२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

बेसहाराको सहारा बने पाण्डे

वसन्त आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत पुष्पा थापालाई अभिभावकत्व ग्रहण गरेपछि क्यान महासंघ गण्डकी प्रदेश उपाध्यक्ष तुलसीराम पाण्डे। तस्बिरः नागरिक

तनहुँ– यतिबेला विद्यालय भर्ना अभियान सञ्चालन भइरहेको छ। भर्ना अभियानको क्रममा जनप्रतिनिधि, विभिन्न संघसस्था एवं व्यक्तिहरूले गरिब तथा विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरिरहेका छन्। यही अभियानमा जोडिँदै कम्प्युटर एसोसिएसन महासंघ नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष तुलसीराम पाण्डे बेसहारा बालिकाको सहारा बनेका छन्।

व्यास नगरपालिका–११ शेरास्थित वसन्त आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत पुष्पा थापाको अभिभावकत्व ग्रहण गर्दै पाण्डेले उनलाई उच्च शिक्षासम्म अध्ययन गराउने जिम्मा लिएका छन्। ‘उनले जतिसम्म पढ्न चाहन्छिन् त्यतिसम्म पढाउनका लागि सम्पूर्ण जिम्मेवारी अब मेरो भयो,’ उनले भने।

राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवसरमा बिहीबार दमौलीमा आयोजित कार्यक्रममा लुम्बिनी कम्प्युटरका सञ्चालकसमेत रहेका पाण्डेले ती बालिकालाई शैक्षिक सामग्रीसमेत उपलब्ध गराएका छन्। प्रतिनिधिसभा सदस्य केदार सिग्देल, प्रदेशसभा सदस्य रामबहादुर गुरुङ, डोवाटे विक र सरिता गुरुङको उपस्थितिमा पाण्डेले बालिकालाई झोला, पोसाक र पाठ्यपुस्तक उपलब्ध गराएका छन्।

वसन्त आधारभूत विद्यालयकी प्रधानाध्यापक शर्मिला ओझाले बालिकाको अभिभावकत्व ग्रहण गरेर पाण्डेले उदाहरणीय काम गरेको बताइन्। ठूलीआमासँग बसेर अध्ययन गर्दै आएकी पुष्पाले आर्थिक अभावकै कारण पढाइ छाड्नुपर्ने हो कि भन्ने चिन्ता अब हटेको उनले बताइन्।

सोही वडाको रामथुम्की निवासी पुष्पाको बुबाको दुई वर्षअघि हत्या भएको थियो। त्यसलगत्तै उनकी आमाले समेत उनलाई छाडेर अन्यत्रै गएपछि उनी ठूलीआमासँग बसेर पढ्दै आएकी छन्।

 

प्रकाशित: २२ वैशाख २०७६ ०८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App