचारमा छौँ।’

समानता धेरै, भिन्नता कम
प्रिन्सी र प्रिज्माबीच धेरैजसो समानता नै छन्, भिन्नता एकदमै कम। उनीहरुबीच के मिल्दैन र ! अनुहार उस्तै छ। को प्रिज्मा, को प्रिन्सी छुट्ट्याउनै गाह्रो। दुवैको स्वर उस्तै। प्रिज्माको फोन प्रिज्माले उठाइन् भने ठम्याउनै गाह्रो। संवाददातालाई यस्तै भएको थियो।

यो स्टोरी लेख्नेक्रममा उनीहरुको रेकर्ड सुन्दामा पनि स्वर ठम्याउन कम गाह्रो परेको थिएन ! खानपिनमा दुवैको रुचि उस्तै छ। प्रिज्मा आफैँ भन्छिन्, ‘हामीबीच धेरै कुरा मिल्छ। हाम्रो सोच एउटै छ। उसलाई मन नपरेको चिज मलाई पनि मनपर्दैन, मलाई मन नपरेको चिज प्रायः उसलाई पनि मनपर्दैन।’

प्रिन्सीले त्यसमै उदाहरण दिइन्, ‘हाम्रो छेउमा कोही एउटा मान्छे बसिरहेको थियो र हामीलाई घुरेर हेरिरहेको थियो भने त्यही मान्छेबारे पछि हामी घरमा गएर कुरा गर्दा थाहा हुन्छ, दुवैले त्यो मान्छेबारे एउटै कुरा सोचेका रहेछौँ।’

तरकारीको हकमा त्यस्तै हो, प्रिन्सीले जे मनपर्दैन, प्रिज्मालाई त्यही। घिरौला र पर्बल दुवै रुचाउँदैनन्। धेरैले उनीहरुलाई अनुहार उस्तै भने पनि दुवैलाई विश्वास भने लाग्दो हरेनछ तर स्वभावका मामिलामा भने दुवै नम्र र अनुशासित रहेको बताउँछन्।

‘सानैदेखि हामी बुझ्थ्यौँ है ?’ प्रिज्माले प्रिन्सीलाई गफगाफका क्रममा सोधिन्।

प्रिन्सीले सहमति जनाउँदै जवाफ फर्काइन्, ‘हो, हामीले कहिल्यै पनि ममीबाबालाई यो किन्दिनु, त्यो किन्दिनु भनेर डिमान्ड गरेनाैँ। हामी दुईलाई एकअर्का भए पुग्थ्यो। दुवै सँगै खेल्न पाए जति पनि समय बिताइदिन्थ्यौँ। अहिले पनि बिताइदिन्छौँ।’

सबैभन्दा ठूलो असमानता भने गीत रोजाइमा रहेछ। प्रिन्सी सेन्टिमेन्टल गीत सुन्न रुचाउँछिन्, प्रिज्मा डान्सिङ। ‘यसले धेरै नै सेन्टी गीत बजाउनेबित्तिकै यो के बजाको होला भनिहाल्छु,’ प्रिज्माले सुनाइन्।

यही कारणले टिकटक भिडियो बनाउने क्रममा पनि गीतलाई लिएर उनीहरुबीच भनाभनसम्म हुने रहेछ। ‘तैपनि ट्रेन्डिङमा परेको भिडियो गर्दैनाै। एकले अर्कालाई मन परेको गीत पठाउँछाैँ। छलफल हुन्छ। अनि, बनाउँछाैँ,’ प्रिन्सीले सुनाइन्।

टिकटकबाटै आम्दानी
‘ट्विनी गल्र्स’का लागि टिकटक पहिले रहर मात्रै थियो तर अहिले पैसा कमाउने माध्यम पनि बनेको छ। फिल्म र म्युजिक भिडियो मेकर्सहरु गीत प्रचारको अनुरोध गर्दै उनीहरुकहाँ पुग्न थालेका छन्। ‘हामीले पैसा माग्नेभन्दा पनि उहाँहरुले आफैँ अप्रोच गर्नुहुन्छ,’ प्रिज्माले सुनाइन्। अहिलेसम्म नेपाली फिल्महरु ‘ब्रेकअप’, ‘कागजपत्र’ लगायतले उनीहरुका प्रचार सामग्रीमाथि टिकटक भिडियो बनाउन पारिश्रमिक दिएका थिए। प्रियंका कार्की र आयुष्मान देशराजको ‘अर्को जुनी खोइ कुन्नी’ गीतमाथि पनि उनीहरुले टिकटक भिडियो बनाएका थिए, पारिश्रमिक लिए।

