भक्तपुरमा कलात्मक तथा परम्परागत झ्याल–ढोकाको प्रयोग अझै हुने गरेको छ। यी झ्याल–ढोकामा मेसिन प्रयोग गरिँदैन।
भक्तपुरको दत्तात्रयमा रहेको मयूर झ्याल प्रसिद्ध छ, यो अवलोकन गर्न पर्यटक आउने गर्छन्। यहाँका पुराना घर तथा मठमन्दिरमा हातले बुट्टा बनाइएका झ्याल–ढोका छन्।
५५ वर्षदेखि बुट्टेदार झ्याल–ढोका बनाइरहेका पञ्चलाल शिल्पकार (७०) पछिल्लो समय यसको प्रचलन घटेको बताउँछन्। ‘पहिला यस्ता झ्याल–ढोका बनाउन धेरैले बोलाउँथे। तर, अचेल कम भएको छ,’ उनी भन्छन्।
बुट्टा भर्ने काठ (अग्राट) महँगिएकाले यस्ता ढोकाको प्रचलन घटेको हुनसक्ने उनको भनाइ छ। ‘मैले काम सुरु गर्दा अग्राटको मूल्य १ क्युफिटको १३ रूपैयाँ थियो, अहिले ७ हजार रूपैयाँ छ,’ उनले भने।
उनका अनुसार बुट्टेदार ढोका बनाउन अग्राट प्रयोग गरिन्छ। झ्यालमा भने हलुसी (करमा) काठ प्रयोग गरिने उनले बताए। यी काठ तराईबाट ल्याइने गरेको उनको भनाइ छ।
पूरै ढोका बुट्टेदार बनाउन करिव ४ लाख रूपैयाँ पर्ने उनी बताउँछन्। यस्तै, बुट्टा अनुसार मूल्य फरक हुने उनले बताए।
टौमढीस्थित भक्तपुर उड कार्भिगकी किपा प्रजापतिले काठको झ्यालको साइज अनुसार मूल्य फरक हुने बताउँछिन्। पहिलाको तुलनामा अहिले काठको बुट्टेदार झ्याल कम बिक्री हुने उनले बताइन्। उनी भन्छिन्, ‘अहिले बुट्टेदार झ्यालको सट्टा आल्मुनियमका झ्याल–ढोकाको प्रचलन छ।’
उनको पसलमा सबै काठका सामान मात्र पाइन्छन्। भक्तपुर नगरमा घर आधुनिक भए पनि झ्याल–ढोका परम्परागत हुन्छन्। यसो हुनुको कारण हो– भक्तपुर नगरले काठकै झयाल–ढोका राख्नुपर्ने नियम बनाउनु।
प्रकाशित: ६ जेष्ठ २०७६ ०८:०७ सोमबार