‘घरको त हामी सानैदेखि ज्ञानी छोरीहरु हाैँ त्यसैले ममी बाबासँग कहिल्यै पैसा माग्दैन थियौँ। बरु अष्ट्रेलियामा रहेकी जेठी दिदीले कहिलेकाहीँ पठाइरहन्थी,’ प्रिन्सीले भनिन्, ‘अहिले त आफैँ कमाउन थालेका छौँ। आफ्नो खुट्टामा आफै उभिएको देखेर ममीबाबा पनि दंग हुनुहुन्छ।’

एकअर्काका ‘बेस्ट फ्रेन्ड’
प्रिन्सी र प्रिज्माको सम्बन्ध एकदमै गाढा छ। दुवै एकअर्काका बेस्ट फ्रेन्ड हुन्। तपाईंहरु कस्तो दिदीबहिनी ? नागरिक परिवारको प्रश्नमा प्रिज्माको जवाफ थियो, ‘एकअर्कालाई बुझ्ने, सपोर्ट गर्ने। बाहिरका मान्छेले एकअर्काबारे केही नराम्रो भन्यो भने हामी सहनै सक्दैनाँै। कहिल्यै एकअर्काको डाह पनि गर्दैनौँ। उसलाई म राम्री लाग्छ, मलाई ऊ। हामी त अचम्मका छौँ।’

हाम्रै गाउँसमाजमा हामीले त्यस्ता दिदीबहिनी पनि देखेका छौँ जो कुकुरबिरालाझैँ झगडा गर्छन्, एकअर्काको सफलतामा डाह गर्छन् तर प्रिन्सी र प्रिज्मा उल्टा छन्। दुवैलाई एकअर्का नभई हुँदैन।

दिदीबहिनीको सम्बन्ध बलियो बनाउन के गर्नुपर्छ ? प्रिज्मा भन्छिन्, ‘एकअर्कालाई टाइम दिनुपर्छ। टाइम ग्याप हुनेबित्तिकै असमझदारी धेरै आउँछ।’

प्रिन्सी त्यसमै थप्छिन्, ‘ पारदर्शिता पनि हुनुपर्छ। उसको लाइफमा के भइराछ, मलाई थाहा हुनुपर्छ, मेरो लाइफमा के भइराछ, उसलाई थाहा हुनुपर्छ। केही पनि लुक्नुहुँदैन। अनि, मात्र बोन्डिङ बलियो हुन्छ।’
त्यतिमात्रै होइन, उनीहरुलाई गल्ती गर्दा किन यस्तो गरिस् भनेर गाली भन्दा पनि सम्झाएको उनीहरुको ठीक लाग्छ। ‘गाली गरेर केही हुँदैन, एकअर्कालाई हौसला दिनु राम्रो हुन्छ,’ दुवैको भनाइ छ।

हौसला भन्नासाथ प्रिन्सीले विगत सम्झिइन् । टिकटकमा आउनुअघि उनी अष्ट्रेलिया जाने तयारीमा लागिसकेकी थिइन्। त्यही कारण अहिले उनीहरुको कलेज सँगै भएन। नत्र दुवैको एभिएसन पढ्ने सम्भावना थियो। प्रिन्सीले अस्ट्रेलियाका लागि भिसा अप्लाई समेत गरिसकेकी थिइन् तर रिजेक्ट भयो। रिजेक्टपछि उनी एकदम निराश भएकी थिइन्। त्यतिबेला उनलाई हौसला दिएर बलियो बनाउने काम गरेकी थिइन्, उनकी दिदी प्रिज्माले।

‘दिदी भएको फाइदा नै यही रहेछ,’ प्रिन्सीले भनिन्, ‘त्यतिबेला उसले मलाई खुब सम्झाएकी थिई, जे हुन्छ राम्रैका लागि हुन्छ भन्थी। आज सम्झिदा हो जस्तो लाग्छ। आखिर गन्तव्यमा अभिनय हुनु लेखेको रैछ, अनि अस्ट्रेलिया सोचेर हुन्छ त ?’
प्रिन्सी उता जान नपाएकोमा खुशी देखिइन्।

पढ्ने कलेज र विषय फरक भएका कारण प्लस टुपछि प्रिज्मा र प्रिन्सीले एकअर्कालाई पर्याप्त समय पनि दिन पाएका रहेनछन्। ‘टाइम दिन पनि परिस्थिति मिल्ने रहेछ,’ प्रिन्सी हल्का भावुक मुद्रामा भन्न थालिन्, ‘कलेज फरक भएपछि योसँग मलाई कुरा सेयर गर्ने समय नै हुन्थेन। त्यतिबेला हल्का नमीठो लाग्थ्यो तर अहिले फेरि टिकटकले हामीलाई जोडिरहेको छ। अब त कहिल्यै नछुट्टिने हो।’

ट्विनी गल्र्सको झगडा  
प्र्रिन्सी र प्रिज्माविच प्रेम त छँदैछ तर कहिलेकाहीँ झगडा पनि त हुँदो हो ! यसबारे जिज्ञासा राख्दा सुरुमा दुवैले नहुने बताए। एकछिन पछि फेरि प्रिज्माले पोल खोल्न थालिन्, ‘प्रिन्सी अलि जिद्दी छ तर ऊ गलत भइरहेको हुन्छे। गलत भएको महसुस भएपछि ऊ तर्क गर्न चाहदिन। सिधैँ भन्छे– प्रिज्मा, अब नबोल, भयो। अनि, आफ्नो रुमतिर लाग्छे।’

प्रिज्माले पोल खोलिरहँदा प्रिन्सी मुस्कुराइरहेकी थिइन्। यता प्रिज्मा प्रिन्सीलाई हेर्दै प्रिन्सीकै नक्कल गरेर भनिरहेकी थिइन्, ‘प्रिन्सीले कुरा सुन्न नमानेपछि  म बाबा एकचोटी मात्रै मेरो कुरा सुन्देऊ न भन्छु। अनि, ऊ चाहिँ ‘प्रिज्मा, अब भयो’ भनेर सुन्नै मान्दिन।’

माहोल एकछिन हाँसोमय बन्यो। त्यसपछि प्रिन्सीले प्रिज्माको पोललाई प्रस्ट पार्न खोजिन्, ‘खासमा म झगडालाई बढावा दिनुसाटो चुप बस्न रुचाउँछु। त्यसैले बहस अघि बढाउँदिनँ तर हाम्रो झगडाको आयु आधा घन्टाभन्दा बढी हुँदैन।’

हुर्काई महत्त्वपूर्ण
प्रिन्सी र प्रिज्मालाई लाग्छ, आज उनीहरु जुन स्थानमा पुगिरहेका छन्, त्यसको मूल कारण हो ‘गुड प्यारेन्टिङ’। उनीहरुको ममी गृहिणी हुन्, बाबा माइक्रो बस व्यवसायी। ‘परिवारले कस्तो संस्कार सिकायो, त्यो सबैभन्दा महŒवपूर्ण रहेछ,’ प्रिज्मा भन्दै थिइन्, ‘हामीलाई कहिल्यै ममीबाबाले खराब हुन सिकाउनुभएन। अहिले पनि यसरी नबोल, त्यसरी नबोल भनेर सम्झाइरहनुहुन्छ। अरुबारे टिप्पणी गर्दा सचेत हुनुपर्छ भन्नुहुन्छ।’

अभिभावकले सानैदेखि व्यवहारिक र अनुशासित हुन सिकाएको बताउँछिन् प्रिन्सी। ‘अहिलेका केटाकेटी हेरेर त मेरा छोरीहरु त्यस्ता थिएनन् भन्नुहुन्छ हाम्रो ममी। आफन्तका बच्चाबच्चीले चकचक गरेको बेला सधैँ त्यसै भन्नुहुन्छ,’ उनले सुनाइन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App